पुरातन कांग्रेस, आधुनिक चाहना - Naya Patrika
eNaya Patrika
  • ePaper

पुरातन कांग्रेस, आधुनिक चाहना

पार्टीको खस्कँदो साख : कुनै समय यस्तो थियो, जुन वेला म कांग्रेस हुँ भन्दा बडो गौरव हुन्थ्यो । कंग्रेस भनेपछि सम्मान पनि उत्तिकै पाइन्थ्यो । भोट माग्न जाँदा मतदाता घरमा कांग्रेस आएकोमा खुसी मान्थे, देश विकास र जनताका आधारभूत आवश्यकताका लागि लड्ने पार्टीका कार्यकर्ताका रूपमा हेर्थे । कार्यकर्तालाई पनि नेताहरू जनताप्रति उत्तरदायी बनेरै काम गर्छन् भन्ने लाथ्यो । आज कांग्रेस दिन–प्रतिदिन स्खलित हुँदै गएको छ ।

मासबेस पार्टी भनिएको छ, मासमा कुनै नेताको सम्पर्क छैन, न त मासलाई प्रशिक्षित गरी सुयोग्य निष्ठावान् कार्यकर्ताकै उत्पादन भएको छ, न संगठित कार्यकर्ताको बेस बनेको छ । योग्यता, क्षमता र इच्छाशक्ति भएका सबै निराश भएर स्वव्यवसायमा लागेका छन् या विदेश पलायन भएका छन् । बिस्तारै राजनीतिको ‘मेन स्ट्रिम’बाट पाखा लागेका छन् र लाग्दै पनि छन् ।

जनमानसमा नभिजेका क्रियाकलाप : यो निर्वाचनमा कांग्रेसका धेरै ठूला नेता हारेका छन् । कांग्रेसलाई यो निर्वाचन भविष्यको सफल संगठन सञ्चालनको मार्गदर्शनका लागि पाठ सिक्ने अवसर हुनेछ । विगतका राणाविरोधी, पञ्चायतविरोधी,राजाको प्रत्यक्ष शासनविरोधी ठुल्ठूला आन्दोलन कांग्रेसकै नेतृत्वमा सम्पन्न भएका छन् । संविधान आफ्नो नेतृत्वमा जारी भएको र संविधानलाई कार्यान्वयन र संस्थागत गर्ने निर्वाचन आफ्नो नेतृत्वमा सम्पन्न हुनु कांग्रेसको जित हो ।

कहिले आफू जितेर त कहिले आफू हारेर पनि देश, जनता, प्रजातान्त्रिक पद्धति तथा संसदीय प्रणालीको संरक्षण र संवर्धन गरेकै छ । संसदीय व्यवस्थाको धज्जी उडाउनेहरूलाई संसदीय अभ्यासमा अभ्यस्त गराएको छ । देश विकासमा र विकासका पूर्वाधार निर्माणमा यथाशक्य योगदान गर्दै समृद्ध मुलुकको प्रस्थानबिन्दु तय गरेको छ । तर, यसलाई कांग्रेसले निर्वाचनमा भजाउन सकेन ।

जनतामाझ जाने अवसर : कांग्रेस इतिहासमै ठूलो संकटमा छ । अहिले उसलाई साथ दिने सहयोगी देखिँदैन । विगतमा पाएको समर्थन पनि बलेको आगोपट्टि नै फर्किनेछ । तर, कांग्रेसलाई ठूलो मौका मिलेको छ, जनतासमक्ष जाने, संगठन विस्तार गर्ने । हरेक विषयवस्तुमा गहिरो अध्ययन गर्ने, प्रतिस्पर्धी र प्रतिपक्षी दलका कार्यकर्तासँग तार्किक प्रतिवाद गरी पार्टीको साख बचाउन सक्ने कार्यकर्ता उत्पादन गरी जिम्मेवारी हस्तान्तरण गर्ने र फेरि आफूलाई पहिलाको जस्तै जनाधारयुक्त दल बनाउने एउटा सुनौलो मौका कांग्रेसले पाएको छ ।

योजना दृष्टिकोण र पुस्तान्तरण अस्पष्ट : अब कांग्रेसले आफ्नो अवस्थाबारे समीक्षा गर्नुपर्ने वेला आएको छ । आर्थिक विकास तथा सैद्धान्तिक रूपमै कांग्रेसमा केही विचलन आएको भान हुन्छ । भावी कार्यदिशाबारे सबैले आफूखुसी बोलेका छन् । बिपीले एउटा गाई, एक हल गोरु, एउटा घर, कमाई खाने जमिन र योजना आयोगमा किसानको फोटो राख्नेजस्ता विषय उहिलेका कुरा खुइले भनेजस्तो भइसकेको छ ।

कांग्रेससँग न आधुनिक कृषि विकासको योजना छ, न बिपीको निर्वाहमुखी कृषि प्रणालीबाट जनतालाई आत्मनिर्भर गराउने योजनाकै व्याख्या छ, न आधुनिक नेपालका नेपालीको इच्छा, आकांक्षा र आवश्यकताअनुसार बिपी विचारलाई पुनव्र्याख्या नै गरिएको छ ।

पार्टी संरचनामा पर्याप्त ध्यान नदिनु : राज्यको पुनर्संरचनासँगै कांग्रेसको पुनर्संरचना गरिनुपर्छ । आजसम्म पनि वडा कमिटी बनेको छैन । विनाकमिटी नै पार्टीले तीन ठूला निर्वाचन लडिसकेको छ । हारका लागि यो पनि एउटा मूल कारण बनेको छ । स्थानीय जनताको माग सम्बोधन गर्ने र समस्या समाधान गर्ने मूल पार्टी भनेकै वडा कमिटी र नेता भनेकै यसको (वडाका) नेतृत्व हो ।

जब यसले केन्द्रीय समिति चिन्दैन, देख्छ र सुन्छ मात्र, तब पार्टी जीवनको अपेक्षा गर्नु व्यर्थ हुन्छ । वडा कमिटी जति बढी सशक्त र संगठित हुन्छ, पार्टी त्यति नै बढी सक्षम र सुदृढ हुन्छ । मातहतका निकाय चुस्तदुरुस्त र जनमुखी बनाउन ढिलो गर्नुहुन्न । भ्रातृ संगठन विधान र उद्देश्यअनुसार चल्न सकेका छैनन् जनमुखी भएका छैनन्, आआफ्ना वर्गमुखी बनेका छैनन् । भ्रातृ संगठनलाई पुनर्संरचनासाथ गतिशील बनाउनुपर्छ ।

नयाँ पुस्तालाई उचित जिम्मेवारी छैन : नयाँ पुस्तालाई पार्टीका हरेक निकायको महत्वपूर्ण र जिम्मेवार भूमिकामा ल्याइनुपर्छ । नयाँ र युवापुस्ताको चाहनाबमोजिम पार्टी चल्न नसकेको प्रस्ट छ । आजको युग लेनिनवदी युग होइन, झुट टिक्दैन । सूचना र सञ्चारले गर्दा यथार्थ मिनेटमै पत्ता लागिहाल्छ । त्यसैले सनातन पार्टी सञ्चालन पद्धतिको तुरुन्तै विसर्जन गरी नयाँ सोचसाथ पार्टी सञ्चालन गर्नुपर्छ ।

नयाँ पुस्ताले पनि पार्टीलाई गतिशील बनाउने भाषा मात्र सार्वजनिक ठाउँमा प्रयोग गर्नुपर्छ । युवानेताले पनि नीति परिवर्तनभन्दा नेतृत्व परिवर्तन मात्र चाहेका छन् । प्रजातान्त्रिक पार्टीको नेतृत्व विधानको प्रक्रियाले मात्र परिवर्तन हुन्छ । आवेग र आवेशमा आएर हो अथवा प्रशिक्षणको अभावमा हो, नयाँ र युवानेताले जनआकांक्षाबमोजिम दृष्टिकोण दिन सकिराखेको देखिँदैन । मात्र नेतृत्वको फेरबदलले कांग्रेसको पुनर्ताजगीकरण होला जस्तो लाग्दैन ।

अन्त्यमा : यसको मतलब यो होइन कि पुस्तान्तरण र हस्तान्तरण जरुरी छैन । अब बन्ने विधानमा दुईपटक कार्यकारी पद लिएका र सत्तरी वर्ष उमेर हद नाघेका नेताले कार्यकारी पद र पुरानो योगदानको अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने प्रस्ट व्यवस्था हुनुपर्छ ।

अझ पनि ०४८ पछि हालिमुहाली गरेका र ६५, ७० उमेर नाघेका बूढाखाडाले पद र अनुभव ओगटेर बस्ने हो भने अर्को निर्वाचनसम्म कांग्रेसको अस्तित्व नामेट भइसक्नेछ । त्यसैले आधुनिक सोच र जनचाहनाबमोजिम पार्टी सञ्चालनमा ध्यान दिनु अनिवार्य छ ।

तपाईको प्रतिक्रिया