रोहितको कीर्तिमानी शतक
eNaya Patrika
  • ePaper

रोहितको कीर्तिमानी शतक

भारतका ओपनर रोहित शर्माले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा छिटो शतक बनाउने कीर्तिमान बराबरी गरेका छन् । श्रीलंकाविरुद्धको दोस्रो टी–२० खेलमा रोहितले ३५ बलमै शतकीय इनिङ खेल्दै दक्षिण अफ्रिकन ब्याट्सम्यान डेभिड मिलरको रेकर्ड बराबरी गरेका हुन् । मिलरले दुई महिनाअघि ३५ बलमै बंगलादेशविरुद्ध शतक बनाएका थिए । टी–२० मा सबैभन्दा छिटो शतक वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेलको नाममा छ । उनले २०१३ को आइपिएलमा ३० बलमा शतक प्रहार गरेका थिए ।

रोहितको शतकसँगै भारतले दोस्रो खेलमा श्रीलंकालाई ८८ रनले हरायो । पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेटको नोक्सानीमा २ सय ६० रन बनाएको थियो । श्रीलंका १७.२ ओभरमा १ सय ७२ रनमा अलआउट भयो । रोहितले आफ्नो इनिङमा ४३ बलको सामना गरी १२ चौका र १० छक्का प्रहार गर्दै १ सय १८ रन बनाए ।

४ छिटो शतक
१. रोहित र मिलर
अफ्रिकन ब्याट्सम्यान मिलरले आफ्नै साथी रिचर्ड लेभिसले पाँच वर्षअघि बनाएको सर्वाधिक छिटो शतक प्रहारको रेकर्ड बंगलादेशविरुद्धको खेलमा तोडेका थिए । उनले गत अक्टोबरमा बंगलादेशविरुद्ध ३५ बलमा शतक बनाएका थिए । भारतका रोहितले ३५ बलमा पहिलो टी–२० शतक बनाए ।

२. रिचार्ड लेविस
दक्षिण अफ्रिकाका लेविसले न्युजिल्यान्डविरुद्ध ह्यामिलटनमा भएको खेलमा ४५ बलमा शतक प्रहार गर्दै सर्वाधिक छिटो शतक प्रहार गरेका थिए । उनले दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा सो सफलता हात पारेका हुन् । उनले आफ्नो इनिङमा ५ चौका र १३ छक्का प्रहार गरे ।

३. डु प्लेसिस र राहुल
दक्षिण अफ्रिकी फाफ डु प्लेसिस र भारतीय लोकेश राहुलले वेस्टइन्डिजविरुद्ध टी–२० मा शतक प्रहार गरेका छन् । संयोगले दुवै ब्याट्सम्यानले ४६ बलमा शतकीय इनिङ खेले ।

४. आरोन फिन्च र क्रिस गेल
अस्ट्रेलियाका आरोन्च फिन्च र वेस्ट इन्डिजका क्रिस गेल पनि छिटो शतक हान्नेको सूचीमा छन् । फिन्च र गेलले इंग्ल्यान्डविरुद्ध ४७ बलमा शतक प्रहार गरेका थिए ।

तपाईको प्रतिक्रिया