४८ अंकले ओरालो लाग्यो नेप्से
eNaya Patrika
  • ePaper

४८ अंकले ओरालो लाग्यो नेप्से

गत साता नेप्से परिसूचक ओरालो लागेको छ । नेप्सेसँगै गत साता कारोबार रकम पनि घटेको छ । गत साता पाँचै कारोबार दिन बजार खुला रहेको थियो । राजनीतिलाई बजारसँग जोडेर हेर्नेहरूले सरकार बन्ने अन्योलका कारण बजार ओरालो लागेको विश्लेषण गरेका छन् । बैंकहरूले निक्षेप तथा कर्जामा ब्याजदर बढाएका कारण गत साताको बजार प्रभावित भएको हो । बैंक तथा वित्तीय संस्थाहरूले लगानीयोग्य पुँजीको अभाव भएका कारण निक्षेपमा ११ प्रतिशतसम्म ब्याज दिने योजना सार्वजनिक गरेका छन् ।

सोही योजनातर्फ लगानीकर्ता आकर्षित भएका कारण बजार ओरालो लागेको हो । लगानीकर्ताहरू सेयर बिक्री गरेर बैंकमा पैसा जम्मा गर्नतर्फ लागेका छन् । साथै बजारमा सेयर आपूर्ति पुनः बढ्न थालेपछि नेप्से ओरालो लाग्न दबाब पुगेको हो । सूचीकृत कम्पनीहरूले जारी गरेको हकप्रद तथा बोनस सेयरका कारण बजारमा सेयर आपूर्ति बढेको हो । नेप्सेको १४ दिने आरएसआई गत साताको अन्तिम कारोबार दिन ३४ दशमलव ६८ स्केलमा रहेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ ।

गत साता १ सय ७७ कम्पनीको २४ हजार ६ सय ५५ पटकको कारोबारमा २ अर्ब ५७ करोड ९१ लाख १८ हजार रुपैयाँबराबरको ५७ लाख ११ हजार ८० कित्ता सेयर खरिद–बिक्री भएको छ । अघिल्लो साताको तुलनामा गत साताको कारोबार रकम ११ दशमलव ९२ प्रतिशत बढेको छ । अघिल्लो साता १ सय ७९ कम्पनीको २३ हजार ७ सय २७ पटकको कारोबारमा २ अर्ब ९२ करोड ८३ लाख ६ हजार रुपैयाँबराबरको ५७ लाख ९५ हजार ७ सय ३० कित्ता खरिद–बिक्री भएको थियो ।

अघिल्लो साताको अन्तिम कारोबार दिन १ हजार ५ सय २० दशमलव १५ बिन्दुमा बन्द भएको बजार गत साताको बिहीबार १ हजार ४ सय ७२ दशमलव १५ बिन्दुमा बन्द भएको छ । परिसूचक पहिलो दिनको तुलनामा ३६ दशमलव ९९ अंक घटेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ८ दशमलव १३ अंक घटेर ३ सय ९ दशमलव ९४ बिन्दुमा पुगेको छ।

गत साता पाँच कम्पनीहरूले कुल २ करोड ६४ हजार ६ सय ८९ दशमलव १२ कित्ता सेयर सूचीकृत गरेका छन् । सो साता अरुण फाइनान्स लिमिटेडले १५ लाख कित्ता र सप्तकोसी डेभलपमेन्ट बैंकले २७ लाख ४३ हजार कित्ता हकप्रद सेयर सूचीकृत गरेका छन् । एनआइसी एसिया बैंकले १ करोड ३३ लाख ८५ हजार १ सय ९५ कित्ता, प्रभु इन्स्योरेन्सले ११ लाख ८ हजार ८ सय ४५ दशमलव ३९ कित्ता र नागरिक लगानी कोषले १३ लाख २७ हजार ६ सय ४८ दशमलव ७३ कित्ता बोनस सेयर सूचीकृत गरेको छ ।

गत साता कारोबारमा आएको व्यापार समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक घटेको छ । बिमा समूहको परिसूचक गत साता सर्वाधिक २ सय ६ दशमलव ३३ अंक घटेको छ । त्यसैगरी, ‘अन्य’ समूहको परिसूचक ६१ दशमलव ८८ अंक, लघुवित्त समूहको ५० दशमलव ९४ अंक, जलविद्युत् समूहको ५० दशमलव १५ अंक, विकास बैंक समूहको ४५ दशमलव ७३ अंक, होटेल समूहको ४१ दशमलव ७ अंक, वाणिज्य बैंक समूहको २३ अंक, उत्पादनमूलक समूहको १६ दशमलव ५ अंक र वित्त समूहको ४ दशमलव ६८ अंक घटेको छ । कारोबारमा आएको व्यापार समूहको परिसूचक भने गत साता ३ दशमलव १३ अंक बढेको छ ।

गत साता कारोबार रकमका आधारमा नेपाल दूरसञ्चार लिमिटेड अगाडि रहेको छ भने सेयर संख्या र कारोबार संख्याका आधारमा नेपाल ग्रामीण विकास बैंक लिमिटेड अगाडि रहेको छ । सो साता नेपाल दूरसञ्चारको २० करोड ५० लाख ३० हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ भने नेपाल ग्रामीणको १ हजार ७ सय ७ पटकको कारोबारमा ३ लाख ५९ हजार कित्ता कारोबार भएको छ।

तपाईको प्रतिक्रिया