जता पनि ढिलाइ - Naya Patrika
eNaya Patrika
  • ePaper

जता पनि ढिलाइ

सरकारले राष्ट्रपतिसमक्ष कात्तिकमै राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश पठायो, राष्ट्रपति कार्यालयबाट त्यसलाई जारी गर्न अझै ढिलाइ भइरहेको छ । निर्वाचन सकियो, नयाँ सरकार गठनमा ढिलाइ हुँदै छ ।

अदालतमा कुनै मुद्दा पर्छ, त्यसमा पनि ढिलाइ नै भइरहेको देखिन्छ । हाम्रो देशमा जता हे¥यो, त्यतै ढिलाइ नै ढिलाइ मात्र देखिन्छ । समयमै कुनै काम भयो भनेको सुनियो भने विश्वास गर्नै नसकिने अचम्मको अपसंस्कृति हामीमाझ मौलाइरहेको छ ।

कुनै पनि विकास निर्माण आयोजनाको त झन् चर्चा गर्नै पर्दैन । यहाँ कुनै पनि त्यस्तो आयोजना नहोला, जसको निर्माण तोकिएकै मितिमा सम्पन्न भएको होस् । स्थानीय स्तरका स–साना आयोजनादेखि राष्ट्रिय गौरवका ठूला आयोजनाको हालत पनि त्यस्तै देखिन्छ ।

राजधानीमा उहिल्यै आइसक्नुपर्ने मेलम्चीको पानी कहिले आइपुग्छ, अझै त्यसको टुंगो लागिसकेको छैन । यो आयोजना पनि ढिलासुस्तीको एउटा गम्भीर नमुना बनेको छ ।

यसैबीच राष्ट्रिय स्तरमा जहिल्यै चर्चामा रहने गरेको मुग्लिन–नारायणगढ सडकखण्डको विस्तार तथा स्तरोन्नति आयोजना फेरि पनि समयमै सम्पन्न हुन नसक्ने समाचार आएको छ ।

निर्माणसम्बन्धी ठेक्का स्वीकृत गर्दा यसै वर्षको अप्रिलसम्ममा सम्पन्न गरिसक्नुपर्ने समयसीमा तोकिएको भए पनि पटक–पटक गरी तीनपटक थपिएको समयसीमाभित्र पनि यस आयोजनाले पूर्णता नपाउने निश्चित भएको छ ।

पुस पहिलो सातासम्ममा आयोजनाको ८१ प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि अहिलेसम्म जम्मा ६८ प्रतिशत मात्र काम सम्पन्न भएको हुनाले तोकिएको समयमा आयोजनाले पूर्णता नपाउने निश्चित भएको हो ।

 

निर्माणसम्बन्धी ठेक्का स्वीकृत गर्दा यसै वर्षको अप्रिलसम्ममा सम्पन्न गरिसक्नुपर्ने समयसीमा तोकिएको भए पनि पटक–पटक गरी तीनपटक थपिएको समयसीमाभित्र पनि मुग्लिन–नारायणगढ सडकखण्ड स्तरोन्नति आयोजनाले पूर्णता नपाउने निश्चित भएको छ

 

मुग्लिन–नारायणगढ सडकखण्ड देशकै सर्वाधिक व्यस्त सडक खण्डमा पर्छ । देशको पूर्वी र पश्चिमी भेगसम्मको यात्राका लागि यो सडकखण्ड पार गर्नैपर्छ । स्तरोन्नतिको क्रममा रहेको यो सडक निर्माण कार्यका कारण दैनिक हजारौँ सवारीसाधन र हजारौँ यात्रुले सास्ती खेपिरहनुपरेको छ ।

आयोजनाकै कारण दैनिक हजारौँ सवारीसाधन लामो जाममा फस्ने गरेका छन् । जामका कारण दैनिक हजारौँ यात्रु समयमै गन्तव्यमा पुग्न सकिरहेका छैनन् । सडकयात्राका क्रममा झेल्नुपर्ने धुलोको आतंकको त चर्चा गरिरहनै परेन ।

कुनै पनि आयोजना समयमै सम्पन्न गर्नु, गराउनु ठेकेदार कम्पनी तथा सम्बन्धित सरकारी निकायको दायित्व हो । तर, पटक–पटक गरी तीनपटक समयसीमा थप गरिँदा पनि अझै लक्ष्यअनुसार काम सम्पन्न नहुनु सम्बन्धित सरोकारवाला सबैको गम्भीर लापरबाही हो ।

स्तरोन्नतिको क्रममा रहेको ३२ दशमलव दुई किलोमिटर लामो यस सडकखण्डमा जम्मा १३ दशमलव पाँच किलोमिटर मात्र अहिलेसम्म कालोपत्रे भएको छ । अझै पनि १९ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी नै छ भने आठ सय मिटर सडकको भित्तो काट्ने काम पनि बाँकी छ ।

यस्तो अवस्थामा अझै पनि यो सडक विस्तार तथा स्तरोन्नति आयोजनामा कति ढिलाइ हुन्छ र अझै यात्रु तथा सवारीचालकले कति सास्ती खेप्नुपर्छ, यसै भन्न सकिने अवस्था छैन । के जनताले जहिल्यै यस्तो ढिलासुस्तीका कारण सास्ती मात्रै झेल्नुपर्ने हो ?

तपाईको प्रतिक्रिया