९९ वर्षीय राष्ट्रकविको समीक्षा : देशको भविष्य उज्ज्वल छ
eNaya Patrika
  • ePaper

९९ वर्षीय राष्ट्रकविको समीक्षा : देशको भविष्य उज्ज्वल छ

७ असोज १९७६ मा लमजुङको पुस्तुनमा जन्मेका राष्ट्रकवि माधवप्रसाद घिमिरे ०७५ वैशाखदेखि (वर्षका आधारमा) जीवनको शताब्दीमा प्रवेश गर्नेछन् । ९९ वर्षको आखिरीमा घिमिरेले राजनीति, समाज, विश्व परिवेश र साहित्यलाई नजिकबाट नियालिरहेका छन् । उनी जन्मेयता विश्वले दोस्रो विश्ययुद्धदेखि शीतयुद्धको अन्त्य हुँदै उत्तरकोरियाको आणविक त्रासदीको अनुभव गरिरहेको छ । छिमेकी भारतसहित दक्षिण एसियाले उपनिवेशबाट मुक्ति पाएका छन् भने देशभित्र राणा, पञ्चायत, प्रजातन्त्र हुँदै गणतन्त्र स्थापना भएको छ । एक सय वर्षमा यतिवेला देश कहाँ छ ? राजनीति र विकास अनि साहित्यमा, यो अवधिमा भएका उतार–चढाव र परिवर्तनलाई घिमिरेले कसरी नियालेका छन् ? आफैँलाई चाहिँ उनले कुन स्थानमा उभ्याउँदा रहेछन् ? राष्ट्रकवि घिमिरेले शुक्रबार कपुरधारास्थित निवासमा नयाँ पत्रिकाका पर्शुराम काफ्ले र कृष्ण कट्टेलसँग जीवनकालका विश्व र घरेलु घटनाक्रमको समीक्षा गर्दै साहित्यमा आएका परिवर्तनबारे बेलिविस्तार लगाए :

माधवप्रसाद घिमिरे, राष्ट्रकवि

 

कुनैवेला हामी छोइछिटो (छुवाछुत)को स्थितिमा थियौँ, अहिले सहभोजन गर्न थालेका छौँ । मर्दका तीनवटी श्रीमती हुन्छन् भन्ने अवस्थाबाट आजभोलि ‘खबरदार एउटै श्रीमतीलाई समेत राम्रोसँग राखिनस् भने…’ भन्ने ठाउँमा छौँ । हामीले राजनीति थाहा पाउँदा भारतवर्षको मात्रै पत्रिका पढिन्थ्यो । त्यहाँबाहेक अन्तको थाहा हुँदैनथ्यो ।

अहिले हामीले बोल्ने, लेख्ने स्वतन्त्रता पाएका छौँ । पहिला देश स्वतन्त्र थियो, तर नागरिक स्वतन्त्रता थिएन । अहिले दुई कारणले हाम्रो चेतनास्तर धेरै बढेको छ । पहिलो, हामी सञ्चारमाध्यमबाट देश–विदेशका संघर्ष र विकासका कथा सुन्दै आइरहेका छौँ । पत्रपत्रिका, रेडियो, टिभीले आजभोलि कुनै देशमा सत्ता परिवर्तन भयो मात्र होइन, त्यसको कारण, राजनीतिक चिन्तनसम्बन्धी समाचार लेख पस्किन्छन् । मानिस राजनीति र समाज परिवर्तनको बारेमा चनाखो छन् । सय वर्षमा हाम्रो चेतनाको स्तर धेरै माथि पुगेको म पाउँछु ।

तर, यही अवधिमा नेपाल राजनीतिक व्यवधानमा परिरहेको छ । ००७ सालमा राजा त्रिभुवनलाई गणतन्त्रका बारेमा थाहा रहेनछ । दिल्ली जाँदा ‘गणतन्त्र’मा सही लगाएर आए, नेपाल फर्केर त्यसबारे भाषण गरे । तर, छोराहरूले गणतन्त्र बुझेपछि त्रिभुवनलाई सम्झाए । महेन्द्रको प्रयास मुलुक गणतन्त्रमा नजाओस् भन्नेमा थियो । भित्रभित्रै भूमिगत भएर कम्युनिस्टले र प्रकट भएर कांग्रेसले गतिविधि गरिरहे । महेन्द्रले नचाहे पनि बीचबीचमा राजनीतिक स्वतन्त्रताको नारा लागे । नागरिक स्वतन्त्रता, वाक स्वतन्त्रताको विषय अघि आए । ०४६ को परिवर्तनपछि बनेको ०४७ को संविधान साँच्चै राम्रो थियो । तर, देश स्थिर भएन । त्यसपछि भाइभाइ लड्ने परिस्थिति आयो । नेपालीले नेपालीलाई मारेर नेपालीभूमिमा रक्तपात भएको अनौठो इतिहासको रचना भयो । ०४७ को परिवर्तन मान्दै अघि बढ्दै गर्दा फेरि गणतन्त्र आयो । हामी विकासमा ३०–४० वर्ष पछाडि प¥यौँ । दक्षिण कोरिया दोस्रो विश्वयुद्धका वेला नेपालभन्दा निकै पछाडि थियो । अहिले त्यहाँ बनेका गाडी हाम्रो सडकमा गुडिरहेका छन् ।
०००
नेपालमा हरेक परिवर्तनमा मानिसहरू खुब रमाए । तर, नेता र आममानिस अलमलिए । हाम्रो देशको हरेक परिवर्तनमा अलमल्याउनेहरू भेटिए । बाहिर वा भित्र कहाँबाट कसले अलमल्याएका थिए, त्यो राजनीतिक दलले खोजून् । जसका कारण राजनीतिको विकास बीचमा रोकियो । मलाई लागेको रोचक पक्ष के हो भने महेन्द्रले कम्युनिस्टहरू मेरा पक्षमा छन्, कांग्रेसलाई ध्वस्त बनाउँछन् भन्ने सोच राखे । तर, कम्युनिस्टहरूले पहिला राजतन्त्र ध्वस्त बनाए, अहिले कांग्रेसलाई ध्वस्त बनाउन लागेका छन् । यो पनि बडो अनौठो छ । राजनीति फेरिए पनि नेपालीहरूको स्थिति के भयो भन्ने उदाहरण हेर्न अन्त जानुपर्दैन, मेलम्ची गए पुग्छ । पानी आउन लाग्यो भनेर आजभन्दा २० वर्षअघि कृष्णप्रसाद भट्टराईले भनेको म सम्झिरहेको छु । तर, अहिले पनि नेताले त्यही सपना देखाइरहेका छन् । सय वर्षअघि शिक्षा आत्मसन्तुष्टि र धर्मका लागि थियो । अहिले शिक्षामा अन्तर्राष्ट्रियकरण भएको छ । नयाँ कुरा धेरै छन् ।

०००
हामीलाई कुनै ठूलो देशसँग लडाइँ गर्नुपर्ने, उनीहरूविरुद्ध मिसाइल उडाउनुपर्ने छैन । हामीसँग भएको अपार प्रकृति, जलसम्पदाको विकासबाट राष्ट्र समृद्ध बन्नेछ । बगर मात्रै भएका देश विकसित भएका छन् । तर, हाम्रोजस्तो ढुंगैढुंगा र काठ भएको देश त अझ छिटो विकास हुनुपर्ने हो । हामीकहाँ भएको कच्चापदार्थ हाम्रै कमजोरीका कारण बाहिरिएको छ । हाम्रो देशका कागज कारखाना, चिनी कारखानालगायतका कारखाना बन्द भए । हाम्रा लाखौँ युवा अरबमा पसिना बगाइरहेका छन् । पढेलेखेकाहरू अमेरिका, युरोपतिर गइरहेका छन् । यसलाई सुधार्नुपर्छ ।

०००
मुलुकमा गणतन्त्र आएको छ । विकासका लागि यो सबैभन्दा राम्रो मौका हो । कच्चापदार्थ हामीसँग छ । अन्तर्राष्ट्रिय जगतले समेत हामीलाई सहयोग गर्ने वाचा दिएको छ । बरु हामीले पैसा ल्याउन सकेका छैनौँ । हाम्रा नेताहरू स्थिर सरकार भयो अब उन्नति गर्छाैं भनिरहेका छन्, यो राम्रो हो । अहिले दुईवटा दल मिलेर बहुमत ल्याएका छन्, तै पनि तानातान छ । अब दलहरू अल्मलिनुहुँदैन, हामी कोही पनि निदाउनुहुँदैन । जनता अब चुप लागेर बस्दैनन् । छिमेकी दुई राष्ट्र धेरै विकसित भइसके । बीचको राष्ट्र गरिब भएर बसिरहन अब सम्भव छैन । पूर्वदेखि पश्चिमसम्म ठाउँ–ठाउँमा पहाड जोड्ने घिर्लिङ, तराईदेखि पहाड जोड्ने विकासका आयोजना बनाउन सक्नुपर्छ । पहिले विश्वलाई जोड्ने सामुद्रिक बाटो र हवाई मार्ग थियो । अहिले चीनले समेत अन्तराष्ट्रिय राजमार्ग भनेर रसुवागढी केरुङ रेलमार्ग बनाउने योजना अघि सारेको छ । भारतले के कति रुचाउँछ त्यो आफ्नो ठाउँमा छ, तर विकासको गति अब रोकेर रोकिँदैन । केही वर्ष समय लागे पनि नेपालमा रेल आउँछ । तर, सयर गर्नका लागि मात्रै रेल आउने होइन । हामीले उत्पादन गर्न सक्यौँ भने हाम्रा उत्पादित खाद्यान्नलगायतका सामग्री विदेशमा निर्यात गर्न सकिन्छ ।

०००
देशको समग्र गतिभन्दा साहित्यको गति राम्रो छ । साहित्यको शृंखला बीचमा टुटेको छैन । पहिले साहित्यकार, कविहरू औँलामा गन्न सकिन्थ्यो । अहिले कवि, साहित्यकार धेरै आएका छन् । तर, पनि सम्झिनेहरूले अझै पनि लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमालहरू नै सम्झिने स्थिति छ । शान्ति भएको अवस्थामा साहित्य राम्रो निस्किँदोरहेछ । अहिले धेरै विषयमा मन छरिएको छ । कुन विषयमा लेख्दा प्रसिद्ध भइन्छ भन्नेहरू छन् । गद्य कविता लेख्यो, राम्रो छ भन्नेको समूह थोरै छ । अब शान्तिकालमा यस्तो हुँदैन ।

ग्रामीण क्षेत्रमा पढ्ने खालका उपन्यासहरू पछिल्लो समय आएका छन् । द्वन्द्वको विषयवस्तुलाई लिएर लेखिएका कृति पनि आएका छन् । अनुवाद गरिएका कृति विश्वभर जान थाले । नोबेल पुरस्कारका लागि मेरै ‘अस्वस्थामा’ गएको थियो । पुरस्कार नपाए पनि त्यहाँसम्म पुग्नु ठूलो कुरा हो । कुनै न कुनै रूपमा नेपाली साहित्यको चर्चा अन्तर्राष्ट्रिय जगत्मा भइरहेको छ । गद्य, गीत र गजलमा राम्रो भइरहेको छ । पद्यमा हामी पछि पर्‍यौँ भन्ने पक्षमा म छैन । हाम्रो युग पनि गौरवशाली छ भन्नेमा छु । सयवटा त महाकाव्य लेखिएका छन् । सयवटा महाकाव्य नेपाली भाषामा हुनु भनेको कम हो ? कथा, उपन्यासलगायतका साहित्य लेखिएका छन्, तर पाठक घटे । किनभने अहिले अंग्रेजी पढ्ने वा हिन्दी पढ्नेहरू पनि बढे । अर्को कुरा साहित्यकारलाई लेखेर आत्मनिर्भर हुन गाह्रो छ । जीविकोपार्जन गर्न अरू काम गरेर फुर्सदमा मात्रै साहित्य लेख्नेहरू धेरै छन् । अर्को कमजोर पक्ष, अनुवाद हुन सकेको छैन । ललित साहित्यको अवस्था यस्तो छ । त्योबाहेक अनुसन्धानलगायतका कृति धेरै लेखिएका छन् । आजभोलि कवि सम्मेलन, कविताउत्सव भइरहेको छ । पाठकलाई रोजी–रोजी साहित्यिक कृति पढ्ने अवसर छ । यसमा हामीले असन्तोष मान्नुपर्दैन ।

बल्ल प्रतिलिपि अधिकार ऐन बन्यो । पहिले हामीसँगबाट दुई हजारमा लगेको कृति छापेर हजारौँ कमाउथे । अरूले नै कमाउँथे भने अहिले कानुन बनेको छ । अहिले भाषा, साहित्य लेखनमा धेरै लगानी भएको छ । कलाकारितामा यति धेरै लगानी भए पनि प्रसिद्धि कमाउनेहरू कम छन् । तर, कवि साहित्यकारले निरन्तरता दिइरहेका छन् । स्तरीयताका लागि भने साहित्यकारले साधना गरिरहनुपर्छ ।


जीवनमा म केही न केही हुन्छु भन्ने लागेको थियो । तर, देशकै राष्ट्रकवि हुन्छु भन्ने कल्पना गरेको थिइनँ । मेरो कविता बाहिर आएको समयदेखि नै मलाई थपडी बजाउने प्रशंसकहरू पाएँ । मेरो ‘गौरी’ शोककाव्यलाई विश्वकै दुर्लभ साहित्य भन्नेहरू भेटिए । मेरो ‘मालती मंगले’ स्तरको कृति अहिलेसम्म निस्केको छैन भन्नेहरू पनि छन् । मेरा टुक्राटाक्री गीतले पनि सदाबहार चर्चा पाइरहेका छन् । एउटा लेखकलाई प्रसंशकहरू बढ्नुजस्तो खुसीको विषय के हुन सक्ला र ? आफ्ना कतिपय कृति सम्झिँदा म आफैँ मख्ख पर्छु :
रातमा मलाई हेर्दछ टोलाई पूर्वको ताराले
त्यो कान्तिपुरमा सपनाको सुरमा सम्झ्यो कि प्याराले
असम्भवजस्ता गीत पनि लेखेको छु :
उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले
जान्दिनँ म एकैचोटि के हो कुन्नि कहिले
पाठ्यक्रममा राखिएका छन्, परीक्षामा विद्यार्थीलाई पंक्ति दिएर व्याख्या गर्न लगाइन्छ । जस्तै :
आई कहिल्यै पनि नसकिने चैत–वैशाख मेरा
लाई कहिल्यै पनि नसकिने प्रीत नौलाख मेरा
यसमा व्याख्या गर्न लगाइयो भने तपार्इंले ५० पृष्ठ पनि लेख्न सक्नुहुन्छ :
नेपाली हामी रहौँला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे
देशभर जनजनको मुखमा यी सिर्जना कण्ठस्थ छन् । मैले सबैलाई राष्ट्रिय भावना सिकाएको पनि छु । मलाई यसमा गर्व छ :
गाउँछ गीत नेपाली,ज्योतिको पंखा उचाली
जय जय जय नेपाल, सुन्दर शान्त विशाल…
अहिले उमेरले पनि दिँदैन । तर, जीवनकालमा मैले जे–जे रचना गरेँ, सन्तुष्ट छु । हरेक पुस्ताले मलाई सम्झेको छ, म हरेक पुस्तामा पुगेको छु ।

०००
विश्वमा मैले दुईवटा समस्या देखेको छु । एउटा एटम बमको समस्या । बुद्धि पुगेन भने मानव सभ्यता र धर्ती नै खत्तम हुन्छ । मानिसले धर्तीलाई स्वर्ग बनाउन पनि सक्छ, उसैले बनाएको बमले सर्वनाश पनि गर्न सक्छ । अर्को, क्यान्सरको खतरा देखेको छु । यो खतराबाट विश्वलाई
मुक्त गर्नुपर्छ ।

कहिलेकाहीँ प्रश्न गर्छु, हाम्रो मस्तिष्कको विकास धेरै भयो कि हृदयको ? उन्नति त धेरै भयो । अहिलेको नयाँ पुस्ता बिहानदेखि बेलुकासम्म प्रविधिमा झुम्मिएको छ । अहिले मानिस ‘टेक्निकल माइन्डेड’ भए । अहिलेसम्म त हामीसँग हृदयपक्ष धेरै छ । तर, आगामी पुस्तामा हृदयपक्ष कहाँ होला ? विकसित पश्चिमेली मुलुकमा मस्तिष्कपक्ष बलियो भएर गएको छ, हृदय पक्ष कमजोर बन्दै छ । यस्तै हुँदै गए मानिस पछि कस्तो होला ? त्यसलाई रोक्नुपर्छ । मैले नयाँ महाकाव्य ऋतम्भरामा यो सन्देश दिएको छु । सम्भवतः चैतसम्म महाकाव्य तयार होला ।

०००
कवि भनेको सामान्य मानिसभन्दा फरक हो । ऊबाट कविताकै आशा गरिन्छ । नेता पनि सामान्य मानिसभन्दा फरक हो । त्यसैले राष्ट्र बचाउने र उन्नति गराउने आशा नेताबाटै गरिन्छ । राष्ट्रमा कहिले दुःख त कहिले सुख आइपर्छ । कुनैवेला राम्रो मौका पनि आउँछ । अहिले हामीले दुःख भोग्दाभोग्दा ७० वर्षपछि लोकतन्त्र पाएका छौँ । अब हामीसँग अवसर मात्रै छ । हामीसँग प्राकृतिक स्रोतसाधन, कच्चापदार्थ र जनशक्ति छन् । म नेताहरूलाई आग्रह गर्छु, राष्ट्र प्राकृतिक रूपमा जति सुन्दर छ, सिर्जना र विकासको हिसाबमा पनि त्यस्तै सुन्दर बनाइदिनुस् । यो शताब्दीमा मैले निकालेको निष्कर्ष यही हो । दुनियाँको विकास हेरौँ, सिकौँ र केही गरौँ । सय वर्षको सम्मुखमा म यो देशको उज्ज्वल भविष्य देखिरहेको छु । अन्तमा, नयाँ पुस्तालाई भन्न चाहन्छु :
यो जिन्दगी जति बुझ्यो त्यति बुझ्न बाँकी
नौलो कुरा जति सुझ्यो त्यति सुझ्न बाँकी

तपाईको प्रतिक्रिया