किन गर्ने कस्मेटिक सर्जरी ? - Naya Patrika
eNaya Patrika
  • ePaper

किन गर्ने कस्मेटिक सर्जरी ?

कस्मेटिक सर्जरीलाई सुन्दरता निखार्ने माध्यमको रूपमा लिइएको पाइन्छ । सर्जरीमार्फत विशेषगरी अनुहारमा नमिलेको भाग र चाउरी परेको छालालाई तन्काउनेदेखि छाला नभएको ठाउँमा अन्य ठाउँबाट छाला ल्याएर भर्ने, अनुहार मिलाउने, आँखा मिलाउने गरिन्छ । शरीरको बाहिरी अंगमा कुनै कमी महसुस भएमा कस्मेटिक सर्जरी गरेर परिपूर्ति गर्ने सकिन्छ । पछिल्लो समयमा सुन्दरताका लागि सर्जरी गर्ने युवाको जमात बढ्दो छ । त्यस्तै आँखाको सुन्दरताका लागि पनि युवा आकर्षित छन् । आँखावरिपरि देखिने विभिन्न समस्याको समाधानका लागि मानिस अस्पताल पुग्ने गर्दछन् ।

तिलगंगामा १६ सयले गरे आँखाको सर्जरी

तिलगंगा आँखा अस्पताल प्रतिष्ठानमा यस वर्ष १६ सय व्यक्तिले आँखा सुन्दरताका लागि सर्जरी गराएका छन् । ग्लोबल आँखा केन्द्रका डाक्टर वेन लिम्बूका अनुसार लडेर आँखावरिपरि चोट लागेका व्यक्ति, केमिकल लागेर, आगो, तातोपानीले डढेर, एसिडको कारण अनुहारलगायत आँखाको सुन्दरता गुमाएका व्यक्ति कस्मेटिक सर्जरीबाट लावान्भित भएका छन् ।

ग्लोबल आँखा केन्द्रमा एक हप्ताको अवधिमा १५ जनाको आँखावरिपरिको कस्मेटिक सर्जरी गरेको डाक्टर लिम्बूले बताए । यस्ता समस्या भएर अस्पताल आउने व्यक्तिको प्लास्टिक सर्जरी गरेर पहिलेको अवस्थामा ल्याइन्छ । कुनै पनि सर्जरी गर्दा अरूको लहलहैमा लागेर गर्नुभन्दा राम्रोसँग बुझेर गर्नुपर्ने डाक्टर लिम्बूले बताए । कस्मेटिक सर्जरीबारे सही जानकारी पाउन नसक्दा यो सेवा लिन चाहने धेरै मानिस सेवाबाट वञ्चित हुँदै आएका छन् । कस्मेटिक सर्जरी दुई प्रकारले गर्न सकिन्छ । एउटा सर्जरी र अर्को ननसर्जरी (सुइको माध्यमबाट) ।

ननसर्जिकल कस्मेटिक सर्जरी

आँखावरिपरि हुने चाउरीपना हटाउन र आँखाको वरिपरि देखिने सानोसानो खाल्डो हटाउन सर्जरी गर्नुपर्दैन । कतिपय व्यक्तिको आँखा डिल अथवा वरिपरि सानो सानो खाल्डो पर्ने गर्छ । आँखासँगै नाकको छेउमा पनि यस्ता खाल्डो देखिने गर्दछ । यस्ता समस्या उमेर बढ्दै जाँदा देखापर्ने हुन्छ । यस्तो खाल्डो पुर्न एक किसिमको इन्जेक्सन लगाइन्छ । इन्जेक्सन लगाएपछि मान्छेको अनुहार पहिलेकै अवस्थामा आइपुग्छ ।

आँखावरिपरि हुने चाउरीपना विनासर्जरी हटाउन सकिन्छ । उमेर ढल्कँदै गएपछि वा युवा अवस्थाका मानिसको आँखावरिपरि हुने चाउरीपना हटाउन औषधि प्रयोग प्रयोग गरिन्छ । तर, यो सुईले ६ महिना मात्र काम गर्छ । सुईले चाउरीपना हटाएर पहिलेकै अवस्थामा ल्याउँछ ।

सर्जिकल कस्मेटिक सर्जरी

हरेक मान्छेको चाहना फरकफरक हुन्छ । कसैलाई आँखा सानो मनपर्छ भने कसैलाई ठूलो बनाउने चाहना हुन्छ । कसैको आँखाको तल्लो भाग ठूलो हुन्छ । कसैको आँखीभौँ माथि उठेको हुन्छ । यस्तो समस्या हुनेहरूका लागि सर्जरीको माध्यमबाट उपचार गरिन्छ । सर्जरी गर्दा कुनै साइड इफेक्ट हुँदैन ।

विशेषगरी आँखावरिपरि हुने कस्मेटिक सर्जरीका लागि आँखाको प्लास्टिक सर्जरी गर्ने विशेषज्ञकोमा जानुपर्छ । अन्य प्लास्टिक सर्जनकोमा जाँदा आँखामा अन्य जटिलता देखापर्ने हुन सक्छ । मान्छेका आफ्ना–आफ्नै चाहना हुन्छन् । कसैले सुन्दर रहन कस्मेटिक सर्जरी गर्दछन् भने कोही–कोहीले बाध्यतावश गर्नुपर्ने हुन्छ । कसैको एउटा आँखा सानो हुन्छ । आँखा सानो हुँदा उसले राम्रोसँग देख्न पनि सक्दैन । यस्तो व्यक्तिका लागि पनि सर्जरी गरेर आँखा ठूलो बनाइन्छ । जसले यस्तो समस्या झेल्नुपर्दैन ।

त्यस्तै, कसैको आँखा अत्यन्तै ठूलो हुन्छ । जसले गर्दा ऊ समाजमा घुलमिल हुन सक्दैन यस्तो व्यक्तिका लागि पनि आँखा सानो बनाउने गरिन्छ । त्यस्तो हुनेहरूका लागि पनि आँखा सानो बनाउन अप्रेसन गरिन्छ र पहिलेको अवस्थामा पु¥याउने गरिन्छ । थाइराइडले आँखाको
आकार ठूलो बनाउँछ । शल्यक्रिया गरेर पहिलेको अवस्थामा ल्याइन्छ ।

आँखाको तल्लो भागमा सुन्निएको हटाउन चाहनेका लागि पनि शल्यक्रिया गरेर हटाइन्छ । उमेर भएका मानिस अथवा उमेर बढ्दै गरेका मानिसको आँखामा विभिन्न समस्या देखापर्न सक्छन् । जस्तै, उमेर बढ्दै गएपछि आँखाको तलपट्टिको भाग बढ्दै जान्छ । उमेर चढ्दै जाँदा आँखाको वरिपरि कमलो हुँदै जान्छ । छाला कमलो भएपछि भित्रको बोसो बिस्तारै बाहिर निस्कन्छ । यस्तो शल्यक्रियाको माध्यमबाट उपचार गरेर पहिलेकै अवस्थामा ल्याइन्छ ।

कतिपयको आँखाको माथिको भाग बढेर हेर्दा नराम्रो देखिन्छ । यस्तो अवस्थामा माथि ज्यादा भएको छालालाई शल्यक्रिया गरिन्छ र हटाइन्छ । उमेर बढ्दै जाँदा माथिपट्टिको छाला बढ्दै जान्छ । छाला लुज भएर आँखाको ढकनी छोप्दै जान्छ । यस्तो समस्या हुनेको प्लास्टिक सर्जरी गरेर पहिलेको अवस्थामा ल्याइन्छ । यसले गर्दा मान्छे सुन्दर र जवान देखिन्छ ।

उमेर बढ्दै जाँदा होस् वा युवा अवस्थाका मानिसमा आइब्रो तल झर्ने समस्या देखिन्छ । यसरी तल झरेको आइब्रो सर्जरीको माध्यमबाट माथि सारिन्छ । आइब्रो तल झरेको मानिसको अनुहार थाकेकोजस्तो देखिन्छ, उमेर सानो भए पनि धेरै उमेर बितेकोजस्तो देखिन्छ । यस्ता व्यक्तिले यस्तो सर्जरीबाट फाइदा लिन सक्छन् । शल्यक्रियाको माध्यमबाट यसभित्र हुने बोसो र खुकुलो छाला निकालिन्छ र आइब्रो माथि उठाउने गरिन्छ ।

कतिपय व्यक्तिको आँखाको माथिल्लो भागमा हुने मुन्द्री हुँदैन । यस्तो व्यक्तिको आँखामा मुन्द्री बनाइन्छ । मंगोलियन अनुहार भएका व्यक्तिमा आँखाको मुन्द्री हुँदैन । कतिपयका आँखामा गाजल लाउन मिल्दैन भन्ने समस्या लिएर अस्पताल पुग्ने गर्दछन् । आँखाको मुन्द्री नहुनेहरूका लागि पनि अप्रेसन गरेर मुन्द्री लगाइन्छ । शल्यक्रिया गरेर आँखामा मुन्द्री लगाउने काम पनि आँखाको प्लास्टिक सर्जरी गर्ने डाक्टरले गर्ने गर्छन् ।

कतिपयको आँखाको भित्री भाग हुँदैन । आँखाको डल्लो कुहिएर, क्यान्सरले आँखा बिग्रिएको, आँखा सुकेर सेतो भएको मानिसको पनि अप्रेसन गरेर पहिलेकै अवस्थामा ल्याइन्छ । त्यसलाई पुनर्निर्माण गरेर अर्को आँखाजस्तै बनाइन्छ । आँखा नदेखिने भए पनि यसो हेर्दा नक्कली आँखा हो भन्ने कुरा छुट्याउन नसकिने हुन्छ ।

केमिकल परेर, आगोले पोलेर, तातोपानीले पोलेर आँखाको छाला बाहिर फर्केको हुन्छ । यस्ता व्यक्तिमा शरीरको अन्य भागबाट छाला ल्याएर आँखाको डिलमा लगाइन्छ र पहिलेको अवस्थामा ल्याइन्छ । यस्ता सर्जरी गर्दा सम्बन्धित डाक्टरकोमा जानुपर्छ । जसले गर्दा अन्य समस्याबाट बच्न सकिन्छ ।

कतिपय अनुहार र आँखामा हुने यस्ता समस्याको कारण साथीभाइ, समाजमा घुमिल हुन सक्दैनन् । सानो उमेरदेखि नै आँखा र अनुहारमा विभिन्न समस्या देखापर्न सक्छ । प्लास्टिक सर्जरीले कुनै साइड इफेक्ट गर्दैन । आँखाको प्लास्टिक सर्जरी गर्ने मान्छे फरक हुन्छ । सर्जरीको क्रममा आउने कम्प्लिकेसनबाट बच्न आँखाको विशेषज्ञकोमा जानुपर्छ । सही ठाउँमा नजाँदा पछुताउनुपर्ने हुन्छ । सबै उमेर समूहका मानिसले कस्मेटिक सर्जरी गर्न मिल्छ । विशेषगरी १८ देखि २५ वर्ष उमेर समूहका मानिस सर्जरीप्रति आकर्षित छन् । जन्मजात अनुहारमा वा शरीरको देखिने भागमा कुनै प्रकारको खोट भएका युवाले आफ्नो सुन्दरताका लागि कस्मेटिक सर्जरी रोज्छन् ।

सकेसम्म प्लास्टिक तथा कस्मेटिक सर्जनसँग सल्लाह लिएर मात्र सर्जरी गर्नु उपयुक्त हुन्छ । कस्मेटिक सर्जरी नेपालमै गरिँदै आएको छ । नेपालमा सर्वसुलभ ढंगले यो सेवा पाइन्छ । प्लास्टिक सर्जरीका लागि नेपाली विदेश गएर लाखौँ रुपैयाँ खर्च गर्छन्, तर यहीँ पाउने सेवाबारे भने जानकारी राख्दैनन् । कस्मेटिक सर्जरी काटेरै गर्ने सर्जरी हो । तर, अनुहारको सर्जरी गर्दा नदेख्ने भागको छाला काटेर जोड्ने भएकाले त्यसको दाग देखिँदैन ।

तपाईको प्रतिक्रिया