साँघुरो कोठामा प्रेमिकाको आगमन - Naya Patrika
eNaya Patrika
  • ePaper

साँघुरो कोठामा प्रेमिकाको आगमन

साँघुरो कोठामा प्रेमिकाको आगमन –यदि तिमीले मलाई सन् १९७९ को शरद् ऋतुको कुनै दिन भेटेको भए तिमीलाई मेरो जातीय र सामाजिक पहिचान पहिल्याउन मुस्किल पथ्र्यो । त्यतिवेला म २४ वर्षको थिएँ । म हेर्दा जापानिजजस्तै देखिन्थेँ ।

तर, आमजापानिजभन्दा फरक थिएँ । मेरो कपाल काँधभन्दा तल झरेको थियो । लामा जुँगा थिए । हामी त्यतिवेला कि त हल्यान्डको ‘टोटल फुटबल’को चर्चा गरिरहन्थ्यौँ, कि बब डिलनको पछिल्लो एल्बमका गीत सुन्थ्यौँ । मैले केही समय लन्डनका घरविहीन मान्छेहरूका लागि पनि काम गरेँ ।

यदि तिमीले मलाई जापानका बारेमा सोध्यौ भने म मेरो अज्ञानता घोषणा गर्नेछु । जापान त्यो भूमि हो, जुन मैले पाँच वर्षको उमेरमा छाडेँ र कहिल्यै पाइला राखिनँ । छुट्टी मनाउन पनि गइनँ । त्यो शरद्मा म एउटा झोला, एउटा गितार र एउटा बोकेर मिल्ने खालको टाइपराइटर बोकेर बेलायतको नोर्फल्कस्थित बक्सटन भन्ने एउटा सानो गाउँ पुगेको थिएँ ।

त्यहाँ जताततै पानीले चल्ने मिल र फराकिला बारी थिए, जहाँ खेती लगाएको थियो । त्यतिवेला म सिर्जनात्मक लेखनमा इस्ट एङ्लिया विश्वविद्यालयको एकवर्षे पोस्ट ग्य्राजुएटका लागि त्यहाँ पुगेको थिएँ । सो विश्वविद्यालय नोर्विच सहरबाट १० माइल्स टाढा थियो । मसँग कार थिएन । त्यहाँसम्म पुग्न सार्वजनिक बस थियो । तर, त्यो दिनको एकपटक बिहान मात्र जान्थ्यो । मलाई विश्वविद्यालयमा हप्ताको दुई दिन मात्र गए हुन्थ्यो । त्यसकारण सहरतिरै एउटा कोठा भाडामा लिएँ ।

घरमालिक ३० को दशक पार भएको थिएन । उसलाई भर्खरै मात्र श्रीमतीले छाडेकी थिइन् । उसका लागि त्यो घर कुरूप सपनाहरूले भरिएको भूतबंगला थियो भन्नेमा कुनै शंका छैन । सम्भवतः ऊ एक्लै एकान्तमा बस्न चाहन्थ्यो र मलाई बेवास्था गथ्र्यो । मैले पनि उसलाई चासो दिँदैनथेँ ।

घरमालिक ३० को दशक पार भएको थिएन । उसलाई भर्खरै मात्र श्रीमतीले छाडेकी थिइन् । उसका लागि त्यो घर कुरूप सपनाहरूले भरिएको भूतबंगला थियो भन्नेमा कुनै शंका छैन । सम्भवतः ऊ एक्लै एकान्तमा बस्न चाहन्थ्यो र मलाई बेवास्था गथ्र्यो । मैले पनि उसलाई चासो दिँदैन थिएँ । हतारको त्यो जिन्दगीलाई छाडेर म लन्डन फर्कनु थियो, जहाँ मैले मलाई लेखकमा रूपान्तरण गर्नु थियो ।

वास्तवमा मेरो त्यो कोठा एउटा क्लासिक लेखकको जस्तो थियो । छत पर्याप्त अग्लो थिएन । कोठा साँघुरो र अस्तव्यस्त थियो । सानो टेबलमा मेरो टाइपराइटर राखेको थिएँ । झ्यालबाट पर जोतिएका खेतका गरा देखिन्थे । भुइँमा खाट राखेको थिइनँ । त्यहाँ औद्योगिक फर्मको टुक्रा राखेको थिएँ, जसले चिसो नोर्फोल्कको रातमा पनि मेरो पसिना निकालिदिन्थ्यो ।

Photo : qzprod | Graphic:nayapatrika

यो त्यही कोठा थियो जहाँ मैले वर्षामा लेखेका दुईवटा कथालाई अन्तिम रूप दिएँ । ती कथा राम्रा छन् भन्ने विश्वास भएपछि साथीहरूलाई देखाएँ । विश्वविद्यालयका साथीहरू प्रत्येक दुई हप्तामा भेट गथ्र्यौँ । त्यो समय मैले फिक्सन लेख्न थालेको थिएँ । बिबिसीमा रेडियो नाटक अस्वीकृत भएपछि म फिक्सनतिर लागेको हुँ ।

वास्तवमा म २० वर्षको हुँदा रक स्टार हुने सपना देखेको थिएँ । तर, मेरो बाटो त्यतातिर अघि बढेन । बरु लेखनतिर मोडियो । मेरा दुईवटा कथा विश्वविद्यालयमा पेस गरेपछि म सिर्जनात्मक लेखनको विद्यार्थीका रूपमा छानिएँ । ती कथा डरलाग्दो आत्महत्या सम्झौता र स्कटल्यान्डको स्ट्रिट फाइटबारे थियो । स्कटल्यान्डमा मैले सामुदायिक कर्मचारीका रूपमा केही समय बिताएको थिएँ । त्यहाँ मैले अर्को कथा सुरु गरेँ । त्यसमा एउटा किशोरले बिरोलोलाई विष पान गराएको विषय थियो ।

म सानो र अस्तव्यस्त कोठामा सरेको तेस्रो अथवा चौथो हप्ता एउटा कथा लेख्न थालेँ । मेरा लागि त्यो विषयवस्तु नयाँ थियो । त्यतिवेला हतार–हतार म जापान र नागासाकीका बारे लेखिरहेको थिएँ, जहाँ म जन्मिएको थिएँ । जुन सहर बमले ध्वस्त भएको थियो ।

म दुईवटा संस्कृतिमा बाँचेको मान्छे । त्यतिवेला एउटा युवा लेखकलाई आफ्नो संस्कृतिको जरोसम्म पुगेर लेख्न उत्पे्ररित गर्ने वातावरण थिएन । त्यहीबीच मैले मेरो पहिलो जापानी कथा पूरा गरेँ । त्यतिवेला मलाई उत्साहित गर्ने मेरा कक्षाका साथी तथा मेरा गुरु माल्कोल्म ब्राडबरी र एन्जेला कार्टर तथा उपन्यासकार पाउल बेली थिए । उनी अलिकति पनि सकारात्मक नभएका भए सम्भवतः त्यसउप्रान्त म जापानबारे कहिल्यै लेख्दिनँ थिएँ ।

उत्प्रेरणाकै कारण म त्यो सानो कोठामा फर्कनेबित्तिकै लेख्न थाल्थेँ । म गाउँको पसलबाट खानेकुरा ल्याएर खान्थेँ । मेरी प्रेमिका लोर्ना, जो अहिले श्रीमती भइसकिन्, प्रत्येक दुई हप्तामा भेट्न आउँथिन् । मेरो सन्तुलित दिनचर्या थिएन । तर, त्यही गाउँमा बसेर मैले चार–पाँच महिनामा नै मेरो पहिलो उपन्यास ‘अ पेइल भ्यू अफ हिल्स्’ लेखेँ । यो उपन्यास दोस्रो विश्वयुद्धमा आणविक बम खसालिएको नागासाकी पुनर्निर्माणमा केन्द्रित छ ।

जापानबाहिरको विषयवस्तुमा पनि कथा लेखिरहेको थिएँ । त्यो सानो गाउँमा बिताएका हरेक महिना मेरा लागि संकटग्रस्त थिए । तर, मैले ती दिन पार हुन नपरेको भए सायद म लेखक बन्न सक्दिनँ थिएँ । त्यसयता कहिलेकाहीँ म पछाडि फर्केर हेर्छु र प्रश्न गर्छु : मैले कसरी ती दिन बिताएँ ? मलाई त्यो अनौठो शक्ति कसरी प्राप्त भयो ? मेरो निष्कर्ष छ कि म त्यतिवेला तुरुन्तै गर्नुपर्ने शक्ति संरक्षणमा लागेको थिएँ । जसले मलाई यहाँसम्म ल्याइपुर्‍यायो । यो कुरा बुझाउन मैले थोरै विगत बताउनुपर्छ ।

म पाँच वर्ष हुँदा अप्रिल १९६० मा बेलायत आएँ । हामी लन्डनभन्दा ३० माइल टाढा सरेको गल्फोर्डमा बस्न थाल्यौँ । मेरो बुवा अनुसन्धान गर्ने वैज्ञानिक र समुद्र अन्वेषक हुनुहुन्थ्यो, जो बेलायत सरकारका लागि काम गर्नुहुन्थ्यो । हाम्रा छिमेकीहरू चर्च जान्थे । म कहिलेकाहीँ छिमेकी केटाकेटीसँग खेल्न जाँदा देख्थेँ कि तिनीहरू खानुअघि पनि प्रार्थना गर्थे ।

म आइतबारको विद्यालय भर्ना भएँ । यो प्रि–स्कुल थियो । त्यहाँ मैले लामा–लामा चर्चमा गाउने कोरस सिकेँ । १० वर्षको भएपछि स्कुल भर्ना भएँ, जहाँ पहिलोपटक गडफोर्डमा जापानी देखेँ । त्यो विद्यालयमा म मात्र अंग्रेजी मातृभाषा नभएको विद्यार्थी थिएँ । म बिस्तारै अंग्रेजी संस्कारमा अभ्यस्त हुँदै गएँ । किनभने त्यहाँ जापानिजहरू थिएनन् ।

मैले घरमा भने मेरा जापानिज आमा बुवासँग फरक जीवनशैली बाँचिरहेको थिएँ । घरमा फरक नियम र फरक आशाहरू थिए । फरक भाषा थियो । मेरा अभिभावक एक वा दुई वर्ष काम गरेपछि जापान नै फर्कन चाहन्थे । बेलायतमा पहिलो ११ वर्षसम्म हामी ‘अर्को वर्ष त फर्कने हो’ भन्दै बस्यौँ । मेरा अभिभावक आप्रवासी होइन कि पर्यटकका रूपमा बसिरहनुभएको थियो । अझ भनौँ कामदारका रूपमा हुनुहुन्थ्यो ।

देश फर्कने सोचका कारण मेरो जापानिज भाषा राम्रो बनाउन हरेक महिना जापानबाट कमिक्स, अखबार र शैक्षिक सामग्रीका पार्सल आइपुग्थे । मेरो हजुरबुवाको जापानमै मृत्यु भएपछि केही समय पार्सल आउन रोकियो । तर, बुवाले पुराना साथीहरूलाई भनेर फेरि झिकाउन थाल्नुभयो । म विद्यालयमा अंग्रेजी र घरमा जापानिज पढ्दै हुर्किएँ । जापानबाट आउने सामग्रीले मलाई परम्परागत जापानी समाज बुझ्न मद्दत गर्‍यो । जसका कारण मैले जापानका विषयमा लेख्न सकेँ ।

यसरी नै मेरा दिनहरू बिते । म २० वर्षको भएँ । अब त जापान मेरा लागि सम्झनामा धमिलो भइसकेको थियो । मैले ‘मेरो जापान’ भन्नु अमिल्दोझैँ लाग्न थालेको थियो । म १९६० बाट १९७० सम्म पुग्दा फरक भइसकेको थिएँ । तर, अहिले म ढुक्क छु कि मलाई जापान मेरो हो भन्ने भावना थियो र त्यो त्यति नै कमजोर थियो कि कुनै पनि बेला भाँचिन सक्थ्यो । २० वर्ष पार गरेपछि मैले धेरै सपना देख्न थालिसकेको थिएँ ।

यसैकारण नोर्फल्कको त्यो सानो कोठा पुगेको थिएँ । त्यो कोठा पुर्‍याउन मेरी प्रेमिका लोर्नाको पनि सहयोग थियो । उनको आगमनले सानो चिसो कोठा अरू न्यानो हुन्थ्यो । त्यहाँ रंगिन संसार थियो । वास्तवमै मैले नयाँ संसार भेटाएको थिएँ ।

म १९८३ को वसन्त ऋतुमा लण्डन फर्किएँ । त्यतिवेला लोर्ना पनि मसँगै थिइन् । अब भने हामीले दुईवटा कोठा लिएर बस्न थाल्यौँ । त्यो अग्लो तर, साँघुरो घरको माथिल्लो तलामा हामी जीवनको नयाँ गोरेटो कोर्न थालेका थियौँ । त्यतिवेला मैले लेखक बन्ने संकल्प गरिसकेको थिएँ ।

(यो वर्षको नोबल पुरस्कार विजेता इसिगुरोले १० डिसेम्बरमा पुरस्कार ग्रहण समारोहमा दिएको मन्तव्यको सम्पादित अंश)

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु