राहुलले फर्काउलान् त कंग्रेसको साख ? - Naya Patrika
eNaya Patrika
  • ePaper

राहुलले फर्काउलान् त कंग्रेसको साख ?

राहुलले गान्धीले भारतमा फर्काउलान् त कंग्रेसको साख ? भन्ने अहम् प्रश्न यतिबेला जताततै जन्मिएकाे छ । गान्धीले भारतमा १३२ वर्ष पुरानो इतिहास बोकेको भारतीय कंग्रेसको वागडोर सम्हालेका छन् । शनिबारदेखि उनी कंग्रेस पार्टी अध्यक्ष बनेका छन् । पार्टी अध्यक्षमा कसैको उम्मेदवारी नपरेपछि उनी निर्विरोध अध्यक्ष बनेका हुन् । भारतको प्रमुख प्रतिपक्ष दल कंग्रेस पार्टीले सन् २०१४ को आमनिर्वाचनमा मुस्किलले २० प्रतिशत मत प्राप्त गरेको थियो । निर्वाचनमा हिन्दूवादी पार्टी भारतीय जनता पार्टीले अप्रत्यासित सफलता हासिल गरेको थियो ।

कुल ५४३ सिट भएको सदनमा कंग्रेसले जम्मा ४४ सिट प्राप्त गर्यो । यो हिसाबले कंग्रेसले जम्मा ८ प्रतिशत मत ल्याएको थियो । पार्टीले इतिहासमा नै पहिलोपटक लज्जास्पद पराजय चाखेको होे । पार्टीको पराजयपछि निवर्तमान अध्यक्ष सोनिया गान्धीको प्रस्तुतिलाई लिएर विभिन्न स्तरबाट प्रश्न उठेका थिए ।

photo : Firstpost

त्यसपछि भएका विधानसभा निर्वाचनमा कंग्रेसले आधा दर्जन राज्यमा पराजय चाखेको छ । ऊ केवल कर्नाटक र पन्जाब दुई ठूला राज्य र अन्य तीन साना राज्यमा मात्र शक्तिमा छ । गाउँ तथा सहरका मतदाताको पार्टीप्रति अझै वितृष्णा छ । सन् २००९ देखि २०१४ को बीचमा पार्टीले ९ प्रतिशत लोकप्रिय मत गुमाएको थियो । जनजाति र अल्पसंख्यकहरूको कंग्रेसप्रति मोह घटेको थियो । ‘कंग्रेसले निरन्तर रूपमा समर्थन गुमाउँदै गएको छ । सर्वसाधारणको समर्थन गुमाउन थालेपछि यो टुहुरो बन्दै छ,’ राजनीतिक विश्लेषक सुहास पाल्सिखर भन्छन् ।

पराजित स्थानमा कमब्याक हुन नसक्नुले पनि पार्टीको लोकप्रियता खस्केको देखिन्छ । कंग्रेसले सन् १९६२ पछि तमिलनाडुमा अहिलेसम्म निर्वाचन जित्न सकेको छैन । त्यस्तै सन् १९७७ पछि पश्चिम बंगालमा कंग्रेस शक्तिमा नहुनु यसको गतिलो उदाहरण हुन सक्छ । हालै कंग्रेस पराजित भएका महत्वपूर्ण राज्य उत्तर प्रदेश र बिहारमा पनि त्यही हालत हुने संकेत देखिन्छ । भारतमा कंग्रेस चौतर्फी रूपमा आरोलो लागेको छ ? के ४७ वर्षीय राहुलले कंग्रेसको गिरेको साख पुन ल्याउन सक्लान् ? इतिहासमै थकित देखिएको पुरानो र कमजोर पार्टीलाई राहुलले पुनः ब्युँताउलान् ? अहिले सर्वत्र प्रश्न गर्न थालिएको छ ।

लामो समयदेखि गान्धी परिवारको पर्यायवाची बनेको अमेथीबाट १३ वर्षअघि संसद्मा निर्वाचित भएपछि राहुल औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेका थिए । त्यसपछि गान्धी परिवारका पाँचौँ पुस्ताका प्रतिनिधित्व राहुल एक अनिच्छुक राजनीतिज्ञ, एक्लो र राजनीतिको होहल्लाप्रति चासो नदेखाउने राजनीतिज्ञका रूपमा देखिएका थिए । पछिल्लो आमनिर्वाचनमा पराजित भएपछि केही महिना त राहुल गुमनाम नै बने । उनको निष्क्रियतालाई लिएर राहुलले राजनीतिबाट सन्न्यास लिन खोजेको अड्कलबाजीसमेत हुन थाले । तर, सम्पूर्ण हल्लालाई चिर्दै उनी पुनः सक्रिय बने । राहुलले स्थानीयस्तरमा समेत संगठन विस्तार तीव्र पारे ।

सन् २०१३ मा राहुल पार्टी उपाध्यमा निर्वाचित भएपछि धेरैले ठूलो आशा गरेका थिए । युवाको उदयसँगै भारतमा कंग्रेसको कमब्याक हुनेमा धेरैले विश्वास गरेका थिए । तर, राहुलको आगमनले पार्टीमा खासै सुधार हुन सकेन । उपाध्यक्षमा निर्वाचित भएलगत्तै उनले स्थानीय स्तरमा सक्रियता बढाएका थिए, भगिनी संगठनहरू सशक्त बनाएका थिए, तर चुनावी परिणाम निराशाजनक बन्यो । पार्टीले आफ्नो प्रभाव जमाउन सकेन ।

केही महिनाअघि एउटा महत्वपूर्ण घटना भयो । गत सेप्टेम्बरमा राहुल अमेरिकाको एउटा महत्वपूर्ण कार्यक्रममा सरिक भएका थिए । विद्यार्थी र थिंकट्यांक विज्ञ, सरकारी नेता, पत्रकारसँग भेटघाटमा उनले निकै सारगर्वित सम्बोधन गरेका थिए । तर, उनी विवादमुक्त हुन सकेनन् । युनिभर्सिटी अफ क्यालिफोर्नियामा आयोजित कार्यक्रममा उनले आफूभन्दा मोदी असल सञ्चारकर्ता भएको स्विकारे, जसका कारण सामाजिक सञ्जालमा उनले चर्को आलोचना सामना गर्नुपर्यो ।

पछिल्लो समयमा राहुल केही खुला देखिन्छन् । उनले आमाको बिमारबारे ट्विटसमेत गर्छन् । अन्य अनौपचारिक विषय ट्विट गरेर सर्वसाधारणमाझ अझै घुलमिल हुने प्रयास गरेका छन् । आफ्ना विचार सामाजिक सञ्जालमा राखेर सीधै कार्यकर्तामाझ लोकप्रिय हुन खोजेका छन् । गुजरातमा विधानसभाको निर्वाचन भइरहेको छ । निर्वाचनमा कंग्रेसमा सुधारको खासै संकेत देखिँदैन ।

photo: Reuters

सन् २०१४ मा भएको निर्वाचनमा भाजपाले गुजरातमा सबै २६ सिटमा विजय हात पारेको थियो । जारी निर्वाचनमा राहुल निकै आक्रामक रूपमा प्रस्तुत भएका छन् । बेरोजगारी, विमुद्रीकरणको प्रभाव, असहिष्णुता, मन्द अर्थतन्त्रलगायतलाई उनले निर्वाचनको मूल मुद्दा बनाएका छन् । ‘नयाँ अवतारमा राहुल मतदाताको मन जित्ने प्रयासमा छन्,’ राहुलको जीवनीकार आरथी रामचन्द्रन भन्छन् ।
पार्टीको सर्वोच्च पदका लागि राहुल आयोग्य भएको आवाज उठ्न थालेको छ । उनी जबर्जस्ती वंश राजनीतिमा प्रवेश गरेको आलोचनकहरूको भनाइ छ ।

सन् १९७० को जुन महिनामा जन्मिएका उनी भारतीय विद्यालयमा अध्ययन गरे । अमेरिकामा अर्थशास्त्रको अध्ययन गरे र लन्डनमा केही समय काम गरे र सन् २००२ मा मुम्बई फर्के । राहुलको सोख क्रिकेटमा थियो । उनकी दिदी प्रियंकाले गान्धी परिवारको राजनीतिक विरासत थाम्ने अनुमान गरिएको थियो । सन् २००४ को आमनिर्वाचन हुनु केही महिनाअघि राजनीतिमा प्रवेश गरेको घोषणा गरेर सबैलाई चक्मा दिएका थिए । सोही वर्ष उनी उत्तर प्रदेशको अमेथीबाट संसद्मा प्रतिनिधित्व गरेका थिए ।

कंग्रेसले भारतको परिवर्तित प्रतिस्पर्धी राजनीतिलाई आत्मसात् गर्न नसकेको विश्लेषक पलशिखर बताउँछन् । गान्धीको सबैभन्दा ठूलो चुनौती वंश राजनीतिको बोझ हुने केहीको भनाइ छ । अमेरिकाको एउटा कार्यक्रममा राहुललाई एक विद्यार्थीले राहुल वंशजका आधारमा राजनीति गरेको टिप्पणी गरेको बताउँदा उनले सम्पूर्ण भारत वंश राजनीतिका आधारमा चलेको दाबी गरेको थिए । ‘वंश राजनीतिका आधारमा नै भारत चलेको छ,’ राहुलले भनेका थिए ।

भारतीय राजनीतिज्ञ वंश राजनीतिज्ञप्रति अनिच्छुक देखिएको राजनीतिक विश्लेषक तथा दिल्लीस्थित सेन्टर फर स्टडी डेभलपिङ सोसाइट (सिएसडिएस)का निर्देशक सञ्जय कुमार बताउँछन् । कुमारका अनुसार अल्पसंख्यकप्रति पार्टीको ध्यान नजाँदा अधिकांश मतदाता कंग्रेसप्रति विकर्षित छन् ।

त्यस्तै हिन्दूहरूको मन र मुटु जित्नु पनि राहुलको अर्को चुनौती हुनेछ । आगामी वर्ष हुने विधानसभा निर्वाचनले राहुलको प्रारम्भिक परीक्षण गर्नेछन् । ‘उनीप्रतिको दृष्टिकोण परिवर्तन गर्न पनि आगामी विधानसभा निर्वाचनमा कंग्रेसले जित्नैपर्छ,’ दिल्लीस्थित विश्लेषक अजाज असरफ भन्छन् ।

तपाईको प्रतिक्रिया