साढे २ लाखले अवलोकन गरे जुत्ता महाकुम्भ मेला - Naya Patrika
eNaya Patrika
  • ePaper

साढे २ लाखले अवलोकन गरे जुत्ता महाकुम्भ मेला

नयाँ मोडेलका नेपाली जुत्ताबारे ग्राहकलाई जानकारी दिई बजार प्रवद्र्धन गर्ने उद्देश्यसहित काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको जुत्ता महाकुम्भ मेलामा अवलोकनकर्ताको भिड बढेको छ ।

जुत्ता महाकुम्भ मेलामा नयाँ

मोडेलका जुत्ता भारी छुटमा बिक्रीमा राखिएकाले खरिदकर्ता बढेको आयोजकको भनाइ छ । मंसिर १४ देखि सुरु भएको महाकुम्भ जुत्ता मेलामा ३ लाख ग्राहकले भ्रमण गर्ने अपेक्षा रहेकामा ६ दिन बाँकी रहँदासम्म करिब साढे २ लाखले अवलोकन गरिसकेका छन् ।

दुई सय नयाँ मोडेलका जुत्ता बिक्रीमा

सातौँ संस्करणको मेलामा प्रत्येक वर्ष सातवटा कम्पनीले गरी करिब दुई सय नयाँ मोडेलका जुत्ता बिक्रीमा राखिने स्मार्ट सुजका प्रमुख जीवन श्रेष्ठले जानकारी दिए ।

पुराना मोडेल पनि भएकाले मेलामा एक हजारभन्दा बढी मोडेलका जुत्ता बिक्रीमा रहेको श्रेष्ठले बताए । मेलामा सबै वर्ग र उमेर समूहका लागि जुत्ता बिक्रीमा राखिएको उनको भनाइ छ ।

दैनिक चार हजार जोर बिक्री

युवापुस्ता लक्षित मेलामा दैनिक चार हजार जोर जुत्ता बिक्री भइरहेको स्मार्ट सुजका प्रमुख जीवन श्रेष्ठले जानकारी दिए । हालसम्म १ लाख जोर जुत्ता बिक्री भइसकेको श्रेष्ठले बताए । मेलामा
युवा पुस्ता बढी आकर्षित भएकाले उनीहरूलाई लक्षित गरी नयाँ र आधुनिक मोडेलका जुत्ता बिक्रीमा राखिएको उनको भनाइ छ ।

मेलामा सहभागी ब्रान्ड

रोयल, रन, सम्राट, स्मार्ट, सिटिजन, पारागन र हाइलाइफ ब्रान्डका जुत्ता मेलामा राखिएको छ । मेला पुराना वा स्टक क्लियर गर्न नभएकाले यसलाई सेल मेला नाम नराखिएको सम्राट सुजका प्रबन्ध निर्देशक प्रमोद महतोले बताए । मेलामा छुटभन्दा पनि नयाँ मोडेल र धेरै टिकाउ जुत्ता बिक्रीका लागि राखिएको उनले जानकारी दिए ।

महतोले भने, ‘पहिले उत्पादित जुत्ता दसैँ–तिहारमा सकिइसके । अहिले रातभर उत्पादन गरी बिहान मेलामा राख्छौँ ।’ जुत्ता मेला बढी नाफा खानेभन्दा पनि कम नाफामा उत्पादकबाट सीधै उपभोक्ताकहाँ पु¥याउने उद्देश्य रहेको महतोले बताए ।

उपभोक्तालाई छनोटको अवसर

द सुज प्यालेस नेपालका सातवटा जुत्ता कम्पनी मिलेर एउटै छातामुनि बसेर उपभोक्तालाई बढीभन्दा बढी छनोट अवसर दिने उद्देश्यले बनेको समूह रहेको मेला आयोजकको भनाइ छ । मेला १२ पुससम्म चल्नेछ ।

२८ दिने लामो मेला अवधि अझै ६ दिन बाँकी रहेकाले उपभोक्ताले फुर्सदको समय मिलाएर नयाँ मोडेलका जुत्ताबारे जानकारी लिई छुटमा खरिद गर्न सक्ने महतोले जानकारी दिए ।

तपाईको प्रतिक्रिया