नेप्से ओरालो लाग्ने क्रम जारी
eNaya Patrika
  • ePaper

नेप्से ओरालो लाग्ने क्रम जारी

साताको अन्तिम कारोबार दिन पनि नेप्से ओरालो लागेको छ । पछिल्ला पाँच कारोबार दिनदेखि ओरालो लाग्ने क्रममा रहेको नेप्से ६ दिनमा कुल ४८ दशमलव ५३ अंक घटेको छ । चुनावपछि सरकार गठनको अन्योलमा रहेका लगानीकर्तालाई भ्याट प्रकरणले निराश बनाएको थियो । कर कार्यालयले ब्रोकर कम्पनीहरूलाई भ्याट तिर्न ताकेता गरेपछि सेलाइसकेको भ्याट प्रकरण फेरि बजार घट्नुको कारण बन्यो । त्यसैगरी, बैंकहरूले निक्षेपमा आकर्षक ब्याजदर दिन थालेपछि बजार घट्न थप दबाब पुगेको थियो । निक्षेपमा ११ प्रतिशतसम्म ब्याज पाइने भएपछि लगानीकर्ता त्यसतर्फ आकर्षित भएका हुन् । बिहीबार नेप्से परिसूचक १२ दशमलव ३२ अंक घटेर १ हजार ४ सय ७२ दशमलव १५ बिन्दुमा पुगेको छ । यस दिन बजार खुलेदेखि नै नेप्से ओरालो लागेको थियो ।

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन २ दशमलव ७४ अंक घटेर ३ सय ९ दशमलव ९४ बिन्दुमा पुगेको छ । नेप्सेको १४ दिने आरएसआई यस दिन ३४ दशमलव ६८ स्केलमा रहेको छ । आरएसआई न्युट्रल जोनमा रहनुले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । यस दिन १ सय ५३ कम्पनीहरूको ५ हजा र १ सय २ पटकको कारोबारमा ४७ करोड ५८ लाख ३७ हजार ४ सय ११ रुपैयाँबराबरको ९ लाख ९० हजार ९ सय ८ कित्ता सेयर खरिद–बिक्री भएको छ । साधारणसभा प्रयोजनका लागि धेरै कम्पनीहरूले बुक क्लोज गरेका छन् । यसले पनि बजारलाई प्रभावित पारेको देखिन्छ ।

शतप्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको स्ट्यान्डर्ड चार्टर्ड बैंकको यस दिन ३ करोड ७७ लाख रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको छ । त्यसैगरी, नेपाल दूरसञ्चार कम्पनीको यस दिन ३ करोड ५८ लाख रुपैयाँ र मुक्तिनाथ विकास बैंकको ३ करोड रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको छ । महुली सामुदायिक लघुवित्त संस्थाको सेयर मूल्य यस दिन ६ प्रतिशत बढेको छ । ललितपुर फाइनान्स र प्रोग्रसिभ फाइनान्सको सेयर मूल्य यस दिन ५ प्रतिशतभन्दा बढी बढेको छ । विजय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने यस दिन ५ दशमलव ६९ प्रतिशत घटेको छ । कारोबारमा आएका १ सय ५३ कम्पनीमध्ये २६ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ५ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी २२ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ ।

उत्पादनमूलक समूहको परिसूचक यस दिन शून्य दशमलव ५९ प्रतिशत बढेको छ । ‘अन्य’ समूहको परिसूचक यस दिन सर्वाधिक २ दशमलव ६५ प्रतिशत घटेको छ । माइक्रो फाइनान्स समूहको परिसूचक यस दिन १ दशमलव १७ प्रतिशत, विकास बैंक समूहको १ दशमलव १४ प्रतिशत, जलविद्युत् समूहको १ दशमलव १२ प्रतिशत र बिमा समूहको १ दशमलव शून्य १ प्रतिशत घटेको छ । कारोबारमा आएको ट्रेडिङ समूहको परिसूचक शून्य दशमलव ९७ प्रतिशत, होटेल समूहको शून्य दशमलव ५२ प्रतिशत, बैंकिङ समूहको शून्य दशमलव ४८ प्रतिशत र वित्त समूहको शून्य दशमलव ३७ प्रतिशत घटेको छ ।

तपाईको प्रतिक्रिया