रोहिंग्याबारे म्यानमार र बंगलादेशबीच वार्ता
eNaya Patrika
  • ePaper

रोहिंग्याबारे म्यानमार र बंगलादेशबीच वार्ता

बंगलादेशमा शरण लिएका म्यानमारका अल्पसंख्यक मुस्लिम रोहिंग्यालाई स्वदेश फिर्ता गर्नेबारेमा दुई देशका अधिकारीबीच वार्ता भएको छ । बंगलादेश र म्यानमारका अधिकारीबीच सोमबार वार्ता भएको एक बंगलादेशी अधिकारीले जानकारी दिएका छन् ।

बंगलादेश र म्यानमारका गृह प्रशासनअन्तर्गतका उच्च अधिकारीबीच बंगलादेशको ढाकामा वार्ता भएको ती अधिकारीले बताए । तर, सो वार्तामा के कति प्रगति भयो वा कहिलेदेखि ती शरणार्थीलाई स्वदेश फर्काउने प्रक्रियाको थालनी हुनेछ भन्नेबारेमा भने केही खुलाइएको छैन । यसअघि एक महिनाअघि शरणार्थी फर्काउने विषयमा दुई देशका अधिकारीबीच सहमति भएको थियो । सोही सहमतिका आधारमा रोहिंग्या शरणार्थी फर्काउनेबारेमा छलफल भएको हो ।

रोहिंग्यालाई स्वदेश फर्काउन म्यानमारमाथि दबाब बढिरहेकै वेला म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकी र बंगलादेशका विदेशमन्त्री एएच महमद अलीबीच म्यानमारको न्यापितमा गत महिना शरणार्थीलाई फर्काउने सहमति भएको थियो । दुवै देशका तर्फबाट संयुक्त रूपमा कार्यदल बनाएर शरणार्थी फर्काउने सहमति भएको थियो । तर, अहिलेसम्म कार्यदल गठन हुन सकेको छैन ।

राखाइन राज्यमा गत अक्टोबर १० देखि एक महिनासम्म सेनाले गरेको कारबाहीमा सयौँ रोहिंग्या मारिएका छन् । तर, म्यानमार सरकारले भने रोहिंग्यामाथि ज्यादती नभएको, बरु उनीहरू एक–आपसमा झगडा गरेर देश छोडेको दाबी गरेको छ । म्यानमारमा सैनिक कारबाहीपछि अहिलेसम्म साढे ६ लाख रोहिंग्याले बंगलादेशमा शरण लिइरहेका छन् ।

सैनिक ज्यादतीका कारण अझै पनि दिनहुँ सयौँ रोहिंग्या बंगलादेश भाग्ने गरेका छन् । उनीहरू बंगलादेशका विभिन्न शिविरमा निकै दयनीय अवस्थामा छन् । उनीहरू स्वस्थ पिउने पानी, औषधि उपचारलगायतका अत्यावश्यकीय सुविधाबाट वञ्चित छन् । बंगलादेश सरकारले उनीहरूलाई सिमकार्ड उपलब्ध नगराउन त्यहाँको दूरसञ्चार निकायलाई निर्देशन दिएको छ ।

त्यस्तै, रोहिंग्यालाई कुनै कोठा भाडामा नदिन बंगलादेश सरकारले घरमालिकहरूलाई अनुरोध गरेको छ ।

दुई साताअघि मात्र डाक्टर विदआउट बोडर्सले एक प्रतिवेदन सार्वजनिक गर्दै सेनाले एक महिनामा सात हजार रोहिंग्याको हत्या गरेको जनाएको थियो । तर, सो प्रतिवेदनप्रति म्यानमारको सेनाले भने आपत्ति जनाएको छ । आफूले त्यस्तो हिंसा नगरेको उसको दाबी छ ।

तपाईको प्रतिक्रिया