निक्षेपको ब्याजदर बढेपछि घट्यो नेप्से
eNaya Patrika
  • ePaper

निक्षेपको ब्याजदर बढेपछि घट्यो नेप्से

लगानीयोग्य पुँजीको अभाव भएका कारण बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप ब्याजदर बढाएका छन् । यसको प्रभाव सेयर बजारमा प्रत्यक्ष परेको देखिन्छ । धितोपत्र बजार र बैंक ब्याजदरबीच उल्टो सम्बन्ध रहन्छ । ब्याजदर बढ्दा बजार घट्ने र ब्याजदर घट्दा बजार बढ्ने गर्दछ । बैंक तथा वित्तीय संस्थाहरूले मुद्दती निक्षेपमा ब्याजदर बढाएपछि केही दिनयता नेप्से घटेको छ । अहिले वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा १० प्रतिशत र विकास बैंकले ११ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेका छन् । सुरक्षित लगानीमा आकर्षक मुनाफा पाइने भएपछि लगानीकर्ता सेयर बिक्री गरी निक्षेप गर्नतर्फ आकर्षित भएका छन् । राजनीतिलाई बजारसँग जोडेर हेर्नेहरूले भने सरकार बन्ने अन्योलका कारण बजार घटेको विश्लेषण गरेका छन् । यद्यपि हाल बैंकको ब्याजदरले बजारलाई प्रभावित पारेको हो । त्यसैगरी, चुक्ता पुँजी वृद्धि गर्न जारी गरिएको हकप्रद तथा नयाँ कम्पनीहरूले जारी गरेको आइपिओले बजारमा सेयर आपूर्ति बढेको छ । यसले बजारलाई ओरालो लाग्न थप दबाब दिएको छ ।

बुधबार नेप्से परिसूचक ९ दशमलव २९ प्रतिशत घटेको छ । बजार खुलेको केही समयपछि नै ओरालो लागेको नेप्से कारोबारको एक घन्टापछि उकालो लागेको थियो । तर, बिक्रीकर्ताको चाप बढेपछि मध्याह्नपछि बजार पुनः ओरालो लागेर १ हजार ४ सय ८४ दशमलव ४७ बिन्दुमा बन्द भएको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन २ दशमलव शून्य ७ अंक घटेर ३ सय १२ दशमलव ६८ बिन्दुमा पुगेको छ । नेप्सेको १४ दिने आरएसआई यस दिन ३८ दशमलव ३० स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ ।

यस दिन १ सय ५५ कम्पनीको ४ हजार ३ सय ९१ पटकको कारोबारमा रू. ४२ करोड ४३ लाख ७० हजार ३ सय ९३ बराबरको ९ लाख ८३ हजार १ सय ८ कित्ता सेयर खरिदबिक्री भएको छ । यस दिनको कारोबार रकम अघिल्लो दिनको तुलनामा ४१ दशमलव २४ प्रतिशत कम हो । लगानीकर्ताको सम्पत्ति अघिल्लो दिनको तुलनामा१० अर्ब ७८ करोड घटेर १७ खर्ब २६ अर्बमा सीमित भएको छ ।

नेपाल टेलिकमको यस दिन सबैभन्दा धेरै रकमबराबरको कारोबार भएको छ । यस दिन सो कम्पनीको ४ करोड ९ लाखबराबरको सेयर खरिदबिक्री भएको छ । त्यसैगरी, स्ट्यान्डर्ड चार्टर्ड बैंकको यस दिन २ करोड ८६ लाखभन्दा बढीको सेयर कारोबार भएको छ । सिन्धु विकास बैंकको सेयर मूल्य यस दिन ६ दशमलव ७१ प्रतिशत बढेको छ । हिमालयन डिस्टिलरीको सेयर मूल्य यस दिन ७ दशमलव ५५ प्रतिशत घटेको छ । कारोबारमा आएका १ सय ५५ कम्पनीमध्ये यस दिन ४३ कम्पनीको सेयर मूल्य बढेको छ भने ९२ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी २० कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ ।

उत्पादनमूलक समूहको परिसूचक यस दिन सर्वाधिक १ दशमलव ४ प्रतिशत घटेको छ । त्यसैगरी, जलविद्युत् समूहको परिसूचक १ दशमलव ३१ प्रतिशत, ‘अन्य’ समूहको १ दशमलव २४ प्रतिशत, बिमा समूहको शून्य दशमलव ५६ प्रतिशत, बैंकिङ समूहको शून्य दशमलव ५२ प्रतिशत, माइक्रोफाइनान्स समूहको शून्य दशमलव ४२ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ४ प्रतिशत, वित्त समूहको शून्य दशमलव १५ प्रतिशत र होटेल समूहको शून्य दशमलव शून्य १ प्रतिशत घटेको छ ।

तपाईको प्रतिक्रिया