चतरा करिडोरमा प्रदेश राजधानी
eNaya Patrika
  • ePaper

चतरा करिडोरमा प्रदेश राजधानी

हामी इतिहासमै पहिलो प्रदेश सरकार बनाउँदै छौँ । संघीयता कार्यान्वयनको ऐतिहासिक प्रक्रियामा जुटिरहेका छौँ । प्रादेशिक सत्ताको चरित्र, विधि र पद्धति कस्तो हुन्छ भन्ने सवाल महत्वपूर्ण हुन्छ । उत्पीडितको अधिकार वा पहिचान सुनिश्चित हुन्छ या हुँदैन भन्ने मुद्दा गम्भीर छ । अझै आशंका छन् । अर्थात्, हाम्रो मुख्य चासो भनेको प्रादेशिक सरकारले अंगीकार गर्ने नीति उत्पीडितमैत्री हुन्छ या हुँदैन भन्ने हो । अर्थात् नीतिगत सवाल प्रधान हुन्छ । त्यसैले, राजधानी र नामकरणजस्ता पक्ष नितान्त प्राविधिक हुन् । संघीयताको चरित्रमा स्पष्ट हुँदै राजधानी र नामकरणमाथि बहस गर्नु सही हुन्छ । तर, राजधानीजस्तो प्राविधिक पक्षमा रुमल्लिनु राम्रो होइन । यसले समस्या सुल्झाउँदैन ।

राजेन्द्र किराती

राजधानीका लागि पहिलो पक्ष भनेको उपयुक्त र पायक पर्ने भूगोल नै हो । अर्थात् भौगोलिक रूपमा प्रदेशको केन्द्रबिन्दुमा राजधानी बनाउनु उपयुक्त हुन्छ । तर, यो नापे–तौले जस्तो पनि हुँदैन । किनभने यसमा अन्य आयाम पनि निर्णायक हुन्छन् । यसो गर्दा कहिलेकाहीँ थोरै तलमाथि र नजिक–टाढा पनि हुन सक्छ । १ नम्बर प्रदेशको सन्दर्भमा पायक वा केन्द्रबिन्दुलाई आधार मान्ने हो भने धनकुटा नै हो । तर, अन्य पक्ष सबल नहुन सक्छन् । भौतिक संरचनाको उपलब्धता वा यसलाई बनाउने पर्याप्त ठाउँलाई दोस्रो पक्ष मानिन्छ । किनकि, प्रदेशको राजधानीमा थुप्रै भौतिक संरचना निर्माण गर्नुपर्छ । कतिपय संरचना त अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाउनुपर्ने हुन्छ । रंगशाला र स्पोर्टस् मैदानका लागि ठूलो र खुला क्षेत्र आवश्यक पर्छ । राजधानीका लागि उपयुक्त जग्गा व्यवस्थापन तेस्रो पक्ष हो । यसको मतलब उर्वर खेतीयोग्य जमिन र बाक्लो बस्ती भएको ठाउँमा नयाँ संरचना बनाउनु व्यावहारिक हुँदैन । यसका लागि फराकिलो खाली जमिन र रुखोपाखो क्षेत्र छुट्याउनुपर्छ । यद्यपि, राजधानीका लागि सबै आधार मिलेकै हुन्छ भन्ने हुँदैन । कुनै ठाउँमा एउटा पक्ष सबल भए अर्को पक्ष दुर्बल हुन सक्छ । यद्यपि, अधिकतम अनुकूल क्षेत्र भने छनोट गर्नैपर्छ । यसका लागि आमसहमति खोज्नु पहिलो विकल्प हो, नभए जनमतसंग्रहमार्फत टुंग्याउनु उचित हुन्छ । संविधानमा प्रदेश सभाबाट छिनोफानो गर्ने भनिएको छ ।

हाल दाबी गरिएका सहर सबै आधारमा पूर्ण देखिँदैनन् । अर्कातिर सबैले आआफ्नै ठाउँमा हुनुपर्ने कडा दाबी गरिरहेका छन् । आफ्नो अडानबाट कोही पछि हट्ने अवस्था देखिँदैन । अर्थात् धरान, धनकुटा, इटहरी र विराटनगरमध्ये कुनै एउटा स्थान सिफारिसमा पर्दा अर्कोले विरोध गर्नेछ । नयाँ भौतिक संरचना तयार नभइन्जेलसम्मका लागि केही मन्त्रालय बाँडफाँड गरेर राख्न सकिन्छ । यस्तो धरातलमा हामीले राजधानीको सन्दर्भमा वस्तुगत आधारसहित अर्को छुट्टै स्थानको खोजी गर्नु बुद्धिमानी हुनेछ । हाल प्रस्तावित स्थानमा विवादित र बाक्लो भौतिक संरचना बनिसकेको हुनाले अर्को विकल्प खोजिएको हो । यही सिलसिलामा धरान–चतरा क्षेत्रलाई नयाँ राजधानीमा प्रस्ताव गरिएको छ । यो प्रस्तावित राजधानीलाई पूर्वमा धरान पश्चिममा वराह क्षेत्र र उदयपुरको मैनामैनी, उत्तरमा विष्णुपादुका र दक्षिणमा इटहरी–झुम्का–इनरुवासम्म विस्तार गर्नुपर्छ । रणनीतिक रूपमा आसपासको सहर र क्षेत्रलाई यसैमा जोड्नुपर्छ । चतरा नै किन ? भन्ने सन्दर्भमा केही सबल पक्ष अघि सारिएको छ ।

पहिलो– सप्तकोसी नदीकिनारमा राजधानी बनाउने विषय आफैँमा सकारात्मक, सिर्जनशील र वस्तुवादी देखिन्छ । सामान्यतः विश्वका ठुल्ठूला सहर नदीकिनारमै छन् । यसकारण यो मुलुककै मौलिक राजधानी हुनेछ । यो प्रदेशको भूगोल ठुल्ठूला नदीको सञ्जालमा बाँधिएको हुँदा जलमार्ग विकास गरी दुर्गम क्षेत्रसँग आवतजावतको मुख्य माध्यम बनाउन सकिन्छ । यसका लागि नेपालकै लगानी र योजनामा चतरामा सामान्य बाँध बाँध्नुपर्छ । चतराबाट जलमार्गमार्फत सोलुखुम्बु, ओखलढुंगा, ताप्लेजुङ, संखुवासभा, खोटाङ, पाँचथर, भोजपुर, उदयपुर र धनकुटालगायत दुर्गम जिल्ला जोडिनेछन् ।

उता सुनकोसी हुँदै सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक र काभ्रे जिल्ला पनि जोडिनेछ । चतरा–दोलालघाटको दूरी २ सय ७० किमी मात्र हुनाले काठमाडौंसम्मको यात्रा छिटो, सहज र किफायती हुनेछ । त्यसैगरी तमोर हुँदै ताप्लेजुङ दोभान १३१ किमि र अरुण–तुम्लिङटार हुँदै हेदाङनासम्म १२७ किमि क्षेत्र जल करिडोरका रूपमा जोडिनेछ । त्यस्तै भोटेकोसी हुँदै तातोपानी, दुधकोसी हुँदै नाम्चेबजार, नुम हुँदै हटियागोला र ताप्लेजुङ दोभान हुँदै ओलाङचुङगोलासम्म पनि सानो जलपरिवहनको सम्भावना छ । यसैगरी भिमनहर, गंगानदी हुँदै बंगालको खाडीसम्म पनि जलमार्ग विकास गर्न सकिन्छ ।

यसबाट पानीजहाज, स्टिमर र फेरी सञ्चालन गरी दुर्गम जिल्लासँग द्रुत सम्पर्क बढाउन सकिनेछ । जलमार्ग सडक सञ्जालको असाध्यै व्यावहारिक र वस्तुवादी विकल्प हुनेछ । बन्जी जम्प, र्‍याफ्टिङ, कायाकिङ, फिसिङ, बोटिङ र स्विमिङमार्फत पर्यटन प्रवद्र्धन गरिनेछ । वस्तुवादी गुरुयोजनासहित जलमार्गलगायत संरचना विकास गरे १ नम्बर प्रदेश उदाहरणीय हुनेछ । जल तथा स्थलमार्गद्वारा हिन्द महासागरदेखि सगरमाथासम्म पहुँच भएको समृद्ध, सुन्दर र पर्यटकीय राजधानी बन्न सक्छ ।

दोस्रो– सर्दुखोला, पटनाली, बगुवा, बयरवन, चतरादेखि वराह क्षेत्रसम्मको भूगोल सापेक्षित रूपमा खाली छ । यो क्षेत्र त्यति उर्वर पनि होइन । बस्ती पनि निकै पातलो छ । यसमा बगर, पाखा र जंगल क्षेत्र बढी छ । यही खाली क्षेत्रमा राजधानीका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्छ । अबको राजधानी सहरको पूर्वाधार विकास आगामी पाँच सय वर्षको माग, प्रविधि र मनोविज्ञानलाई सम्बोधन गर्ने मापदण्डमा हुनुपर्छ । दीर्घकालिक समग्र सहरी गुरुयोजना बनाउनुपर्छ । सडक, भवन, गल्ली, ढल, खानेपानी, विद्युतीय लाइन, टेलिफोन र इन्टरनेट सेवाका लागि अत्याधुनिक प्रविधि अपनाउनुपर्छ ।

एकै ठाउँ एकीकृत सरकारी प्रशासनिक भवन निर्माण गर्नुपर्छ, जसलाई पूर्वको सिंहदरबार भनेर चिन्न सकियोस् । उत्तरपट्टि हरियो जंगलसहितको चुरे र महाभारत शृंखला, दक्षिणी फाँटमा चारकोसे जंगल, पूर्वमा धराने सुन्दरता अनि पश्चिममा सप्तकोसी नदीको कञ्चन बहावबीच बन्ने राजधानीको रमणीयताले सबै प्रदेशवासी फुरुंग हुने निश्चित छ । तेस्रो– जलस्थल यातयातको केन्द्र हुनाले उद्योग, कलकारखाना, ढुवानी र व्यापार विकासमा कायाकल्प हुनेछ । कोसीपारि उदयपुरको मैनामैनी र त्रिवेणी क्षेत्र बत्तीमुनिको अँध्यारोझैँ भइरहेको छ ।

यहाँ राजधानी भइसकेपछि कोसीपारिका क्षेत्रको सशक्तीकरण हुनेछ । यससँगै गाईघाटसँग पनि नजिकको सम्बन्ध विस्तार हुनेछ । धार्मिक तथा पर्यटकीय कोणबाट पनि चतराले आफ्नै महत्व बोकेको छ । धरान–हेटौँडा सडक पनि यही बाटो भएर जान्छ, जसले हाम्रो समृद्धिको सपना पूरा गर्नेछ । सप्तकोसी नदी, वराह क्षेत्र, कोसीटप्पु, विष्णुपादुका, रामधुनी, बसाहा, दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर, त्रिवेणी अनि भेडेटारजस्ता पर्यटकीय क्षेत्र यसैको पेरिफेरीमा रहेका छन् । यहाँबाट विष्णुपादुकादेखि सुलीकोट, भेडेटार र मैनामैनी डाँडासम्म केबलकार निर्माण गर्न सकिन्छ।

यहाँ बनेका मनोरम भ्युटावरबाट तराईका फाँट, पहाड र हिमाल अवलोकन गर्न सकिन्छ । यसअतिरिक्त मेट्रो रेल, फास्ट ट्रेन र मोनो रेलजस्ता विद्युतीय परिवहनबाट धरान, इटहरी, इनरुवा, विराटनगर, गाईघाट र धनकुटालाई जोड्न सकिनेछ । यो स्मार्ट सिटी हुनेछ । यो चारैतिरको संगमस्थल, जलस्थल यातयातको हब, प्रशासनिक केन्द्र र धार्मिक एवं पर्यटकीय गन्तव्य हुनेछ । यसकारण चतरा राजधानीका लागि अब्बल छ ।

तपाईको प्रतिक्रिया