ट्रक चलाउन त डिग्री चाहिन्छ, सिनेमाका लागि चाहिँदैन...? - Naya Patrika
eNaya Patrika
  • ePaper

ट्रक चलाउन त डिग्री चाहिन्छ, सिनेमाका लागि चाहिँदैन…?

सिनेमामा नियमको खाँचो
समस्या हरेक क्षेत्रमा हुन्छन् । सुधार्न सकिने र नसकिने समस्या हुन्छन् । हामी अझै सिस्टमेटिक हुन सकेका छैनौँ । सिनेमा हेर्न जाने संस्कार विकास गर्न सकेका छैनौँ । दर्शकलाई सिनेमा हेर्न जाउँजाउँ लाग्ने वातावरण अझै बनाउन सकेका छैनौँ । बक्स अफिस व्यवस्थित हुन नसक्दा मानिसले फिल्म बनाउँदा खुलेर पैसा लगानी गर्न हिच्किचाइरहेको अवस्था छ ।

डक्टर बन्न एमबिबिएस गरेकै हुनुपर्छ । तर, सिनेमामा निर्देशक, निर्माता र नायक, नायिका हुन के चाहिन्छ ? केही पनि चाहिँदैन । नेपालमा मात्र होइन, अन्य देशमा पनि केही पनि चाहिँदैन । नेपालमा त जो पनि निर्माता, निर्देशक, नायक, नायिका हुन सक्छ । प्यासनले आउने मानिस धेरै कम छन् । औँलाले गनेरै भ्याइने अवस्था छ । हबीले आउने धेरै भए ।

त्यही भएर पनि फिल्मी क्षेत्र उद्योगका रूपमा विकास हुन नसकेको हो भन्ने लाग्छ । पैसा छ, लौन त सिनेमा बनाइदिऔँ भन्ने छन् । जबकि फिल्म मेकिङका बारेमा उनीहरूलाई थाहै हुँदैन । पैसाले मात्रै त सिनेमा बन्दैन नि त ।

त्यो खाडल तत्काल पुरिन्छ कि पुरिँदैन, त्यसैमा सिनेमा क्षेत्रको भविष्य छ । हुन त, दर्शकले फिल्टर गरिहाल्नुहुन्छ । दर्शकले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भनिहाल्नुहुन्छ । तर, अहिले ट्रक चलाउन पनि एलएलसी पास गरेको हुनुपर्छ भन्ने नियम आयो । तर, सिनेमामा केही त्यस्तो नियम छ त ?

कार्यान्वयनमा समस्या

चलचित्र विकास बोर्डले केही नियम बनाएको छ । यदि तपाई नयाँ निर्माता हो भने स्थापित फिल्म कम्पनीसँग मिलेर सिनेमा बनाउनुपर्छ । निर्देशक हुन कम्तीमा ३ वटा फिल्ममा सहायक निर्देशक भएर काम गरेकै हुनुपर्छ ।

त्यसको पनि कडाइका साथ अनुगमन भएको छैन । सेन्सरले सर्टिफिकेट दिन्छ, तर त्यसको अनुगमन थिएटरमा कसले गर्छ त ? सर्टिफिकेट दिँदा वयस्कलाई मात्र भनिएको हुन्छ, तर १५ वर्षकाले पनि सिनेमा हेरिरहेको हुन्छ । त्यसको चेक गर्न कोही पनि बसेको देखिँदैन । कतिपय नियम बनेर पनि कार्यान्वयन भएका छैनन् ।

अहिलेका स्थापित टेक्निसियनहरू पनि शून्यबाटै सुरु गरेर आएको मैले पाएको छु । राम्रा नायक, नायिकाहरूले अवसर पाए भने स्थापित हुँदै जाने र नातावाद, कृपावादमा मात्र आउनेहरू फिल्टर भएको देखिएको छ । अहिले त धेरै प्रतिस्पर्धा छ ।

कुनै पनि अडिसनमा जाँदा लाइन नै हुन्छ । कोचाहिँ प्यासनका साथ सिनेमा क्षेत्रमै भविष्य बनाउँछु भनेर आएको छ र कोचाहिँ अनुहार देखाइदिउँ न त भनेर आएको भन्ने छुट्याउन गाह्रो हुन्छ । भविष्य यसैमा खोज्छु, संघर्ष गर्छु, मिहिनेत गर्छ, धैर्यका साथ अगाडि बढ्छु भन्नेहरू सफल भएका छन् । तर, लहैलहैमा आएकाहरू तत्कालै हराएका छन् ।

जो हल्लाको भरमा आएको छ, उसले एउटा, दुइटा सिनेमाका काम गरिन्जेल अर्को काम पाउँथ्यो होला भन्ने जस्तो पनि लाग्छ । आजभोलि दर्शकहरू फिल्टर गर्न सक्ने भइसक्नुभएको छ ।

सचेत बनौँ
नेपाली सिने क्षेत्रमा हुने शोषणबारे आफूले भोग्नु नपरेकाले हुन्छ र भन्ने पनि लाग्थ्यो । वेलावेलामा शोषणका कुरा आइरहन्छन् । कसैले कसैलाई शोषण गर्न खोज्छ भने त्यतिवेला नै त्यसको विरोध गरौँ ।

अहिले सोसल मिडिया एकदम पावरफुल छ । त्यहीमार्फत शोषणविरुद्ध लाग्न पनि सकिन्छ । शोषणको विरुद्धमा आफैँले स्ट्यान्ड लिनुपर्छ । त्यसपछि साथ दिने धेरै भेटिन्छन् । चाहे महिलालाई पुरुषले गरेको शोषण होस्, चाहे पुरुषलाई महिलाले गरेको शोषणा होस् । शोषण भनेको शोषण नै हो, शोषणकोविरुद्ध आफैँ सचेत हुनुपर्छ ।

आर्टिस्टिकमा जोड दिऔँ
नेपालमा अहिले सबैखाले सिनेमा बनिराखेका छन् । आर्थिक रूपले हेर्ने हो भने त यो वर्ष धेरै राम्रो भयो । छक्का पञ्जा, छक्का पञ्जा–२ ले एकदमै राम्रो व्यापार ग¥यो । त्यसबाहेक अरू केही फिल्मले पनि राम्रो व्यापार गरेका छन् ।

हामी सही दिशातर्फ नै अगाडि बढिरहेका छौँ । तर, कमर्सियल फिल्मका साथै आर्टिस्टिक सिनेमा पनि बनाउन जरुरी छ । विकास बोर्डजस्तो संस्थाले चाहिँ आर्टिस्टिक फिल्मका लागि सहयोग पनि गर्नुपर्छ । सिनेमा क्षेत्रका लागि केही समस्या पर्दा भन्ने ठाउँ नै बोर्ड हो । तर, सुनुवाइ कत्ति पनि हुन सकिराखेको छैन । डिमान्ड धेरै, सप्लाइ कम भनेजस्तै भएको छ ।

आशा धेरै हुन्छ, तर काम एकदमै कम हुन्छ । बक्स अफिस लागू हुन्छ भनेर धेरैले भन्नुभयो तर, त्यो पनि लागू भने हुन सकिराखेको छैन । नबुझेको व्यक्ति बोर्डमा पुगेको जस्तो त लाग्दैन । जो आए पनि फिल्मी क्षेत्रबाटै छानिएर आउनुहुन्छ । बोर्डमा बस्नेहरूले वर्षौंवर्ष सिनेमा क्षेत्रमा समय दिनुभएको छ । नबुझेरभन्दा पनि मेलम्चीको पानी ल्याउन एकजना मन्त्रीले मात्र भनेर नभएजस्तै हो बोर्डको अध्यक्षले भनेर मात्र हुँदैन ।

त्यसका लागि टिम चाहिन्छ, भिजन चाहिन्छ, प्लानिङ चाहिन्छ । अनि पो काम हुन्छ । एउटाले बोलेर मात्र हुँदैन । टिमवर्क नभएको हो कि वा प्राथमिकता नदिएर पो हो कि भन्ने पनि लाग्छ । धेरै काम चलचित्र विकास बोर्डले गर्न सक्छ ।

लामो समय सिनेमा क्षेत्रमा काम गरेकाहरूसँग वेलावेलामा सरसल्लाह लिएर समस्या समाधान गर्ने र नेपाली सिनेमा क्षेत्रलाई नयाँ सोचका साथ अन्तर्राष्ट्रियस्तरको बनाउनेतर्फ सोच्नुपर्छ । बोर्डको अग्रसरता र प्राविधिक, कलाकार, निर्माता, निर्देशकको सामूहिक प्रयासमा काम हुने हो भने अवश्य राम्रो गर्न सकिन्छ ।

सिने क्षेत्रमा धैर्य चाहिन्छ । रातारात पैसा कमाउँछु भन्ने सोचेर हुँदैन । यस क्षेत्रमा एकदम दुःख छ, संघर्ष गर्नुपर्छ । प्यासनका साथ सिनेमा क्षेत्रमै भविष्य खोज्छु भन्ने छ भने पढेर वा तालिम लिएर आउनुहोस् ।  हबीभन्दा पनि करिअर नै यही क्षेत्रमा बनाउने सोच छ भने कम्तीमा एक वर्ष लगानी गर्नुहोस्, सिक्नुहोस्, बुझ्नुहोस् अनि प्रवेश गर्नुहोस् ।

सुझाब
दर्शकहरूले फिल्टर गर्नुहुन्छ । राम्रोलाई राम्रो, नराम्रोलाई नराम्रो भनिरहनुभएको छ । जनता जनार्दन भनेजस्तै हो कलाकारका लागि दर्शक । उहाँहरूले गर्दा नै हामी अगाडि बढेका छौँ । दर्शकले मनोरञ्जन खोज्नुहुन्छ, हामीले उहाँहरूलाई मनोरञ्जन दिन सक्नुपर्छ ।

सिनेमा क्षेत्रमा जति धेरै आउनुहुन्छ, त्यति नै राम्रो हुने हो । आउनुहोस्, तर बुझेर मात्र आउनुहोस् । यो क्षेत्रमा एकदम धैर्य चाहिन्छ । आज आएर भोलि रातारात पैसा कमाउँछु भन्ने सोचरचाहिँ नआउनुहोस् ।

सिनेमा क्षेत्रमा एकदम दुःख छ, एकदम संघर्ष गर्नुपर्छ । प्यासनका साथ सिनेमा क्षेत्रमै भविष्य खोज्छु भन्ने छ भने पढेर वा तालिम लिएर आउनुहोस् । त्यस्तो अवस्थामा यहाँ स्कोप छ । यो गर्छु, भएन भने अर्को गर्छु भन्ने सोच हो भनेचाहिँ यो क्षेत्रमा नआउँदै बेस हुन्छ ।

हबीभन्दा पनि करिअर नै यही क्षेत्रमा बनाउने सोच छ भने कम्तीमा एक वर्ष लगानी गर्नुहोस्, सिक्नुहोस् बुझ्नुहोस् अनि प्रवेश गर्नुहोस् ।

(प्रेम गौतमसँगको संवादमा आधारित)

तपाईको प्रतिक्रिया