पर्यटकीय गन्तव्य बन्दै ‘पञ्चकोट’
eNaya Patrika
  • ePaper

पर्यटकीय गन्तव्य बन्दै ‘पञ्चकोट’

बानपा—६ मा रहेको प्रसिद्ध सर्वसिद्धिधाम ‘पञ्चकोट’ मा आगामी फागुन ९ गतेदेखि १५ गतेसम्म चौँथो विश्वशान्ति धनधान्याञ्चल सप्ताह महायज्ञ हुने भएको छ ।

मंगलबार पञ्चकोटका उत्तराधिकारी, मूल कार्यसमिति, निर्माण समिति, विषयगत उपसमिति संयोजक एवं स्थानीय जनप्रतिनिधीहरुको सामुहिक भेलाले महायज्ञ गर्ने निर्णय गरेको हो ।

एक सय ८ फिट अग्लो विश्वशान्ति कलश तथा विभिन्न धार्मिक संरचना निर्माण गरी धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्धेश्यका साथ महायज्ञ गरिने जनाइएको हो । अनन्त श्री विभूषित मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को नेतृत्वमा विं.स २०७१ सालदेखि बर्षेनी महायज्ञ सञ्चालन हुँदै आएको छ ।

बानपा—६ पञ्चकोटमा निर्माण भएको गण्डकी माताको मन्दिर । तस्विरः हरिप्रसाद शर्मा / नयाँ पत्रिका

उत्तराधिकारी स्वामी ऋषि प्रपन्नाचार्यले महायज्ञ सम्पादन गर्न गत बर्षहरुमा लिइएका आ–आफ्ना जिम्मेवारी बहन एंव सक्दो सहयोग गरी आगामी महायज्ञलाई सफलता पूर्बक सम्पन्न गराउन संयोजकहरुलाई अनुरोध गरेका थिए ।

आय व्यय सार्वजनिक गरियो

पञ्चकोटमा निर्मित तथा निर्माणाधिन धार्मिक संरचनाहरुको समिक्षा एवं आ.व.२०७३÷७४ को आय–व्यय विवरण समेत सार्वजनिक गरिएको थियो । आ.व.२०७३÷७४ मा संचालन खर्च ५८ लाख ९१ हजार ७ सय १९, भौतिक पूर्वाधार निर्माण खर्च ४ करोड ५ लाख ४१ हजार ६ सय ८० तथा भान्सा सेवा समाजबाट प्राप्त सापटी रकम फिर्ता १५ लाख गरी आ.व.०७३÷७४ मा ४ करोड ८८ लाख २ हजार ४ सय ४८ खर्च भएको जनाइएको छ ।

११ करोडको भौतिक पूर्वाधार 

पञ्चकोटमा हालसम्म अतिथी आवास गृह, रेलिङ सहितको पदमार्ग, गण्डकीमाताको मन्दिर, शिष महल, सत्सङ्ग भवन, गणेश मन्दिर, हनुमानजीको मूर्ति, ५ हजार ५ सय ५५ केजीको महाघण्टका लागि आवश्यक सरंचना, सचिवालय एवं पञ्चकोट परिसरमा ढलान तथा मेसोनरी पर्खाल लगाउने कार्य निर्मित तथा निर्माणाधिन अवस्थामा छन् । पञ्चकोटमा हाल ११ करोडको भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको प्रतिनिधी अध्यक्ष नगेन्द्रराज शर्माले बताए ।

पञ्चकोट जाने धार्मिक तिर्थालु तथा पर्यटक बढे

पछिल्लो समय पञ्चकोटमा भौतिक पूर्वाधार निर्माण सम्पन्न भएसँगै दैनिक धार्मिक तिर्थयात्री तथा पर्यटकहरुको संख्या बढ्दै जान थालेको छ । आवतजावतका लागि मोटरबाटोको स्तरोन्नती, पैदल मार्ग र सहज यातायातको सुविद्याले पर्यटकको संख्यामा बृद्धि भएको जनाइएको छ ।

पञ्चकोट आसपासबाट जाने सडकहरुको समेत निर्माण भैरहेको जनाइएको छ । अहिले जिल्ला भित्र र बाहिरका झन्डै ३ देखि ५०० धार्मिक तिर्थालु तथा पर्यटक दैनिक रुपमा पञ्चकोट पुग्ने अनुमान गर्न सकिन्छ ।

अन्य कोटहरुमा पनि धार्मिक संरचना बनाउने लक्ष्य

पञ्चकोट मध्येका कारिकोटमा सम्पदलक्ष्मी सत्यनारायणको मन्दिर तथा माझकोटमा विश्राम स्थल निर्माण गरिसकिएको छ । त्यस्तै अन्य दुइ कोट राङराङकोट र संसारकोटमा पनि धार्मिक संरचनाहरु निर्माण गरिने लक्ष्य रहेको महासचिव बसन्तकुमार श्रेष्ठले बताए । गौबंश संरक्षणका लागि बानपा—५ मा मालिकामा गौशाला सञ्चालन ल्याइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु