‘छोरा’ तिहारकाे भैलाेमा रम्दै कर्णालीवासी - Naya Patrika
eNaya Patrika
  • ePaper

‘छोरा’ तिहारकाे भैलाेमा रम्दै कर्णालीवासी

भाइ तिहार सकिएको दुई महिना पछि आज कर्णालीबासीले छोरा तिहार पनि मनाएका छन् ।नेपालमै कतै नमनाईने छोरा तिहार प्रत्येक वर्ष पौष शुक्ल द्धितियका दिन कर्णालीका जुम्ला र डोल्पाका सर्वसाधारणहरुले धुमधामका साथ मनाउने गर्दछन् ।

भाइ टिका जस्तै छोरा तिहारमा पनि आमाले छोरालाई निधारमा अक्षता गलामा माला र सगुनको रुपमा घरमै बनाईएको सेलरोटी, फिनीरोटी, चिनिरोटी जस्ता परिकारहरु सहित छोरालाई टिका लगाउने प्रचलन छ ।

टिकासँगै छोरालाई दिर्घायु र प्रगतिको कामना गर्दै आर्शिवाद दिने गरिन्छ । छोराले पनि आमालाई दक्षिणाको रुपमा पैसा, धोती चोली लगायतका सामाग्रीहरु दिएर टिका थाप्ने गरिन्छ । छोरा तिहारमा आमाको हातबाट टिका थापीसके पछि सम्पूर्ण पुरुषहरु जम्मा भई प्रत्येक घर–घर तथा गाँउ बस्तीहरुमा पुगेर भैलो खेल्ने प्रचलन छ ।

आजको दिनमा महिलाहरु पनि सार्वजानिक स्थलहरुमा भेला भएर चुट्कीला देउडा खेलेर रमाईलो गर्ने र एक अर्काको पिर ब्यथा साटासाट गर्ने गरिन्छ ।

भाइ तिहारमा खेलिनेलाई देउसी र छोरा तिहारमा खेलिनेलाई भैलो भनेर भनिने त्रिपुरा सुन्दरी १ का स्थानीय रबी प्रसाद न्यौपानेले बताए । यो भैलो तिहारको देउसी भन्दा फरक ढङ्गबाट र फरक लयमा खेलिने उनले बताए ।

भैलो खेलेर मागेको चामल, धान, पैसा सबै भैलो खेल्न गएकाहरु सबै जना मिलेर पाठी भात (स्थानीय भाषामा) खाने प्रचलन रहेको छ ।

छोरा तिहारमा आमा नहुनेहरुले भने स्थानीय मन्दिरहरुमा गएर पुजारीको हातबाट टिका अक्षता लगाएर छोरा तिहार मनाउने गर्दछन् ।

भैलोको केही अंश

आउँशीया बार भैलो
दरमुद बार भैलो
दरमुद्यया खोली भैलो
बाँस झोली भैलो
बाँस भित्र भैलो
आर्या न तार्या भैलो
पिपलु पाती भैलो
रायकी छाती भैलो
बखरी खानु भैलो
त्यो बाखरी कसो सुवाला भैलो
कसो सुवाला भैलो
भैलो दिने घरीनाको एककान सुन छ भैलो
एक कान मोती भैलो
सुर्यकी ज्वती भैलो
भ्डो दिन्नन् डो¥याईए ल्याउला भैलो, घोडो दिन्नन चढि ल्याउला,त्यहीँ पर जाँउला पिरती लगाँउला भैलो
पिरतीका बार भैलो
आकाश जरा भैलौ पात्तला शिला भैलो

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु