सिरियामा पुटिनको ‘दबंगी’ भूमिका
eNaya Patrika
  • ePaper

सिरियामा पुटिनको ‘दबंगी’ भूमिका

सिरियाको सैनिक अभियानले रुसको स्थितिलाई परिवर्तन गरेको छ । पश्चिमी देशका नेताहरूले सिरियाको मामिलामा रुससित संवादको टेबलमा आउनुपर्‍यो ।

सन् २०१५ मा जब रुसले सिरियामा सैनिक अभियान सुरु गरेको थियो, तब अमेरिकाका तत्कालीन राष्ट्रपति बाराक ओबामाले भविष्यवाणी गरेका थिए कि मस्को दलदलमा फस्न गइरहेको छ । तत्कालीन अमेरिकी रक्षामन्त्री एस्टन कार्टरले भनेका थिए कि रुसको नीति असफल हुने निश्चित छ ।

तर, यतिखेर यस्तो लागिरहेको छ कि रुसले दुई वर्षपछि यस्ता भविष्यवाणी गर्नेलाई गलत सावित गरिदिएको छ । यस साता अचानक भ्रमणमा सिरिया पुगेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका सैनिकसित भनेका छन् कि उनीहरूले सानदार तरिकाले लडे र विजेता बनेर घर फर्कंदै छन् । उनले सिरियामा उपस्थित रुसी सैनिक शक्तिको अहम् हिस्सालाई घरफिर्तीको आदेश जारी गरेका छन् ।

त्यसो भए के रुसको मिसन पूरा भयो त ? परिस्थिति देख्दा यस्तै लाग्छ । सेप्टेम्बर २०१५ मा आफ्नो मिसनबारे जानकारी दिँदै रुसी राष्ट्रपति पुटिले सार्वजनिक रूपमै बताएका थिए कि यसको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय आतंकवादसितको संघर्ष हो ।

कथित इस्लामिक स्टेटले सिरियामा पराजय भोगेको छ । यद्यपि पश्चिमी देशका सरकारले सिरियाका उदारवादी विपक्षलाई निसाना बनाएका कारण रुसको आलोचना गर्ने गरेका छन् । रुसको अभियानको एउटा अर्को उद्देश्य थियो, आफ्ना सहयोगी राष्ट्रपति बसर अल असदलाई सत्तामा कायम राख्नु । रुसले यो लक्ष्य हासिल गरेको छ ।

सिरियालाई रुसका तर्फबाट प्राप्त सैन्य समर्थनले अवस्थालाई असदको पक्षमा ल्याइदिएको छ । सिरियामा सरकार परिवर्तनको सम्भावना धुमिल भएको छ । अमेरिका, टर्की र साउदी अरबले शान्तिका लागि असदलाई हटाउनुपर्ने सर्त राखिरहेका थिए, तर अब उनीहरूले यस्तो गरिरहेका छैनन् । सिरियाको राजनीतिमा अहम् बनिरहनुको श्रेय असद रुसी राष्ट्रपति पुटिनलाई दिने गर्छन् र यसबाट सिरियामा मस्कोको प्रभाव सावित हुन्छ ।

रुस ‘ठूलो खेलाडी’
मध्यपूर्वमा रुसको भूमिका सिरियासम्म मात्र सीमित छैन । रुस यस संघर्षबाट पूरै क्षेत्रमा ‘ठूलो खेलाडी’ का रूपमा अगाडि आएको छ ।

इजिप्टको हवाई क्षेत्र र हवाई अखाडा रुसलाई उपयोगको अनुमति दिनका लागि इजिप्टसित कुराकानी ।

टर्कीसित सतहबाट हावामा प्रहार गर्ने एस ४०० मिसाइल प्रणाली दिनका लागि कुराकानी ।

साउदी अरबसित सम्बन्ध सुधार्ने कोसिस ।

र, पूरै मध्यपूर्वमा रुसको कूटनीति सिरियामा राजनीतिक स्थिरिता कायम गर्ने कोसिस गर्नमा लागिपरेको छ ।

अमेरिकी छविमाथि झड्का
मध्यपूर्वमा रुसको प्रभाव बढिरहेको छ भने यसविपरीत यस क्षेत्रमा अमेरिकी छवि समस्यामा घेरिन थालेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने निर्णयबाट अरब जगत् रुष्ट भएको छ । यस निर्णयबाट यस क्षेत्रमा अमेरिकाको मध्यस्थकर्ताको छविमा धक्का लाग्न सक्छ ।

सिरियामा रुसको सैनिक अभियानको वैश्विकस्तरमा पनि परिणाम अगाडि आएको छ । २०१४ मा क्रिमियामाथि अधिकार जमाएपछि रुसले अन्तर्राष्ट्रियस्तरमा एक्लिनुपरेको थियो । तर, सिरियाको सैनिक अभियानले यस स्थितिलाई परिवर्तन गरेको छ । पश्चिमी देशका नेतालाई सिरियाको मामिलामा रुससित संवादको टेबलमा आउनुपर्‍यो ।

२०१५ मा रुसका कैयौँ मानिसको आंशका थियो कि सिरिया उसका लागि दोस्रो अफगानिस्तान बन्न सक्छ । जहाँ १९८० को दशकमा करिब दशकभर लामो सैनिक अभियानमा दश हजारभन्दा बढी सोभियत सैनिक मारिएका थिए । तर, आधिकारिक जानकारीका अनुसार सिरियामा ४१ सैनिकको मात्र मृत्यु भएको छ । रिपोर्टहरूका अनुसार केही दर्जन निजी ठेकेदारको मृत्युको जानकारी प्राप्त भएको छ ।

निर्वाचनमा फाइदा ?
क्रेमलिनका नेताका रूपमा पुटिन तीन महिनाको क्रममा दुईपटक निर्वाचनको सामना गर्न गइरहेका छन् । एक उम्मेदवारका रूपमा मत आफ्नो पक्षमा पार्नका लागि पुटिनको नारा हुन सक्छ— ‘मिसन पूरा भयो ।’ उम्मेदवारीको घोषणाको एक साताभन्दा पनि कम समय हुँदा पुटिन सिरिया जानुलाई निर्वाचनसित जोडेर हेरिँदै छ ।

(रोजनबर्ग बिबिसी न्युजका मस्को संवाददाता हुन्)
बिबिसी डट कम-हिन्दीबाट

तपाईको प्रतिक्रिया