दुई दलीयतातिरको यात्रा
eNaya Patrika
  • ePaper

दुई दलीयतातिरको यात्रा

यसपटकको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सबै परिणाम आइसक्दा नेपालले दुई दलीय व्यवस्थातिर प्रवेश गरेको हो कि भन्ने अनुमान बलियो भएको छ । परिणामपछि वामपन्थी गठबन्धन (एमाले र माओवादी केन्द्र) एउटा धुुरीमा र कांग्रेस अर्को धुरीमा देखिन्छन् । वाम गठबन्धनका उम्मेदवारमध्ये प्रत्यक्षतर्फ ११७ जना विजयी भए । हुम्लाबाट निर्वाचित स्वतन्त्र सांसद छक्कबहादुर लामा पनि वामपन्थी नै हुन् । उनी ढिलोचाँडो गठबन्धनमै सामेल हुने निश्चित छ । यता कांग्रेसको मोर्चाबाट जितेका डा. बाबुराम भट्टराई भने कांग्रेसमा प्रवेश गर्ने या सो मध्यदक्षिणपन्थी ध्रुवतिर आकर्षित हुने सम्भावना कम छ । यसरी हेर्दा प्रत्यक्षतर्फ ११९ सिटमा वामपन्थीको एउटै मोर्चा उपस्थित छ । अर्कातिर कांग्रेसले तेस्रो दलको रूपमा प्रत्यक्षतर्फ जम्मा २३ सिट जितेको भए पनि समानुपातिकतर्फ उसले ल्याएको कुल मत झन्डै एमालेकै जति लगभग ३३ प्रतिशत नै रहेको छ । कुल मतदाताको ३३ प्रतिशत ल्याउने कांग्रेसले अहिले विभाजित दक्षिणपन्थी या मध्यमार्गी समूहको मुख्य प्रतिनिधित्व गर्छ । यसअघिको निर्वाचनमा भन्दा उसको कुल मत बढेको छ, घटेको छैन । सिटसंख्याले यसपालि संसद्मा दोस्रो शक्तिका रूपमा रहे पनि ऊ नै वाम गठबन्धनको मुख्य प्रतिस्पर्धी रहेको प्रस्टै छ ।

राजनीतिक अस्थिरतालाई मात्र कारण बनाउँदा दुई दलीय व्यवस्थातिरको यात्रा अपेक्षाकृत राम्रो देखिए पनि दुई दल मात्र हुँदा साना दलले प्रतिनिधित्व गरिरहेका अनेक सीमान्तीकरणमा परेका समुदायका आवाज कम सुनिने खतरा रहन्छ

अहिले राप्रपाको जेजस्तो प्रदर्शन रह्यो, त्यसलाई हेर्दा आउने वर्षमा दक्षिणपन्थी मत पनि यो या त्यो रूपमा कांग्रेसकै प्रभावमा आउने अनुमान गर्न सकिन्छ । यता एमाले र माओवादी केन्द्रले अहिले नै ४७ प्रतिशत मत प्राप्त गरेका छन् । एमाले र माओवादी केन्द्रबीच आउने दिनमा पार्टी एकता गर्ने भनी नेताहरूले सार्वजनिक घोषणा गरिसकेको सन्दर्भमा अब आउने दिनमा यिनीहरू एउटै दल बन्ने निश्चित नै छ । यसरी हेर्दा देशमा दुई ध्रुवमा विभाजित दुईवटा दल मात्र राजनीतिमा निर्णायक हुने देखिन्छ । मधेसी दलहरू दुवैको अवस्था क्षेत्रीयस्तरको प्रतिनिधित्वमा सीमित रहेको र तिनले राष्ट्रिय आकार लिने सम्भावना नभएकाले आगामी दिनमा तिनको भूमिका पनि अनुकूलताअनुसार दुई ठूला दलसँग मिलेर शक्ति आर्जन गर्नेमा सीमित हुँदै जाने देखिन्छ ।

नेपालको संसदीय राजनीतिमा ०५१ यताका वर्ष राजनीतिक अस्थिरताका कारण बदनाम छन् । संसद्मा एउटै दलको बहुमत नहुँदा सरकार बन्ने र भत्कने समीकरणले बदलिरहने प्रधानमन्त्री र राजनीतिक अस्थिरताका कारण देशले दिगो विकासका लक्ष्य पहिल्याउन सकेको छैन । ०६४ यता मात्रै ९–१० जना प्रधानमन्त्री देशले फेरेको छ । यस पाटोबाट मात्र हेर्दा ससाना अस्थिर दलको उपस्थितिले यस्तो अस्थिरतालाई सहयोग गरिरहेको निष्कर्ष निकाल्ने गरिएको थियो । यद्यपि, यस्ता साना दलको भन्दा मुख्य तीनवटा ठूला दलकै कारण सरकार बन्ने र भत्कने गरेका हुन् । यसका लागि एउटा मात्र दलले बहुमत ल्याउन नसकेको अवस्थालाई दोष दिने गरिएको छ । यतिलाई नै कारण बनाउँदा भने दुई दलीय व्यवस्थातिरको यात्रा अपेक्षाकृत राम्रो देखिन जान्छ । तर, दुई दल मात्र हुँदा साना दलले प्रतिनिधित्व गरिरहेका अनेक सीमान्तीकरणमा परेका समुदायका आवाज कम सुनिने खतरा रहन्छ । ठूला दलले परिचालित गर्ने शक्ति र स्रोतको दबाबमा परेर साना दलले समाजमा आफ्नो अलग अस्तित्व जोगाइरहन सक्दैनन् । यसले प्रकारान्तरले समाजको विद्यमान शक्ति संरचनामा माथि रहेको वर्चस्वशाली समूहलाई नै फाइदा पुग्ने खतरा रहिरहन सक्छ । यो भने राजनीतिक स्थिरताका नाममा चुकाउनुपर्ने ठूलो मूल्य हुनेछ ।

तपाईको प्रतिक्रिया