पार्टी एकता र सरकार गठन सँगसँगै हुनुपर्ने माओवादी जोड
eNaya Patrika
  • ePaper

पार्टी एकता र सरकार गठन सँगसँगै हुनुपर्ने माओवादी जोड

माओवादी केन्द्रले पार्टी एकता र सरकार गठन सँगसँगै हुनुपर्नेमा जोड दिएको छ । निर्वाचनपछि पहिलोपटक सोमबार बसेको माओवादी केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष प्रचण्डसहित शीर्ष नेताले पार्टी एकता र सरकार गठनलाई प्याकेजमा हल गर्नुपर्ने बताएका छन् ।

बैठकमा अध्यक्ष प्रचण्डले एमालेसँग पार्टी एकता गर्न एउटा खाका तयार भएपछि मात्र सरकार गठनको प्रक्रिया सुरु हुने धारणा राखेको माओवादी सचिवालय सदस्य गणेश शाहले बताए । प्रचण्डले करिब २० मिनेट आफ्ना कुरा राखेका थिए । ‘पार्टी एकीकरणको सबै प्रक्रिया पूरा गर्न सकिँदैन, यस्तो अवस्थामा एउटा मोटामोटी सहमतिमा पुगेपछि पार्टी एकता र सरकार गठन सँगसँगै जान्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै शाहले भने ।

निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाहीको माग
निर्वाचनमा अन्तर्घात भएकै कारण केही शीर्ष नेता पराजित भएको भन्दै विभिन्न नेताहरूले कारबाही गर्नुपर्ने माग राखेका छन् । अन्तर्घातकै कारण नारायणकाजी श्रेष्ठ, उर्मिला अर्याललगायत पराजित भएको आवाज बैठकमा उठेको छ । ‘अन्तर्घात गर्नेहरू पुनः समानुपातिकलगायत अन्य प्रक्रियाबाट माथि आउन सक्छन्,’ नेता मातृका यादवले भने, ‘यस्ता पार्टी नीतिविपरीत काम गर्ने नेता कार्यकर्तालाई छानबिन गरी कारबाही गर्नुपर्छ ।’

राष्ट्रिय सभासम्बन्धी विवाद राजनीतिक सहमतिमा खोज्नुपर्ने
माओवादीले राष्ट्रिय सभा गठनसम्बन्धी देखिएको विवादको समाधान राजनीतिक सहमतिमा खोज्नुपर्ने निष्कर्ष निकालेको छ । ‘राष्ट्रिय सभा गठनसम्बन्धी विवाद राजनीतिक विषय हो । यसलाई राजनीतिक सहमतिकै आधारमा समाधान गर्नुपर्छ । शीर्ष नेताहरू बसेर सहमति खोज्नुपर्ने निष्कर्ष निकालेका छौं, त्यसैअनुसार अघि बढ्छौं,’ बैठकपछि प्रवक्ता पम्फा भुसालले भनिन् ।

 पार्टी एकता भएरै छाड्छ : प्रचण्ड
बैठकमा अध्यक्ष प्रचण्डले सम्मानजनक ढंगले आगामी कार्यदिशासहित पार्टी एकताको खाका तयार भएपछि सरकार गठन प्रक्रिया सुरु गरिने बताएका थिए । निर्वाचनबाट वाम गठबन्धनलाई पार्टी एकीकरण गर्न मत आएको भन्दै उनले पार्टी एकता भएरै छाड्ने बताए । ‘पार्टी एकता गर्ने विषय निर्वाचनमार्फत जनताबाट अनुमोदन भइसकेको छ । एकता नभएमा जनमतको अपमान हुन्छ,’ प्रचण्डको भनाइ थियो ।

वाम गठबन्धन बनाएर निर्वाचन जाँदा प्रत्यक्षमा राम्रो नतिजा आए पनि समानुपातिकतर्फ ध्यान नदिँदा एकदमै कम मत आएको प्रचण्डले बताए । ‘समानुपातिकतर्फ जति महत्व दिनुपर्ने थियो, सोहीअनुसार प्रचारप्रसार गर्न सकेनौँ, जसले गर्दा सोचेजति समानुपातिकतर्फ सिट आएन,’ उनले भने । निर्वाचनमा पराजित भएका शीर्ष नेताका विषयमा केही न केही सोच्नुपर्ने प्रचण्डको भनाइ थियो ।

नेता कृष्णबहादुर महराले पार्टी एकता निकै चुनौतीपूर्ण रहेको धारणा राखेका थिए । प्रवक्ता पम्फा भुसालले पार्टी एकता र सरकार गठन सँगसँगै अगाडि बढ्ने बताइन् । बैठकमा नेता रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, वर्षमान पुन, टोपबहादुर रायमाझी, मातृका यादव, उर्मिला अर्याललगायत नेताले बालेका थिए । प्रचण्डले राखेको धारणामा अधिकांश नेताले सहमति जनाएको नेता मणि थापाले बताए ।

तपाईको प्रतिक्रिया