धरावासी फ्रम अमेरिका - Naya Patrika
eNaya Patrika
  • ePaper

धरावासी फ्रम अमेरिका

लाग्छ अमेरिका उनको गुप्तवास हो । उनी लेख्नकै लागि गुप्तवासमा छन् । ६ महिनापछि निस्किन्छन् र पाठकलाई नयाँ पुस्तक उपहार दिन्छन् । त्यसो त अमेरिकामा उनलाई लेख्ने वातावरण पनि मिलेको छ ।

धरावासी अमेरिका गए ।

यो ४ वर्षअघिको कुरा हो । अहिलेको कुराचाहिँ उनी अमेरिकामै छन् । काम गर्दैनन् । अर्थात्, डलर कमाउनतिर लागेका छैनन् । अपार्टमेन्टमा बसेर लेखिरहन्छन् । लेख्ने उनको काम ।

अमेरिका बसेर लेख्छन् र छाप्न नेपाल आइपुग्छन् । पहिलोपटक अमेरिका गएको पाँच महिनामा नै फर्किए । साथमा थियो, यात्रा संस्मरण, ‘कागजको मान्छे’ । युरोप भ्रमणबारे लेखिएको यो यात्रा संस्मरण उनले अमेरिकामै तयार पारेका थिए । प्रकाशनका लागि नेपाल आउँदा भने उनलाई ऋण लाग्यो, एक हजार ५० डलर, प्लेन भाडा ।

उनी हरेक पाँच वा ६ महिनामा नेपाल आउँछन् । भन्छन्, ‘अमेरिकामा मलाई कसैले चिन्दैन, म लेखक हुँ भन्ने कुरा अमेरिकाले स्विकार्दैन, त्यहाँ अंग्रेजी भाषाका एकसे एक लेखक छन् । तिनीहरूसँग त भेट गर्नसमेत गाह्रो रहेछ ।’ आफ्नो पहिचान अमेरिकामा हुन नसक्ने धरावासीले बुझिसकेका छन् । तैपनि अमेरिकामै बसिरहेका छन् ।

अनि नेपाल नि ? जे छ यतै त छ । त्यसैले नेपाल आइरहन्छन् । आउँदा साथमा एउटा न एउटा पाण्डुलिपी पनि हुन्छ । आफैँ छपाउँछन् । विमोचन गराउँछन् । ५–६ महिना बस्छन् । जान्छन् । वर्षमा आधा यता, आधा उता ।

उनी पछिल्लोपटक नेपाल आउँदा सँगै ‘तल्लो बाटो’ उपन्यास लिएर आए । यो नेपालबाट जमिनमार्ग हुँदै अमेरिका जानेहरूको कथा हो । जो ज्यानको बाजी लगाएर १० महिनासम्म लगाएर पनि अमेरिका छिर्छन् । त्यतिवेलासम्ममा ३० देखि ४० लाख खर्च भइसकेको हुन्छ ।

तर, कतिसम्म खतरा मोल्नुपर्छ भने, अमेरिका छिर्ने अन्तिम अवरोध मेक्सिकोको पर्खाल नाघ्दै गर्दासम्म पनि ज्यान सुरक्षित हुँदैन ।

तल्लो बाटो लेख्ने क्रममा उनले भाग्दै अमेरिका पुगेका १० जनासँग कुराकानी गरे । कुराकानी सहज थिएन । उनी सम्झिन्छन्, ‘बाटोमा भोगेका दुःख भन्न उनीहरू सक्दैन थिए । भन्दाभन्दै भक्कानिन्थे । डाँको छाडेर रुन्थे । कतिपटक त उनीहरूसँगै म पनि रोएँ । एकजनासँग कुरा गर्न हप्तौँसम्म पनि लाग्यो ।’ तर, उनले तल्लो बाटोको रहस्य खोलिछाडे ।

धरावासी भने माथिल्लो बाटोबाटै अमेरिका पुगेका थिए । अर्थात्, आकाशमार्गबाट ।
त्यसो त अमेरिका जाने निर्णयले धरावासीको खुब आलोचना भएको थियो ।

उनी नेपालमा कहाँ फुर्सदिला थिए र ? मान्छेहरू भेटघाटका लागि पुगिरहन्थे । कार्यक्रमहरूमा प्रमुख अतिथिका रूपमा निम्त्याइन्थे । सम्मान थापिरहन्थे । लेखक, पत्रकारबाट घेरिएका हुन्थे । लेखनका लागि समय निकाल्नै हम्मे हुन्थ्यो । यो माया उनले लेखेरै कमाएका थिए ।

धरावासी, मदन पुरस्कार विजेता लेखक । लीला लेखनका अभियन्ता । उनका निबन्धले नेपाली निबन्ध लेखनमा छुट्टै शैलीको विकास गरेको छ । इन्द्रबहादुर राईलगायतले दार्जिलिङमा सुरु गरेको लीला लेखनलाई उनले नेपालमा संस्थागत नै गरे ।

अचानक उनले कृषि विकास बैंकबाट स्वैच्छिक अवकास लिए । पूर्णकालीन लेखक हुने उद्देश्य थियो । दुई वर्ष लेखेरै बसे । त्यसपछि काठमाडौंमा हल्ला फैलियो, ‘धरावासी अमेरिका भासिँदै छन् ।’ धेरै साथीले नजान सुझाए । उनले टेरेनन् । त्यसबापत आलोचना खेपे । अमेरिका जानुमा उनी आफ्नै बाध्यता सुनाउँछन् ।

उनी आफ्नो बाध्यता सुनाउन श्रीमती सीताको मृत्युसम्म फर्किन्छन् । श्रीमतीको मृत्युले खुब छटपटाएका थिए । छटपटीमै डेढ वर्ष बितेको थियो । उनले साथीभाइ र छोराछोरीकै सल्लाहमा दोस्रो बिहे गरे । केही समयपछि छोराछोरी नै अमेरिका गए । श्रीमतीले पनि जाने रहर गरिन् । छोरीछोरीले ‘हामीलाई अभिभावक चाहिन्छ, तपाईं आउनुपर्छ, तपाईं आइदिए हामीलाई धेरै सहज हुन्छ’ भने । छोराछोरीलाई सहज हुन्छ भने ढिपी गरेर नेपाल नै किन बसिरहने ? बसिरहनुको खास कारण देखेनन् । आफ्नै पनि उमेर ढल्किँदै थियो । अनि, छोराछोरीका लागि भन्दै उनी अमेरिका हानिए ।

अमेरिकामा पनि लेख्ने काम भने छाडेनन् । उनलाई तिनै अमेरिकामा लेखेका कृति छपाउने बहाना मिलेको छ, नेपाल आउन । पहिलोपटक आए, ‘कागजको मान्छे’ छापेर गए । दोस्रोपटक आए, ‘रेड स्क्वायर’ छापे । यो यात्रा संस्मरण हो । तर, अमेरिकाको होइन ।

उनी अमेरिकाका विभिन्न प्रान्त डुलेर आफ्नै कथामा बनेको फिल्म ‘झोला’ प्रदर्शन गरिरहेका थिए । त्यति नै वेला रुसबाट निम्ता आयो । रुस भ्रमणपछि अमेरिका फर्किए र यात्रा संस्मरण लेखे, ‘रेड स्क्वायर’ । अनि नेपाल आएर प्रकाशित गरे ।

यो फिल्म प्रदर्शनीको बहानामा उनी अमेरिकाका धेरै राज्य पुगे । त्यहाँ संसारभरका मान्छे देखे । नेपाली मात्र होइन, युरोपियन, जापानिज, कोरियन, चाइनिज, अफ्रिकनहरूले पनि अमेरिका बस्न मरिहत्ते गरेको देखे । सबैको खोजी गर्न सम्भव थिएन । अमेरिका बसिरहेका नेपालीबारे बुझ्न थाले ।
कोही अध्ययन भिसामा गएका, कोही डिभी परेर गएका, कोही भिजिट भिसामा गएर उतै बसेका । धेरै थरीका मान्छे भेट भए । भिजिट भिसामा गएकाहरू नेपालमा द्वन्द्वका कारण असुरक्षित भएको भन्दै शरणार्थी भएका थिए । बस्ने बहाना न चाहिएको थियो ।

अमेरिकामा सबै खुसी भने छैनन् । यताजस्तै त्यता पनि मान्छेका आफ्ना–आफ्ना दुःख छन् । नेपालमा बसेर सोचेजस्तो सहज छैन, त्यहाँको जीवन । अमेरिका पुगेका नेपालीको दुःख खोज्दाखोज्दै जन्मियो, उपन्यास ‘ग्रेट फल्स’ । जसले फेरि धरावासीलाई नेपाल ल्याइपु¥यायो । छाप्न र विमोचन गर्न ।
ग्रेट फल्समा जमिनको बाटो अर्थात् तल्लो बाटो भएर अमेरिका पुग्नेहरूको कथा अटाएन । किनभने, त्यो अमेरिका पुगिसकेका नेपालीको कथा थियो ।

तर, तल्लो बाटोको कथा त दर्दनाक थियो । त्यसबारे ग्रेट फल्स लेख्न सुरु गर्दा नै धरावासीले थाहा पाइसकेका थिए । जमिनको बाटोबाट अमेरिका ताकेका कतिपय बीच बाटोमा नै मरेका थिए । अमेरिका पुगेकाहरू पनि ती दिन सम्झिँदा धुरुधुरु रुन्थे । ग्रेट फल्स लेखिसकाउँदा उनको अर्को उपन्यास तल्लो बाटो पनि आधाउधी सकिइसकेको थियो ।

अमेरिका बसाइका क्रममा उनले उपन्यास र निबन्ध मात्र लेखेका छैनन् । इन्द्रबहादुर राईहरूले सुरु गरेर उनले पच्छ्याएको लीला लेखनलाई पनि सैद्धान्तीकरण गर्न भ्याएका छन् । गत वर्ष नेपाल आउँदा उनले लीला लेखकसम्बन्धी दर्शनको पुस्तक लिएर आए ‘लीलाबोध’ ।

लाग्छ, अमेरिका उनको गुप्तवास हो । उनी लेख्नकै लागि गुप्तवासमा छन् । ६ महिनापछि निस्किन्छन् र पाठकलाई नयाँ पुस्तक उपहार दिन्छन् । त्यसो त अमेरिकामा उनलाई लेख्ने वातावरण पनि मिलेको छ । भन्छन्, ‘नेपालमा जस्तो कार्यक्रमतिर बोलाइरहँदैनन्,
सबै आफ्नो काममा व्यस्त हुन्छन्, त्यसकारण लेख्ने समय पर्याप्त पाएको छु ।’

छोराछोरी बिहानै उठेर काममा जान्छन् । श्रीमतीलाई पनि कामबाट फुर्सद छैन । उनको काम नातिनातिना स्कुल पठाउनु हो । त्यसपछि दिनभरि फुर्सद । अनि कोठामा मधुर स्वरमा संगीत बजाउँछन् र आफूचाहिँ लेख्न, पढ्न बस्छन् । खानेकुरा फ्रिजमा हुन्छ । भोक लाग्यो भने पनि कुनै समस्या छैन । न त किन्न जानुपर्ने, न पकाउने झन्झट । त्यसकारण लेखिरहन्छन्, पढिरहन्छन् ।
कहिलेकाहीँ नेपालको याद आउँछ । नेपाली गीत सुन्छन् । नेपालका समाचार हेर्छन् । यु–ट्युब खोलेर फिल्म हेर्छन् ।

उनलाई सबैभन्दा बढी त अमेरिका पुगेको पहिलो दिनको घटना याद आइरहन्छ ।
सन् २०१३ । चारजना थिए । चारैजना पहिलोपटक अमेरिका उत्रिएका । प्लेनले फिलाडेल्फिया पु¥यायो । जानुपर्ने अलावा । दुई घण्टा मात्र ट्रान्जिट रहेछ । इमिग्रेसन पार गर्न नै झन्डै ४ घण्टा लाग्यो । जहाज उडिसकेछ । धरावासीले एयरलाइन्समा गएर गुनासो गरे । अर्को जहाज भोलिपल्ट बेलुका मात्र उड्ने रहेछ ।

एयरलाइन्सले अर्को विकल्प पनि दियो, ट्रेनको । ट्रेनबाट २४ घण्टा लाग्ने रहेछ । जहाजबाटै जान भोलिपल्टसम्म पर्खिनुपर्ने । कहाँ बस्ने भन्ने समस्या थियो । ‘हाम्रो कारणले जहाज छुटेको होइन, तपाईंहरूकै कारणले हो, हामी व्यवस्था गर्न सक्दैनौँ,’ एयरलाइन्सको मान्छेले ठीकै
भनेको थियो ।

फिलाडेल्फियामा सहयोग गर्ने कोही थिएन । होटल कहाँ छ भन्ने पनि थाहा थिएन । कसरी कोसँग सहयोग माग्ने ? विदेशी भूमि न भाषा मिल्छ, न कसैलाई कसैको मतलब नै छ ।

चारमध्ये एकजना वृद्धा थिइन्, नातामा धरावासीको सासू पर्ने । उनलाई ह्विलचेयरमा लगिएको थियो । त्यहाँको नियमअनुसार ह्विलचेयरको मान्छेलाई एयरलाइन्सले वास मिलाइदिनुपर्नेरहेछ । एयरलाइन्सले आमालाई त होटेल खोजिदिने भयो तर, आमाले भाषा नबुझ्ने । ८० वर्ष नाघिसकेकी वृद्धाले जे पायो त्यही खानेकुरा खाने कुरै थिएन । ह्विलचेयरमा बस्ने मान्छेलाई एक्लै शौचालय जान पनि समस्या ।

धरावासीले आमालाई छुट्याएर लैजान नदिने अड्डी कसे । उनीहरूले पनि एउटा उपाय सुझाए । आमालाई उनीहरूले होटेलमा लगिदिने भए । त्यही होटेलवालालाई धरावासीले कोठाको लागि आग्रह गर्नुपर्ने भयो । उनले त्यसै गरे । तर, होटेलमा थप कोठा खाली रहेनछ ।

आमालाई राख्ने भनिएको कोठामा दुईवटा बेड रहेछन् । धरावासीले बाउ–छोरा एउटा बेडमा र आमा–छोरी अर्को बेडमा सुत्ने प्रस्ताव राखेछन् । सुनेर होटेलका कर्मचारी छक्क परेछन् । अमेरिकामा एउटै लिंगका मान्छे सँगै सुत्दैनन् । समलिंगी भए मात्र त्यसरी सुत्छन् । तर, होटेलका कर्मचारीले भने उनको प्रस्तावमा ‘अब्जेक्सन’ जनाएनन् ।

घटना यत्ति थियो । यसले धरावासीलाई भने अमेरिका चिनाउन मद्दत ग¥यो । किनभने अमेरिका टेकेकै दिनबाट नयाँ संघर्ष सुरु भइसकेको थियो ।

धरावासीले हरेक संघर्षमा जित हासिल गर्दै गए । नेपाली पाठकलाई निरास पारेनन् । लेखिरहे, लेखिरहे । प्रत्येकपटक आउँदा केही नयाँ लिएर आउँछन् । अहिलेपनि धरावासी अमेरिकामा नै छन् ।
सायद, कुनै पाण्डुलिपी तयार पार्दैछन् कि !

 – प्रकाश गुरागाईं

तपाईको प्रतिक्रिया