कांग्रेसको अबको कार्यदिशा
eNaya Patrika
  • ePaper

कांग्रेसको अबको कार्यदिशा

निर्वाचनको चक्र : जनप्रतिनिधिले संविधानसभाका माध्यमबाट संविधान निर्माण गर्नुपर्ने धारणा नेपालमा सात दशकअघिदेखि आएको भए पनि अहिले आएर त्यो सम्भव भयो । दोस्रो संविधानसभाले संविधान निर्माण गरी जारी गर्‍यो । संविधान कार्यान्वयन गर्ने क्रममा केही राजनीतिक ढाँचा बदलिएका छन् । कांग्रेसको अबको कार्यदिशा : केही राजनीतिक ढाँचा बदलिएका छन् ।

स्थानीय निकायले स्थानीय सरकारको स्वरूप ग्रहण गरेको छ । केन्द्रीय सरकारको अवधारणा परिवर्तन गरेर प्रादेशिक सरकार र संघीय सरकार निर्माण गर्ने व्यवस्था संविधानले गरेको छ । संवैधानिक प्रावधानअनुरूप स्थानीय, प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको छ । राष्ट्रिय सभा निर्वाचनको प्रक्रिया सुरु गर्न मुलुक अग्रसर बनिरहेको छ ।

यो निर्वाचन सम्पन्न भएपछि एउटा निर्वाचनको चक्र पूरा हुन्छ । संविधानले प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित र समानुपातिक सदस्य र राष्ट्रिय सभाका सदस्यको समायोजनबाट संघीय संसद् बन्ने परिकल्पना गरेको छ । संघीय संसद् निर्माणका लागि सरकार, निर्वाचन आयोग र राजनीतिक दलले राष्ट्रिय सभा निर्वाचन सम्पन्न गर्नुपर्नेछ । राष्ट्रिय सभा निर्वाचन नहुँदासम्म संवैधानिक प्रावधानअनुसार निर्वाचनको चक्र पूरा हुँदैन ।

प्रतिनिधिसभा र राष्ट्रिय सभा मिलेर बन्ने संघीय संसद्मा हरेक राजनीतिक दलले आफ्नो पार्टीबाट कम्तीमा एकतिहाइ महिला प्रतिनिधिको सहभागिता गराउनुपर्ने हुन्छ । तसर्थ, राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि मात्रै निर्वाचनको चक्र पूरा हुन्छ ।

संविधान निर्माणको क्रममा कांग्रेसको नेतृत्वदायी भूमिका रह्यो । पहिलो संविधानसभामा कांग्रेस दोस्रो पार्टी बन्यो । पहिलो पार्टी बनेको तत्कालीन माओवादी र तेस्रो पार्टी बनेको एमाले मिल्दा बहुमत पुग्थ्यो । तथापि चार वर्षको पदावधिमा चार कम्युनिस्ट नेता प्रधानमन्त्री बने । तर, संविधान निर्माण गर्न सकेनन् । किनकि संसारभर संविधानसभाले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित संविधान निर्माण गरेका छन् ।

नेपालमा पनि संविधानसभाले लोकतान्त्रिक मूल्य–मान्यता र बहुलवादमा आधारित बहुदलीय शासन व्यवस्थालाई स्थापित गर्ने हो । संविधानसभामा विभिन्न ऐतिहासिक पृष्ठभूमि र विभिन्न राजनीतिक विचार, सोच र दृष्टिकोणबाट हुर्केका पार्टी प्रतिनिधि नै आउने हो । त्यो खालको विविधतामा बहुलवादमा आधारित बहुदलीय शासन व्यवस्थाको जगमा उभिएको संविधान निर्माण गर्नुपर्ने थियो । त्यसमा कम्युनिस्ट पार्टीहरूको पूर्णतः आस्था नभएकाले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित संविधान निर्माणमा नेतृत्व र पहल गर्न सकेनन् ।

फलस्वरूप संविधानसभाको समयावधि सिद्धिएपछि ०७० मा दोस्रो संविधानसभा निर्वाचन गर्नुपर्‍यो । संसारको राजनीतिक इतिहासमा पहिलो संविधानसभाले संविधान निर्माण गर्न नसकेर दोस्रो संविधानसभा निर्वाचन गरी संविधान निर्माण गरेकाले नेपालको नाम उदाहरणीय रहनेछ । दोस्रो संविधानसभामा बहुलवादमा आधारित बहुदलीय शासन व्यवस्था र लोकतान्त्रिक मूल्य–मान्यतामाथि विश्वास गर्ने कांग्रेस पहिलो पार्टी बन्यो ।

फलतः आफूसँग पूथक् सोचाइ राख्ने राजनीतिक दल र सिद्धान्तको सम्मान गर्दै मुलुकको फरक पहिचान र सबैको सम्मान हुने संविधान निर्माणमा कांग्रेसले पहल गर्‍यो । पार्टीसँग दुईतिहाइ त परैको कुरा भयो, बहुमतसमेत थिएन, तैपनि आफ्नो अगुवाइ र पहलमा संविधान जारी गर्न सफल भयो ।

संविधान जारी भए पनि निर्माणका क्रममा सहमतिमा आएका पार्टीलाई साथमा लिएर जानु, संविधान निर्माणका क्रममा प्रक्रियाभन्दा बाहिरिएका पार्टीलाई पनि फेरि राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउने दायित्व कांग्रेसको थियो । यो दायित्व पनि कांग्रेसले संवाद र सहमतिका माध्यमबाट पूरा गर्‍यो ।

फलस्वरूप पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी नभएका मधेसकेन्द्रित दल तेस्रो चरणको स्थानीय निर्वाचनमा सहभागी भए । भर्खरै सम्पन्न प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा पनि उनीहरू सहभागी भए । उनीहरूका आफ्ना मुद्दा, दृष्टिकोण र माग यथावत् रहे पनि उनीहरू निर्वाचनमा आए ।

संविधान निर्माण गर्ने क्रममा स्वामित्व नलिएका मधेसकेन्द्रित दलले संविधान कार्यान्वयनको चरणमा सहभागिता जनाइरहेका छन् । संविधानको स्वामित्वले फराकिलो दायरा ओगट्न थालेको छ । जुन मुलुकको शान्ति प्रक्रिया र लोकतान्त्रिक मूल्य पद्धतिका लागि खुसीको विषय हो ।

निर्वाचन सम्पन्न गर्ने ऐतिहासिक दायित्व कांग्रेस नेतृत्वको सरकारले पूरा गर्‍यो । र, निर्वाचनपछि निर्माण हुने संस्थाको व्यवस्थापन कसरी गर्ने भन्ने कार्यको सम्पादन पनि अहिले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरिरहेको छ । लोकतान्त्रिक मूल्य पद्धति, राष्ट्रिय राजनीति र राष्ट्रका लागि यो धेरै ठूलो उपलब्धि हो ।

अब कांग्रेसको खबरदारी
०६४ सालमा तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले पहिलो संविधानसभा निर्वाचन सम्पन्न गरेपछि मुलुक एउटा गतिरोधबाट अघि बढ्यो । त्यो संविधानसभाले मूलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा रूपान्तरण गर्‍यो ।

दोस्रो संविधानसभामा कांग्रेसको संख्या र प्रभाव बढेका कारण त्यसैको आधारशिलामा अहिले पनि संविधान कार्यान्वयन गर्ने क्रमलाई अघि बढाएका छौँ । निर्वाचनमा कांग्रेसको लोकप्रिय मत घटेको छैन । तर, एमाले र माओवादी केन्द्रले चुनावी गठबन्धन गर्दै पार्टी एकीकरणको पहल गरेकाले दुई पार्टीको मत एकत्रित हुँदा धेरै स्थानमा प्रत्यक्षमा निर्वाचन जिते । जसबाट कांग्रेसले प्रत्यक्षतर्फ धेरै सिट जित्न सकेन ।

तथापि कांग्रेस प्रतिनिधिसभामा दोस्रो पार्टीको रूपमा उपस्थित रहन्छ । जनताले दिएको म्यान्डेटअनुरूप अब संसद्मा हामी सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौं । त्यस क्रममा कांग्रेस मुलुकमा शान्ति स्थापना गर्ने दिशामा दृढतापूर्वक उभिन्छ । दोस्रो, जनप्रतिनिधिले संविधानसभाबाट बनाएको संविधानमा सबैको स्वामित्व स्थापित गरी कार्यान्वयन गर्ने, तेस्रोमा संविधानका मुलभूत अवधारणा बहुलवादमा आधारित बहुदलीय व्यवस्था, लोकतान्त्रिक मूल्य पद्धति, संसदीय लोकतन्त्र रक्षार्थ कांग्रेस जस्तोसुकै कार्य गर्नुपरे पनि पछि हट्दैन ।

किनकि, नेपालमा जुन खालको राजनीतिक, सांस्कृतिक, सामाजिक, जातीय, भाषिक विविधता छ, त्यसलाई संसदीय लोकतन्त्रले मात्रै सम्बोधन गर्न सक्छ । नेपाली जनताले कुनै पनि खालको निरंकुशतालाई अहिलेसम्म स्विकारेका छैनन् र अब पनि स्विकार्न सक्दैनन् । राणा शासन, पञ्चायत र राजाको शासनको निरंकुशता नस्विकारेका जनताले अब पनि निरंकुशता स्विकार्दैनन् ।

तसर्थ, अब सत्ता सञ्चालन गर्ने राजनीतिक दलहरूले संविधान कार्यान्वयनमा आफ्नो आस्था प्रकट गर्नुपर्छ । संविधानमा आमूल परिवर्तन गर्ने, व्यवस्था परिवर्तन गर्ने, कनै एकदलीय शासन व्यवस्थाको सूत्रपात गर्ने जस्ता काम गरे भने फेरि नेपालको शान्तिप्रक्रिया खल्बलिन्छ ।

संविधानका मूलभूत धारणा, लोकतान्त्रिक मूल्य पद्धति, मानव अधिकार, प्रेस स्वतन्त्रताप्रति कांग्रेस सदैव सजग रहन्छ । राष्ट्रियताको संवर्धन, लोकतन्त्रको रक्षा, मानव अधिकारको जगेर्ना गर्दै मुलुकको समग्र विकासका लागि नागरिकसँग भएको सम्पत्तिलाई नागरिककै स्वामित्वमा उत्पादनशील क्षेत्रमा लगानी हुन सक्छ, अन्तर्राष्ट्रिय लगानी नेपालमा भित्रिने वातावरण निर्माणमा कांग्रेस खबरदारी गरिरहन्छ । जसले गर्दा जसको सरकार रहे पनि आगामी पाँच वर्षभित्रमा भौतिक विकासका ठूला पूर्वाधार सम्पन्न हुने र नयाँ परियोजना थालनी हुने वातावरण निर्माण हुन्छ ।

मुलुकको आर्थिक विकास जनताको चाहनाअनुरूप द्रुत गतिमा अघि बढाउन कांग्रेसले पहरेदारको भूमिका निर्वाह गर्छ । सरकारले गरेका राम्रा काममा जिम्मेवार प्रतिपक्षको हैसियतमा रचनात्मक सहयोग रहन्छ । राष्ट्रियताको सवालमा, लोकतन्त्रका मूलभूत मान्यताको खिलाफमा, प्रेस स्वतन्त्रतामा छेडखानी, मानव अधिकारको उल्लंघन, सम्पत्तिमाथि नागरिकको अधिकारमा संकुचन ल्याउने कार्य सरकारले गर्न थालेमा त्यसमा कांग्रेसले सशक्त पहरेदारको भूमिका निर्वाह गर्छ ।

कांग्रेसको अबको रणनीति
कांग्रेसको गौरव गर्नलायक ऐतिहासिक पृष्ठभूमि छ । पार्टीले अवलम्बन गरेको सिद्धान्त पनि नेपालका लागि सबैभन्दा सान्दर्भिक छ । किनकि, कांग्रेसले राजनीतिक रूपमा स्वतन्त्रता, आर्थिक रूपमा समानता र प्रजातान्त्रिक समाजवादलाई मूल आधार बनाएको छ ।

समाजलाई दीक्षित गर्ने, जनचाहना पूरा गर्ने, मुलुकमा शान्ति स्थापना गर्ने, अन्य आफूसँग फरक मत राख्ने राजनीतिक दललाई पनि समेटेर अघि बढ्ने कांग्रेस सिद्धान्तको सान्दर्भिकता झनै टड्कारो रूपमा रहेको छ । तसर्थ, पार्टीको सान्दर्भिकतालाई अझै स्थापित गरी जनतामाझ पुर्‍याउने कार्य कांग्रेसले अब सशक्त रूपमा सुरु गर्छ ।

आगामी पाँच वर्षसम्म जनताको सेवा गर्ने र कार्यकर्तालाई अझै परिस्कृत र मुखरित गर्ने, कार्यकर्ताको नेतृत्व र सक्षमता अभिवृद्धि गर्ने काममा हामी दत्तचित्त भई लाग्नेछौँ । र, पार्टीले स्थापना कालदेखि अहिलेसम्म गरेका महत्वपूर्ण र ऐतिहासिक कार्यलाई जनतासम्म पुर्‍याउनेछौँ ।

राज्यसत्ता पक्ष र प्रतिपक्षको सम्मिश्रणबाट बन्ने हो । प्रतिपक्षविनाको प्रजातान्त्रिक शासन व्यवस्थाको परिकल्पना गर्न सकिँदैन । जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरेर पार्टी कार्यकर्तालाई उत्साहित गरेर र पार्टीको सािन्दर्भिकतालाई झनै स्थापित गरेर जनताको मन परिवर्तन गरी पाँच वर्षपछि कांग्रेसलाई सशक्त पार्टीका रूपमा जनादेश प्राप्त हुने स्थितिमा पुर्‍याउनेमा हाम्रो ध्यान केन्द्रित रहन्छ ।

(कांग्रेस केन्द्रीय सदस्य खाण पार्टीको निर्वाचन परिचालन समितिका संयोजकसमेत हुन्)

तपाईको प्रतिक्रिया