साउदी–इजरायल निकटताको अर्थ
eNaya Patrika
  • ePaper

साउदी–इजरायल निकटताको अर्थ

साउदी–इजरायल निकटताको अर्थ – इरानका राष्ट्रपति हसन रुहानीले हालै सांसदलाई सम्बोधित गर्दै भनेका छन्– जबसम्म साउदी अरब, यमनमाथि बमबारी रोक्दैन र इजरायलसितको सम्बन्ध तोड्दैन, तबसम्म रियादसित कूटनीतिक सम्बन्ध बहाल गरिनेछैन । रुहानीका अनुसार साउदी अरबले इजरायलसामु घुँडा टेकेको छ र यहुदीवादसित सम्बन्धको भिख मागेको छ । जब कि उसले एउटा मेरुदण्डविहीन राज्यको साटो आफ्नो जनताका लागि उभिनु र आफ्नो इलाकाका देशमाथि भरोसा गर्नुपर्ने थियो । रुहानीले अगाडि भनेका छन्– हामी साउदी अरबले यहुदीवादसित आफ्नो सम्बन्ध तोडोस् र यमनमाथि अमानवीय बमबारी अन्त्य गरोस् भन्ने चाहन्छौँ । हामीलाई साउदी अरबसित कुनै समस्या छैन, हामी ऊसित सम्बन्ध राख्न पनि सक्छौँ ।

इरानी अधिकारी लगातार यमनमा सैनिक हस्तक्षेपलाई लिएर साउदी अरबको लगातार आलोचना गरिरहेका छन् । तर, यस्तो पहिलोपटक भइरहेको छ, जब देशका शीर्ष नेताले सार्वजनिक रूपमा इजरायललाई लिएर साउदी अरबको विदेश नीतिमा परिवर्तनको माग गरेका छन् । अर्कातिर साउदी अरबले पछिल्लो जनवरीबाटै तेहरानसित आफ्नो सम्पूर्ण कूटनीतिक सम्बन्ध तोडेको थियो, जब उसको दूतावासमाथि इरानी प्रदर्शनकारीले आक्रमण गरेका थिए र अन्य अरब देशसित पनि यस्तै गर्न अपिल गरेका थिए ।

 

रियाद र तेल अबिबबीच राजनीतिक, सुरक्षा र गुप्तचरी सूचना आदान–प्रदानमा सहयोग इरानका लागि खतराको घन्टीजस्तै हो

 

मध्यपूर्वका अन्य देशझैँ साउदी अरबको इजरायलसित कुनै औपचारिक कूटनीतिक सम्बन्ध छैन । यसका पछाडि इजरायलप्रति अरब जनमतको विरोध र यसको सम्भावित राजनीतिक दुष्परिणाम मुख्य कारण रहेका छन् । यद्यपि, साउदी अरब र इजरायलबीच वाणिज्य तथा आर्थिक क्षेत्रमा कुनै ठूलो सम्बन्ध छैन । उदाहरणका लागि इजरायली एयरलाइन्सलाई दक्षिण एसियाली देशको उडानका लागि साउदी अरबको वायु सीमा पार गर्ने अनुमतिसम्म छैन ।

यद्यपि, पछिल्ला केही वर्षमा विशेषगरी कथित ‘शान्तिपूर्ण शक्ति’ का साथमा तेहरानको आणविक सम्बन्धपछि इजरायल र साउदी अरब निकट आएका हुन् । र, यसको उद्देश्य इरानको क्षेत्रीय शक्तिका रूपमा भएको उभारसित जुध्नु र मध्यपूर्वमा आफ्नो प्रभाव बढाउनु हो । एक अमेरिकी अधिकारका अनुसार कमसेकम पछिल्ला पाँच वर्षसम्म इजरायल र साउदी अधिकारीबीच वार्ता चलेको थियो, जसको परिणाम दुवै देशबीच निकट सहयोग जारी छ ।

ट्रम्प फ्याक्टर
साउदी अरबका तर्फबाट हुने गतिविधिले अमेरिकी राष्ट्रपतिमा ट्रम्पको आगमनपछि तीव्रता पाएको छ । पछिल्लो महिनामा युवराज मोहम्मद बिन सलमान र प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले रियादमा भेटघाट गरेका थिए । र, युवराज सलमानले ट्रम्पका ज्वाइँ तथा मध्यपूर्वमा उनका विशेष दूत ज्यारेड कुसनरको शान्ति योजनालाई स्वीकार गर्न अपिल गरेका थिए ।

न्युयोर्क टाइम्सका अनुसार कुसनरको सबैभन्दा ठूलो उपलब्धि साउदी अरब र इजरायलबीच सहयोग सम्बन्ध बढाउनु हो । जसमा इजरायली एयरलाइन्सलाई साउदी वायु सीमामा प्रवेश तथा साउदीमा इजरायलको व्यापारको मुद्दा पनि सामेल छ । शान्ति योजनामा प्यालेस्टिनी अथोरिटीलाई इजरायलसितको सम्बन्ध सुधारको आग्रह पनि गरिएको छ । महमुद अब्बाको अहम् भूमिका देखेर साउदी युवराज सलमानले उनीमाथि शान्ति योजना स्वीकार गर्न दबाब दिएका छन् भनिँदै छ ।

इरानका लागि खतराको घन्टी
रियाद र तेल अबिबबीच राजनीतिक, सुरक्षा र गुप्तचरी सूचना आदानप्रदानमा सहयोग, इरानका लागि खतराको घन्टीजस्तै हो । साउदी अरब मध्यपूर्वमा एक्लो देश होइन, जब कि ऊ सुन्नी समूहको नेता हो । यरानका छिमेकी देश बहराइन, कुवेत तथा संयुक्त अरब इमिरेट्ससित उसको निकै राम्रो सम्बन्ध छ । यसको अर्थ यो कि यी देश पनि इजरायलसितको आफ्नो सम्बन्ध सुधारमा लाग्नेछन् ।

एक अभूतपूर्व कदमका रूपमा २५ एनजिओको एक प्रतिनिधि मण्डलले इजरायलका अधिकारीसित ११ डिसेम्बरमा भेटघाट गरेका थिए । एक अमेरिकी पूर्वराजदूतका अनुसार इजरायल र अरब देशबीच सहयोगका लागि कैयौँ मानिस पर्दापछाडिबाट काम गरिरहेका छन् ।

(बहरावेस अन्तर्राष्ट्रिय मामिलाका शोधकर्ता हुन्)
बिबिसी डट कम-हिन्दीबाट

तपाईको प्रतिक्रिया