कांग्रेसको पराजय
eNaya Patrika
  • ePaper

कांग्रेसको पराजय

कांग्रेसको पराजय : प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको निर्वाचनमा नेपालको पुरानो पार्टीमध्येको एउटा ठूलो पार्टी कांग्रेसको प्रदर्शन निकैे निराशाजनक रह्यो । २००७ सालको क्रान्तिको नेतृत्व गरेको, ०१५ सालको आमनिर्वाचनमा तत्कालीन राजा महेन्द्रले नचाहँदा–नचाहँदै पनि दुईतिहाइ सिट जितेर सरकारको नेतृत्व गरेको तथा ०४६ सालको आन्दोलनको नेतृत्व गरेर ०४८ र ०५६ को आमनिर्वाचनमा बहुमत ल्याई सरकार बनाएको कांग्रेस ०६४ को निर्वाचनपछि भने खस्कँदै गएको छ ।

०७० को निर्वाचनमा संसद्को सबैभन्दा ठूलो दल रहेको भए पनि उसको प्रभाव र मत लगातार कमजोर हुँदै गएको छ । यसपटकको निर्वाचनमा भने समानुपातिकतर्फ झन्डै एमालेबराबर नै मत ल्याए पनि प्रत्यक्षतर्फ भने उसको अवस्था निरीह बन्दै तेस्रोमा झर्न पुग्यो । उसले १६५ कुल सिटमध्ये केवल २३ सिटमा चित्त बुझाउनुपरेको छ ।

पार्टी नेतृत्वमा अप्रेसन आवश्यक रहेको भन्दै कांग्रेसभित्र जुन चर्चा सुरु भएको छ, त्यसले अर्धसत्य बोल्छ । उसमा नेतृत्व मात्र होइन, विचारमा पनि बहस हुनु जरुरी छ ।

प्रदेश नम्बर ६ मा उसले एउटा पनि सिट प्रतिनिधिसभाका लागि जितेन भने प्रदेश सभाका लागि पनि एक मात्र सिट हात पार्‍यो । उता प्रधानमन्त्री शेरबहादुर देउवाको प्रभाव क्षेत्र मानिने प्रदेश नम्बर सातमा देउवा मात्र निर्वाचित भए । प्रदेशतिरका सिटमा पनि कांग्रेस निकै कमजोर देखियो ।

रामचन्द्र पौडेल, कृष्ण सिटौला, रामशरण महत, अर्जुननरसिंह केसी, पूर्णबहादुर खड्का, विमलेन्द्र निधिलगायतका हस्ती पराजित भए । परम्परागत प्रभाव क्षेत्र मानिने प्रदेश नम्बर २ को मधेसमा समानुपातिकतर्फ पहिलो मत ल्याएर पनि उसले निकै खुम्चिनुपर्‍यो । यी सबै सूचनाले भन्छन् कांग्रेसको यो पराजय सामान्य होइन ।

उसले पुनर्जीवन पाउन मेजर अप्रेसन नगरी हुन्न जस्तो देखिन्छ । यस्तो अप्रेसन उसको विचारभन्दा पनि नेतृत्वमा आवश्यक रहेको भन्दै कांग्रेसभित्र जुन चर्चा सुरु भएको छ, त्यसले अर्धसत्य बोल्छ । कांग्रेसमा नेतृत्व मात्र होइन, विचारमा पनि बहस हुनु जरुरी छ ।

०४८ सालयताको नेपालको सरकार र राज्यका दृष्टिकोण मूलतः कांग्रेसले स्थापित गरेका विचारधाराबाट बनेका छन् । आर्थिक क्षेत्रमा नवउदारवाद र राजनीतिक क्षेत्रमा उदारवाद । नवउदारवादले सार्वजनिक संस्थालाई कमजोर बनाउने र सीमित नवधनाढ्य वर्ग उत्पादन गर्ने काम त गर्‍यो, तर देशमा व्यापक रोजगारी सिर्जना गर्न सकेन ।

शिक्षा र स्वास्थ्य सेवामा साधारण जनताको पहुँच कमजोर भयो । उदारवादी राजनीतिक प्रणाली त अपनाइयो तर राज्यसंयन्त्रलाई परम्परागत संस्कृतिबाट मुक्त गर्न सकिएन । बरु भ्रष्टाचार संस्थागत भयो । आमजनताबाट राज्य टाढिँदै गयो । यसले उत्पन्न गराएको निराशाकै बीच जनयुद्ध सुरु भयो । जनयुद्धबाट शान्ति प्रक्रियामा आएको माओवादी र संसदीय राजनीतिमा अभ्यासरत एमाले दुवैको पक्षमा रहेको जनमतले साधारण जनतामा वामपन्थीको वर्चस्व बढेर गयो ।

यसको प्रतिबिम्बस्वरूप विगत १० वर्षमा धेरैजसो समय वामपन्थीले राज्य चलाए । पाँचजना वामपन्थी प्रधानमन्त्री हुँदा कांग्रेसबाट दुईजनाले मात्र पालो पाए । यसरी वामपन्थीप्रति झुकाब राख्ने जनमतमा भएको विस्तारमा कांग्रेसको विचारधारात्मक तथा संगठनात्मक स्खलन नै मुख्य कारण रहेको छ भन्ने स्वतः बुझिने विषय हो । कांग्रेसले नवजीवन पाउन यसतर्फ ध्यान दिनुपर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया