तपाईंहरूकहाँ निर्वाचनबाटै कम्युनिस्टहरू सत्तामा आउने संकेत देखिएको छ ।
eNaya Patrika
  • ePaper

ओलीतिर सोझिएका आँखा

गत महिना काठमाडौंको एउटा कार्यक्रममा भाग लिन आएका विख्यात माक्र्सवादी अर्थशास्त्री प्रोफेसर प्रभात पटनायकले एउटा प्रसंगमा नेपालको निर्वाचनमा हुन लागेको सम्भावित वामपन्थी विजयलाई लक्षित गर्दै भनेका थिए : तपाईंहरूकहाँ निर्वाचनबाटै कम्युनिस्टहरू सत्तामा आउने संकेत देखिएको छ । यो सामान्य विषय होइन । विश्वभरका लागि नै नयाँ सन्देश हो । कम्युनिस्टहरू निर्वाचनबाटै सत्तामा आउन सक्छन्, आवधिक निर्वाचनका माध्यमबाट पनि जनताको अनुमोदन लिएर जित्न सक्छन् भन्ने संकेत हो यो । यसको विश्वराजनीतिमा गम्भीर महत्व छ । सबैले अब यता ध्यान दिनेछन् । प्रोफेसर पटनायक आफैँ नेपालमा निर्वाचनमार्फत कम्युनिस्टले सरकार बनाउन लागेकोमा निकै खुसी र आशावादी देखिन्थे । कमसेकम यताका वामपन्थीले प्रयास गरेमा नवउदारवाद र दक्षिण एसियालाई अप्ठेरोमा पार्दै लगेको मोदीको हिन्दुत्ववादी अतिवादका विपक्षमा वैचारिक बहसका थलो बनाउन सकिने आशा व्यक्त गर्दै थिए ।

१२ डिसेम्बरमा चीनको सरकारी मुखपत्र पिपुल्स डेलीको सहप्रकाशन ग्लोबल टाइम्सले नेपालको निर्वाचनबारेको समाचार छापेको छ । जसको शीर्षक राखिएको छ– ‘प्रोचाइना नेपाल पिएम उड हेल्प इकोनमिक टाइज ः एक्स्पर्ट ।’ विभिन्न समाचार स्रोत उल्लेख गर्दै नेपालमा एमाले–माओवादी कम्युनिस्ट गठबन्धनले चुनावमा बहुमत ल्याउँदै गरेको तथा त्यसका नेताका रूपमा प्रधानमन्त्री बन्न लागेका केपी शर्मा ओली चीनपरस्त रहेको बताउन खोजिएको छ । समाचारमा ओलीको जितले चीनसँगको आर्थिक सम्बन्ध बलियो हुने तथा चीनको वेल्ट एन्ड रोड इनिसिएटिभ्सलाई सहयोग पुग्ने अपेक्षा झल्किने गरी टिप्पणीकारहरूको भनाइ कोट गरिएको छ । त्यससँगै नेपालमा चीनमुखी कम्युनिस्टको यो जित र ओली नेतृत्वको सरकारले चीनसँग मिलेर गर्नसक्ने कामलाई भारतले पटक्कै नरुचाउने तथा त्यसलाई बाधा पु¥याउन सक्ने अनुमान पनि गरिएको छ ।

सोही दिन भारतीय अंग्रेजी दैनीक दि हिन्दुस्तान टाइम्सले एउटा सम्पादकीय टिप्पणी लेख्दै भनेको छ– ‘चीनको प्रभाव विस्तारलाई रोक्न भारतले नेपालको नयाँ सरकारसँग काम गर्नैपर्छ ।’ यस्तो शीर्षक राखेर भारत र नेपाल सरकार दुवैतर्फ दिन खोजिएको सन्देशमा नाकाबन्दी र संविधानमाथि हस्तक्षेपबाट नेपालमा खस्किएको भारतको शाख उकास्न अब राजनीतिक हस्तक्षेप गरेको नदेखिने गरी काम गर्न र चीनको प्रभावमा जानुअघि नै नेपालसँगको सम्बन्ध सुधार्न भनिएको छ । त्यही दिन दि टाइम्स अफ इन्डियामा सचिन पराशरको आलेख छापिएको छ । जसको शीर्षक छ– ‘नेपालः इन प्रोचाइना ओली, इन्डिया फेस अ हिमालयन फरेन पोलिसी च्यालेन्ज ।’ ओलीको पहिचान दुनियाँभर चीनतिर झुकाब राख्ने व्यक्तिका रूपमा भएको छ, स्थापित गरिँदै छ । भारतीय संस्थापनले एउटा हात ओलीसँग सहकार्य गर्न अघि बढाउने र अर्को हात ओलीलाई कमजोर बनाउन सक्रिय गराउने संकेत दिन खोेजेको छ ।

यस्ता वाम शुभचिन्तकका चासो सम्बोधन हुने–नहुने विषय अलि परको भो, धेरै आशा नगर्दा राम्रो हुन्छ । तर, बाह्य चासोको मुख्य पक्ष भारतलाई विश्वासमा लिने र चीनसँग मिलेर नेपालको पूर्वाधार विकासका क्षेत्रमा तत्काल काम गर्ने विषयमा सन्तुलित हुनु पनि र देखिनु पनि उनका लागि निकै ठूलो चुनौती हुनेछ ।

विश्वको ध्यान अहिलेलाई ओलीतिरै
यी सूचनाबाट नेपालमा वाम गठबन्धनले बनाउँदै गरेको सरकारको बाह्य आयामका केही पाटा खुल्छन् । नेपालमा लोकप्रिय बहुमतमा पुगेको वाम गठबन्धनका मुख्य रचनाकार केपी ओली र प्रचण्ड दुवै भए पनि निर्वाचनका समयमा देखाएको सक्रियता र गठबन्धनको ठूलो साझेदार दलका नेताका रूपमा केपी ओली नै यसका मुख्य अभियन्ता बने । गठबन्धनको नेतृत्व गर्दै उनी प्रधानमन्त्री बन्ने निश्चित रहेको सन्दर्भमा विश्वको ध्यान अहिलेलाई ओलीतिरै खिचिनु स्वाभाविक हो । र, उनीप्रति विदेशमा पनि र देशभित्र पनि आशा र आशंका दुवै नजरले हेरिएको छ । भूराजनीतिक जटिलताबीच भारतको प्रभावलाई न्यून गर्न पछिल्लो समय चीनले देखाएको सक्रियता र नेपालमा भारतको गिर्दो साखका कारण उत्पन्न तनाव पनि यसमा सामेल भएको छ । यसै पनि विश्वमा कमजोर रहेको कम्युनिस्ट तथा वामपन्थी आन्दोलनका सन्दर्भमा (यता ओलीले आफूलाई केवल पोलिटिकल कम्युनिस्ट भन्न रुचाएको तथा समाजवाद र खस–पहाडे राष्ट्रवाद मिसमास भएको लोकप्रिय राजनीतिलाई आधार बनाएर बहुमत ल्याएको भए पनि) कम्युनिस्ट पार्टीकै नाममा हँसिया हथौडायुक्त झन्डा बोकेरै लोकप्रिय बहुमतमा सरकार गठन गर्दै गरेका कम्युनिस्ट नेता देख्दा विश्वभरका वामपन्थीमा एकप्रकारको आकर्षण बढ्नु अस्वाभाविक पनि होइन ।

यस्ता वाम शुभचिन्तकका चासो सम्बोधन हुने–नहुने विषय अलि परको भो, धेरै आशा नगर्दा राम्रो हुन्छ । तर, बाह्य चासोको मुख्य पक्ष भारतलाई विश्वासमा लिने र चीनसँग मिलेर नेपालको पूर्वाधार विकासका क्षेत्रमा तत्काल काम गर्ने विषयमा सन्तुलित हुनु पनि र देखिनु पनि उनका लागि निकै ठूलो चुनौती हुनेछ ।

अनेकपटक आफूलाई मियो बनाउन सफल
यता आन्तरिक रूपमा पनि अहिलेलाई सबैका आँखा केपी ओलीतिरै सोझिएका छन् । २०७० को संविधानसभा निर्वाचन अघिसम्म एक प्रकारका कुरौटे र आलोचना मात्र गरिहिँड्ने छवि बनाएर सेकेन्ड इन कमान्डमा रहेका केपी ओली त्यसयता देशको राजनीतिको केन्द्रीय पात्रमध्ये एक बनेका छन् र अनेकपटक आफूलाई मियो बनाउन सफल भएका छन् । वाम गठबन्धन गर्दै दललाई दिलाएको सफलतापछि उनको दलभित्र मात्र होइन, बाहिरका आलोचकलाई पनि उनीप्रति औँला ठड्याउन मुस्किल पर्नेे अवस्थामा धकेलिदिएका छन् । नेपाली राजनीतिका अनेक मुद्दामा उनका अडानप्रति सहमति विमति जे भए पनि उनले इतिहासमा जुन स्थान बनाएका छन्, त्यसलाई भने स्वीकार गर्नैपर्नेछ । उनले माओवादीसँगको चुनावी गठबन्धनलाई पार्टी एकतासम्म तन्काउन सफल भए र देशलाई आगामी पाँच वर्ष वामपन्थी नेतृत्वको स्थिर र सफल सरकार दिए भने उनी नेपालको ६८ वर्षयताको राजनीतिमा सबैभन्दा सफल नेता मानिनेछन् । यस्तो सफलता वामपन्थी दलको सरकार दिएर मात्र होइन, नेपालको अनन्त मानिएको राजनीतिक अस्थिरतामा पूर्णविराम लाएकाले पनि प्राप्त हुनेछ ।

सफलतापूर्वक ओर्लने चुनौती
अब उनलाई कुनै सिँढी चढ्न बाँकी छैन । तर, जहाँ पुगिएको छ, त्यहाँबाट सफलतापूर्वक ओर्लने चुनौती भने पक्कै छ । यसपटक जसरी आमवामपन्थी मतदाताले यो गठबन्धनलाई सहयोग गरे, त्यसमा २००६ सालदेखिका हजारौँ कार्यकर्ता र लाखौँ समर्थकका सपना मिसिएका छन् । केवल कांग्रेसलाई हराउन या भारतलाई देखाइदिन मात्र जनताले मत दिएका होइनन् । उनीहरू वामपन्थी सरकारको नेतृत्वमा देशले पुरानो युगलाई काँचुलीझैँ छोडोस् र नयाँ युगमा फड्को मारोस् भन्ने चाहन्छन् । यसरी सपना देख्नेहरूमा आफ्नो नाममा झुपडी बनाउने जमिन नभएका किसान पनि छन्, अनौपचारिक क्षेत्रमा काम गरेर अर्धदासझैँ बाँचिरहेका मजदुर पनि छन् । खाडी र मेलेसियाका पुँजीपतिका लागि सस्तो मोलमा श्रम बेचिरहेका लाखौँ नेपाली युवा र तिनका परिवारका सपना पनि छन् । मध्यम वर्गका पनि छन् । एमालेको छायामा बसेर हुर्केका पुँजीपति पनि छन् । सबैलाई आ–आफ्नो औकातअनुसारको परिवर्तन चाहिएको छ ।

 

अब प्रदेश र स्थानीय तहका सरकारलाई जति गतिशील र सक्रिय बनाउन सकिन्छ, जतिजति उनीहरूलाई जनताको घरधुरीसम्म पुर्‍याउन र हरेक नेपालीलाई परिवर्तनको अभियानमा सामेल गराउन सकिन्छ, त्यति नै देशले परिवर्तनको अनुभूति गर्ने हो । लोकतन्त्र र गणतन्त्रको अनुभूति गर्ने हो । यसका लागि कोही वामपन्थी नै बन्नुपर्छ भन्ने छैन । संविधानले परिकल्पना गरेका संस्थालाई बलियो बनाए मात्र पनि पुग्छ ।

 

लथालिंग भएको सार्वजनिक शिक्षा र स्वास्थ्य सेवामा हरेक नेपालीको पहुँच हुने गरी परिवर्तन खोजिँदै छ । सामाजिक सुरक्षाका अनेक क्षेत्रमा साधारण मानिसको पहुँच बनाउने माग छ । देशभर विद्युतीकरण गर्नुपर्नेछ । रोजगारी सिर्जना गर्नुपर्नेछ ।

निर्वाचनका समयमा कहीँ पनि स्थानीय तह र प्रदेश सरकारलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा बहस भएको छैन । अब प्रदेश र स्थानीय तहका सरकारलाई जति गतिशील र सक्रिय बनाउन सकिन्छ, जतिजति उनीहरूलाई जनताको घरधुरीसम्म पुर्‍याउन र हरेक नेपालीलाई परिवर्तनको अभियानमा सामेल गराउन सकिन्छ, त्यति नै देशले परिवर्तनको अनुभूति गर्ने हो । लोकतन्त्र र गणतन्त्रको अनुभूति गर्ने हो । यसका लागि कोही वामपन्थी नै बन्नुपर्छ भन्ने छैन । संविधानले परिकल्पना गरेका संस्थालाई बलियो बनाए मात्र पनि पुग्छ ।

कमसेकम ओलीले आफ्नो राजनीतिक उचाइलाई प्रयोग गरेर आफ्नो समयकालमा बुढिगण्डकी परियोजना, तराई–काठमाडौं द्रुत मार्ग, सुनकोसी–कमला डाइभर्सन, भेरी–बबई डाइभर्सन, र चीनसँग जोड्ने सडकहरूको स्तरोन्नतिमार्फत उत्तरतर्फको कनेक्टिभिटीलाई बाह्रै महिना सञ्चालन हुने मार्गबाट जोड्ने काम सकाए भने र चीनले प्रस्तावित गरिरहेको केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको केरुङ–काठमाडौं खण्डको काम सक्न लगाए भने देशले गरेको आशा धेरै हदसम्म पूरा हुनेछ । यसले नेपालीको आत्मसम्मान फर्केर आउनेछ, आशावाद सञ्चार हुनेछ । यति मात्र गरे पनि देशको अर्थतन्त्रमा खर्बौैंको वार्षिक आम्दानी र लाखौँ रोजगारी थपिनेछ ।

यता किसानले सरकारको सहयोग खोजिरहेका छन् । संरचनागत परिबन्दमा परेर टाउको उठाउन नसकेको हाम्रो उत्पादकत्व वृद्धिका लागि कृषि आधारित उद्योगहरू, आधुनिक कृषि र त्यसलाई व्यवस्थापन गर्न सक्ने दक्ष तथा अर्धदक्ष जनशक्तिको व्यापक पैमानामा उत्पादन गर्नुपर्ने आवश्यकता छ । अर्थतन्त्रको संरचनागत परिवर्तन भूमिसम्बन्धसँग धेरै हदसम्म गाँसिएको छ, त्यसलाई सम्बोधन गर्नुपर्नेछ । सबैभन्दा बढी त ०४७ यताको अति राजनीतीकरणको सिकार भएर लथालिंग भएका सार्वजनिक संस्थालाई व्यवस्थित गरेर, कानुनी शासनको प्रत्याभूति गराएर, लोकतान्त्रिक संस्थालाई बलियो बनाएर जानुपर्ने चुनौती छ ।

 

आगामी सरकारले दिनुपर्ने प्राथमिकता

 

चलखेलका सम्भावना
यसबीच कांग्रेस प्रतिपक्षको भूमिकामा रहँदा वामपन्थी सरकारको असफलताका लागि मनकामना भाकेर मात्र बस्नेवाला छैन । उसको निकट रहेका र नवउदारवादको समर्थन गर्दै आएका केही बौद्धिक टिप्पणीकार अहिले नै जनतामा एकप्रकारको भ्रम र भय उत्पन्न गराउन र यो सरकारलाई असफल बनाउन सक्रिय भइसकेका छन् । तिनीहरू अब सेयर बजार ओरालो लगाउन, निजी र वैदेशिक लगानीका लागि वातावरण बिगार्न कस्सिएर लागिपर्नेछन् । कम्युनिस्ट अधिनायकवाद र निजी पुँजीमाथि नियन्त्रणको भयबारे उठाउन खोजिएको बबन्डर निर्वाचनमा वाम मतदाताले पानी हालेर सेलाइदिए । तर, अब मतदाता जाग्ने होइन, नीतिगत रूपमा सबै पक्षलाई विश्वासमा लिने दायित्व सकारको हुनेछ, पार्टी अध्यक्षका रूपमा र प्रधानमन्त्रीका रूपमा पनि ओलीको हुनेछ ।

यतिखेर विदेशी मित्रहरू र साझेदारका आँखा पनि ओलीतिरै सोझिएका छन् । विदेशबाट नेपाललाई रणनीतिक खेलमैदान बनाउन चाहनेको आँखा पनि ओलीतिरै छन् । देशमा परिवर्तनको सपना देख्नेको आँखा पनि ओलीतिरै केन्द्रित छन् । परिवर्तनलाई सीमित परिवार र व्यक्तिको हितमा नियन्त्रित गर्न खोज्ने ‘क्रोनी क्यापिटालिस्ट’हरूका आँखा पनि ओलीतिर भएको वेला हो यो । जसरी उनले निर्वाचन जित्न समाजका भिन्नभिन्न स्वार्थ र प्रवृत्तिका अनेक पात्रलाई अँगालो हालेका छन्, त्यसले उनको छवि राम्रो मात्र बनाएको छैन, प्रश्नहरू पनि उठाएको छ । उनका दाबी जस्ता भए पनि प्रदेश नम्बर दुईमा देखिएको मत प्रवृत्तिले राजनीतिक क्षेत्रमा सम्बोधन गर्नुपर्ने मुद्दा छन् भन्ने संकेत पनि गरेका छन् । यिनलाई नजरअन्दाज गरेर, बेवास्ता गरेर मात्र अघि बढ्न सम्भव हुन्न । यसअघि पनि उनी प्रधानमन्त्री भएका हुन् । उनका लागि यो पद नौलो अवश्य होइन । तर, उनले अल्पायुको प्रधानमन्त्रीत्व र भारतीय नाकाबन्दीलाई कारण बनाएर माफी पाएका थिए, शंकाको सुविधा पाएका थिए । अब स्थिति त्यस्तो हुनेछैन ।

आशा गरौँ, धेरै अनुकूलता र थोरै प्रतिकूलताबीच प्रधानमन्त्री बन्ने तरखरमा लागेका ओली कुर्सीबाट ओर्लने वेलामा रुन्चे हाँसो होइन, बिन्दास हाँसो हाँस्दै निस्कन सक्ने गरी आफ्नो कर्ममा लाग्नेछन् ।

तपाईको प्रतिक्रिया