नेपाली राजनीतिमा परम्परागत शक्तिको वर्चस्व समाप्त भएको अर्थमा लिइएको छ ।
eNaya Patrika
  • ePaper

परम्परागत शक्तिको बिजोग

राष्ट्रिय प्रजातन्त्र पार्टीका दुवै खेमा यसपटकको निर्वाचनमा निकै कमजोर देखिए । कमल थापाले नेतृत्व गरेको राप्रपा र पशुपतिशमशेर राणा नेतृत्वको प्रजातान्त्रिक राप्रपा दुवैले लोकतान्त्रिक गठबन्धनको हिस्साका रूपमा कांग्रेससँग मिलेर निर्वाचन लडेका थिए । तर, दुवै दलका सभापति पराजित भएका छन् । उनीहरूसँगै दीपक बोहरा, विक्रमबहादुर थापाजस्ता पञ्चायती हस्तीहरू, विक्रम पाण्डे र पिता सूर्यबहादुरको बिरासत थाम्न राजनीतिमा सक्रिय सुनीलबहादुर थापा सबैले यसपटकको निर्वाचनमा जित्न सकेनन् । कांग्रेसको त्यतिको भरथेग र भारी मत पाउँदा पनि यिनले निर्वाचन जित्न नसक्नुको पछि नेपाली राजनीतिमा परम्परागत शक्तिको वर्चस्व समाप्त भएको अर्थमा लिइएको छ ।

राप्रपाका दुवै खेमा मात्र होइन, अर्का पञ्चायतकालीन हस्तीहरू प्रकाशचन्द्र लोहनी र केशरबहादुर विष्टहरूले खोलेको पार्टीको प्रदर्शन पनि अत्यन्त फितलो रह्यो । प्रत्यक्षतर्फ त यो समूहले राम्रो गर्न सकेन नै, समानुपातिकतर्फको पछिल्लो मतगणनाको परिणाम हेर्दा पनि जनताको विश्वास यो समूहप्रति विलोप हुन थालेकोतर्फ संकेत गर्छ । यसअघि संविधानसभाको दोस्रो निर्वाचनका क्रममा समानुपातिकतर्फको समेत मत गरी दुई समूहले ३६ सिट जितेर संसद्मा उपस्थित भएको तथा वेला–कुवेला सत्ता राजनीतिका सबैखाले हरकत गरेर फाइदा लिएको राप्रपाको यो पराजय नेपाली राजनीतिमा आउँदै गरेको एउटा परिवर्तनको संकेत पनि हो ।

पछिल्लो संसद्मा दुई समूहबाट ३६ सिट जितेर संसद्मा उपस्थित भएको राप्रपाको यसपटकको पराजय नेपाली राजनीतिमा आउँदै गरेको एउटा परिवर्तनको संकेत हो

०४६ सालको जनआन्दोलनपछि पनि समाजको एउटा हिस्सामा परम्परागत मोह बाँकी नै थियो । दरबार या राजाले परम्परागत शक्तिको संरक्षण गरिरहेको व्यक्त–अव्यक्त अवस्था थियो । राणाकालदेखिकै भारदार, दरबारवरपरबाट धन र शक्ति आर्जन गरेकाहरू, विचारले नै परम्परावादी व्यक्तिले कांग्रेस र कम्युनिस्टको लोकप्रिय शक्तिबाट बच्दै फेरि संगठित हुँदै राप्रपा गठन गरेका थिए । ०५१ को मध्यावधि निर्वाचनमा पुग्दा उनीहरूले पुनर्जीवन पाए । दर्जनभन्दा बढी सिटसहित संसद् प्रवेश गरेका उनीहरूलाई कहिले कांग्रेसले बोक्यो र सूर्यबहादुर प्रधानमन्त्री भए । कहिले एमालेले बोक्यो र लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बने । राजनीतिमा मुसा प्रवृत्ति प्रवेश गराएर बदनाम भए पनि यिनीहरूले शक्ति आर्जन गर्दै गए । यिनीहरू ०५९ देखि ०६२ सम्मको ज्ञानेन्द्रको प्रतिगमनकालमा फेरि शक्तिमा पुगे ।

जनतामाथि दमन गर्ने र शक्तिमा हालिमुहाली गर्ने यो पंक्तिलाई गणतन्त्रकालीन सरकारले कारबाही गर्न नसकेपछि यो बौरिँदै गयो । पहिलो संविधानसभाकालमा देशभर विस्तारित पहिचानको राजनीति र धर्म निरपेक्षतालाई बुझ्ने एकपाखे समस्याको उछालका समयमा यो पंक्तिले फेरि शक्ति आर्जन गरेको थियो । हिन्दूराज्यको पक्षमा रहेको र पहिचानविरोधी परम्परागत विचारको एउटा ठूलै हिस्साले राप्रपा नेपाललाई मत दिएपछि ०७० को संविधानसभामा उसले समानुपातिक मत हासिल गर्‍यो । यसैका बलमा विगत चार वर्षदेखि फेरि अनेक विकृत राजनीति प्रदर्शन गर्दै आएको राप्रपाका लागि यसपालि न राष्ट्रवादी मुद्दा बाँकी थियो, न धर्म निरपेक्षता र पहिचानको भयको राजनीति । यता समाज पनि परिवर्तनको आफ्नै गतिमा थियो, जसले आधुनिकतालाई स्वीकार गर्न थालेको थियो । परिणामतः लगभग उठ्न नसक्ने गरी यो विचार र शक्ति पराजित भएको छ । समाजले एउटा दिक्कलाग्दो राजनीतिक बोझबाट मुक्ति पाएको छ ।

तपाईको प्रतिक्रिया