यो नेपालको इतिहासमा अंकित हुने घटना हो । काेइरालाले नयाँ युगमा प्रवेश गराए ।
eNaya Patrika
  • ePaper

नयाँ ‘भर्सन’मा कांग्रेसको नवीकरण

१९४० देखि १९४५ सम्म चलेको त्रासद विश्वयुद्धमा सानदार विजय हासिल गरेका संसारका विख्यात राजनीतिज्ञ तथा बेलायतका तत्कालीन प्रधानमन्त्री विस्टन चर्चिल लगत्तै भएको निर्वाचनमा पराजित भए । देशवासीले अनावश्यक युद्धमा होमेको, अर्थतन्त्र धराशयी बनाएको र मनोवैज्ञानिक रूपमा जनतालाई ठूलो ‘टर्चर’ दिएको भन्ने आरोप लगाएर निर्वाचनमा हराए । तर, त्यसको पाँच वर्षपछि चर्चिलले फेरि निर्वाचन जिते र प्रधानमन्त्री भए । यो सन्दर्भ यहाँ यसकारण उल्लेख गरिएको छ कि मुलुकलाई राजनीतिक निकास दिने, संविधान जारी गर्ने पार्टी कांग्रेस प्रदेश सभा र प्रतिनिधिसभाको यो ऐतिहासिक निर्वाचनमा पहिलो पार्टी बन्न नसक्ने भयो । यो निकै दुःखद पक्ष हो । यो नेपालको इतिहासमा अंकित हुने घटना हो । नेपालको राजनीतिलाई नयाँ युगमा प्रवेश गराउने काम गिरिजाप्रसाद कोइरालाले गर्नुभयो । १२ बुँदे समझदारी, संविधानसभा निर्वाचनजस्ता कामलाई विराम दिने, शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने काम अहिले कांग्रेसले गर्‍यो । यो निर्वाचनले मुलुकलाई नयाँ युगमा प्रवेश गराएको छ । संविधानले परिकल्पना गरेको स्थानीय, प्रदेश र केन्द्रीय सरकार बन्दै छ । स्थानीय र प्रदेश सरकारको अभ्यास पहिलोपटक हुँदै छ । यी दुई सरकारकै कारण नेपालको समृद्धिको यात्रा अब सुरु हुन्छ भन्ने आशा गर्न सकिन्छ । कांग्रेसकै नेतृत्वमा सरकार बनेको भए यो अभियानलाई सहजै अघि बढाउन सकिन्थ्यो । तैपनि, निर्वाचनबाट आएको परिणामपछि अब आउने सरकारले पनि विकास र समृद्धिको यात्रालाई नै अघि बढाउनुको विकल्प छैन ।

निर्वाचनले राष्ट्रिय एकतालाई प्रवर्धन गरेको छ । संविधान जारी गर्दा असन्तुष्टि जनाएका र संविधानमा धेरै त्रुटि र कमजोरी छन् भनेर सरकारसँग पानी बराबर गरेका तराईकेन्द्रित दल स्थानीय तहपछि प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा सहभागी भएका छन् । यो प्रतिस्पर्धामा उनीहरू आउनु र अहिलेको निर्वाचनलाई सहजै स्वीकार गर्नुले अब तराई, पहाड, हिमाल भन्ने सामाजिक विभाजन, सामुदायिक, जातीय विभाजनको अवस्था यो निर्वाचनले अन्त्य गरेको छ । यस्तो विभाजन अन्त्यका लागि कांग्रेसले गरेको भरमग्दुर प्रयास इतिहासमा अंकित हुनेछ । कांग्रेसले नेपाली समाजलाई एकताबद्ध गर्ने प्रयास गर्‍यो । नेपाली राजनीतिमा देखिएका विवादलाई निरूपण गरेर देशलाई अघि बढाउने काम गर्‍यो । यो निर्वाचनले देश र जनताप्रतिको ऐतिहासिक दायित्व पूरा गरेको छ । निर्वाचनमा गणित र परिणामलाई हेरिन्छ । तर, परिणाम मात्र हेर्नु निर्वाचनलाई सम्पूर्ण रूपले हेर्नु होइन । परिणाममा कांग्रेस संख्यात्मक रूपमा पछि परेको अवश्य हो । तर, यो निर्वाचनले के सन्देश दियो, समाजमा के योगदान दियो ? नयाँ पुस्तालाई जागृत गरायो कि गराएन भन्ने पनि उत्तिकै महत्वपूर्ण पक्ष हो । यसकारण गणितीय रूपमा हेर्दा कांग्रेसका लागि परिणाम निराशाजनक देखिए पनि समग्रमा नेपाल र नेपालीका लागि यो उत्साहपूर्ण निर्वाचन हो ।

कहाँ चुक्यो कांग्रेस ?
निर्वाचनमा कांग्रेसको पक्षमा अपेक्षित नतिजा आएन । यद्यपि कांग्रेसको पक्षमा विगतमा पनि यस्तै खाले नतिजा नआएका होइनन् । ०४८ सालमा कांग्रेसले बहुमत प्राप्त गरेको भए पनि ०५१ मा दोस्रो दल बन्न पुग्यो । ०५६ मा कांग्रेसले बहुमत प्राप्त गर्‍यो, तर ०६४ सालमा फेरि दोस्रो दल बन्यो । फेरि ०७० मा कांग्रेस पहिलो दल बन्यो, उसले आफ्नो नेतृत्वमा संविधान बनायो । तर, फेरि हामी यो निर्वाचनमा पछि पर्‍यौँ । यस्तो हुनुका पछाडि केही महत्वपूर्ण कारण छन् ।

पार्टीभित्रको आन्तरिक व्यवस्थापन चुस्त भएन । पार्टीका केन्द्रदेखि वडातहसम्मका पार्टीका निकायलाई व्यवस्थित गर्न सकिएन । पार्टी कार्यकर्तालाई अनुशासित राख्न सकिएन । पार्टीका अंगलाई कामकाजी, क्रियाशील, गतिशील बनाउन सकिएन । निर्वाचनका दौरान यी संरचनाले संस्थागत रूपमा काम गर्नै सकेनन् । उम्मेदवारहरू व्यक्तिगत रूपमा प्रतिस्पर्धामा गएको जस्तो देखियो । पार्टीको केन्द्रमा रहेको केन्द्रीय निर्वाचन परिचालन समिति चलेको जस्तो देखियो, बाँकी जिल्ला कार्य समिति, नगर, वडा समिति जस्ता संस्थाले संस्थागत रूपबाट निर्वाचनमा काम गरेको पाइएन । पार्टी कार्यकर्तामा अनुशासनको समस्या देखियो । पार्टीका भ्रातृ संस्थाको निर्वाचनमा कुनै भूमिका देखिएन । भ्रातृ संस्था पार्टीको तागत बढाउने, आबद्ध सदस्य, प्रतिनिधित्व गरेको समुदायलाई आकर्षण बढाउने, जनमत बढाउने, मतदातालाई उत्प्रेरित गर्ने, अभिप्रेरित गर्नेमा लाग्नुपथ्र्यो । तर, नेविसंघ, तरुण दल, महिला संघलगायत मुख्य भ्रातृ संस्थाको उल्लेखनीय संस्थागत भूमिका कतै पनि पाइएन । पदाधिकारी व्यक्तिगत रूपमा केही सक्रिय देखिए पनि यी संस्था परिचालित भएनन् । पार्टीका भ्रातृ संस्था केवल शोभाका लागि गहना जस्ता देखिए । पार्टीले खडा गरेका मञ्च उपयोग गर्ने संस्थाको रूपमा मात्र सीमित रहे । इतिहासमा भ्रातृ संस्थाको यति कमजोर भूमिका कहिल्यै देखिएको थिएन ।

साथै, निर्वाचनमा उम्मेदवारमा निरन्तर पुरानाकै पुनरावृत्तिले मतदातामा उदासीनता पैदा ग¥यो । यस्तो नेतृत्वबाट मतदाता उत्साहित हुन सकेनन् । अपवादलाई छाड्ने हो भने अधिकांश नेता एकपटक चुनाव जितेपछि अर्कोपटकको चुनावमा एकैपटक भोट माग्न पुगे । जनतासँगको निरन्तर सम्बन्धमा उनीहरू कमजोर देखिए । यसकारण मतदाता कांग्रेसका उम्मेदवारप्रति विश्वस्त हुन सकेनन् । संसद् वा प्रदेश सभाका उम्मेदवार छनोटमा पनि उस्तै कमजोरी रह्यो । उम्मेदवारमा छानिएका व्यक्ति हेर्दा धनीको क्लब जस्तो देखियो । मेचीदेखि महाकाली, हिमालदेखि तराईसम्मका उम्मेदवार हेर्दाखेरि पैसावालाको बाहुल्य देखियो । धनी र करोडपतिको क्लबको रूपबाट प्रतिनिधिसभा र प्रदेश सभालाई रूपान्तरित गर्ने प्रयासस्वरूप उम्मेदवार खडा गरियो । यस्ता उम्मेदवार देखिएपछि मतदातामा विश्वास बढेन । यसकारण हाम्रा उम्मेदवार जिताउन आवश्यक मत हामीले प्राप्त गरेनौँ ।

वाम गठबन्धनमा एमाले र माओवादी एक ठाउँमा पुगे । तर, उनीहरूको आरोपलाई हामीले प्रतिवाद गर्न सकेनौँ, न त हामीले हाम्रा एजेन्डालाई नै प्रभावकारी रूपमा उठाउन सक्यौँ । वाम पक्षले लगाएका आरोप निराधार हुन् । कांग्रेसले हिजोदेखि आजसम्म देश, जनता र लोकतन्त्रका निम्ति गरेका ऐतिहासिक कामका विषयमा ‘कन्टेन्ट’गत रूपमा हामीले मतदातालाई बुझाउनै सकेनौँ । घोषणापत्रमा हामीले गरेका काम उल्लेख त गर्‍यौँ तर बाहिर प्रकाश पार्न सकेनौँ । हाम्रो प्रचार संयन्त्र र रणनीति पनि प्रभावकारी भएन । हामीले पस्कन सक्ने राजनीतिक, आर्थिक मुद्दा धेरै थिए । नेपाललाई आर्थिक समृद्धिमा लाने मुद्दालाई पूरा गर्न सक्ने पार्टी कांग्रेस नै हो भनेर बुझाउन सकिने धेरै सम्भावना पनि थिए । तर, ती मुद्दा पस्कनबाट हामी चुक्यौँ । जनताले अनुभूत गर्न सक्ने गरी प्रचारदेखि विषय दिन नसक्ने जस्ता फितला रणनीतिको सिकार हामी भएका हौँ ।

अब के गर्ने ?
मौका छोपेर अहिले नै कांग्रेस नेतृत्वले विश्राम लिनुपर्छ भनेर हतारमा सार्वजनिक गर्नु परिपक्व विषय होइन । इतिहासको जटिल मोडमा आएका छौँ । वाम गठबन्धन भोलि गएर पार्टी एकीकरण नै गर्ने कुरामा अग्रसर देखिएको छ । यस्तो वेलामा पार्टीको कमजोरी पार्टी सभापतिदेखि लिएर केन्द्रीय सदस्य र वडाका सभापतिसम्मको हो । सिंगो पार्टीको कमजोरी हो । नेतृत्वमा बसेको हुनाले मूल नेतृत्वले बढी जिम्मेवारी लिनु स्वाभाविक हो र लिनु पनि पर्छ । यो नतिजाको गम्भीर आत्मसमीक्षा गर्नुपर्छ । नतिजाले हाम्रो सोच्ने र काम गर्ने तौरतरिका परम्परागत छ भन्ने देखाएको छ । निर्वाचन अभियानमा जाँदा आमसभा आयोजना गर्न लगाउँछौँ, त्यसमा भाषण गर्न लगाउँछौँ अनि हामी फर्कन्छौँ । आमसभामा प्रस्तुत हुँदा कुन–कुन समुदायका मान्छे आएका छन्, कुन–कुन उमेर समूहका र कुन–कुन पेसामा संलग्न व्यक्ति आएका छन् ? उनीहरूको चाहना र इच्छा के छन् भनेर बुझ्न हामीले सकेनौँ र त्यसलाई सम्बोधन पनि गर्न सकेनौँ । हामीले मतदाताको मनस्थिति बुझेर आकर्षित गर्न नसकेकै हौँ । हाम्रो शैली परम्परागत हुँदा अब यसलाई नबदली हामी सुधारिँदैनौँ । हाम्रो आफ्नो शैली, कार्यालय सञ्चालनको शैली, सबैथोकलाई गुटगत रूपबाट सोच्ने शैली बदल्नुपर्छ । साधन र स्रोतको परिचालन गर्दा पनि हामी गुटगत रूपमा पक्षपात गर्छौं । निर्वाचनकै क्रममा कोही नेता हेलिकोप्टर चढेर जमिनभन्दा आकाशमा धेरै भए, कसैले हेलिकोप्टरमा दुई–चार बढी जिल्ला पुगेर प्रचार गर्न पाएनन् ।

उम्मेदवारको टिकट वितरण होस् कि उम्मेदवारलाई मद्दत गर्ने विषयमा होस् हामीले निरन्तर गुटगत काखापाखा ग¥यौँ । प्रतिस्पर्धीको उपस्थिति र चुनौतीलाई सामना गर्ने प्रभावकारी प्रचार रणनीति हामीले निर्माण गर्न सकेनौँ । यी सबैको असर निर्वाचनको परिणाममा देखियो । र, हाम्रा वरिष्ठदेखि लोकप्रिय नेताहरूले पनि निर्वाचनमा पराजय व्यहोर्नुपर्‍यो ।

अन्त्यमा
पार्टीमा अब काम गर्ने, सोच्ने जनतालाई व्यवहार गर्ने, कार्यकर्तालाई व्यवहार गर्ने, पार्टीलाई हेर्ने, सधैँ उम्मेदवार बन्ने र निर्वाचनका वेला मात्रै मतदाताकहाँ पुग्ने शैलीलाई हामीले बदल्नैपर्छ । त्यसैगरी आफू सरकारमा जाँदा गर्नुपर्ने प्रभावकारी काममा पनि हामी चुकेका छौँ । अहिलेसम्म केन्द्रीय सरकार मात्रै सेवा प्रदायक भएकोमा अब स्थानीय र प्रदेशको सरकार थपिँदै छ । जनतालाई परेको दुःखकष्ट सम्बोधन गर्ने विषयमा पनि कांग्रेसले कमजोरी गरेको छ । यी सबै कमजोरीलाई हटाएर नयाँ सन्दर्भमा पार्टीलाई नेतृत्वको सोचदेखि व्यवहारसम्म सम्पूर्ण रूपबाट पार्टीको नवीकरण आवश्यक छ । लाइसेन्स बनाउँदा पाँच वर्षमा नवीकरण गर्नुपर्ने, नवव्करण नगरे वैधानिकता समाप्त हुने, मोबाइलमा नयाँ–नयाँ भर्सन आएजस्तै, नयाँ ग्याजेट आएजस्तै कांग्रेसलाई पनि नयाँ भर्सनको जरुरी देखिएको छ । अब नेतृत्वले पनि आफूलाई मोडिफाई गर्नुपर्छ । नेतृत्व हटाउने वा परिवर्तन गर्ने भन्नेमा पनि प्रक्रिया छ । यसमा पछि छलफल होला, सुझाब आउला, पार्टीमा जनमत तयार होला तर अहिले नै नाराका रूपबाट सस्तो लोकप्रियताका लागि नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने नारा उठाउनुपर्छ भन्नेमा म छैन । पार्टीलाई आमूल सुधार गर्ने, नयाँ बाटोमा पार्टीलाई पदार्पण गराउने र आमूल सुधार गर्नुपर्छ भन्ने अहिलेको आवश्यकता हो ।
(घिमिरे कांग्रेस केन्द्रीय सदस्य हुन्)

तपाईको प्रतिक्रिया