महाकविलाई पागल ठानेर साहुनीले मेवाको मूल्य भनिनन् - Naya Patrika
eNaya Patrika
  • ePaper

महाकविलाई पागल ठानेर साहुनीले मेवाको मूल्य भनिनन्

महाकविलाई पागल ठानेर साहुनीले मेवाको मूल्य भनिनन्व – रिष्ठ साहित्यकार श्यामदास वैष्णव ९४ वर्षमा यात्रारत छन् । उनका ‘रातको आँसु’, ‘पत्कर’, ‘अन्तरध्वनि’, ‘उपहार’लगायत आधा दर्जनभन्दा बढी कवितासंग्रह प्रकाशित छन् । रेडियो नेपालदेखि नेपाल प्रज्ञाप्रतिष्ठान हुँदै नेपाल टेलिभिजनमा समेत रहेर नेपाली साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण योगदान दिएका वैष्णवले लघुनाटक तथा गीतिकवितासमेत लेखेका छन् । वैष्णवले युवावस्थामा महाकवि लक्ष्मीप्रसाद देवकोटासँग राम्रै संगत गर्ने अवसर पाए । देवकोटाको लेखनीमा आफूलाई सहायकका रूपमा उभ्याउँछन्, उनी । महाकवि देवकोटासँगको संगत र साहित्य लेखनबारे कहानी खोतल्न नयाँ पत्रिकाका कृष्ण कट्टेल वैष्णवको घरमा पुगे :

श्यामदास वैष्णव, वरिष्ठ साहित्यकार

कुनै समय मध्यरातमा आउँदासमेत सजिलै स्वागत गर्ने घरको भर्‍याङका यी खुड्किलामा हिजोआज उनी मुस्किलले दुई खुट्टा उभ्याउँछन् । घरका भित्ताहरू उनको हातको सहारा बनेका छन् । ९४ वर्षीय आँखाले बल्लतल्ल ठम्याउँदै वरिष्ठ साहित्यकार श्यामदास वैष्णव ‘बेडरुम’देखि बैठक कोठासम्म आफ्नै बलवुताले पुग्न सक्छन् । योबाहेक बाहिरी दुनियाँमा आजभोलि खासै निस्किएका छैनन् । ज्ञानेश्वरस्थित उनकै निवासमा पुग्दा यस्तै अवस्थामा भेटिए ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाभन्दा १५ वर्ष कान्छा वैष्णवले करिव ४ वर्ष निरन्तर उनको संगत गरे । आजको दिनमा वैष्णवलाई भेट्न पुग्ने प्रायः साहित्यप्रेमीले महाकवि देवकोटाकै बारेमा बढी सोध्ने गर्छन् । उनी पनि निर्धक्कसाथ देवकोटाको साहित्य र व्यक्तिगत जीवन सुनाउन जुटिहाल्छन् ।

आफ्नो साहित्यलेखनको प्रारम्भ सम्झिनुस् न । पहिलो आग्रहलगत्तै साहित्यकार वैष्णवले देवकोटाकै प्रसंग निकाले । ‘कवितालेखन मैले देवकोटाकै प्रेरणाले लेखेँ । तर, उहाँले लेख्ने तरिका सिकाउनुहुन्नथ्यो । लेख्दै जाऊ, राम्रो हुन्छ मात्रै भन्नुहुन्थ्यो,’ उनी बोल्दै गए, ‘एक दिन हिँड्दाहिँड्दै सूर्योदयको समयमा ‘सूर्य’ शीर्षकको कविता फुर्‍यो । त्यो कविता महाकविलाई देखाउँदा राम्रो छ भन्नुभयो । मेरो पहिलो कविताको रूपमा ‘सारदा’ पत्रिकामा छापियो ।’ वैष्णव विगतलाई थप अभिव्यक्त गर्न चाहन्थे । तर, छोटो बोलीमै उनी थाके । बोल्दाबोल्दै रोकिए । बढ्दो उमेर र घट्दो जोस अनुहारमा प्रस्टै झल्किएको थियो ।

०००
केहीबेर थकान मेटेपछि उनी फेरि बोल्न तम्सिएझैँ गरे । दोस्रो प्रश्न– देवकोटासँग निरन्तर सहकार्य कसरी सम्भव भयो ? प्रश्न भुइँमा खस्न नपाउँदै वैष्णव बोले, ‘साहित्य सिर्जनाकै सिलसिलामा भेट भएको हो । उहाँले मेरो अक्षर देखेर तारिफ गर्नुभयो । त्यसपछि मैले उहाँको सहायक भएर काम गरेँ।’

महाकवि देवकोटा भाषाअनुवाद परिषद्को जागिरे हुँदा वैष्णवले सहयोगीका रूपमा काम गर्ने मौका पाएका रहेछन् । भन्छन्, ‘देवकोटाको ‘शकुन्तला’, ‘सुलोचना’लगायत कृति मैले नै सारेर छापाखानामा पुर्‍याएको हुँ ।’

हुन त नेपाली साहित्यका अधिकांश स्रष्टाले समेत वैष्णवलाई महाकवि देवकोटाको महत्वपूर्ण सहयात्री मान्छन् । धाराप्रवाह साहित्य रचना गर्ने महाकविका सिर्जना टिप्न वैष्णवलाई भ्याई–नभ्याई हुन्थ्यो । एकताका महाकवि देवकोटालाई वेदव्यास र वैष्णवलाई गणेश भन्नेहरू पनि थिए । भन्छन्, ‘वेदव्यासले भन्ने र गणेशले लेख्ने गरेको र चाँडो लेख्नेमा गणेशले नाम कमाएको पौराणिक कथन छ । तर, देवकोटाको धाराप्रवाहको अगाडि मैले कलमको गति दिन सकिनँ । त्यसपछि उहाँले एउटा पानामा उतार्नुहुन्थ्यो । मैले सफा अक्षरमा उहाँको सिर्जनालाई बुट्टा भरेर लेखिदिन्थेँ ।’

०००
वैष्णव आफैँमा वरिष्ठ साहित्यकार हुन् । उनका आधा दर्जनभन्दा बढी कवितासंग्रह, लघुनाटकलगायत कृति प्रकाशित छन् । रेडियो नेपालको स्थापनाकालदेखि करिब दुई दशक बालकार्यक्रम, ध्वनि नाटकमा काम गरेका वैष्णव आफ्नो प्रसंगमा जति रमाउँछन्, त्योभन्दा बढी देवकोटाकै बारेमा भन्न रुचाउँदा रहेछन् । गफगाफकै क्रममा उनले महाकविसँगको अविस्मरणीय क्षण सुनाए, ‘भाषाअनुवाद परिषद्बाट मासिक पारिश्रमिक बुझेको एक दिन देवकोटा र म बाटोमा सँगै यात्रारत थियौँ । देवकोटा आफ्नो तलब मलाई बोक्न दिनुहुन्थ्यो । हिँड्दै गर्दा फलफूल पसलअगाडि पुगेपछि देवकोटा टक्क उभिनुभयो । एक छिन टोलाएर उहाँले मेवा देखाउँदै साहुनीसँग मूल्य सोध्नुभयो । तर, साहुनीले महाकविलाई पागल ठानेर ‘यो बेच्न राखेको होइन’ भन्दै तर्किन खोजिन् । सो क्रममा मलाई नमीठो अनुभव भयो । तर, देवकोटाको अनुहारमा कुनै फरकपन देखिएन । उहाँ फेरि सरासर अघि बढ्नुभयो । देवकोटालाई पागल ठानेर एकजना साहुनीले समेत सामान बेच्न नमानेको देखेपछि म तीनछक परेँ ।’हिँडाइ, लवाइ, खुवाइ, बोलचाल सबै कोणबाट देवकोटा पागलजस्ता देखिनुहुन्थ्यो र ?

वैष्णवको कहानी सुनेपछि जिज्ञासा पैदा भयो । उत्सुकतासाथ मैले सोधेको प्रश्नमा उनले दिक्क माने । उनको अनुहारमा ‘कति स्पष्टीकरण दिनु’जस्तो भाव प्रस्ट देखियो । यद्यपि, आफ्नो ‘बुढ्यौली बोल्ड’ आवाज प्रस्ट अभिव्यक्त गर्ने प्रयत्नसाथ बोले, ‘उहाँलाई पागल भनेर राँची लगे, धेरै ठाउँमा उपचार गर्न लगियो । तर, चिकित्सकको रिपोर्टले उहाँमा कुनै पागलपन देखाएन । उहाँ पागल हुँदै होइन । उहाँको बौद्धिक चिन्तन र साहित्यप्रतिको साधनाबाट अभिव्यक्त सिर्जनात्मक भावलाई मान्छेले बुझ्न नसकेका मात्रै हुन् ।’ महाकविको सिर्जनात्मक क्षमताबारे वैष्णवले खुलेर प्रशंसा गरिरहे ।

०००
विशेष परिस्थितिमा बाहेक महाकवि देवकोटा परिवारलाई समेत पर्याप्त समय दिन छोडेर लेखनकार्यमै व्यस्त हुँदा रहेछन् । म कवि वैष्णवकै व्यक्तिगत जीवनमा प्रवेश गर्न खोज्दा पनि उनी महाकविकै प्रसंगमा पुगिहाल्थे ।

के महाकवि समाजमा घुलमिल हुन्थेनन् र ? मेरो अर्को प्रश्न थियो । यो प्रश्नमा उनले मौन समर्थन जनाए । एक छिनपछि मुखै खोले, ‘उहाँको घरमा जतिवेला पुग्दा पनि घोप्टो परेर लेखिरहनुभएको हुन्थ्यो । निकै शालीन व्यक्तित्व थियो । उहाँ कत्ति पनि रिसाउनुहुन्नथ्यो । जागिरबाट घर फर्किएपछि देवकोटा लेखनमै अभ्यस्त हुनुहुन्थ्यो । बाहिरी समाजमा कमै मात्रामा घुलमिल हुनुहुन्थ्यो ।’

चुरोटका ‘अम्मली’ देवकोटासँगै चुरोट पिएको क्षणसमेत सुनाए, उनले । ‘अभ्यस्त भएर लेखिरहेका देवकोटासामु पुग्दासमेत उहाँ चुरोट छ ? भनेर सोध्नुहुन्थ्यो,’ ती क्षण सम्झिए । ९४ वर्षीय वैष्णव अझै चुरोट सेवन गर्दा रहेछन् ।

नसामा डुबेपछि सिर्जनात्मक क्षमता बढ्छ कि ? मेरो प्रश्न सायद अनौठो लाग्यो होला, वैष्णवलाई । एकैछिन चुपचाप रहे । बसेको कुर्सीमा आफूलाई केही सहज ‘पोजिसन’ दिँदै पोयो खोले, ‘धुम्रपान गरेपछि एक सुर आउँछ । अझै म चुरोट पिउँछु । चुरोट तानेपछि मन बहलिन्छ । देवकोटा चुरोट पिएर लेख्नुहुन्थ्यो, तर चुरोटले देवकोटालाई लेख्न सिकाएको चाहिँ होइन ।’

०००
बिहानीको समय । झ्यालबाट बल्लतल्ल भित्र छिरेको घामको कलिलो प्रकाशले बैठककोठा तताउन प्रयत्न गरिरहेको थियो । एकसरो कपडामा गफिइरहेका वैष्णवको शारीरिक अवस्था निकै सिथिल नै देखिन्थ्यो । यद्यपि, जाडोको पर्वाह नगरी आफ्नो साहित्यिक यात्रा र देवकोटासँगको संगत सम्झिन उत्साहित थिए । ००४ सालपछि देवकोटा वनारसतिर लाग्नु र ००६ पछि वैष्णवले रेडियो नेपालको जागिर छाड्नु उनीहरूबीचको निरन्तरको संगत छुट्ने कारण बन्यो ।

महाकवि देवकोटा शिक्षामन्त्रीसम्म भए, वैष्णव भने रेडियो नेपाल हुँदै नेपाल प्रज्ञा प्रतिष्ठान र ०४७ तिर नेपाल टेलिभिजनमा समेत काम गर्न पुगे । ‘मैले रेडियो नेपालमा रहेर ध्वनि नाटक गरेँ । बालकार्यक्रम सुरुवात गरेँ । पछि सडक नाटक पनि गरियो,’ विगत सम्झिँदै वैष्णवले सुनाए, ‘भाषाअनुवाद परिषद्बाट रेडियो नेपाल गएपछि देवकोटासँग दैनिकजसो हुने घुलमिल पातलिँदै गयो ।’

वैष्णवले लेखनकार्यमा पूर्णविराम लगाइसके । भन्छन्, ‘आजभोलि खासै सञ्चो छैन । सिथिल छु । लेख्न छाडिसकेँ ।’ कुनैवेला राम्रा अक्षरमा महाकवि देवकोटाका रचना उतार्ने वैष्णवको नेपाली साहित्यमा योगदान आफैँमा विशिष्ट छ ।
साहस छ भने आफूमा हर मान्छे
सगरमाथाको प्रतीक बन्न सक्छ
निष्ठा छ भने धरतीमाथि
हर प्राणी गाथा बन्न सक्छ ।
आवश्यकता छ केवल
सचेतनताको यहाँ
होस छ भने हर व्यक्तित्व
बुद्ध यहाँ बन्न सक्छ ।

वैष्णवको ‘उद्घोष’ शीर्षकको कविताको एक हरफ हो, यो । होस त छ, तर कवि वैष्णवमा अब जोस छैन । उनले आफू बसिरहेको बैठक कोठाको चारैतिर झुन्ड्याइएका सम्मानपत्र नियाले । ‘केही वर्षअघिसम्म लेखरचना, नाटक लेखिरहेको थिएँ । ठ्याप्पै लेख्नै सकिनँ, पछिल्लो समय,’ शारीरिक कमजोरी व्यक्त गरे । महाकविसँग समेत संगत गर्दै साहित्यक्षेत्रमा रहेका वैष्णवमा अझै लेखनको ‘लत’ले छाडिनसकेको, तर स्मरणशक्ति र शारीरिक अवस्थाले साथ नदिएको प्रस्ट देखिन्छ । कवि वैष्णव जीवन र साहित्यलाई एक–अर्काका पर्याय ठान्छन् । भन्छन्, ‘सामाजिक जीवन तथा आफ्नै जीवन भोगाइलाई मधुर भावका साथ सिर्जनात्मक शक्तिमार्फत अभिव्यक्त गर्नु नै साहित्य हो ।’

साहित्य र जीवनबारे यस्तै धारणा अभिव्यक्त गरिरहेका वैष्णवसँगको कुराकानी छोट्याउने संकेत गरेँ । उनले बुझिहालेछन् । ‘यहाँलाई धन्यवाद । आजभोलि त घरभित्र र बाहिर गर्नै गाह्रो छ । सार्वजनिक कार्यक्रममा हिँड्न सक्दिनँ’ यत्ति भनेर वैष्णव हामीतिर हेर्दै मुस्कुराए । एउटा साहित्यकारको यसप्रकारको सम्मानप्रति कृतज्ञ हुनुबाहेक हामीसँग अरू विकल्प थिएन । जवाफमा ‘धन्यवाद’ फर्काएर वैष्णव निवासबाट हामी फर्कियौँ ।

तपाईको प्रतिक्रिया