निर्वाचनमा कांग्रेसको पक्षमा कस्तो परिणाम आउने हिसाबकिताब गर्नुभएको छ ?
eNaya Patrika
  • ePaper

खाण भन्छन्-पार्टीको होइन देशको नाफाघाटाको चिन्ता छ

हालसम्मको माहोल हेर्दा निर्वाचनमा कांग्रेसको पक्षमा कस्तो परिणाम आउने हिसाबकिताब गर्नुभएको छ ?

कांग्रेसको पक्षमा परिणाम आउँछ भन्नेमा विश्वस्त छौँ । कांग्रेसका नेता तथा कार्यकर्तामा देखिएको सक्रियताले पनि यस्तो देखाएको छ । पार्टीको आन्तरिक व्यवस्थापनमा पनि ऐक्यबद्धता आएको छ । यसले कांग्रेसलाई थप बल पुर्याएको छ । १६५ प्रतिनिधिसभा सिटमध्ये हामीले १५३ मा उम्मेदवारी दिएका छौँ । एमाले र माओवादीबीच तालमेल हुँदा मतदाता र कार्यकर्ता अलमलमा देखिएका छन् ।

स्थानीय तहको निर्वाचनमा हामीले ३२.९ प्रतिशत भोट ल्याएका थियौँ । यो बढेर ४० प्रतिशत हाराहारीमा पुग्छ भन्ने हाम्रो आकलन छ । विजय गच्छदार कांग्रेस आएपछि हामीलाई थप फाइदा भएको छ । पहिले धेरै भोट बदर भएको थियो । यसपटक हामीले बदर मत कम होस् भनेर मतदाता शिक्षाको काम पनि अघि बढाएका छौँ । समानुपातिकमा सबैभन्दा बढी पपुलर मत हामीले नै ल्याउँछौँ । प्रत्यक्षतर्फ दोस्रो चरणमा ११८ क्षेत्रमा हाम्रो उम्मेदवारी छ । ११८ मा ७० सिटमा अगाडि छौँ । समग्र १६५ मा हाम्रो आकलनअनुसार ८५/८६ सिट जित्छौँ ।

प्रतिनिधिसभातर्फ प्रत्यक्षमा दोस्रो चरणमा ११८ क्षेत्रमा हाम्रो उम्मेदवारी
छ । ११८ मा ७० सिट जित्छौँ । पहिलो चरणको निर्वाचनसहित समग्र १६५
मध्ये ८५/८६ सिट जित्ने कांग्रेसको आकलन छ ।

जनताले कांग्रेससँग कस्तो अपेक्षा गरेका छन् त ?

कांग्रेसले सबै दललाई संवाद र सहमतिका साथ लिएर हिँड्न सक्छ भन्ने विश्वास आममतदातामा छ । राजनीतिक परिवर्तनको नेतृत्व कांग्रेसले गरेकाले अब लोकतन्त्रको रक्षा गर्दै देशमा समृद्धिको ढोका खुलोस् भन्ने चाहना मतदातामा छ । आफ्नो सम्पूर्ण शक्ति नेपालको विकास, निर्माण र समृद्धिका लागि खर्च गर्न सकोस् भन्ने उहाँहरूको अपेक्षा छ । कांग्रेसले सबै नेपालीलाई नेपालभित्रै रोजगार दिलाउन सकोस्, छोरानातिले विदेशमा श्रम गर्न नपरोस् र नेपालको प्राकृतिक स्रोतसाधनको उचित प्रयोग गरी नेपालीलाई समृद्ध बनाउन सकोस् भन्ने मनसाय मतदातामा पायौँ ।

कम्युनिस्टहरू वाम गठबन्धन बनाएर निर्वाचनमा गएपछि हाम्रो दुईतिहाइ सिट आउँछ भनिरहेका छन् । तपाईंहरू कम्युनिस्टले अधिनायकवाद लाध्दै छन् भनिरहनुभएको छ । सर्वसाधारणको मनसायचाहिँ कस्तो पाउनुभयो ?

संविधान बनेपछि मुलुकमा शान्ति आउँछ भन्ने लागेको थियोे । गिरिजाप्रसाद कोइरालाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएपछि शान्ति छाउँछ, संविधानसभाबाट संविधान बन्छ, जनता मालिक हुन्छन्, जनतालाई सबैले सम्मान गर्छन् र मुलुक समृद्धिको दिशामा अघि बढ्छ भन्ने लागेको थियो । तर, कम्युनिस्ट र लोकतान्त्रिक गठबन्धनबीच जसरी राजनीतिक ध्रुवीकरण भएको छ, यसले नयाँ राजनीतिक मुडभेड हुने, मुलुक पुनः द्वन्द्वमै फस्ने भन्ने त होइन, भन्ने आशंका मतदातामा छ ।

बालकृष्ण खाण, संयोजक, केन्द्रीय निर्वाचन परिचालन समिति एवं केन्द्रीय सदस्य, कांग्रेस

भनेपछि वाम गठबन्धनका कारण कांग्रेसलाई खासै ठूलो चुनौती छैन ?

राजनीतिमा चुनौती नहुने भन्ने हुँदैन, चुनौती छ । तर, दुई पार्टी मिल्नेबित्तिकै स्थानीय तहमा एमाले र माओवादीले ल्याएको भोटको जुन अंक गणित छ, त्यसमा मतदाता पनि मिल्छन् भन्ने छैन । कुनै एउटा भाँडोबाट अर्को भाँडोमा कुनै अनाज घोप्ट्याउँदा सबै घोप्टिदैन । निर्वाचनमा पनि यही हुन्छ ।

तपाईहरू कम्युनिस्ट मिल्दा अधिनायकवाद आउँछ भन्नुहुन्छ, तर उनीहरू हामी संविधानकै फ्रेमभित्र छौँ भनिरहेका छन् । खास कुरा के हो ?

विगतमा हामी एमालेसँग पनि मिलेका हौँ । माओवादीलाई पनि शान्तिपूर्ण राजनीतिमा ल्याएकै हो । यसकारण, हामी आत्तिएका छैनौँ । उहाँहरूले गठबन्धन गर्दा राष्ट्रिय सभामा जुन ढंगले गरे, यसबाट आशंका जन्मिएको हो । ०६४ को निर्वाचनमा माओवादी सबैभन्दा ठूलो पार्टी भयो । टुँडिखेलमै आएर प्रचण्डले हामी जितुवा हौँ, हाम्रा सबै प्रतिस्पर्धी हरुवा हुन् भन्नुभयो ।

हामी जितुवाले हाम्रै ढंगले शासन व्यवस्था चलाउँछौँ, पाँच वर्षको जनादेश भए पनि दसौँ वर्ष शासन गर्छौं भन्नुभयो । उहाँहरूले पहिलो प्रहार नेपाली सेनालाई गर्नुभयो । यो नै प्रत्युत्पादक भएपछि उहाँहरू आफैँ राजीनामा दिएर पछि हट्नुभयो । अब अहिले दुई पार्टी एक ठाउँमा उभिएर संविधानमा आमूल परिवर्तन गर्छौं भन्नुभएको छ । ठाउँ–ठाउँमा आमसभा गर्दा पनि कम्युनिस्ट शासन व्यवस्था नै ल्याउँछौँ भन्नुभएको छ । पछि उहाँहरूको हालत पनि कतै ठोक्किएर यस्तै हुनेवाला छ ।

वाम गठबन्धनका नेताहरूले हामीले धु्रवीकरण गर्दा कांग्रेसलाई पनि फाइदा भयो, गच्छदार कांग्रेसमा जानुभयो, साना पार्टी समाहित भए र पार्टीभित्र आन्तरिक एकता बढेर गयो पनि भन्नुभएको छ नि ?

यस्तो भनिदिनुभएकोमा उहाँहरूलाई धन्यवाद । तर, कांग्रेसले आफ्ना फाइदा र बेफाइदा हेरेकै छैन । मुलुकको हिंसा र हत्याको राजनीतिका बीच गिरिजाप्रसाद कोइरालाले माओवादीलाई शान्तिपूर्ण राजनीति र लोकतान्त्रिक मूलधारमा ल्याउनुभयो । हाम्रो चाहना नेपालको शान्ति प्रक्रिया नबिथोलियोस्, राजनीतिक मुद्दाहरू मिल्दै जाँदा अब विकास र समृद्धिमा जाऊँ भन्ने हो । यसका लागि अब जनता निर्णायक शक्ति हुन् । जनताको जनादेशमै दलले निर्णय गर्ने हो ।

कांग्रेसलाई हुने नाफा वा घाटा भन्दा पनि देशको नाफाघाटासँगमा हाम्रो मुख्य चासो र चिन्ता हो । लोकतन्त्र र यसका मूल्य पद्धति हाम्रा आस्था हुन् । तर, लोकतन्त्रको मूल्य पद्धतिमा कुनै खालका चुनौती नआऊन्, जनताका हक अधिकार ननिमोठिऊन्, पुनः अधिकारकै लागि भनेर अर्को संघर्ष गर्नु नपरोस् ।

कांग्रेस र राप्रपाको गठबन्धन देशव्यापी हुन सकेन । मधेसवादी शक्तिसँग पनि कांग्रेसले गठबन्धन गर्न सकेन । लोकतान्त्रिक शक्तिबीच गठबन्धन बन्न नसक्दा निर्वाचनमा कांग्रेसलाई ठूलै घाटा होला नि, होइन ?

लोकतान्त्रिक गठबन्धनमा आबद्ध पार्टीका ठूला नेतालाई हामीले सहयोग गरेका छौँ । कमल थापा, पशुपतिशमशेर राणा, महन्थ ठाकुरदेखि बाबुराम भट्टराईसम्मलाई सहयोग गरेको अवस्था छ । अरू नेताले भनेको भए हामी अरूलाई पनि सहयोग पु¥याउँथ्यौँ । सिपी मैनालीले चुनाव लडेको भए उहाँलाई पनि सहयोग गथ्र्यौं । लोकतान्त्रिक मूल्य र मान्यता बोक्नेलाई सहयोग गर्छौं, सँगै अघि जान सक्छौँ भन्ने हाम्रो मूल आधारशीला हो । तर, भागबन्डा गरेर प्रतिशत नै छुट्याउने सिद्धान्त उपयुक्त होइन । निर्वाचनमा भागबन्डामा जाँदा जनतालाई ठूलो अन्यौलता छाउँछ ।

बहुमत कांग्रेसले नै ल्याउँछ भन्ने तपाईंहरूको आँकलन हो ?

आँकलन मात्रै होइन, हाम्रो बहुमत नै आउँछ ।

त्यसोभए, निर्वाचनपछि फेरि पनि कांग्रेस सभापति शेरबहादुर देउवाकै नेतृत्वका सरकार बन्छ ?

हो, कांग्रेसकै नेतृत्वमा सरकार बन्छ ।

उहाँ नै कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार हो त ?

संसदीय दलले दलको नेता चुन्छ । दलको नेतालाई सरकार बनाउन प्रमुख बनाउन केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गर्छ । यसरी संसदीय दलले नेता चयन गरेर प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्छ । पार्टी सभापति प्रधानमन्त्री भइरहेका कारणले पार्टीले उहाँलाई नै प्रस्तुत गर्नु आश्चर्यजनक नहोला ।

कांग्रेस र माओवादीको संयुक्त सरकार बन्ने सम्भावनाचाहिँ कत्तिको देख्नुहुन्छ ?

शान्ति बहाली, मुलुकको निर्माण, आर्थिक समृद्धिका लागि मुलुकका सबै दलसँग सहकार्य गर्न कांग्रेस तयार छ । सरकार गठन गर्न जनताबाट पाउने पर्याप्त जनादेश कांग्रेस एक्लैले पाउँछ । तर, मुलुकका राजनीतिक मुद्दा सम्बोधन गर्ने क्रममा निकास निकाल्न सबैसँग हामीले हिजो पनि सहयात्रा गरेकै हौँ भोलि पनि सहयात्राका लागि तयार नै छौँ ।

चुनाव नजिकिँदै गर्दा हिंसा र आतंकका घटना घटिरहेका छन् । विपक्षीले सरकारकै अप्रत्यक्ष सहयोगमा यस्ता घटना घटिरहेको आशंका व्यक्त गरिरहेका छन् नि ?

सरकार भए पनि नभए पनि कांग्रेसले हिंसालाई विश्वास गर्दैन । कांग्रेसको आधारशीला नै अहिंसा हो । लोकतन्त्र, बहुलवादमा आधारित बहुदलीय शासन व्यवस्था भनेको आफूसँग विमति राख्ने राजनीतिक दल र सिद्धान्तको पनि सम्मान हो । यसकारण, कांग्रेस जहिल्यै पनि अहिंसाको पक्षमा छ । अहिले विभिन्न ठाउँमा घटना घटाउन, विस्फोटक पदार्थ विस्फोट गराउन, उम्मेदवारलक्षित आक्रमण गर्न हिजो माओवादी शिविरमा बसेर तालिम चलाएका, लिएका नै सहभागी छन् ।

यसलाई कसरी समाधान गर्ने ?

यसलाई वार्ताको माध्यमबाट देशको मूलधारमा ल्याउनुपर्छ । होइन भने नेपालको संविधान, ऐन, कानुनअनुसार जुन प्रावधान छ, कानुनविपरीत गतिविधिलाई रोक्नुपर्छ ।

निर्वाचनपछि हामी यस्तै राजनीतिक झमेलामा अल्झिन्छौँ कि आर्थिक विकास र समृद्धिको मुद्दामा केन्द्रित हुन्छौँ ?

नेपाली जनता लोकतन्त्रको पक्षमा आएको अभिमतले राजनीतिक मुद्दालाई सम्बोधन गर्दै जान्छ । र, अब द्रुत गतिमा भौतिक विकास र आर्थिक प्रगति हुँदै जान्छ ।

त्यसोभए, कसले चुनाव जित्छ भन्ने कुराले बढी महत्व राख्छ ?

शान्ति प्रक्रिया, संविधानप्रतिको हाम्रो आस्था जोगाएर लाने र संविधान नमान्नेलाई संविधान मान्ने क्रममा मूलधारमा ल्याउन सक्यौँ भने, राम्रो हुन्छ । यसका लागि कांग्रेस निरन्तर लागिरहन्छ ।

प्रस्तुति : पर्शुराम काफ्ले र रमेश सापकोटा

तपाईको प्रतिक्रिया