दुवै पक्ष आरोप–प्रत्यारोप उत्तिकै छ । आफूले बहुमत हासिल गर्ने दाबी गरिरहेका छन् ।
eNaya Patrika
  • ePaper

पुससम्म नयाँ सरकार, त्यसपछि पार्टी एकता : पम्फा भुसाल

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा वामपन्थी र लोकतान्त्रिक गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । दुवै पक्ष एक–अर्काप्रति आक्रामक छन्, आरोप–प्रत्यारोप उत्तिकै छ । दुवै पक्ष आफूले बहुमत हासिल गर्ने दाबी गरिरहेका छन् । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले नयाँ पत्रिकासँगको कुराकानीमा वाम गठबन्धनको सहज बहुमत मात्र नभएर दुईतिहाइ मत नै आउने दाबी गरिन् । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा होमिएका १९ महिलामध्ये एक भुसाल ललितपुर ३ बाट उम्मेदवार छिन् । प्रचार–प्रसारको दौडधुपमाझ भुसालसँग पर्शुराम काफ्ले र वीरेन्द्र ओलीले निर्वाचनको माहोल, वाम गठबन्धनको चुनावी प्रचार र परिणामको अपेक्षाबारे गरेको संवाद :

तपाईंको चुनावी प्रचार–प्रसार कहाँ पुग्यो ? माहोल कस्तो छ ?
चुनावी माहोल निकै सकारात्मक छ । दिनप्रतिदिन जनताको चुनावप्रतिको चासो, सक्रियता, समर्थन र प्रतिबद्धता बढ्दै गएको छ । मेरै कुरा गर्दा, सबैभन्दा पहिला घरदैलो गरेँ । यस्तो नगर्दा भोट माग्नै आएको छैन भन्ने पर्न सक्छ । घरदैलोमा करिब ८० प्रतिशत मतदाताको घरमा पुगेँ । अध्यक्ष प्रचण्ड काठमाडौं आएको मौका छोपेर शनिबार सुनाकोठीमा सभाको आयोजना भयो । शनिबारै वडास्तरका दुई सभाको आयोजना भए । यसपछि जनतासँग भेट्ने, छलफल गर्ने काम नियमित भइरहन्छन् ।

ललितपुर दूरदराजका जिल्लाभन्दा विकसित नै छ । तर, काठमाडौं उपत्यकामा पर्ने भए पनि दुर्गम र सुविधासम्पन्न दुवै क्षेत्र छन्, यहाँ । ग्रामीण क्षेत्रलाई पनि भित्री सहरजस्तै विकसित, सुविधासम्पन्न गर्नुपर्ने छ । त्यसका लागि मैले आफ्नो तर्फबाट गर्नुपर्ने काम गरिरहेकी छु र भविष्यमा पनि गर्नेछु ।

भोट माग्दै जाँदा जनताले १० वर्षअघि राखेका माग र अहिलेका मागमा कति समानता छ ? तपाईंहरूको आश्वासन पनि समान छन् कि फरक ?
०६४ मा मत माग्दा मलाई राम्रो मत दिनुहोस्, राम्रो संविधान लेख्छौँ । राम्रो संविधान लेखियो भने देशको आर्थिक विकास, भौतिक संरचनाको विकास हुन्छ भनेकी थिएँ । त्यो वेला चार वर्षे कार्यकालमा धेरै काम पनि भए । अझै पनि ग्रामीण क्षेत्र कृषिमा आधारित छ । सिँचाइका लागि कुलो निर्माण, सरकारी विद्यालयको गुणस्तर सुधारसँगै भौतिक संरचना निर्माणका लागि पहल गरेँ । बाटोघाटो निर्माण, पानीको पहुँच, ढल व्यवस्थापनजस्ता विकास निर्माणका काम पनि गरेँ ।

पछिल्लो समय मेरो निर्वाचन क्षेत्रमा के–कस्ता समस्या छन् र मतदाताका माग के हुन् भनेर व्यक्तिगत तवरबाट अनुसन्धान गराएँ । अनुसन्धानबाट आएको निष्कर्षबाट मैले मतदाताका लागि १२ बुँदे प्रतिबद्धतापत्र तयार पारेकी छु । अब हाम्रो प्राथमिकता भौतिक पूर्वाधारको विकाससहित आर्थिक समृद्धि हो । हामी लामो राजनीतिक आन्दोलनमा पनि लाग्यौँ । एउटा युग पनि परिवर्तन भयो । अब आर्थिक समृद्धितिर कसरी जान सकिन्छ भन्नेमा जानुपर्छ । मेरो प्राथमिकता पनि यही हो ।

मेरो क्षेत्र कला, संस्कृतिले भरिपूर्ण छ । अहिले सीमित क्षेत्रमा मात्र पर्यटक आउने–जाने गरेका छन् । त्यो पनि अर्थतन्त्रको मुख्य मेरुदण्ड हुन सकेको छैन । नेवार समुदायले आफ्नो कला संस्कृतिलाई गुठीमार्फत संरक्षण गर्दै आएका छन् । पर्यटन क्षेत्रका निमित्त भौतिक संचरनाको विकास, उद्योगको विकास, व्यवसायको विकास गर्न सकिन्छ भन्ने सोचेकी छु । पाटन दरबार क्षेत्र मात्र नभएर हरिसिद्धि थैव, ठेचो, सुनाकोठी, बुङमती, खोकना गरी पर्यटकीय चक्रपथको विकास गर्ने लक्ष्य छ । होमस्टे व्यवसायको विकास गर्ने, खेतीयोग्य जमिन रहेको क्षेत्रमा आर्गानिक फार्मको विकास गर्ने योजना छ । मैले कल्पना गरेको पर्यटकीय चक्रपथको साइकलमार्फत परिक्रमा गरियो । मैले के सोचेँ भने प्रशासनिक राजधानी काठमाडौं हुन्छ, ललितपुरलाई सांस्कृतिक राजधानीका रूपमा विकास गर्ने, बागमतीलगायतका नदीको किनारका दुईतिर वृक्ष रोपेर हरियाली पार्क बनाउने योजना छ ।

स्थानीय पार्टीपंक्ति र मतदातामा वाम गठबन्धनको सन्देश परावर्तित भएको छैन भन्ने सुनिन्छ । गठबन्धन वा पार्टी एकता फगत भावनात्मक विषय मात्रै त होइन नि ?
एमाले र माओवादी केन्द्रका अध्यक्ष तहबाटै दुई पार्टीबीच एकता गर्ने भनिएको छ । निर्वाचनले यो सन्देश तल्लो तहसम्म, व्यक्तिव्यक्तिसम्म पुग्यो । दुई पार्टीको तालमेल र एकता यति मजबुत भयो कि माथिबाट कसैले हल्लाउन सक्दैन । विवेकसहित भावनात्मक रूपमा हामी अघि बढेका छौँ । एकता नहुनेमा कुनै द्विविधा पनि छैन । हामीले समाजवादको आधार तयार गर्ने भनेका छौँ । संविधानले पनि समाजवादी व्यवस्थाको कल्पना गरेको छ । दुवै पार्टीले समाजवादी गन्तव्य तय गर्ने भनेका छन् । वैचारिक रूपमा एक–अर्कोमा समस्या छैन । सबै विषय स्पष्ट रूपमा बाहिर आइसकेका छन् । एकताका लागि तल्लो पंक्ति तत्पर छ । तल्लोस्तरमा देखिएको एकता यसरी नै बलियो हुँदै गयो भने संसारको कुनै पनि तागतले एकता भत्काउन, फुटाउन सक्दैन ।

यो एकता कुनै व्यक्तिगत इच्छाले भएको पनि होइन । वस्तुगत आवश्यकता हो । देशको आर्थिक समृद्धिका लागि एकता आवश्यक पनि थियो । बलियो पार्टी, बलियो सरकार नभई आर्थिक समृद्धि हासिल गर्न सकिँदैन । त्यसैले एक सय एक प्रतिशत ढुक्क भए हुन्छ, दुई पार्टी एकता हुन्छ ।

एमाले पंक्तिले दुईतिहाइ आउँछ भनेको छ, माओवादीले सुविधाजनक बहुमत भनिरहेको छ । तपाईंहरूको खास आकलन के हो ? कति सिट जित्ने हिसाबकिताब छ ?
गठबन्धनको देशैभरि माहोल हेर्दा दुईतिहाइ सजिलै पुग्ने सम्भावना म देख्छु । अध्यक्षसहित सबै शीर्ष नेता उम्मेदवार भएकाले बसेर गहिरो ढंगले आकलन गर्न पाएका छैनौँ । तर, चुनावी माहोल र जनतामा देखिएको उत्साहलाई हेर्दा दुईतिहाइ पुग्छजस्तो लाग्छ । हाम्रो पार्टीको लक्ष्य पनि दुईतिहाइ जसरी पनि ल्याउने भन्ने हो ।

वामपन्थी गठबन्धनको बहुमत आउने निश्चित छ । भित्री रूपमा आगामी प्रधानमन्त्री को हुने भन्ने विषयमा कुनै सहमति भएको छैन । पहिला हामी सरकार निर्माणमा केन्द्रित हुन्छौँ, पार्टी एकता अलिक पछि हुन्छ । त्यसका लागि एकता संयोजन समितिले कार्यदल बनाउँछ । पार्टीको विधान, कार्यदिशा बनाएपछि एकताको दिशातिर जान्छ । यसरी पुस महिनासम्म सरकार गठन हुन्छ, त्यसपछि पार्टी एकताको दिशातिर जान्छौँ ।

हालको गठबन्धनसँग पार्टी एकता गर्ने विषयमा शीर्ष नेतादेखि कार्यकर्तासम्म उत्साह छ भन्नुभयो, तर द्वन्द्वको समयमा लागेका घाउ अझै मेटिएका छैनन् । यसलाई बिर्सेर कार्यकर्ता एकताका लागि तयार होलान् त ?
जनताले कहिले एमालेका उम्मेदवारलाई जिताएका छन् त कहिले माओवादी उम्मेदवारलाई । उनीहरूले दुवै पार्टीलाई कम्युनिस्ट भनेर जिताएका हुन् । वास्तवमा कम्युनिस्टहरूको गठबन्धनमा सबैभन्दा खुसी जनता छन् । किनभने, यो देशमा ७० प्रतिशतभन्दा धेरै कम्युनिस्ट छन् । हरेक घटना एक ठाउँमा स्थिर भएर रहँदैन । हामी ०५२ मा एक ठाउँमा थियौँ, ०६४ मा अर्को ठाउँमा आइपुग्यौँ । अहिले नयाँ ठाउँमा पुगेका छौँ । यस्तो ठान्नु हुँदैन कि हामीले धेरै बुझेका छौँ, जनता उही ठाउँमा छन् । जनता हामीभन्दा धेरै अगाडि छन् । दुई ठूला कम्युनिस्ट एक भएर आएपछि जनतालाई धेरै सजिलो भएको छ ।

वामपन्थी गठबन्धन भएपछि कांग्रेस नेताले एकदलीय सर्वसत्तावाद आउँछ भन्दै भाषण गरिरहेका छन् । मत माग्दै जाँदा यस विषयमा सर्वसाधारणले तपाईंहरूसँग प्रश्न गरेका छन् कि छैनन् ?
जनताको तहबाट उठेको छैन । अहिलेको परिवर्तन ठूलो त्याग र तपस्याबाट ल्याएको हो । त्यसैको जगमा संघीय लोकतान्त्रिक संविधान निर्माण भएको छ । यो संविधानको कार्यान्वयन गर्नुपर्ने मुख्य कार्यभार पनि हामीसामु छ । सर्वसत्तावाद आउँछ भन्ने अबुझपूर्ण कुतर्क हो । ६०–७० प्रतिशत नेपाली कम्युनिस्ट छन् । मनमोहन अधिकारीदेखि प्रचण्डसम्म आइपुुग्दा कम्युनिस्ट प्रधानमन्त्रीहरूले जनतामा सकारात्मक छाप छाडेका छन् ।

अर्को कुरा, कांग्रेस–एमाले मिल्दा एकदलीय तानाशाही नहुने, एमाले र माओवादी मिल्दा कसरी सर्वसत्तावादी एकदलीय तानाशाही हुन्छ ? हामीले संविधान कार्यान्वयनका सन्दर्भमा कांग्रेससँग सहकार्य ग¥यौँ । तर, दीर्घकालीन रूपमा देशको हितमा सोच्दा विचार मिल्नेहरू एक हुन जरुरी छ । यसले राजनीतिक स्थिरता हुनुका साथै हाम्रो आन्तरिक राजनीतिमा विदेशीको हस्तक्षेप कम हुँदै जान्छ । हामी हिजो भिन्न राजनीतिक विचारमा थियौँ । अहिले एक ठाउँमा आइसकेका छौँ । राजनीतिक रूपमा अहिले सामन्तवादको अन्त्य भइसकेको छ । यस्तो अवस्थामा समाजवादी क्रान्तिमा लाग्नुपर्ने हुन्छ । आगामी दिनमा बन्ने नयाँ पार्टी एमाले वा माओवादी होइन, समाजवादी क्रान्ति गर्ने नयाँ पार्टी बन्छ ।

अब हामी आर्थिक वृद्धि र राष्ट्रको समृद्धिका लागि अघि बढ्ने हो । आर्थिक वृद्धि हासिल गर्न सिंगो राष्ट्रलाई नै एकताबद्ध गरेर लैजानुपर्छ । त्यस सन्दर्भमा एमाले–माओवादी गठबन्धनको सरकारमा कांग्रेसका लागि पनि बाटो खुला छ । कांग्रेस मात्र नभएर देशको हित चाहने सबै पार्टीसँग सहकार्य हुन सक्छ । तर, माओवादीले कांग्रेससँग मिलेर सरकार बनाउँछ भन्ने कुराचाहिँ हाम्रो कल्पनाबाहिर छ ।

यदि तपाईंहरूको बहुमत आयो भने प्रधानमन्त्री र पार्टी अध्यक्ष को हुने ? केपी ओली र प्रचण्डले आलोपालो गरेर पार्टी र सरकार चलाउने सहमति भएको हो ?
शीर्ष नेताबीच सहमति के भएको छ भन्ने कुरा मलाई धेरै थाहा छैन । तर, चुनावपछि पार्टी एकता संयोजन समितिको बैठक बस्छ । त्यसपछि सरकार बनाउने काम हुन्छ । वामपन्थी सरकारको बहुमत आउने निश्चित छ । भित्री रूपमा आगामी प्रधानमन्त्री को हुने भन्ने विषयमा कुनै सहमति भएको छैन । पहिला सरकार निर्माणमा हामी केन्द्रित हुन्छौँ, पार्टी एकता अलिक पछि हुन्छ । त्यसका लागि एकता संयोजन समितिले कार्यदल बनाउँछ । पार्टीको विधान, पार्टीको कार्यदिशा बनाएपछि एकताको दिशातिर जान्छ । मेरो विचारमा निर्वाचनपछि छिटै कार्यदलले तयार पारेका दस्ताबेजहरू पार्टीको तलसम्म पढ्न दिइन्छ । यसो गरेर सरकार गठन गर्दा पार्टी एकताका लागि एक–डेढ महिना लाग्छ होला । पुस महिनासम्म सरकार गठन हुन्छ, त्यसपछि पार्टी एकताको दिशातिर जान्छौँ ।

निर्वाचनपछि कांग्रेस र माओवादीको सरकार बन्ने सम्भावना कत्तिको देखिन्छ ?
अब हामी आर्थिक वृद्धि र राष्ट्रको समृद्धिका लागि अघि बढ्ने हो । आर्थिक वृद्धि हासिल गर्न सिंगो राष्ट्रलाई नै एकताबद्ध गरेर लैजानुपर्छ । त्यस सन्दर्भमा एमाले–माओवादी गठबन्धनको सरकारमा कांग्रेसका लागि पनि बाटो खुला छ । कांग्रेस मात्र नभएर देशको हित चाहने सबै पार्टीसँग सहकार्य हुन सक्छ । तर, माओवादीले कांग्रेससँग मिलेर सरकार बनाउँछ भन्ने कुराचाहिँ हाम्रो कल्पनाबाहिर छ ।

स्थानीय तहको निर्वाचनमा उम्मेदवारले धेरै खर्च गरे । अहिलेको प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारले पनि करोडौँ खर्च गरिरहेका छन् । यस्तो खर्चिलो चुनावले हामीलाई कहाँ पुर्‍याउँछ ?
को, कहाँ, के गर्दै छन् भन्ने मलाई थाहा भएन । तर, मैले भने निकै कम खर्च गरेकी छु । एक ठाउँबाट अर्को ठाउँमा सजिलै हिँडेर पुगिन्छ । चुनाव प्रचार गरेर एक ठाउँमा खाना खान पनि सकिन्छ । प्रचारमा हिँडेकाहरू सबै बेलुका आ–आफ्नो घर जान्छन् । तर, जिल्लाबाहिर अहिले निर्वाचन क्षेत्र पनि निकै फराकिला भएका छन् । एक निर्वाचन क्षेत्रदेखि अर्को निर्वाचन क्षेत्रमा एक दिनमा पुग्न सक्ने अवस्था पनि छैन । लुगाको भारीसमेत बोकेर चुनाव प्रचार गर्नुपर्ने अवस्था छ । निर्वाचनको विकल्प खोज्नैपर्छ । हुन त निर्वाचन आयोगले पोस्टर, पम्प्लेट टाँस्न, आचारसंहिताविपरीत टिसर्ट, टोपीलगायतका सामग्री लगाई प्रचार गर्न बन्द गरेको छ । यसले निर्वाचन खर्च थोरै मात्रामा भए पनि जोगिएको छ ।

चुनावी माहोल बढेसँगै विभिन्न हिंसात्मक गतिविधि पनि भएका छन् । यस्ता गम्भीर विषयमा ठूला दलहरूले साझा धारणा बनाई अगाडि बढ्नु पर्दैन ?
कुनै परिणाम नआउने, क्षतिबाहेक केही नहुने जुनसुकै युद्ध वा आन्दोलन वैज्ञानिक हुन सक्दैन । जुन ढंगका घटना भएका छन्, यसमा विभिन्न शक्ति लागेका छन्जस्तो लाग्छ । वाम गठबन्धनबाट त्रसित भएका शक्तिहरू अतालिएका छन् । सरकारले सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ । धाँधलीरहित, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउनु नै अहिले उसको प्रमुख जिम्मेवारी हो।

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

तपाईको प्रतिक्रिया