सबैभन्दा ठूलो बजारमा मत्स्य उत्पादनलाई कररहित निर्यातमा सहयोग पुग्नेछ ।
eNaya Patrika
  • ePaper

माल्दिभ्स–चीन निकटताको रहस्य

माल्दिभ्सको संसद्मा बुधबार चीनसँगको स्वतन्त्र व्यापार सम्झौता बहसविनै पारित भयो । माल्दिभ्सको आर्थिक विकास मन्त्री मोहम्मद सइदले बताएका छन् कि यसबाट संसारको सबैभन्दा ठूलो बजारमा मत्स्य उत्पादनलाई कररहित निर्यातमा सहयोग पुग्नेछ । दक्षिण एसियाली राजनीतिमा आएको यस परिवर्तनबाट माल्दिभ्स र भारतबीच दूरी आउने अनुमान गरिँदै छ ।

दक्षिण एसियाली देशमा भारतको स्थिति हेर्दा बढ्दो चिनियाँ प्रभावसामु ऊ कमजोर हुँदै गएको देखिन्छ

किन चीनको निकट गइरहेको छ माल्दिभ्स ?
भारत बितेको एक दशकदेखि माल्दिभ्सको भित्री मामिलामा हस्तक्षेप गर्नबाट जोगिँदै आएको छ । यसको सीधा फाइदा चीनलाई प्राप्त भइरहेको देखिन्छ । राष्ट्रपति सी जिनपिङ जब भारत आएका थिए, तब उनी माल्दिभ्स र श्रीलंका हुँदै आएका थिए । दुवै देशमा म्यारिटाइम सिल्क रुटसित जोडिएका एमओयूमा हस्ताक्षर गरिएको थियो । तर, जब राष्ट्रपति सी जिनपिङ भारत आए, तब उनले यस मुद्दामा पूर्णतः मौनता साँधेका थिए ।

चिनियाँ राष्ट्रपतिले २०१३ को सेप्टेम्बर र अक्टोबरमा म्यारिटाइम सिल्क रुट र वान बेल्ट वान रोड (ओबिओआर)को कुरा गरेका थिए । यसपछि भारतका साथमा यस मुद्दामा मौनता छाएको थियो । बताउने गरिएको छ कि फेब्रुअरी २०१४ मा विशेष प्रतिनिधिको एक बैठक भएको थियो, जसमा यस मुद्दामाथि अनौपचारिक रूपमा कुराकानी भएको थियो ।

चीनसमेत श्रीलंका र माल्दिभ्सलाई थाहा थियो कि यस मामिलामा भारतको भूमिका सकारात्मक छैन । यसका बाबजुद माल्दिभ्सले २०१४ को सेप्टेम्बर महिनामा यसप्रकारको सन्धिमा हस्ताक्षर गरेबाटै उसको चीनतिरको झुकाव प्रस्ट देखिइरहेको थियो । भारतले यस विषयमा थोरै कोसिस पक्कै गरेको थियो, तर यसलाई पर्याप्त कोसिस भन्न भने सकिन्न ।

चिनियाँ ड्रागनसामु भारत
दक्षिण एसियाली देशमा भारतको स्थितिको कुरा गर्ने हो भने बढ्दो चिनियाँ प्रभावसामु भारत कमजोर हुँदै गएको देखिन्छ । यी देशको नजरमा मद्दत गर्ने प्रतिबद्धतादेखि लिएर वास्तवमै मद्दत पुर्‍याउने विषयमा चीनको गति भारतको तुलनामा कैयौँ गुणा बढी छ ।

हालै दलाई लामाले पनि बताएका छन्– भारत चीनको तुलनामा सुस्त छ । तर, एक जमाना थियो, जब दक्षिण एसियालाई लिएर भारतीय विदेश नीति अत्यन्त आक्रामक थियो । यो स्थिति राजीव गान्धी सरकारदेखि लिएर नरसिंह राव सरकारसम्म कायम रह्यो ।

भारतले १९८८ मा माल्दिभ्समा सत्तापलटको कोसिसलाई असफल बनाइदिएको थियो । तर, यसपछि भारतको प्रभाव अत्यन्त कमजोर हुँदै गएको छ । यसका स्थानीय कारण पनि छन् । किनकि, माल्दिभ्सका पूर्वराष्ट्रपति मौमुन अब्दुल गयुम भारतका निकै असल मित्र थिए । यो नै दुवै देशबीचको गहिरो सम्बन्धको कारण थियो । भारतको प्रभाव यस क्षेत्रमा कम भएको छ, तर यो कमी चीनको बढ्दो प्रभावका कारण बढी देखिएको छ ।

के यो भारतीय विदेश नीतिको हार हो ?
विदेश नीतिको दृष्टिबाट हेर्ने हो भने यो सरकारले सुरुमा सबै देशसित राम्रो सम्बन्ध बनाउने कोसिस गरेको थियो । तर, भारत अमेरिकासित राम्रो सम्बन्ध कायम गर्नका लागि लगानी गरिरहेको छ । उता, चीनचाहिँ भारतका छिमेकी देशहरूसित सम्बन्ध राम्रो बनाउँदै गइरहेको छ ।

रोहिंग्या मामिलामा पनि यो हेर्न सकिन्छ । चीन म्यानमारमा आतंकवादविरोधी रणनीतिको समर्थन गरिरहेको छ । यसका साथै, चीन रोहिंग्या मुसलमानको पुनर्वासको कुरा पनि गरिरहेको छ । अर्कातिर, भारत सरकार यहाँ वर्षौंदेखि बस्दै आएका रोहिंग्या मुसलमानलाई देशका लागि खतरा बताइरहेको छ ।

तर, यसलाई विदेश नीतिको हार बताउन सकिन्न । किनकि, यस सयम भारत र अमेरिकाको सम्बन्ध राम्रो छ । यो यस्तो समयमा छ, जब अमेरिकी राष्ट्रपति ट्रम्पसित संसारका कैयौँ देशको सम्बन्ध बिग्रेको छ । अहिले प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्वी एसियाको यात्रा गरेका थिए । जहाँ, चिनियाँ राष्ट्रपति पुगेका थिएनन् । पूर्वी एसियामा भारतको प्रभाव राम्रो छ ।

कसरी सम्बन्ध राम्रो हुन सक्छ ?
माल्दिभ्स एक यस्तो देश हो, जसको भौगोलिक स्थिति चीनका लागि सामरिक दृष्टिबाट निकै महत्वपूर्ण छ । चीनको म्यारिटाइम सिल्क रुटमा माल्दिभ्स एक महत्वपूर्ण साझेदार हो । यस्तोमा भारतलाई माल्दिभ्ससित सम्बन्ध सुधार्नका लागि यस्तो गर्नु जरुरी छ, जसबाट उनलाई अन्य देशको सहयोग लिने आवश्यकता नपरोस् । विशेषगरी यस्ता देशको, जसलाई भारत शंकाको नजरबाट हेर्ने गर्छ ।

(अन्तर्राष्ट्रिय मामिलाविज्ञ सिंहसित बिबिसीका संवाददाता अनन्त प्रकाशले गरेको कुराकानीमा आधारित) बिबिसी डटकम/हिन्दी

तपाईको प्रतिक्रिया