के हो बाथ ज्वरो ? - Naya Patrika
eNaya Patrika
  • ePaper

के हो बाथ ज्वरो ?

बाथरोग बिटा हेमोलाइटिक स्ट्रेप्टोकोकस ग्रुप ‘ए’ नामक किटाणुका कारण लाग्छ । यो रोग लाग्दा सुरुमा घाँटी दुख्ने र केही दिनभित्र शरीरका विभिन्न जोर्नीहरू दुख्छन् । जोर्नी दुख्ने भएकैले यसलाई बाथ–ज्वरो भनिएको हो । साथै, ज्वरो पनि आउँछ । यही वेला उपचार गर्न सकेमा रोगलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । तर, समयमै उपचार नभए रोग बढ्दै गएर मुटुका भल्भहरू नै खराब बनाइदिन्छ । मुटुका भल्भहरू खराब भएमा भल्भ नै फेर्नुपर्ने हुन्छ ।

त्यसैले त भनिन्छ, यो रोगले जोर्नीलाई चाट्छ मात्र, तर मुटुलाई टोक्छ । तीनदेखि १५ वर्ष उमेरका बालबालिकालाई बाथ रोगको सम्भावना बढी हुन्छ । दुई वर्षभन्दा कम र २५ वर्षभन्दा बढी उमेरका मानिसलाई यसले खासै आक्रमण गर्दैन । केटाकेटीहरूमा रोगसँग लड्ने क्षमता कम हुन्छ र घाँटीको इन्फेक्सन ठूलो मान्छेको तुलनामा बढी हुन्छ ।

यसकारण केटाकेटीलाई बाथले बढी आक्रमण गर्छ । यो सरुवा वा वंशानुगत रोग भने होइन । नेपालमा एक लाख बालबालिकामा प्रतिवर्ष तीन सयदेखि पाँच सयजनासम्मलाई यो रोगले प्रभावित गर्ने गरेको अनुमान छ । यसमध्ये, १० प्रतिशत बिरामीको ज्यान बाथकै कारण जाने गरेको छ । हाल नेपालमा करिब ७५ हजार बाथ–मुटुका रोगी भएको अनुमान गरिएको छ । काठमाडौं उपत्यकाभित्र गरिएको पछिल्लो सर्वेक्षणअनुसार स्कुलमा पढ्ने एक हजार विद्यार्थीमध्ये एक दशमलव दुईजनालाई यो रोग लाग्ने गरेको पाइएको छ ।

लक्षणहरू

सुरुमा घाँटी दुख्ने र ज्वरो आउने हुन्छ । ज्वरो आएको पाँच–छ दिनपछि ठीक हुन्छ । कतिपय अवस्थामा औषधि नखाइकनै पनि घाँटी दुखेको ठीक हुन्छ ।

घाँटी दुख्ने र ज्वरो आउने ठीक भएको एकदेखि चार हप्ताको बीचमा फेरि ज्वरो बल्झिएर आउँछ । यसपछि, पालैपालो घुँडा, कुर्कुच्चा, कुहिना, नाडीका जोर्नीहरू दुख्ने र राँक्किएर सुन्निने हुन्छ । यसमा एउटा जोर्नी दुख्न कम हुनासाथ अर्को जोर्नीमा दुखाइ सर्छ । एउटा जोर्नीको दुखाइ ठीक हुँदै जाँदा अर्को जोर्नी दुख्न थाल्दछ । एकदेखि अर्को जोर्नीमा सर्दै जाने भएकाले यसलाई सर्ने बाथ पनि भनिन्छ । पालैपालो जोर्नी दुख्ने लक्षण अन्य रोगको भन्दा भिन्न लक्षण हो ।

बाथ–ज्वरोबाट मुटुका चारवटा भल्भमध्ये कुनै एक वा सोभन्दा बढी भल्भहरू बिग्रेर, साँघुरिने वा खुकुलो हुन्छ । यसकारण, मुटुमा हुने रक्तप्रवाहमा बाधा आउन सक्छ । मुटुका भल्भहरूबाट रगत आउन र जान अप्ठेरो पर्छ । त्यसपछि मुटु सुन्निन्छ ।

बाथ–ज्वरोलाई लक्षणकै आधारमा पहिचान गर्न त्यति कठिन नभए पनि कहिलेकाहीँ स्वास्थ्यकर्मीहरू झुक्किन्छन् । यसकारण पनि विश्व स्वास्थ्य संगठनले सजिलो तरिकाबाट बाथ–ज्वरो पहिचान गर्न निर्देशिका पनि बनाएको छ । मुटुरोग विशेषज्ञहरू तथा यस रोगका अनुभवप्राप्त चिकित्सकहरूले सजिलै पहिचान गर्न सक्छन् ।

उपचार

बाथले मुटुको भल्भलाई स्थायी रूपमा क्षति पु¥याउँछ । बाथ–ज्वरो उपचारपछि पनि पटक–पटक फर्कन सक्छ । यसरी फर्किंदा हरेकपटक मुटुका भल्भहरूमा क्षति पुग्छ । बाथ–ज्वरो फर्कन नदिन लामो समय पेनिसिलिनको सुई लिनुपर्ने हुन्छ । हरेक तीन हप्तामा यो सुई लिनुपर्छ ।

डा. अरुणा उप्रेती, स्वास्थ्यविज्ञ

यो रोगलाई उपचारबाट पूर्ण निको पार्न नसकिए पनि लक्षणका रूपमा देखिने विभिन्न स्वास्थ्यसमस्याचाहिँ कम गर्न सकिन्छ । बाथ–मुटुका रोगीहरूमा देखिने लक्षणहरू जस्तैः दम बढ्ने, मुटु हल्लिने, खुट्टाहरू सुन्निने, छाती दुख्ने, कफमा रगत देखिनेजस्ता समस्यालाई कम गर्न विभिन्न औषधिको प्रयोग गरिन्छ ।

औषधिको सेवनबाट रोगीको पीडालाई कम गरी दैनिक काम गर्न सजिलो पार्न सकिन्छ । साथै, बाथ–मुटुको रोगबाट उत्पन्न हुन सक्ने हार्टफेल तथा भल्भको इन्फेक्सन हुनबाट रोगीलाई सुरक्षित राख्ने प्रयास गरिन्छ । रोगले मुटुमा असर पारेको छैन भने केही वर्ष उपचार गरे पुग्छ । मुटुमा असर परेपछि सधैँ औषधि गर्नुपर्छ ।

बाथ–मुटुको रोगले मुटुलाई धेरै नै क्षति पु¥याएको अवस्थामा वा मुटुको भल्भ साह्रै साँघुरो वा खुकुलो भएमा वा भल्भमा इन्फेक्सन भई औषधिद्वारा पूरा ठीक नभएमा अप्रेसन गर्नुपर्ने हुन्छ ।

अप्रेसनपछि पनि यो रोग निर्मूल हुँदैन, तर रोगका कारण देखापरेका समस्याहरू भने धेरै हदसम्म कम भएर जान्छन् । सास फेर्न सजिलो हुन्छ, छाती दुख्न र मुटु हल्लिन कम हुन्छ । मुटुभित्रको चाप घट्छ । यो रोग निर्मूल नहुने हुनाले अप्रेसनपछि पनि औषधिसेवन गर्नुपर्ने हुन्छ ।

रोग नियन्त्रण

यो रोगको नियन्त्रण भनेको घाँटी दुख्दा औषधि गर्ने नै हो । दुई विधिबाट यसको नियन्त्रण गरिन्छ । घाँटी दुख्ने, ज्वरो (स्ट्रेप्टोकोकल घाँटीको इन्फेक्सन) आएको अवस्थामा यसको उपचार गरी बाथ–ज्वरो उत्पन्न हुने सम्भावनालाई रोक्नु नै प्राथमिक रोकथाम हो । स्ट्रेप्टोकोकस ग्रुप ‘ए’ जातका किटाणुहरूको संक्रमणबाट घाँटीको इन्फेक्सन भएकामध्ये तीन प्रतिशतलाई बाथ–ज्वरो आउने सम्भावना हुन्छ । समयमै औषधिकोे प्रयोग गरी घाँटीको संक्रमणलाई निको पारे बाथ–ज्वरोको सम्भावना कम हुन्छ ।

बाथ–ज्वरो एकपल्ट लागिसकेपछि फर्की–फर्की आउँछ । बाथ–ज्वरो नफर्कियोस् र मुटु बिग्रिनेक्रम कम होस् भनेर गरिने उपचारविधि नै द्वितीय रोकथाम हो । यसका लागि एक महिनासम्म शरीरमा असर रहिरहने पेनिसिलिनको सुई लिनुपर्छ । यो उपचारबाट धेरै हदसम्म मुटु बचाउन सकिन्छ । बाथ–ज्वरो वेलैमा पहिचान गरी उपचार गराउँदा दुखेको जोर्नी ठीक हुन्छ ।

तपाईको प्रतिक्रिया