उत्तर कोरियाले बताएअनुसार यस क्षेप्यास्त्रको पूरै अमेरिकासम्म पहुँच हुनेछ ।
eNaya Patrika
  • ePaper

उत्तर कोरियाली नयाँ क्षेप्यास्त्रको क्षमता

उत्तर कोरियाले नयाँ प्रकारको इन्टरकन्टिनेन्टल ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको छ । उत्तर कोरियाले बताएअनुसार यस क्षेप्यास्त्रको पूरै अमेरिकासम्म पहुँच हुनेछ । उत्तर कोरियाली सरकारी टेलिभिजनले बताएअनुसार उत्तर कोरियाले आणविक शक्ति सम्पन्न हुने दिशामा आफ्नो लक्ष्य पूरा गरेको छ । ‘द ह्वासोङ—१५ क्षेप्यास्त्रलाई सबैभन्दा शक्तिशाली क्षेप्यास्त्र रहेको बताइँदै छ । यस क्षेप्यास्त्रको परीक्षण बुधबार रातको अँध्यारोमा गरिएको थियो । सो क्षेप्यास्त्र परीक्षणपछि जापानी समुद्रमा खसेको थियो । उत्तर कोरियाले अहिलेसम्म जति पनि क्षेप्यास्त्रको परीक्षण गरेको छ, ती सबैमध्ये यस क्षेप्यास्त्रको उचाइ बढी थियो ।

उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्धको लगातार उल्लंघन गरिरहेको छ । उत्तर कोरियामाथि आणविक कार्यक्रम रोक्न कैयौँ अन्तर्राष्ट्रिय प्रतिबन्ध लागेका छन् । तर, उसले पटक–पटक प्रतिबन्ध उल्लंघन गर्दै आएको छ । उत्तर कोरियाको पछिल्लो कदमको जोडदार रूपमा निन्दा भइरहेको छ । तर, उसले भने पूर्णतः बेवास्ता गरिरहेको छ । यस क्षेप्यास्त्र परीक्षणपछि संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को संकटकालीन बैठक बोलाइएको छ । उत्तर कोरियाको यस परीक्षणपछि दक्षिण कोरियाले पनि आफ्नो सक्रियता देखाएको छ ।

 

असामान्य रूपमा रातको समयमा गरिएको क्षेप्यास्त्र परीक्षणबाट प्रस्ट भएको छ– उत्तर कोरिया रातको अँध्यारोमा पनि परीक्षण गर्न सक्षम छ

 

उत्तर कोरियाको दाबी
यस क्षेप्यास्त्र परीक्षणको सूचना देशको सरकारी टेलिभिजनबाट दिउँसो एक विशेष प्रसारणमार्फत दिएको थियो । यसका साथै, त्यहाँको सरकारी समाचार एजन्सीले पनि परीक्षणको समाचार दिएको थियो । उत्तर कोरियाको भनाइ छ कि यो क्षेप्यास्त्र ४ हजार ४ सय ७५ किलोमिटरको उचाइसम्म पुग्यो । यसले ५३ मिनेटमा ९ सय ५० किलोमिटरसम्मको यात्रा पार गरेको थियो । दक्षिण कोरियाले पनि यस क्षेप्यास्त्रबारे यस्तैयस्तै अनुमान लगाएको छ ।

जापानी अधिकारीको भनाइ छ कि क्षेप्यास्त्रलाई एक झुकाबसाथ माथितिर पठाइएको थियो । यसअघिका परीक्षणझैँ यसपटकको उडान जापानी आकाशमाथि थिएन, यो जापानको उत्तरी किनारबाट दुई सय ५० किलोमिटर पर खसेको थियो ।

उत्तर कोरियाले यसअघि भनेको थियो कि उसको क्षेप्यास्त्रले अमेरिकालाई ध्वस्त बनाउन सक्छ । तर, अब उसले पहिलोपटक बताइरहेको छ कि उसले यसपटक नयाँ प्रकारको क्षेप्यास्त्रको परीक्षण गरेको छ, जुन पहिलेभन्दा बढी शक्तिशाली छ ।

केसिएनको भनाइ छ कि उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो उपस्थितिमा यसको प्रक्षेपण गराएका थिए । यस परीक्षणपछि उनले भनेका छन् कि यो उत्तर कोरियाका लागि गर्वको क्षण हो । उत्तर कोरियाले यस परीक्षणलाई आणविक शक्ति सम्पन्न बन्ने मार्गको एक ऐतिहासिक मोड नाम दिएको छ ।

विशेषज्ञहरूको राय
एक विश्लेषणका अनुसार उत्तर कोरियाका क्षेप्यास्त्र १३ हजार किलोमिटरसम्म पुग्न सक्छन् । यसको अर्थ यो भयो कि उसका क्षेप्यास्त्र अमेरिकाको कुनै पनि कुनासम्म पुग्न सक्छ । यसका साथै, उत्तर कोरियाका क्षेप्यास्त्रमाथि शंका पनि गरिँदै छ । बताइँदै छ कि यसको पहुँच त छ, तर मारक क्षमता बताइएअनुसार छैन । यसको अर्थ यो हो कि यी क्षेप्यास्त्र आणविक हतियार वहन गर्न सक्षम छैनन् ।

अर्कातिर उत्तर कोरियाको भनाइ छ कि ह्वासोङ–१५ क्षेप्यास्त्र अमेरिकी जमिनमा ठूलाभन्दा ठूला आणविक हतियार खसाउन सक्षम छन् । यहीँनेर विशेषज्ञहरूको भनाइ छ कि उत्तर कोरियालाई अझै पनि इन्टर कन्टिनेन्टल ब्यालिस्टिक मिसाइल सफलतापूर्वक उपयोग गर्न थप दुई–तीन वर्ष लाग्नेछ । यस्तो गर्न उत्तर कोरियाको उच्च प्रविधिसम्म पहुँच आवश्यक छ । आइसिबिएमलाई आणविक हतियारले पूर्ण बनाएर विस्फोट गराउने पर्यावरणका लागि अत्यन्त खतरनाक हुन्छ ।

परीक्षण रातमा किन ?
उत्तर कोरियाले यो परीक्षण असामान्य रूपमा रातको समयमा गरेको छ । यसबाट यो पनि प्रस्ट भएको छ कि ऊ रातको अँध्यारोमा पनि परीक्षण गर्न सक्षम छ । यो साँचो हो कि रातका समयमा क्षेप्यास्त्रलाई खसाउन मुस्किल हुन्छ । उत्तर कोरियाको रातमा गरिएको परीक्षणबाट यो साबित हुन्छ कि उसले आफ्नो क्षेप्यास्त्र क्षमतालाई निकै राम्रो बनाइसकेको छ ।

(बिबिसी हिन्दीको समाचार टिप्पणी)
बिबिसी डट कम/हिन्दीबाट

तपाईको प्रतिक्रिया