न राम्ररी कार्यान्वयन हुन सक्छ, न त मुलुकले शान्ति र समृद्धि नै प्राप्त गर्न सक्छ ।
eNaya Patrika
  • ePaper

अब आर्थिक क्रान्ति

आर्थिक क्रान्तिको चरण : नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनिसकेपछि हाम्रो मुलुक नयाँ चरणमा प्रवेश गरेको छ । राजनीतिक अधिकारको लडाइँले एक हिसाबबाट पूर्णता पाएको छ । देशको विपन्नता वा गरिबीमा संविधान न राम्ररी कार्यान्वयन हुन सक्छ, न त मुलुकले शान्ति र समृद्धि नै प्राप्त गर्न सक्छ । यो संविधानको प्रभावकारी कार्यान्वयन सँगसँगै मुलुक नयाँ चरणमा गइसकेपछिको अवस्थामा अब हामीले हिँड्ने बाटो आर्थिक विकास र समृद्धिकै हो । त्यसैले अहिले हामी आर्थिक क्रान्तिको चरणमा प्रवेश गरिसकेका छौँ । यसरी हामीले आर्थिक क्रान्तिको कुरा गरिरहँदा त्यसका विभिन्न पक्ष र आधारमा ध्यान दिनु जरुरी छ ।

औद्योगिक क्रान्ति
देशमा आर्थिक क्रान्तिका लागि औद्योगिक क्रान्ति अत्यावश्यक छ । तर, पहिले राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा १६–१७ प्रतिशतसम्म हुने गरेको योगदान अहिले स्वाट्टै झरेर ६ प्रतिशतमा संकुचित भएको छ । भएका उद्योगधन्दा र कलकारखाना पनि या त बेचिएका छन् या टाट पल्टेका वा पल्टाइएका छन् । अहिले नयाँ ढंगबाट उद्योगधन्दा, कलकारखाना आउने अवस्था छैन । हाम्रो देशको अर्थतन्त्र अझै पनि लिलिपुटे आकारमै छ । यो जसोतसो घुम्दैफिर्दै चलिरहेको छ । अर्थात् दलाल पुँजीवादको चक्रमा यो घुमिरहेको छ । यस क्षेत्रको विकासका लागि राष्ट्रिय पुँजीको विकास गरी स्वदेशी तथा विदेशी पुँजी लगानी तथा प्रविधि भित्राउनु जरुरी छ । जसरी भए पनि यस क्षेत्रमा चामत्कारिक परिवर्तन ल्याउनु आजको सबैभन्दा ठूलो चुनौती हो । आगामी १० वर्षभित्र प्रतिव्यक्ति आय कम्तीमा पाँच हजार अमेरिकी डलर पुग्ने गरी आर्थिक वृद्धिलाई १० प्रतिशतभन्दा माथि पुर्‍याउने अर्थतन्त्र निर्माण हामी सबैले पार गर्नैपर्ने अर्को चुनौती हो । यी चुनौती पार गर्न नसकुन्जेल मुलुकले आर्थिक विकासमा फड्को मार्न सक्दैन ।

कृषि क्रान्ति
हाम्रो देशको सबैभन्दा ठूलो जनशक्ति कृषिमा आश्रित छ । ६०–७० प्रतिशतभन्दा बढी जनता कृषिमै निर्भर छन् । र, सबैभन्दा बढी गरिबी पनि कृषिमै छ । कृषिमा रहेको गरिबी, अभाव र अनाकर्षण तोड्नका लागि कृषि क्रान्ति अत्यावश्यक छ । हाम्रो कृषिलाई अहिलेसम्म औद्योगिकीकरण गर्न सकिएको छैन । उन्नत आधुनिक प्रविधिको उपयोग गर्दै कृषिलाई उद्योगका रूपमा विकास गर्न सकिएको छैन । कृषिमा सहकारीको विकास, चक्लाबन्दी गरी कृषिको पकेट क्षेत्र निर्धारण पनि आवश्यक छ । अब पनि व्यावसायिक कृषि प्रणालीको विकास नगर्ने हो भने कृषिबाट निर्भरताबाहेक केही पनि हात लाग्नेवाला छैन । यस्तो अवस्थामा हाम्रो देश आत्मनिर्भर पनि हुन सक्दैन । डेढ खर्बभन्दा बढीको कृषि उत्पादन आयात हुनु कृषिप्रधान देश नेपालको आजको सबैभन्दा ठूलो दुर्भाग्य हो । अब हामीले कृषि उत्पादनमा आत्मनिर्भर बनेर मात्र पुग्दैन । हाम्रा उत्पादन अन्तर्राष्ट्रिय बजारसम्म निर्यात गर्न सक्नुपर्छ । तराई या पहाडका खेतीयोग्य जमिनमा बस्ती बस्नु या खेतीयोग्य जमिन घडेरीका रूपमा खण्डित हुनु नै हाम्रो सबैभन्दा ठूलो दुर्भाग्य हो । जतिवेलासम्म बस्ती विकासलाई ठीक ढंगले व्यवस्थित गर्न सकिन्न, भूउपयोगलाई सही ढंगले व्यवस्थापन गर्न सकिन्न, उत्पादन वृद्धि गर्ने ढंगले भूमिसुधार गर्न सकिन्न, त्यतिवेलासम्म देशलाई समृद्धिको बाटोमा अघि लौजान सकिन्न । त्यसैले कृषिको आधुनिकीकरण र व्यवसायीकरण नै नेपालको अहिलेको सबैभन्दा ठूलो चुनौती हो । आधुनिक र व्यावसायिक कृषि प्रणालीका लागि आवश्यक उन्नत बिउबिजन, मलखाद, प्रविधि, यान्त्रिक उपकरण, सिँचाइ सुविधा तथा यससम्बन्धी अध्ययन, अनुसन्धान अझै पनि अत्यन्त कमजोर हुनु नै हाम्रो दुर्भाग्य हो । हामीकहाँ प्रशस्त जग्गाजमिन बाँझै छ, तर त्यसलाई एकीकृत गरेर त्यहाँ कुन वस्तुको उत्पादन राम्रो हुन सक्छ भन्ने विषयमा अध्ययन नै हुन सकेको छैन । त्यस्ता क्षेत्रमा सडकलगायत पूर्वाधार विकास पनि हुन सकेको छैन । यति गर्न नसकेसम्म कृषिमा क्रान्ति ल्याउन पनि सकिन्न र रोजगारी सिर्जना गर्न पनि सकिन्न ।

संविधानको प्रभावकारी कार्यान्वयन सँगसँगै मुलुक नयाँ चरणमा गइसकेपछिको अवस्थामा अब हामीले हिँड्ने बाटो आर्थिक विकास र समृद्धिकै हो

पर्यटन विकास
देशमा आर्थिक क्रान्तिको बहस चलाउँदै गर्दा पर्यटन क्षेत्रबाट कसरी आर्थिक क्रान्ति ल्याउन सकिन्छ भन्ने विषयमा पनि हामीले ध्यान पुर्‍याउन सक्नुपर्छ । पूर्वाधारको विकास गरिसकेपछि पर्यटनबाट रोजगारी अभिवृद्धि गर्न सकिन्छ । पर्यटन क्षेत्रको विकासमार्फत विदेशी मुद्रा आर्जन गरी देशको समग्र विकास निर्माण र आर्थिक समृद्धिमा त्यसलाई परिचालन गर्न सकिन्छ । पर्यटन उद्योग कम लगानीमा बढी प्रतिफल हासिल गर्न सकिने क्षेत्र हो । त्यसैले पनि यसबाट देशको आर्थिक समृद्धि सम्भव छ । मुलुकको समृद्धिका लागि अब खेल पर्यटन, कला, संस्कृति पर्यटन, शिक्षा पर्यटन, मेडिकल शिक्षा पर्यटन आदिको प्रवर्धन गर्नु जरुरी छ । आगामी १० वर्षमा ५० लाख पर्यटक भित्राउने लक्ष्यसाथ त्यसको प्रचारप्रसार, बजार प्रवर्धन, पूर्वाधार निर्माण र पथप्रदर्शकका लागि तालिम केन्द्रहरूको स्थापना गर्नुपर्छ ।

पूर्वाधार विकास
देशको विकास र आर्थिक समृद्धिको चर्चा गरिरहँदा छुटाउनै नहुने पक्ष पूर्वाधार विकास पनि हो । हामीसित जलविद्युत् विकासको अत्यन्त ठूलो सम्भावना छ । तर, अधिकतम विद्युत् उत्पादन गरी छिमेकी देशसम्म यसलाई निर्यात गर्ने दिशामा हामी जानै सकेका छैनौँ । जबसम्म देशभर विद्युतीकरण हुन सक्दैन र औद्योगिक प्रयोजनका लागि सस्तो मूल्यमा विद्युत् उपलब्ध गराउन सकिन्न, तबसम्म हाम्रा औद्योगिक उत्पादनलाई अन्य मुलुकका उत्पादनसित प्रतिस्पर्धा गर्नयोग्य बनाउन सकिन्न । संसारमा चीन, कोरिया या अन्य कुनै पनि देश आज जेजसरी विकसित भइरहेका छन्, ती सबै बाहिरी लगानी भित्राएरै विकसित भएका हुन् । यसका लागि हामीले लगानीमैत्री वातावरण बनाउनु जरुरी छ । स्वदेशी तथा विदेशी लगानीलाई आकर्षित गर्न नसकुन्जेल हामीले मुलुकको समृद्धिको सपना देख्नु बेकार हो । त्यसैले पनि सडक, विद्युत्लगायत पूर्वाधार विकास भइसकेपछि मात्र हामीले बाहिरी लगानीलाई स्वागत गर्न सक्छौँ । दुई–चारवटा ठूला बाहिरी लगानीलाई स्वागत गर्न सकियो भने मात्रै पनि हाम्रो मुलुकको कायापलट हुन सक्छ । किनकि, हाम्रो मुलुकको राष्ट्रिय अर्थतन्त्र सामसुङ, एप्पल, गुगलजस्ता बहुराष्ट्रिय कम्पनीको जत्रो पनि छैन । यस्तो अवस्थामा आर्थिक समृद्धिका लागि हामीले ध्यान दिनुपर्ने विषय भनेको पूर्वाधार विकास नै हो । यसका लागि सडक, रेल, हवाईजहाज, विद्युत् ऊर्जालगायत पूर्वाधार विकासमा हामीले ध्यान दिनुपर्छ ।

दक्ष प्राविधिक मानव संसाधन
मुलुकको आर्थिक समृद्धिका लागि अर्को महत्वपूर्ण आधार मानव संसाधन नै हो । मानव संसाधन संसारकै सबैभन्दा ठूलो र महत्वपूर्ण पुँजी हो । मानव संसाधनमा हामी धेरै पछि छौँ । हाम्रो देशको राष्ट्रिय उत्पादनका लागि जुन मानव संसाधनको ज्ञान, सीप र दक्षता आवश्यक छ, हामीले त्यस्तो मानव संसाधन उत्पादन गर्नै सकेका छैनौँ । देशको समृद्धिका लागि आवश्यक दक्ष प्राविधिक जनशक्तिको कमी भएको हुनाले हामीले हाम्रो घोषणापत्रमै प्राविधिक शिक्षा ७० प्रतिशत र साधारण शिक्षा ३० प्रतिशतको हुनुपर्छ भनेका छौँ । तर, अहिले भने हामीकहाँ यसको ठीक उल्टो स्थिति छ । हाम्रो वर्तमान शिक्षा प्रणालीले प्राविधिक जनशक्ति उत्पादन गर्नै सकेको छैन । हाम्रा शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएका छन् । किनकि, यिनले ८० प्रतिशतभन्दा बढी साधारण शैक्षिक जनशक्ति उत्पादन गरिरहेका छन् । अब हामीले यो उल्टो स्थितिलाई सुल्ट्याएर दक्ष प्राविधिक जनशक्ति उत्पादन गरी बेरोजगार समस्याको समाधान खोज्नुपर्छ । अहिलेसम्म हाम्रा शिक्षित जनशक्ति पनि रोजगारीका लागि खाडी नै धाउनुपर्ने बाध्यतामा छन् । त्यस बाध्यताको अन्त्य गरी दक्ष स्वदेशी मानव पुँजीलाई स्वदेशमै खपत गर्नु आजको आवश्यकता हो । दक्ष प्राविधिक मानव संसाधनको विकास गर्न सकियो भने त्यसले देशमा पनि राम्रो काम पाउँछ, राष्ट्रको विकास र समृद्धिमा महत्वपूर्ण योगदान दिन सक्छ भने बाहिर गएको खण्डमा पनि उसले त्यहाँ राम्रो काम पाउँछ । अरूको देशमा गएर काम गर्नु गलत होइन, यो संसारभर चलिआएको चलन हो । तर, नेपाली जनशक्तिले त्यहाँ गएर गर्नुपर्ने काम तल्लो तह वा स्तरको हुनाले उनीहरूले बगाएको पसिनाअनुसारको मूल्य पाउन नसकिरहेको अवस्था छ । यसलाई अन्त्य गर्नै पनि अब हामीले दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने शिक्षा प्रणाली लागू गर्नुपर्छ ।

अन्त्यमा
हाम्रो देशको विकास र समृद्धिका लागि पुँजीको अभाव छैन । देशभित्रै पनि प्रशस्त पुँजी छ । बाहिरबाट पनि पुँजी भित्राउन समस्या छैन । कुनै पनि विकास आयोजनाका नाममा सेयर खुला गर्ने हो भने देशभित्रैबाट पर्याप्त पुँजी जुट्न सक्छ । यसअघि पनि विभिन्न आयोजनामा सेयर लगानी आह्वान हुँदा आवश्यकताभन्दा कैयौँ गुणा बढी लगानी जुटेको देखिएकै हो । त्यसैले यहाँ लगानीमैत्री वातावरण बन्ने हो भने देशको विकास र समृद्धिका लागि कुनै अड्चन छैन । देशको आर्थिक समृद्धिका लागि हामीले निजी, सार्वजनिक र सहकारी गरी सबै क्षेत्रलाई एकसाथ परिचालन गर्न सक्नुपर्छ । राज्यले निजी क्षेत्रलाई सशक्त बनाउन आवश्यक सहयोग गर्दै सार्वजनिक कम्पनीलाई पनि सशक्त गराएर दुवैबीच प्रतिस्पर्धाको वातावरण तयार गर्नुपर्छ । साथै, वर्षभरिमा बजेटमा तोकिएको पुँजीगत खर्चसमेत हुन नसक्ने अवस्था अन्त्य गरी विकास निर्माणलाई अघि बढाउन राज्यले पनि आफ्नो साधन, स्रोत र जनशक्ति एकसाथ परिचालन गर्नुपर्छ । विकासका लागि निजी र सार्वजनिक क्षेत्रबीच प्रतिस्पर्धा गराउँदै अघि बढ्नु अर्को आवश्यक पक्ष हो । कोरिया, चीनलगायत राष्ट्र आज जति पनि सफल भएका छन्, त्यसैगरी सफल भएका हुन् । अबका दिनमा हामीले पनि विकास र समृद्धिका लागि यस्तै मोडेल अपनाउनु जरुरी छ ।

राज्यको विकास निर्माण र समृद्धिको पहिलो सर्त राजनीतिक स्थायित्व हो । यही राजनीतिक स्थायित्वका लागि अहिले हामीले गठबन्धन निर्माण गरेका हौँ । एक्लै अघि बढेर, आपसमा फुटेर हामी कहीँ पनि पुग्न सक्दैनौँ । देशमा विकास र समृद्धि ल्याउने हो भने हामी सबै कुनै न कुनै बिन्दुमा एक हुनैपर्छ । हामी लोकतान्त्रिक प्रक्रियाबाटै देशमा आर्थिक विकास र समृद्धि ल्याउन चाहन्छौँ । त्यसका लागि राजनीतिक स्थायित्व जरुरी छ । यसका लागि बलियो सरकार आवश्यक छ । त्यसैका लागि अहिले वाम गठबन्धन बनेको हो । हामीले राजनीतिक परिवर्तनको नेतृत्व गरिसक्यौँ, संविधान निर्माणको नेतृत्व पनि गरिसक्यौँ । अब आर्थिक क्रान्तिको नेतृत्व गर्न बाँकी छ । त्यसैका लागि हामीले यो गठबन्धन निर्माण गरेका हौँ ।

(अधिकारी एमाले केन्द्रीय सदस्य हुन्)

तपाईको प्रतिक्रिया