आचारसंहिताविपरीत टाँसिएका प्रचार सामग्री हटाउन आग्रह - Naya Patrika
eNaya Patrika
  • ePaper

आचारसंहिताविपरीत टाँसिएका प्रचार सामग्री हटाउन आग्रह

मुख्य निर्वाचन अधिकृतको कार्यालय नवलपुरले आचारसंहिताभित्र रहेर चुनावीसभा र प्रचार गर्न दलहरूलाई आग्रह गरेको छ ।

नवलपरासीको बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोतीमा मंगलबार चुनावमा उम्मेदवारी दिएका सबै राजनीतिक दलका प्रतिनिधिसँगको छलफल कार्यक्रममा अनुगमनकर्ता सञ्जीवराज रेग्मीले तडकभडकरहित चुनावी कार्यक्रम गर्न आग्रह गरे ।

रेग्मीले दलहरूले आफ्नो पार्टी कार्यालय तथा प्रचार–प्रसार कार्यालयआसपासका क्षेत्रमा टाँसिएका प्रचार सामग्री झन्डा पताका र तुलब्यानरलाई हटाएर व्यवस्थापन गर्न अनुरोध गरे ।

नवलपुरको बिपी चोक, हल चोक, हाटबजार, दुम्कौली, चोरमारालगायतका स्थानमा सडक नै वारपार गरेर पताका टाँसिएको पाइएकाले उनले बताए । उनले ती निर्वाचन सामग्री हटाउन सम्बन्धित दललाई आग्रह गरे ।

यस्तै, लाउडस्पिकरको प्रयोग गरेर प्रचार–प्रसार नगर्न पनि अनुगमनकर्ता रेग्मीले दलका प्रतिनिधिलाई आग्रह गरे ।

दोस्रो चरणको निर्वाचन हुने जिल्लामा निर्वाचन आयोगले अनुगमनकर्ता केन्द्रबाट नै खटाएको छ । सोही क्रममा रेग्मीले नवलपरासीका विभिन्न स्थानमा अनुगमन गरेका थिए ।

उम्मेदवारहरू घरदैलोमा व्यस्त भएकाले दलका प्रतिनिधिहरूसँग मुख्य निर्वाचन अधिकृतको कार्यालय नवलपुरले छलफल गरेको हो ।

आचारसंहिता उल्लंघन नगरी आफ्ना चुनावी सभा–सम्मेलन र कार्यक्रम दलहरूले गरून् भन्ने उद्देश्यले दलका प्रतिनिधिलाई आचारसंहिताबारे जानकारी गराएको मुख्य निर्वाचन अधिकृृत बाबुराम सुवेदीले बताए ।

कार्यक्रममा बोल्दै नवलपुरका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले नवलपुरमा सुरक्षा व्यवस्था मजबुत पारिएको बताए ।

उनले दलहरूका चुनाव प्रसार–प्रसार कार्यालय एवं पार्टी कार्यालयमा बाक्लो रूपमा म्यादी प्रहरी खटाइएको, राजमार्गदेखि भित्री क्षेत्रमा पनि चोक–चोकमा सुरक्षाकर्मी खटाइएको बताए ।

यस्तै, रातको समयमा पनि गस्ती बढाएको, ठाउँ–ठाउँमा प्रहरीको मोबाइल टोली खटिएको र सिभिलमा पनि प्रहरी परिचालन गरिएको उनले जानकारी दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु