राणा र राजा फालेर ल्याएको लोकतन्त्र वाम गठबन्धनका कारण संकटमा : देउवा - Naya Patrika
eNaya Patrika
  • ePaper

राणा र राजा फालेर ल्याएको लोकतन्त्र वाम गठबन्धनका कारण संकटमा : देउवा

प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरवहादुर देउवाले कम्युनिस्टहरुले झुटा नारा लगाएर कम्युनिस्ट शासन नेपालमा लाद्न खोजेको आरोप लगाएका छन् । अहिलेकोे निर्वाचनले जनताको भाग्य निर्धारण गर्ने बताउँदै देउवाले अहिले कम्युनिस्टहरुका नारामा नअलमलिन आग्रह गरे ।

उनले कांग्रेसले झुटा नारा लगाएर होइन कि वास्तविक रुपमै जनताको सेवक बनेर काम गर्न चाहेको दावी गर्दै बहुमतको सरकार आएपछि सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने, बेरोजगार युवालाई बेरोजगार भत्ता दिने र सुकुम्वासी समस्या समाधान गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे ।

कांग्रेस क्षेत्र नं. ५ रुपन्देहीले निर्वाचन क्षेत्र नं. ५ को सालझण्डीमा मंगलबार गरेको आम सभालाई सम्बोधन गर्दै कांग्रेसले राणा शासन र राजाको तानाशाही व्यवस्था फालेर ल्याएको लोकतन्त्र अहिले पुनः बाम गठवन्धनको नाममा संकटमा परेको भन्दै लोकतन्त्र बचाउन  कांग्रेसलाई बहुमत दिन आग्रह गरे ।

उनले मुलुक दुई ध्रवमा विभाजित भएको र वाम गठबन्धनको नाममा एमाले र माओवादीको कम्युनिस्ट तानाशाही शासन व्यवस्था लाद्ने दुष्प्रयास गरेको भन्दै कुनैपनि अवस्थामा पूरा हुन नदिन जनता सचेत हुनुपर्ने समय आएको बताए । विश्वमा कम्युनिष्ट तानाशाही शासन व्यवस्था सफल नभएको बताउँदै उनले नेपालमा बाम गठवन्धनको नाममा लोकतन्त्र समाप्त गर्न भैरहेको प्रयास कदाचित सफल नहुने उल्लेख गरे ।

प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले अहिले लोकतन्त्र बचाउन पनि कांग्रेससहितको प्रजातान्त्रिक शक्तिलाई बहुमतले विजयी वनाउन अनुरोध गरे । संसारभरी नै चिनिएको लुम्बिनीको विकासमा कांग्रेसले जोड दिएको भन्दै प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले रुपन्देही क्षेत्र नं. ५ मा कांग्रेसको विकास देखेर पनि कांग्रेसका उम्मेदवारलाई जनताले विजयी बनाउने विश्वास व्यक्त गरे ।

वाम गठबन्धनले देशलाई अनिष्टतर्फ धकेल्न खोजेः पौडेल

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठवन्धनका केपी ओली र प्रचण्डले कम्युनिष्ट शासन ल्याएर संविधान फेर्न खोजेको भन्दै वाम गठबन्धनले देशलाई अनिश्चिय र अनिष्टतर्फ धकेल्न खोजेको बताए ।

उनले अहिलेको जमाना कम्युनिस्टको नभै लोकतन्त्रको भएको बताउँदै दुनियाँबाट लोप हुन लागेको कम्युनिस्टलाई झुक्किएर पनि मतदान नगर्न अनुरोध गरे । कांग्रेसको नेतृत्वमा संविधान निर्माणपछि कार्यान्वयनको दिशामा अघि बढेको संविधानलाई बाम गठवन्धनले राजनीतिक विवाद र अस्थिरता ल्याएर भत्काउने प्रयास गरेको आरोप लगाउँदै उनले बाम गठवन्धनको प्रयास सफल नहुने बताए ।

कांग्रेसका महामन्त्री डा.सशांक कोइरालाले कम्युनिस्ट शासन व्यवस्था ल्याउने भन्दै बाम गठवन्धनले अहिले गरिरहेको प्रयास जनताले कदापि सफल हुन नदिने बताउँदै दुनियाँमा लोकतन्त्रको विकल्प नभएकोले जनताले लोकतान्त्रिक शक्तिलाई भारी बहुमतले विजयी वनाउने जिकिर गरे ।

उनले अव मुलुकमा राजनैतिक मुद्दा समाप्त भएर साँचो अर्थमा आर्थिक क्रान्ति गर्ने समय आएको वताउँदै लोकतान्त्रिक व्यवस्थामा मात्र आर्थिक क्रान्ति हुने भएकोले कांग्रेसलाई विजयी बनाउन अनुरोध गरे ।

वीपीले देखेको सपना पूरा गर्ने समय बल्ल आएको बताउँदै कोइरालाले लोकतन्त्रको माध्यमवाट आर्थिक क्रान्ति गरेर देशलाई सम्बृद्ध बनाउने र जनतालाई धनी वनाउने कांग्रेसको अभियानमा साथ दिन सवै नेपाली जनतासंग आग्रह गरे ।

कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक तथा कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँणले कम्युनिष्ट शासन आएमा देशमा अशान्ति, अस्थिरता र बेरोजगारी सिर्जना भई देश नै सिंगो जेलमा परिणत हुने जिकिर गरे । उनले संसारभर लोप हुन लागेको कम्युनिस्ट शासन नेपालमा ल्याउन खोज्नु मूर्खता रहेको बताउँदै विविधताले भरिएको देशमा तानाशाही व्यवस्थाको कल्पना गर्नु दिवास्वपना हुने वताए ।

कांग्रेसको खुला अर्थनीतिको विकल्प छैन ः  चौधरी

उद्योगपति विनोद चौधरीले कांग्रेसले २०४८ सालमा सरकारको नेतृत्व गरिरहँदा ल्याएको आर्थिक नीतिले देशलाई अहिलेसम्म पनि विकासको गतिमा डो¥याएको बताउँदै अझै अधुरो रहेको विकासका काम कांग्रेसको सरकारलाई बहुमत दिएर पूरा गर्न सवैसंग आग्रह गरे । लोकतन्त्रमा मात्र अर्थतन्त्र सुदृढ हुने बताउँदै उद्योगपति चौधरीले कांग्रेसको खुला अर्थनीतिको विकल्प अरु कुनै व्यवस्था हुनै नसक्ने दावी गरे ।

कांग्रेस रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधि सभाका उम्मेदवार भरत शाहले यस क्षेत्रका जनताले आफ्रूलाई दुई दुई पटक जिताएकोमा धन्यवाद ज्ञापन गर्दै अब फेरिपनि अधुरा रहेका विकासलाई पूरा गर्न र सुकुम्वासी समस्या समाधान गर्न आफूलाई विजयी बनाउन मतदाताहरुसंग अनुरोध गरे ।
कार्यक्रममा कांग्रेसकी नेतृ तथा केन्द्रीय सदस्य पुष्पा भुसाल, क्षेत्र नं. ५ क का प्रदेश सभाका उम्मेदवार विष्णु् पोखरेल, ५ ख उम्मेदवार फखरुद्दिन खाँ, कांग्रेसकी नेतृ अनिता शाह, रणवहादुर खनाल, राप्रपाका नेता दुर्गा खनाललगायतले बोल्दै लोकतान्त्रिक गठवन्धनलाई विजयी बनाउन आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु