जिल्लाका सबै मतपेटिका सदरमुकाम ल्याइयो, ३ तहकाे सुरक्षा घेरा र सिसि क्यामेराकाे निगरानी राखिँदै - Naya Patrika
eNaya Patrika
  • ePaper

जिल्लाका सबै मतपेटिका सदरमुकाम ल्याइयो, ३ तहकाे सुरक्षा घेरा र सिसि क्यामेराकाे निगरानी राखिँदै

पूर्वी पहाडी जिल्ला संखुवासभा जिल्लाको सबै मतपेटिका सदरमुकाम खाँदबारीमा संकलन गर्ने कार्य सकिएको छ । पहिलो चरणअन्तर्गत मंसिर १० मा सम्पन्न संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको जिल्लाभरिको मतपेटिका सदरमुकाममा संकलन गरिएको हो ।

जिल्लाको विकट दुर्गम क्षेत्र मानिने किमाथाङ्का, थुदाम, रिदाक, हटिया, चेपुवा, हुङगुङ र च्याम्ताङ लगायतका मतदान केन्द्रहरुको मतपेटिका सोमबार नै हेलिकाेपटर मार्फत ल्याउने प्रयास गरिएपनि मौसम खराब भएका कारण स्थगित भएका थिए ।

सदरमुकाम खाँदबारीमा सेनाको हेलिकप्टरबाट मतपत्र संकलन गर्दै । तस्बिर : नवीन गुरुङ/नयाँ पत्रिका

 उक्त क्षेत्रको मतपेटिका हेलिकाेप्टर मार्फत मंगलबार बिहान सदरमुकाम खाँदबारी ल्याइएपछि जिल्लाभरका मतपेटिका संकलन कार्य सकिएको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले जानकारी दिए । उनको अनुसार, विकट दुर्गम र सुरक्षा चुनौती देखिएका स्थानबाट नेपाली सेनाको हेलिकप्टरबाट मतपेटिका सदरमुकाम ल्याइएको हो ।

सुरक्षा चुनौती देखिएका भोटखोला गाउँपालिकामा रहेका किमाथाङका, थुदाम, रिदाक, हटिया, चेपुवा, हुङगुङ्र, च्याम्ताङ र सिलिचोङ गाउँपालिकामा रहेको खेम्पालुङ आधारभूत विद्यालय, गङथाला केन्द्र र मकालु गाउँपालिकामा रहेको दिपज्योती आधारभूत विद्यालय केन्द्र याफूको मतपेटिका नेपाली सेनाको हेलिकोप्टरबाट ल्याइएको बताए ।

संखुवासभामा एक सय तीन मतदान स्थलका एक सय ५३ मतदान केन्द्र रहेको छ । सबै मतदान केन्द्रहरुबाट मतपेटिका सदरमुकाम ल्याइसकिएको छ । सदरमुकाममा संकलित मतपेटिका जिल्ला समन्वय समितिको सभाहलमा राखिएको छ । मतपेटिका र अन्य सामग्रीहरु सीसी क्यामराको निगरानीमा राखिएको छ ।

सुरक्षा जिम्मा सशस्त्र, नेपाल प्रहरीलाई, राजनितिक दलका कार्यकर्ताहले पनि निगरानी गर्ने

मतगणना नहुँदासम्म मतपेटिकालगायतका सामग्रीको सुरक्षा जनपथ र सशस्त्र प्रहरीले गर्ने निर्णय भएको छ । मुख्य निर्वाचन अधिकृत राउतले प्रहरीसँगै राजनीतिक दलका प्रतिनिधिहरुपनि सँगै रहने व्यवस्था मिलाइएको जानकारी दिए । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा संखुवासभामा ६५ प्रतिशत मत खसेको थियो ।

एक लाख ५ हजार ८५ मतदाता रहेको संखुवासभामा ६९ हजार १ सय जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सोमबार बसेको मुख्य निर्वाचन अधिकृत, राजनीतिक दल, उम्मेदवार, सुरक्षा निकायसहितको सर्वपक्षीय बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकका मतपेटिका छुट्टा–छुट्टै स्थानमा राख्ने निर्णय गरेको थियो ।

उच्च सुरक्षा सतर्कताका साथ मतपेटिकालाई राख्ने र मंसिर २१ गते बेलुका ५ बजेपछि मतगनणा सुरु गर्ने सर्वदलीय सहमति भएको छ । मतपेटिका राखिएका कोठामा राजनीतिक दलले समेत आ–आफ्नो ताल्चा लगाउन मिल्ने गरी सहमति गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु