फेरियो भोट माग्ने शैलि (फोटो फिचर) - Naya Patrika
eNaya Patrika
  • ePaper

फेरियो भोट माग्ने शैलि (फोटो फिचर)

मंसिरको महिना किसानलाई धान थन्क्याउने चटारो छ । बिहान झिस्मिसेमै मेलापात गर्न घरबाट निस्किएका किसान साँझ घाम ढल्किसकेपछि मात्रै खेतबाट फर्किन्छन् । किसानका लागि वर्षभरी खान पुग्ने अन्नको जोहो गर्ने समय हो यो ।

यहीबेला निर्वाचन पनि नजिकिएकाले झापाका किसान बेलैमा बाली भित्र्याउन हतारमा छन् । धान पाकेका बेला निर्वाचन परेका कारण उनीहरु सभा सम्मेलनमा गएर उम्मेदवारका कुरा सुन्न भ्याउँदैनन् । गाउँमा आयोजित सभामा जमघट नबढेपछि उम्मेदवार पनि नयाँ शैलीले भोट माग्नमा व्यस्त छन् ।

धान काट्न, बिटा बाँध्न र कुन्यु लगाउनमा व्यस्त झापाका किसानलाई भेट्न उम्मेदवारहरु खेतमै पुगेरहेका छन् । खेतको काममा व्यस्त रहेका किसानलाई उम्मेदवारहरु काम सघाएझैँ पनि गर्छन् । र, भोट फकाउँछन् ।

मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत परिणाम आफ्नो पक्षमा पार्न झापामा प्रमुख दलहरुले भोट माग्न घरदैलो अभियानलाई तीव्र बनाएका छन् । तर, घरदैलोमा मतदाता नभेटिने भएकाले उनीहरु खेत–खेतमै भोट माग्न पुग्छन् । आफूले पनि सानैदेखि खेती किसानी गरेको दाबी गर्दै उम्मेदवारहरु हँसिया मागेर २÷४ गाँज धान पनि काटिदिन्छन् ।

चुनावी प्रतिस्पर्धा बढ्दै गएपछि उम्मेदवारहरुले भाषण गर्ने, घर–घरमा गएर भेट्ने तथा सञ्चार माध्यमबाट विज्ञापन पनि गर्ने गरेका छन् । अझ केही उम्मेदवारहरुले किसानका खेतमा गएर खेताला बन्नेदेखि घर रुँघेर बसेका बृद्धबृद्धालाई भेटेर आशीर्वाद समेत मागिरहेका छन् ।

कांग्रेसका तर्फबाट झापा क्षेत्र नम्बर ४ का लागि प्रतिनिधिसभाका उम्मेदवार देउमान थेवेले हालको गौरीगञ्ज गाउँपालिकाअन्तर्गत वडा नम्बर १ को महाभारा गाउँ पुगेर किसानसँगै आलु रोपेर भोट मागे । घरमा मतदाता नभेटिएपछि उनी खेतमा आलु रोप्दै गरेका किसानसँग पुगेर आफूले समेत आलु रोपेर भोट मागेका हुन् । थेवेसँगै रहेका प्रदेशसभा ‘क’ का उम्मेदवार किरण भट्टराईले पनि किसान सँगसँगै आलु रोपे ।

उनीहरुले सताक्षीधामको ग्रामीण क्षेत्रमा पुगेर धान काट्न व्यस्त रहेका किसानसँग खेताला बनेर धान काटेर पनि भोट मागे । सो क्षेत्रका लागि वाम गठवन्धनका तर्फबाट प्रदेशसभाका उम्मेदवार झलकसिंह दर्लामीले पनि त्यसै गरेर भोट माग्ने काम गरिरहेका छन् ।

झापा ५ ‘क’ बाट प्रदेशसभाका उम्मेदवार वाम गठबन्धनका हिक्मत कार्की पनि ग्रामीण क्षेत्रको आफ्नो निर्वाचन क्षेत्रमा धान काट्दै र धानका बिटा बोक्दै गरेका मतदातासँग खेतमै पुगेर आफूले भोट मागेको बताउँछन् । अझ उनले त गौरादह १ का १ सय ३ वर्षीय ललितबहादुर दहालसँग आशीर्वाद मागेर घरदैलो अभियानमा लागेका छन् ।

क्षेत्र नम्बर–१ का प्रतिनिधिसभाका कांग्रेस उम्मेदवार विश्वप्रकाश शर्मा पनि दिनभर ग्रामीण क्षेत्रमै भेटिन्छन् । उनले पनि किसानले धान काट्दै गरेका ठाउँमा पुगेर भोट माग्ने तथा बृद्धबृद्धाबाट आशीर्वाद लिइरहेका छन् । यसरी भोट माग्न नयाँ शैली अपनाउँदा केही उम्मेदवारले प्रशंसा पाएका छन् भने केहीले सामाजिक सञ्जालमा आलोचना पनि खेपेका छन् ।

क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी एमालेकी पवित्रा निरौला खरेलले पनि किसानलाई खेतबारीमा भेटेको, घर–घर पुगेर बृद्धबृद्धाको आशीर्वाद लिएको तस्बिर सामाजिक सञ्जालमा राखेकी छिन् । एमालेका तर्फबाट क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ का उम्मेदवार एकराज कार्की र ‘ख’ का उम्मेदवार विर्ख प्रधानले पनि पवित्राकै शैली पछ्याइरहेका छन् । भोट माग्न किसानसमक्ष पुगेका उम्मेदवारले आफूले जितेमा पहिलो काम कृषि क्षेत्रमै गर्नेसमेत आश्वासन बाँड्ने गरेका छन् ।

       

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु