घरघरमा जाने काम पनि पर्छन् । तिनले टोलमा समूह पाए भने भाषण पनि गर्छन् ।
eNaya Patrika
  • ePaper

निर्वाचनमा सामाजिक इन्जिनियरिङ

देशमा निर्वाचनको मौसम छ । जताततै राजनीतिक दलका नेता–कार्यकर्ता सक्रिय छन् । तिनको सक्रियतामा समूह बनाएर गाउँ या नगरका टोलटोल या घरघरमा जाने काम पनि पर्छन् । तिनले टोलमा समूह पाए भने भाषण पनि गर्छन् । कुनै मतदाताले केही प्रश्न सोधे भने उत्तर पनि दिन्छन् । घरघरमा प्रायः नमस्ते मात्र गर्दै हिँड्छन् । केही ठाउँमा वडास्तरीय भेला या सभा आयोजित हुन्छन् । कतै ठूला सभा पनि हुन्छन् । जति ठूला सभा, त्यति ठूला नाम चलेका नेता भाषण गर्न जान्छन् । पमप्लेट छापेर वितरण गर्छन् । चिठी बाँड्छन् । रेडियो, अन्तर्वार्ता, टिभी र पत्रपत्रिकामार्फत पनि विचार व्यक्त गर्छन् । सामाजिक सञ्जाल त अहिले मुख्य प्रचार सारथि बनेकै छन् । यी सबैमा खासखास दलका उम्मेदवारले एकातिर आफ्नो दलका विकासे सपना बाँड्ने गरेका छन् । स्वाभाविकै हो, गाउँ सहर जताततै मानिस आआफ्नो क्षेत्रको पूर्वाधार विकास होस् भन्ने चाहन्छन् । अर्कातिर व्यक्ति या परिवारका चासोमा पनि उम्मेदवार या दलहरूको चासो जान्छ । उनीहरू हरेक परिवारलाई मिलेसम्म व्यक्तिगत फाइदा दिएर केही मत तान्न सके तान्ने प्रयास गर्छन् । यस्तोमा पैसाको वितरण पनि पर्छ । जागिर लगाइदिने विषय पनि पर्छ । पढ्न सहयोग गर्ने विषय पनि पर्छ । यी प्रयासले दलहरूले आफ्नो मत आधार विस्तार गर्छन्, संगठन र प्रभाव क्षेत्र विस्तार गर्छन् र मत बटुल्छन् ।

निर्वाचनको नाममा भयका माध्यमबाटै मतदातालाई गोलबन्द गर्ने सामाजिक इन्जिनियरिङ यतिवेला निकै खतरनाक ढंगले फैलाइँदै छ

तर, यो प्रचारको अर्को अलि नकारात्मक पाटो पनि छ, जसलाई हरेक उम्मेदवार र दलले हतियार बनाउने गरेका छन् । दलहरूले आफ्नो प्रचारका माध्यमबाट आफू मात्र ठीक र प्रतिद्वन्द्वीहरू सबै खराब भन्ने सन्देश दिन प्रयास गर्छन् । यसो गर्दा तिनले प्रतिपक्षी उम्मेदवार र दलको सकेसम्म नकारात्मक कुरा उधिनेर प्रचार गर्छन् । यस्तो प्रचारका माध्यमबाट मतदातामा यस्तो मनोविज्ञान निर्माण गरिन्छ, भयको सञ्चार गरिन्छ कि सो विचारबाट प्रभावित साधारण मतदातालाई लाग्छ यो दलले जितेन या अर्को दलले जित्यो भने आफ्नो परिवार र समाज सबैलाई नोक्सान नै नोक्सान मात्र पुग्छ । यस्तो भयका माध्यमबाटै मतदातालाई गोलबन्द गर्ने सामाजिक इन्जिनियरिङ यतिवेला निकै खतरनाक ढंगले फैलाइँदै छ ।

उदाहरणका लागि कांग्रेसले भन्ने गरेको एउटा नारा लिन सकिन्छ । कांग्रेसका नेताले भाषण गर्ने गरेका छन् कि वामपन्थी गठबन्धनले जित्यो भने अधिनायकवाद आउँछ । प्रधानमन्त्री देउवाले त यस्तो सरकार आयो भने रुन पनि नपाउने अवस्था आउने भविष्यवाणी गरेका थिए । यो सरासर मतदाताको मनोविज्ञानलाई भ्रममा पारेर भयग्रस्त बनाउने र आफ्नो प्रभाव टिकाउने या फैलाउने मनसायले भनिएको हो भन्ने धेरैलाई थाहा छ । तर, त्यो नारा तलतलसम्म साँच्चै हो कि झैं प्रचार गरिएको छ । यसैगरी वामपन्थी गठबन्धनका उम्मेदवारले कांग्रेस सत्तामा आयो भने वृद्धभत्ता खोस्छ या चीनले बनाइदिन्छु भनेका आयोजना रोकिन्छन्, भनेर अर्को भय सिर्जना गराएका हुन सक्छन् । दुवै पक्षले जे गरिरहेका छन्, त्यसले निर्माण गर्ने सामाजिक मनोविज्ञानले विषयको वास्तविक तहमा पुगेर बुझ्ने अवस्था नियन्त्रण गर्छन् । स्वतन्त्र छनोटको सिद्धान्तका दृष्टिले यो निकै जोखिमपूर्ण छ । यसतर्फ आलोचनात्मक समीक्षाको खाँचो देखिन्छ ।

तपाईको प्रतिक्रिया