श्रीलंकाविरुद्ध भारतको उच्च स्कोर - Naya Patrika
eNaya Patrika
  • ePaper

श्रीलंकाविरुद्ध भारतको उच्च स्कोर

कोहलीले हाने दोहोरो सतक –

विराट कोहलीको कीर्तिमानी दोहोरो शतक तथा अन्य तीन खेलाडीको शतकमा पाहुना टोली श्रीलंकाविरुद्ध भारतले जारी दोस्रो टेस्टको पहिलो इनिङमा ६ सय १० रनको उच्च योगफल तयार पारेको छ । तेस्रो दिन नै दोस्रो इनिङ सुरु गरेको श्रीलंकाले २१ रन बनाउँदा एक विकेट गुमाएर क्रिजमा संघर्ष गरिरहेको छ । भारत ४ सय ५ रनले अघि छ ।

पहिलो इनिङमा उत्कृष्ट प्रदर्शन गरेको भारतका चार ब्याट्सम्यानले शतकीय इनिङ खेले । भारतका लागि कप्तान विराट कोहलीले २ सय १३ रन बनाउँदा चेतेश्वर पुजाराले १ सय ४३ तथा मुरली विजयले १ सय २८ र रोहत शर्माले अविजित १ सय २ रनको इनिङ खेले । कोहलीले कप्तानका रूपमा पाँचौँ दोहोरो शतक पूरा गर्दा २ सय ६७ बलमा १७ चौका र दुई छक्का प्रहार गरे ।

१ सय ७३ रनको साझेदारी
एक वर्षभन्दा लामो समयपछि टेस्टमा देखिएका रोहित शर्माले पनि श्रीलंकाविरुद्ध सानदार प्रदर्शन गरे । शर्माले १ सय ६० बलमा ८ चौका र १ छक्काको मद्दतमा १ सय २ रनको अविजित इनिङ खेले । कोहली र शर्माले पाँचौँ विकेटका लागि १ सय ७३ रनको साझेदारी गरे । शतकीय साझेदारीपछि तथा कप्तान कोहली आउट भएपछि भारतले ६ विकेट गुमाएर ६१० रनमा इनिङ समाप्तिको घोषणा ग¥यो । कोहलीले चेतेश्वर पुजारासँग पनि तेस्रो विकेटका लागि १ सय ८३ रनको साझेदारी गरे । भारतका लागि एकै इनिङमा ४ खेलाडीले शतक जोडेको यो तेस्रो खेल हो ।

लाराको कीर्तिमान बराबरी
भारतीय कप्तान विराट कोहलीले कप्तानका रूपमा पाँचौँ दोहोरो शतक जोड्न सफल भए । उनले वेस्ट इन्डिजका महान् ब्याट्सम्यान ब्रायन लाराले कप्तानका रूपमा बनाएको पाँच दोहोरो शतकको कीर्तिमानसँग बराबरी गरे ।

साथै कोहलीले १ सय ३० बलमा १० चौका प्रहार गर्दै आफ्नो करिअरको १९औँ टेस्ट शतक पूरा गरे । कप्तानका रूपमा १२ शतक जोड्दै सुनील गावस्करको ११ शतकलाई पछि पार्दै भारतको तर्पmबाट कप्तानका रूपमा सर्वाधिक धेरै टेस्ट शतक बनाउने खेलाडी बन्न पनि कोहली सफल भए । कोहलीले पहिलो शतक चेतेश्वर पुजारासँग र अर्को शतक रोहित शर्मासँग पूरा गरे ।

श्रीलंकाको खराब सुरुवात
चौथो दिन दोस्रो इनिङ सुरु गरेको श्रीलंकाले खराब सुरुवात गर्‍यो । खेलको दोस्रो बलमा सदीरा समरविक्रमलाई शून्यमा गुमाउँदा टिम दबाबमा पर्‍यो । समरविक्रमको विकेट इशान्त शर्माले लिएका थिए । श्रीलंका ८.४ ओभरमा एक विकेट गुमाएर क्रिजमा रहेको छ । श्रीलंकाका करुणारत्ने ११ रनमा अविजित रहेका छन् भने लाहिरू थिरमाने ९ रनको अवस्थामा क्रिजमा छन् । यसअघि पहिलो इनिङमा श्रीलंकाले २ सय ५ रन बनाएको थियो ।

श्रीलंकन बलर निरीह
भारतविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा कुनै पनि श्रीलंकन बलरले उत्कृष्ट बलिङ गर्न सकेनन् । श्रीलंकाको तर्फबाट दिलरुवान परेराको तीन विकेट नै ठूलो सफलताका रूपमा रह्यो । परेराले तीन विकेटका लागि २ सय २ रन खर्चिए । त्यस्तै रंगना हेराथले ८१ रन दिएर १ विकेट लिँदा लाहिरू गमागेले ९७ रन दिएर १ विकेट लिए भने दासुन सनकाले १ सय ३ रन दिएर १ विकेट लिए ।

तपाईको प्रतिक्रिया