माओवादी केन्द्र नै र बाँकी अरू पनि कम्युनिस्ट पार्टीको सारतत्वबाट स्खलित छन् ।
eNaya Patrika
  • ePaper

वाम कोणबाट वाम गठबन्धन

इतिहास जसरी गुज्रे पनि शास्त्रीय माक्र्सवादी कोणबाट आज न एमाले, न त माओवादी केन्द्र नै र बाँकी अरू पनि कम्युनिस्ट पार्टीको सारतत्वबाट स्खलित छन् । इतिहासबाट शिक्षा लिने र इमानदार हुने हो भने एमाले र माओवादी केन्द्र मिलेर नयाँ वाम पार्टी बन्न सक्ने आधार अझै बा“की छ, तर आज हाम्रो मुलुकमा कुन शक्ति र व्यक्तित्व दक्षिणपन्थी हो र कुन शक्ति र व्यक्तित्व वाम हुन् भनेर छुट्याउनै मुस्किल छ । यस अर्थमा नेपालका नामका कम्युनिस्ट पार्टीहरू वाम पहिचानको संकटमा फसेका छन् । वाम पहिचानका लागि एमाले र माओवादी केन्द्र पार्टी एकता गर्ने उद्देश्यसहित चुनावी गठबन्धनको बाध्यतामा उभिएका हुन् । यदि इमानदारीपूर्वक वाम गठबन्धन वाम चरित्रमा उठ्ने हो भने निम्न विषय कसी बन्नुपर्छ भन्ने निष्कर्ष पंक्तिकारको छ :

१. पार्टी एकता गर्ने उद्देश्यलाई अन्यथा नमाने पनि हतारमा, लुकिछिपी वा विचारको बहसविना अथवा गन्तव्य र कार्यनीति तय नगरी न पार्टी एकता सम्भव छ, न त एकता नै टिक्छ । समाजवादमा जान, पुग्न न अहिलेको पार्टी धरातल (सोच्ने तरिका र चरित्रका हिसाबले बुर्जुवाकरण भएको) बाट सम्भव छ, न त संसदीय चुनावबाटै । त्यसो त नेपालमा गैरकम्युनिस्ट शक्तिबाट समाजवादको यात्रा चिताएको विषय रहेन । यसका लागि वास्तविक कम्युनिस्ट पार्टी निर्माणको उद्देश्यसहित अहिलेलाई वाम पार्टी बनाउने आँटको आवश्यकता देखिन्छ, जसले श्रमिक वर्गलाई राज्यको नेतृत्वमा पुर्‍याउने दृष्टिकोण, आधारभूत तहका जनताको जीवनमा गुणात्मक विकास र यही वर्गको विशाल जगमा खडा कम्युनिस्ट पार्टी निर्माणको लक्ष्य राखोस् । कृषिको आधुनिकीकरणभन्दा अघि वास्तविक किसानलाई जमिनको मालिक, जमिनको सही उपयोगमार्फत् कृषिमा आत्मनिर्भर, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाजस्ता सेवाका क्षेत्रमा राज्यनियन्त्रित अर्थतन्त्र वामशक्तिको न्यूनतम नीति हो । उपर्युक्त विचार र नीतिका अलावा नेता–कार्यकर्ताको जीवन, व्यवहार र दैनिकीमा वाम चरित्र झल्कँदा मात्र विश्वास जाग्छ र पार्टी एकता सम्भव हुन्छ । के हामी यो परीक्षामा खरो ढंगले उत्रन सक्छौँ ?

२. हाम्रो देशका सबै राजनीतिक पार्टी निजी कम्पनी जस्ता छन्, जुन संरचनाले नेतृत्वमा क्षमताको केन्द्रीकरण रुचाउँदैन । सामूहिक निर्णय प्रणाली अवलम्बन गर्दैन । एउटा नेताले भनिदिएको कुरा, गर्दिएको आदेश नै पार्टीको नीति र निर्णय हुने सामन्ती चलन कम्युनिस्ट पार्टीमा पनि सघनतामै छ । कार्यविभाजनबाट प्राप्त ज्ञान, अनुभव र स्रोत संस्थागत गर्ने र उपयोग गर्ने पद्धति हुँदा पार्टीका कार्यकर्ता जो–जहाँ बसेर काम गर्न राजी हुन्छन् । तर, यसो नहुँदा सबैलाई सांसद, मन्त्री र प्रधानमन्त्री चाहिएको छ, जहाँबाट निजी सम्पत्ति थुपार्न सकियोस् । कम्युनिस्ट पार्टीको सदस्य हुने तर सांसद र मन्त्री बन्नका लागि रुने, कराउने र बिचौलिया प्रयोग गर्ने, ठमेल, सुन्धारा र गोंगबुका होटल महिनौँ भरिने, खासखास नेताका घर चाहर्ने र उसलाई जे गरेर हुन्छ, खुसी बनाउने तथा पार्टीले पनि यस्तै प्रक्रिया र पात्र रुचाउने आजको नांगो सत्य पार्टीहरू संस्थागत नहुनाका परिणाम हुन् । के हामी पार्टीलाई संस्थागत रूपमा चलाउन सक्छौँ ? पार्टी पद्धतिले कुन कार्यकर्ता कहाँ कसरी काम गरिरहेको छ भनेर लेखाजोखा गर्न सक्छौँ वा पार्टी आन्दोलनद्वारा प्राप्त ज्ञान, अनुभव र स्रोत सबै कार्यकर्ताको साझा हकका रूपमा वितरण गर्न सक्छौँ ? सक्छौँ भने आन्दोलन वाम दिशातिरै अघि बढ्छ । अन्यथा हामी निजी स्वार्थका लागि चोचोमोचो मिलाउनेमा सीमित हुन्छौं ।

३. वाम कोणबाट सोंच्ने र पाइला चाल्ने हो अथवा कम्युनिस्ट पार्टी बनाउने र समाजवादतिर सोझिने हो भने पार्टीमा मान्छेहरू प्रवेश गर्ने तरिका, नवप्रवेशीलाई निश्चित दुरीमा राखेर दीक्षित र परिक्षण गर्ने विधि एवं पुराना वर्ग धरातललाई भत्काएर कम्युनिस्ट नैतिकता र संस्कारमा विकसित गर्ने पद्धतिमा चल्नुपर्छ, जुन आधारभूत प्रश्न हुन् । तर, हामीले एकै रातमा मुख्यतः चुनाव जित्न मान्छे चाहिन्छ भन्ने नाममा जसरी जस्ता मान्छे पनि हुल्ने, अँगालो हाल्ने र टाउकोमा पुर्‍याउने, राख्ने प्रक्रिया जारी राखेका छौँ, यसले हामीलाई संसदीय गोलचक्करमै सीमित गर्छ । चुनाव जित्न हजारथरी रुपान्तरण र विकासे सपना भट्याउने, आन्दोलनलाई चुनावदेखि चुनावसम्म सुताउने र वाम खोलमा दाम कमाउने दाउ हो भने वाम गठबन्धन मुलुक र जनताका लागि अभिशाप हुनेछ ।

४. राजनीतिक पार्टीका मुख्य नेता नातावादमा डुबे भन्ने आलोचना सार्वभौम नियमजस्तै बनेको छ । नियमित पार्टी जीवन मुख्यतः खासखास मोडमा यो विषय सतहमा आउने र स्वयं नेतालाई कमजोर बनाएर आन्दोलनलाई भ्रमित गर्ने माध्यम बनेको छ नातावाद । चुनावमा गरिएको टिकट वितरण र समानुपातिकको बन्दसूचीमा परेका नाम हेर्दा यो विषय भद्दा मात्र होइन, स्वाभिमानी पार्टी कार्यकर्ता र नागरिकको शिर निहुरिएकै छ । नेताको नजरमा पर्नुपर्ने, कुमारभन्दा गणेशप्रवृत्ति रोज्नुपर्ने अथवा राजनीतिक खानदानमा जन्मनु वा विवाह गर्नुपर्ने स्थितिले वामदिशा दक्षिणमै गएर विसर्जन हुन्छ । नातावादले राजनीतिलाई अकुत पैसा कमाउने पेसा बनाउने बुझाइ र व्यवहारसँग जोडेको छ । यसैका लागि श्रीमान्–श्रीमती पालैपालो मन्त्री बन्ने, सांसदको टिकट श्रीमान्–श्रीमती छोरा–बुहारी, ज्वाइँ–छोरी अथवा आफन्त (व्यापारिक साझेदार पनि) लाई दिएपछि बचेको हिस्सा जनस्तरका कार्यकर्तालाई दिने आजको चित्रले गन्तव्यप्रतिको इमानदारीमा शंका उब्जाएकै छ । विधिले तलसम्मका कार्यकर्ता खोज्ने, इतिहास, इमानदारी र क्षमताअनुसार कार्यविभाजन गर्ने, परिवारका सदस्य आन्दोलनमा समकक्षी हुँदा दुई वा बढीले एकैपटक लाभको पद लिने विषयलाई नैतिकताको प्रश्न बनाउने तरिका वामकोण हो । यसरी मात्र परिवारवादको आलोचनालाई कम गर्न र आम पंक्तिमा नयाँ विश्वासको सञ्चार वामशक्तिले गर्न सक्छ ?

विज्ञताको नाममा वा आफ्नो क्षेत्रको स्वार्थ कानुन बनाउने ठाउँमा प्रत्यक्ष पुर्‍याउने नाममा उद्योगी, व्यापारी र ठेकेदारले बोराका बोरा पैसा बुझाएर संसद्को टिकट लिने वा समानुपातिकको स्थान सुरक्षित गर्ने काम वाम उद्देश्यसँग पूरै टकराएको छ, जुन वाम गठबन्धनभित्र पनि प्रवेश गरेको देखिन्छ

५. राजनीतिक पार्टीका नेता–कार्यकर्ता विज्ञताविनाका विज्ञ बन्छन् र पार्टीभन्दा बाहिरका विज्ञबाट विषयगत सल्लाह लिन जरुरी ठान्दैनन्, जसको परिणाम राजनीति गुणस्तरीय हुन सकेन भन्ने आलोचनाको अर्को पाटो हो । यो विषय सही हो कि हामी पार्टीका कार्यकर्ता विज्ञता आवश्यक ठान्दैनौँ र अंशगत रूपमा आवश्यक ठाने पनि त्यसलाई औपचारिकतामा सीमित गरिदिन्छौँ । एउटै व्यक्ति सबै विषयको विज्ञ सायदै दुनियाँमा छ तर हामी राजनीतिक पार्टीका नेता–कार्यकर्ता सबै विज्ञता आफैँभित्र भएको अभिनय गर्छौं । राजनीतिभित्रको यो वास्तविकताले आलोचना मात्र खेपेको छैन कि धेरैलाई विकर्षितसमेत गरेको छ । वाम गठबन्धनले आफ्ना कार्यकर्तालाई विषयविज्ञ बनाउने दिशालाई दृढतापूर्वक समात्नुपर्छ । यो प्रक्रियाले राजनीतिक कार्यकर्तालाई योग्य बनाउँछ र पार्टीको कामलाई (सरकारको पनि) विश्वाससाथ माथि उठाउँछ । योग्य कार्यकर्ता; आन्दोलनले हार खाँदा वा लामो बाटो तय गर्नुपर्दा न निराश हुन्छ, न त पार्टीको जनसम्बन्ध र काम नै कमजोर । अर्को पाटो पार्टीभित्र विज्ञको अभाव छ भने पार्टीबाहिरका त्यस्ता विज्ञको सल्लाहमा चल्ने पद्धतिलाई पार्टीले जीवन बनाउने हो भने समाजका त्यस्ता विज्ञ स्वाभिमान बेचेर सांसद र मन्त्री बन्नका लागि मरिहत्ते गर्ने संस्कार पनि अन्त्य हुनेछ । विज्ञ बन्ने र विज्ञताबाट चल्ने प्रक्रिया वाम कोणबाट आवश्यक र सम्भव दुवै छ । के हामी यसो गर्न सक्छौँ ?

६. जनप्रतिनिधि छान्ने चुनावमा अनावश्यक आर्थिक चलखेल र असीमित खर्चको मात्रालाई रोक्न सकिएन भने या त चुनाव वामशक्तिको हातबाट अन्यत्र जानेछ कि त वाम प्रतिनिधि पूरै बुर्जुवाकरण हुनेछन् । विज्ञताको नाममा वा आफ्नो क्षेत्रको स्वार्थ कानुन बनाउने ठाउँमा प्रत्यक्ष पुर्‍याउने नाममा उद्योगी, व्यापारी र ठेकेदारले बोराका बोरा पैसा बुझाएर संसद्को टिकट लिने वा समानुपातिकको स्थान सुरक्षित गर्ने काम वाम उद्देश्यसँग पुरै टक्कराएको छ जुन वाम गठवन्धनभित्र पनि प्रवेश गरेको देखिन्छ । यो घिनलाग्दो प्रक्रिया दक्षिणपन्थीले सच्याउँदैनन्, तर वामशक्तिले सच्याएर वाम दिशा दिन जरुरी छ । टिकट लिन पैसा बुझाउनुपर्ने, टिकट पक्का गर्न बिचौलिया प्रयोग गर्नुपर्ने, टिकट पाएपछि ट्रकमा पैसा बोकेर निर्वाचन क्षेत्रमा जानुपर्ने र दलाल पुँजीवादका प्रतिनिधिसँग श्रमिक प्रतिनिधिले प्रतिस्पर्धा गनुपर्ने बाध्यता वा संस्कार वामकोणसँग मेल खाँदै खाँदैन । नवधनाध्य, कर्पोरेट, दलाल र ठेकेदारबाट राजनीति सुरक्षित गर्न वामशक्तिले आफैँभित्रबाट सुरुवात गर्दा मात्र हामीले वाम दिशासहित कम्युनिस्ट पार्टी बनाउने आधार निर्माण गर्न सक्छौँ ।

७. विगत सात दशकको नेपाली राजनीति अस्थिर, संक्रमणकाल र व्यवस्था अदलीबदलीको अवधि रह्यो । जसका कारण जनताको जीवन कष्टकर बन्दै गयो, मुलुक कमजोर हुँदै गयो र छिमेकी एवं अन्य देशले हेप्ने अवस्था आयो । गणतन्त्र, धर्म निरपेक्षता र समानुपातिक-समावेशिक शासन प्रणाली प्राप्त भएको स्थितिमा देशलाई सही दिशा दिन नयाँ दृष्टिकोण, योजना, प्रतिबद्धता र इमानदारी आवश्यक देखिन्छ, जुन वामशक्तिबाट जति अपेक्षा गर्न सकिन्छ, अरूबाट सकिँदैन । राजनीतिक स्थिरताको अपेक्षा पूरा गर्न वाम गठबन्धन सही निर्णय नै हो । विगत सत्तरी वर्षमा एउटा पनि सरकार पाँच वर्षको आफ्नो अवधि पूरा गर्न सकेन । गणतन्त्रपछिको दश वर्षमा दशवटै सरकार मुलुकले व्यहोर्‍यो भने संविधान घोषणापछिको दुई वर्ष ६–६ महिनामा सरकार बनाउने र भत्काउने खेलमा राजनीति केन्द्रित भयो । यो राजनीतिक अस्थिरताको गज्जबको उदाहरण हो ।

इतिहासमा कांग्रेसले २–३ पटक सुविधाजनक बहुमत प्राप्त नगरेको होइन, तर उसले त्यो अवसरलाई आफैँभित्रको स्वार्थले मुलुकको हितमा उपयोग गर्न सकेन । नेपालका वामशक्तिले अल्पमत वा गठबन्धन सरकारको नेतृत्व त गर्‍यो, तर प्रतिपक्षको अधैर्यको कारण कुनै पनि सरकारले वर्ष दिन टिक्न पाएन । इतिहासका सबै नकारात्मक शिक्षासहित संविधान घोषणापछिको पहिलो निर्वाचनमार्फत सुविधाजनक बहुमत र पाँच वर्षसम्म वामशक्तिको स्थिर सरकार दिने उद्देश्यका लागि वाम गठबन्धन बन्न आवश्यक थियो । यसले वाम कार्यकर्ता र जनता मात्र होइन, बहुसंख्यक सर्वसाधारण जनता र व्यक्तित्व आशावादी र आकर्षित हुनु मुलुकका लागि सुखद संकेत हो । तर, माथिका आशा र आवश्यकता पूरा गर्न वामण्शक्ति वामकोणबाटै इमानदार हुनुपर्छ । सामूहिक निर्णयअनुसार जुन नेता प्रधानमन्त्री भए पनि संस्थागत रुपमा कार्यसम्पादन गर्ने, समकक्षीले आफू हुनुपर्ने रहेछ भनेर र्‍याल नकाड्ने गरी काम गर्ने तत्परता देखाउनु नै वामशक्तिको आयु निर्धारण गर्ने मुख्य पक्ष हुन् ।

८. राजनीतिक स्थिरता एवं इमानदारी र समृद्धि अन्तरसम्बन्धित पक्ष हुन् । राजनीतिक संक्रमणकाल, अस्थिरता र संस्थागत भ्रष्टाचारले देशको आर्थिक अवस्था निकै नै नकारात्मक बनेको छ । नेपाल दक्षिण एसियामा दोस्रो भ्रष्ट देशका रूपमा दर्ज छ । विश्वका पच्चीस अति निर्धन देशमध्ये नेपाल पछाडिबाट ८औँ स्थानमा छ । आज पनि झन्डै एक चौथाइ (२३ प्रतिशत) जनताको दैनिक आय एक डलर पनि छैन, जुन अति गरिबीको रेखामुनिको जीवन हो । आधाभन्दा बढी (५६ प्रतिशत) जनताको दैनिक आय दुई डलर पनि छैन, जुन गरिबीको रेखामुनिको जीवन हो । हाम्रो देशको आयात–निर्यात (९१.७-८.३%) को स्थिति डरलाग्दो छ, जसले ७०३ अर्ब व्यापार घाटा निम्त्याएको छ । देशको बजेटै सानो आकारको हुनु, यसमध्ये बहुमत हिस्सा प्रशासनिक खर्चमा जानु र विकास बजेटको जम्मा ५३.५ प्रतिशत मात्र खर्च गर्न सक्ने राज्य सम्यन्त्र हुनु हाम्रा नकारात्मक पक्ष हुन् । यी तथ्यांकले देशको आर्थिक अवस्था खतरातिर अघि बढिरहेको जनाउँछ, जुन समृद्धिविपरीत अवस्था हो । यसकारण वामशक्तिको बहुमतको सरकार र स्थिर राजनीतिमार्फत हामीले उत्पादन (कृषिमा आत्मनिर्भर र जलविद्युत्) बढाउने र आयात घटाउने, गरिबीको रेखामुनि रहेका जनता लक्षित आर्थिक नीतिमार्फत् गरिब र धनीबीचको दूरी घटाउनेलगायत एकस्तरको पूर्वाधार निर्माणका काम पहिलो पाँच वर्षमा गर्न सक्दा मात्र वाम गठबन्धनको आवश्यकता पुष्टि हुन्छ र आयु लम्बिन्छ ।

९. राजनीतिक स्थिरता र आर्थिक विकासविना हाम्रो जस्तो देशले न आफ्नै माटो र आवश्यकतामा टेकेर स्वतन्त्रतापूर्वक निर्णय गर्न पाउँछ, न त देशको परिचयलाई नयाँ ठाउँमा उठाउन नै सकिन्छ । आयातमुखी अर्थतन्त्र, कहालीलाग्दो छिमेकीसँगको व्यापारघाटा, भ्रष्ट एवं विपन्न देश र जनताको जीवन जीवनजस्तै नहुँदाको आजको स्थितिमा राष्ट्रियता स्वतः कमजोर हुँदै गएको देखिन्छ । जनप्रतिनिधिले संविधान बनाएर घोषणा गरेको अवस्थामा हामीले छिमेकीबाट नाकाबन्दी व्यहोर्नुपर्‍यो । जसले थप सात लाख जनतालाई गरिबीको रेखामुनि धकेल्यो, साना–ठूला बाइस सय उद्योग बन्द भए र दुई लाख मजदुर बेरोजगार बनाइए ।

यसकारण पनि राजनीतिक स्थिरताको जगमा समृद्ध, समृद्धिको जगमा सुखी जनता र सुखी जनताको जगमा राष्ट्रियताको नयाँ परिभाषा अबको दिशा हो । यो दृष्टि र दिशाको नेतृत्व वामशक्तिले मात्र गर्न सक्छ तर यसका लागि वामशक्ति वामकोणबाट रूपान्तरण हुनुपर्छ ।
(न्यौपाने माओवादी केन्द्रका सचिवालय सदस्य हुन्)

तपाईको प्रतिक्रिया