इरानको बढ्दो प्रभावविरुद्ध वास्तविक सहयोगीका रूपमा अगाडि आइरहेका छन् ।
eNaya Patrika
  • ePaper

साउदी–इजरायल मित्रतामा इरानको टाउको दुखाइ किन ?

सम्पूर्ण उद्देश्य तथा व्यवहारका आधारमा हेर्ने हो भने साउदी अरब तथा इजरायल मध्यपूर्वमा इरानको बढ्दो प्रभावविरुद्ध वास्तविक सहयोगीका रूपमा अगाडि आइरहेका छन् । अहिले दुवै देशबीच सम्बन्ध विकसित भइरहेको छ । तर, यो अत्यन्त संवेदनशील मोड हो । दुवै देशबीच सम्बन्धलाई लिएर हरेकपटक यस्तो लाग्छ, केही त विशेष पक्कै भइरहेको छ ।

पछिल्लो साता इजरायलका सेनाप्रमुख जनरल गडी आइजेनकोटले बेलायतस्थित एक साउदी पत्रिका एलाफलाई दिएको अन्तर्वार्तामा बताएका थिए कि इजरायल इरानविरुद्ध साउदीसित गोप्य सूचना साझा गर्न तयार छ । उनले अगाडि भनेका थिए– दुवै देशका साझा हित छन् । मध्यपूर्वमा इरान हाम्रा लागि चिन्ताको विषय हो र हामी यसका लागि साथमा मिलेर लड्न तयार छौँ ।

यसको केही दिनपछि फ्रान्सको राजधानी पेरिसमा एक कन्फ्रेन्सपछि साउदीका पूर्वन्यायमन्त्री मुहम्मद बिन अब्दुल करिम इस्साले इजरायली पत्रिका मारिवसित भनेका थिए– कुनै पनि हिंसा या आतंककारी गतिविधिलाई कुनै इस्लामको नाममा सही ठहर्‍याउन सकिन्न । यस्तो कहीँ पनि हुनु हुँदैन ।

अरब संसारमा इजरायलविरुद्धको आक्रमणको आलोचना बिरलै हुने गर्छ । यसको ठीक दोस्रो दिन इजरायलका एक पूर्ववरिष्ठ सैनिक अधिकारीले लन्डनमा साउदीका दुई राजकुमारसित कुराकानी गरेका थिए । दुवै राजकुमारले अब इजरायल उनीहरूको दुस्मन नभएको बताएका थिए । साउदी र इजरायलबीच बढ्दो सम्बन्धमा कुनै संयोग या दुर्घटना जिम्मेवार छैन । दुवै देश यस मार्गमा सतर्कतासाथ अघि बढिरहेका छन् र इरानलाई चेतावनी दिइरहेका छन् ।

इरानको खतरा
साउदी र इजरायलबीच अहिले जुन सम्बन्ध विकसित भइरहेको छ, त्यो परिस्थितिजन्य सम्बन्ध मात्र हो । २००३ मा अमेरिकाको नेतृत्वमा सहयोगी देशले इराकमा सद्दाम हुसेनको शासन अन्त्य गरिदिएका थिए । सद्दाम हुसेनको मृत्युपछि सुन्नी अरबमा इरानको प्रभुत्व बढेको छ । यसको परिणामस्वरूप इराकमा सिया प्रभुत्ववाला नेतृत्वको इरानसित निकट सम्बन्ध कायम भयो । यो कुनै संयोग होइन कि इराकी सिया लडाकु सिरियामा बसर अल असदको समर्थनमा कथित इस्लामिक स्टेटविरुद्ध लडिरहेका छन् । सिरियामा जारी गृहयुद्धमा इरानले राष्ट्रपति बसर अल असदको समर्थन गरिरहेको छ ।

ट्रम्प फ्याक्टर
अमेरिकामा ट्रम्पको आगमनबाट यस क्षेत्रमा निकै परिवर्तन आएको छ । यस क्षेत्रमा इरानको उदय एक मात्र समस्या होइन । यसलाई बुझ्नका लागि अन्य जटिल परिस्थितिमाथि पनि विचार गर्नुपर्छ । यसमा पहिलो परिस्थिति हो, अमेरिकामा डोनाल्ड ट्रम्प आउनु र अरब संसारमा सत्ता उलटपलटका साथ सिरिया भयंकर गृहयुद्धको चपेटामा पर्नु । सर्सर्ती हेर्दा यस्तो लाग्छ कि ट्रम्प प्रशासनबाट साउदी अरब र इजरायललाई कुनै गुनासो छैन । डोनाल्ड ट्रम्पले दुवै देशको भ्रमण गरिसकेका छन् । र, यस्तो लाग्छ यी दुवै राष्ट्र यिनको राजनीतिक निकट हुन् । ट्रम्प पनि इरानसितको आणविक सम्झौताका आलोचक हुन् ।

डराएको इजरायल
राजकुमार मोहम्मद यस क्षेत्रमा इरानको प्रभाव कम गर्न दुईवटा रणनीतिमा काम गरिरहेका छन् । उनले यसका लागि साउदीको राजशाहीलाई पनि आधुनिक बनाइरहेका छन् । राजकुमार यस क्षेत्रको भविष्य बदल्नका लागि प्रतिबद्ध छन् । यसका लागि उनले आफ्नै घरबाट परिवर्तन सुरु गरिदिएका छन् । राजकुमार मोहम्मदले साउदीमा चलिरहेको यस सुधारलाई इरानको सामना गर्नकै लागि पनि जारी राख्नेछन् ।

प्रशस्त गोप्य बैठकपछि पनि यस्तो लाग्छ कि इजरायल पनि यहाँ केही मोलतोल गरिरहेको छ । राजकुमार मोहम्मदले जे गरिरहेका छन्, त्यसमा कैयाैँ जोखिम छन् । इजरायल र साउदी अरबको सिरियाको लडाइँबाट अलग हुनुका कैयौँ संकेत छन् । रुसले सिरियालाई संयुक्त राष्ट्रमा पनि बचाएको छ । इजरायललाई लाग्छ कि सिरिया एक प्रयोगशाला हो र यहाँ जे हुन्छ, त्यसबाट मध्यपूर्वमा भविष्यको वचस्र्वको मार्ग खुल्नेछ ।

(मार्कस बिबिसीका सुरक्षा तथा कूटनीतिक संवाददाता हुन्)
बिबिसी डट कम-हिन्दीबाट

तपाईको प्रतिक्रिया