स्मिथको रेकर्डमा अस्ट्रेलिया बलियो - Naya Patrika
eNaya Patrika
  • ePaper

स्मिथको रेकर्डमा अस्ट्रेलिया बलियो

अस्ट्रेलियन कप्तान स्टिम स्मिथले २ सय २७ बलमा २१औँ टेस्ट शतक लगाउँदा अस्ट्रेलिया पहिलो इनिङमा २६ रनले अगाडि

अस्ट्रेलियन कप्तान स्टिभ स्मिथले एसेजको पहिलो टेस्टमा शतकीय इनिङ खेलेका छन् । इंग्ल्यान्डले दोस्रो इनिङमा दुई विकेट गुमाएर ३३ रन बनाएको छ । इंग्ल्यान्डले ७ रनको अग्रता हासिल गरेको छ । यसअघि अस्ट्रेलियाले पहिलो इनिङमा २६ रनको अग्रता लिएको थियो । इंग्ल्यान्डले पहिलो इनिङमा ३ सय २ रन बनाएको थियो । स्मिथले अविजित १ सय ४१ रनको उत्कृष्ट इनिङ खेल्दा अस्ट्रेलिया ३ सय २८ रनमा समेटियो । इंग्ल्यान्डका मार्क स्टोनम्यान १९ र जोए रुट ५ रन नटआउट छन् । इंग्ल्यान्डका ओपनर एलेस्टर कुक ७ र जेम्स भिन्स २ रन बनाउँदै आउट भए ।

तेस्रो दिन अस्ट्रेलिया बलियो
अस्ट्रेलियाले शनिबार तेस्रो दिनको खेल १६५-४ बाट सुरु गरेको थियो । कप्तान स्मिथ ६४ तथा सन मार्स ४४ रनमा नटआउट थिए । स्मिथले करिअरमा खेलेका १९ सिरिजमै अर्धशतकको रेकर्ड बनाए । मार्स ५१ रन बटुल्दै आउट भए । निरन्तर विकेट गुमाएको पिचमा कप्तान स्मिथले सम्हालिएर ब्याटिङ गरेका थिए । उनले चियाअघि नै शतक पूरा गरे । स्मिथले अन्तिम समयसम्म १ सय ४१ रन बनाउँदै अस्ट्रेलियालाई पहिलो इनिङमा अग्रता दिलाए ।

करिअरकै ढिलो शतक
स्मिथले एसेजमा करिअरकै व्यक्तिगत राम्रो प्रदर्शन गर्दा ढिलो शतकको कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् । करिअरकै २१औँ शतक प्रहार गर्दा स्मिथले २ सय ६३ बलको सामना गरे । यसअघि उनले भारतविरुद्ध २ सय २७ बलमा ढिलो शतक प्रहार गरेका थिए । तर, स्मिथको शतकको योगदान भने महत्वपूर्ण रह्यो ।

स्मिथले तोडे सचिनको कीर्तिमान
स्मिथ टेस्ट खेलमा छिटो २१ शतक बनाउने तेस्रो ब्याट्समयान बनेका छन् । स्मिथले १ सय ५ इनिङमा सो सफलता हात पारेका हुन् । यसअघि अस्ट्रेलियाकै महान् ब्याट्सम्यान डन ब्राडम्यानले ५६ इनिङमा २१ शतक पूरा गरेका थए । सुनील गावस्करले ९८ तथा सचिनले १ सय १० इनिङमा २१औँ शतकीय इनिङ खेलेका थिए । पाकिस्तानका मोहमद युसुफले १ सय २० इनिङमा २१ शतक बनाउँदै पाँचौँ स्थानमा रहेका छन् ।

एसेजमा पहिलो शतक
पहिलोपटक कप्तानी गरेको एसेजमा स्मिथले शतक बनाउन सफल भए । एसेजमा कप्तानको भूमिकामा शतकीय इनिङ खेल्ने उनी पाँचौँ अस्ट्रेलियन ब्याट्सम्यान हुन् । यसअघि रायन म्याकलर्नले १९८७ (१०९), मान्टे नोब्ले १९०३ (१३३), हार्बी कोलिन्स १९२४ (११४) र स्टिभ वाँले २००१ (१०५) मा शतक बनाएका थिए ।

शतकसँग एसेजको सम्बन्ध
शतकसँग एसेजको सम्बन्ध छुट्टै रहने गरेको मानिन्छ । लगातार ३९ वर्षसम्म ब्रिस्बनमा खेलिएको एसेजमा कप्तानले शतक बनाउँदा सोही टोली विजयी हुने रेकर्ड स्थापित छ । २००६-०७ मा रिकी पोन्टिङले शतक प्रहार गर्दा अस्ट्रेलियाले ५–० ले टेस्ट सिरिज जितेको थियो । त्यस्तै एन्ड्र्यु स्ट्राउसले शतक प्रहार गर्दा इंग्ल्यान्डले सिरिज ३–१ ले जितेको थियो ।

दोस्रो नम्बरमा स्मिथ
स्मिथले ४८ इनिङमा कप्तानका रूपमा सर्वाधिक धेरै शतक बनाउने खेलाडीका रूपमा श्रीलंकाका खेलाडी माहिला जयवद्र्धनेलाई भेटाएका छन् । स्मिथले कप्तानका रूपमा १३ शतक प्रहार गरे । स्मिथ र जयवद्र्धनेभन्दा अघि अब ब्राडम्यान छन् । ब्राडम्यानले ४८ इनिङमा १४ शतक लगाएका थिए ।

तपाईको प्रतिक्रिया