श्वासप्रश्वास र छालासम्बन्धी गम्भीर रोग फैलन सक्ने चेतावनी दिइरहेका छन्
eNaya Patrika
  • ePaper

राजधानीको वायु प्रदूषणको भयावहता

मित्रराष्ट्र भारतको राजधानी नयाँदिल्लीसहितका केही मुख्य सहर अहिले निकै प्रदूषित भएका खबरहरू आइरहेका छन् । चिकित्सकले नयाँदिल्ली र त्यसआसपासका वायुमा निकै विषाक्त कण मिसिएको र त्यस्तो हावाबाट श्वासप्रश्वास र छालासम्बन्धी गम्भीर रोग फैलन सक्ने चेतावनी दिइरहेका छन् । वायु प्रदूषण भनेको विभिन्न रासायनिक पदार्थ, धुवाँ, धुलो आदि हावामा मिसिन गई हावा दूषित हुनु हो । त्यस्तो प्रदूषित हावा श्वासप्रश्वासका माध्यमबाट फोक्सोमा पुग्छ । मानिसलाई विभिन्न रोगको सिकार बनाउँछ । प्रदूषित हावा कुनै न कुनै रूपमा मानव वा प्राणीको स्वास्थ्यमा नकारात्मक असर पार्ने खालको हुन्छ । यही कारण पनि नयाँदिल्लीका केटाकेटीलाई यतिवेला प्रदूषणबाट जोगाउन धेरै बाबुआमाले स्कुल पठाइरहेका छैनन् । भारत सरकारका लागि प्रदूषण नियन्त्रण गरी आमनागरिकको जीवन रक्षा गर्नु अहिलेका लागि मुख्य चुनौती बनेको छ ।

नयाँदिल्लीबाट नजिकै रहेको हाम्रो देशको राजधानी काठमाडौं पनि हरेक वर्ष प्रदूषित हुँदै गएको छ । नेपाल सरकारले राजधानीमा फैलिरहेको वायु प्रदूषण नियन्त्रण गर्न हालै प्रधानमन्त्री कार्यालयका एक सहसचिवको नेतृत्वमा कार्यदल गठन गरेको छ । र, कार्यदललाई प्रदूषण नियन्त्रणका लागि तत्काल काम थाल्न निर्देशन दिइएको छ ।

विशेषगरी काठमाडौं मेलम्चीका पाइप बिच्छ्याउन खनिएका सडकबाट उडेको धुलोले बढी प्रदूषित भइरहेको छ । सडक खनिएको छ, तर त्यहाँ धुलो नउड्ने गरी पुरिएको छैन । त्यसैमाथि गाडी गुडाउँदा बुंग धुलो उड्छ । जताततै यसैगरी उडिरहेको धुलो राजधानीको वायुमण्डलमा फैलिएको छ । हावा निरन्तर विषाक्त बनिरहेको छ । त्यस्तो धुलोधुँवाले राजधानीको जनजीवन कहालीलाग्दो बनाइरहेको छ । पानी पर्दा हिलाम्मे र घाम लाग्नेबित्तिकै धुलाम्मे बन्नु राजधानीको नियति नै भएको छ । यसबारे पछिल्ला महिनाहरूमा हेलो सरकारमा धेरै गुनासा आइरहेका छन् । त्यसक्रममा हामीले तिनै गुनासाकर्तालाई समाधान चाहिँ के हो त भनेर सोध्ने गरेका पनि छौँ । यसरी अन्तरक्रिया गर्दा प्रदूषण नियन्त्रणका लागि केही उपाय सुझाबका रूपमा आएका छन् ।

कति विषालु ?
काठमाडाैँमा पानी पर्न रोकिएसँगै वायु प्रदूषणको मात्रा उकालो लागेको हो । वातावरणविद्ले उपत्यकाको वायुमण्डलमा हानिकारक रसायनको मात्रा प्रशस्त भेटिन थालेको बताएका छन् । वायु गुणस्तरसम्बन्धी विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार सहरी क्षेत्रमा २५ माइक्रोग्रामभन्दा बढी धुलो हुनुहुँदैन । तर, राजधानीको वायुमा करिब चार गुणा प्रदूषण बढेको छ । राजधानीमा कात्तिक पहिलो सातादेखि प्रदूषणको मात्रा उकालो लागेको हो । यो स्थिति वर्षायाम सुरु नभएसम्म चलिरहन्छ ।

अहिले काठमाडौंको वायु यति विषाक्त भइसक्यो कि हामीले श्वास फेर्दा लिने हावामा क्यान्सर, हृदयाघात, श्वासप्रश्वासका कडा रोग र मस्तिष्कघात गराउने रसायन मिसिएका छन् । प्रदूषणको बढ्दो स्थितिलाई नियन्त्रणमा राख्न नसके काठमाडौं पनि नयाँदिल्लीजस्तै प्रदूषित बन्न धेरै समय कुर्नुपर्दैन ।

नियन्त्रणका उपाय
सरकारको सक्रियतामा प्रदूषण नियन्त्रणका लागि प्रयास भइरहेको छ । वातावरणसम्बन्धी निकाय र प्रधानमन्त्री कार्यालयले त्यसको संयोजन गरिरहेका पनि छन् । तर, यस्तो स्थितिमा सरकारी निकायहरूको प्रयासमा मात्र सफलता पाउन मुस्किल पर्छ । अब सबै नागरिकले आफ्नो घर तथा कार्यालयनजिक रहेको धुलो उठाउन बाहिर निस्कनैपर्छ, राजधानीको वायु प्रदूषणलाई न्यून गर्ने यो एक प्रभावकारी विकल्प हुन सक्नेछ ।

प्रत्येक शुक्रबार वा शनिबार वा अन्य बार हरेक हप्ता एक वा आधा घन्टा सबै नागरिकले आफ्नो घरबाहिर कुचो बोकेर धुलो बढार्ने अभियान चलाउनु अति आवश्यक भइसकेको छ । कुचो र धुलो उठाउने थैलो र भाँडो लिएर बाहिर निस्कन केही कठिन कार्य पनि होइन । यस्तो अभियानका लागि यसअघिका प्रधानमन्त्रीसमक्ष प्रस्ताव गरिएको पनि थियो । उहाँ तयार पनि हुनुभएको थियो । तर, पछि राजनीतिक परिस्थिति बदलियो ।

त्यतिखेर हामीले सिंहदरबारको पूर्वी गेटबाट प्रधानमन्त्रीले धुलो बढार्ने अभियानको उद्घाटन गर्ने सोच बनाएका थियौँ । र, त्यससँगै सबै नागरिकलाई आ–आफ्नो घरवरपर धुलो बढार्न र आफ्नो वरपर सफा राख्न अपिल गर्ने तयारी थियो । यस कार्यमा आमसञ्चारमाध्यम र सामाजिक सञ्जालको राम्रो साथ प्राप्त हुने हामीले विश्वास लिएका थियौँ । त्यसरी अभियान चलाएको खण्डमा काठमाडौंको वायु प्रदूषण खासगरी धुलोले सिर्जना गरेको प्रदूषणलाई करिब एक हप्तामै नियन्त्रणमा राख्न सकिन्छ भन्ने सोच तयार भएको थियो ।

त्यस्तो अभियानमा निजामती कर्मचारी, प्रहरी, नेपाली सेनासमेतलाई परिचालन गर्ने योजना रहेको थियो । यस्त,ै पसलेहरूले आफ्नो बाहिर रहेका धुलो र अन्य फोहोर संकलन गर्ने, घरमा रहेकाहरूले आफ्नो घर, आँगन र गेटबाहिरको वरिपरिको सडक सफा गर्ने, यस्तै युवा क्लब, गुठी, टोलसुधार समितिलाई पनि परिचालन गर्ने योजना रहेको थियो । त्यसरी बढारेर संकलन गरेको धुलो नगरपालिकाले उठाएर लैजाने व्यवस्थापन गर्नका लागि महानगर र नगरपालिकाहरूसँग समन्वय गर्ने तयारी थियो । उनीहरूलाई निश्चित ठाउँमा संकलित धुलो र फोहोर फेरि नफैलिने गरी थुपार्न भनी प्रस्ताव गरिएको थियो । यसरी हप्ताको एक दिन आधा घन्टा मात्र यस्तो सरसफाइ कार्यक्रम गर्दा मेरो बुझाइमा राजधानीको प्रदूषणको एक प्रमुख कारक तत्व एक हप्ताभित्रै नियन्त्रणमा ल्याउन सकिने देखिएको थियो ।

काठमाडौंसहित देशका सबै सहरमा सबैको सक्रियतामा यो कार्यक्रम गर्ने योजना रहेको बनाइएको हो । अभियान सुरु गर्दा सिंहदरबारमा कार्यरत कर्मचारी, प्रहरी तथा सैनिकले सिंहदरबार आसपास थापाथली, माइतीघर, सहिदगेट, भद्रकाली, रत्नपार्क, जमल, दरबारमार्ग, बबरमहल र अनामनगर क्षेत्रमा सफाइ कार्यक्रम थाल्ने तथा अन्य स्थानहरूमा कार्यालयहरूले आफ्नो परिसर वरिपरि धुलो बढार्ने कार्य थाल्ने सोच रहेको छ । काठमाडौंका सबै सडकवरिपरि स्वतःस्फूर्त रूपमा स्थानीय समुदायको संलग्नतामा धुलो बढार्ने कार्यका लागि आह्वान गर्ने योजना रहेको तथा सबै वर्ग, समुदाय, युवा क्लब, नगरपालिकाका वडाहरू, गैरसरकारी संस्था, आमसञ्चार तथा सम्पूर्ण राष्ट्रप्रेमीको सहयोग प्राप्त हुने अपेक्षा राखी यो अभियान प्रत्येक साता जारी राख्ने प्रस्ताव गरिएको छ । देशैभरिका मुख्य सहरहरूमा यस अभियानको कार्यान्वयनका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा कार्य गर्ने योजनामा प्रस्ताव गरिएको छ ।

धुलो सफाइको अभियानसँगै सबै महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरूले आफना सरसफाइका कर्मचारीहरूलाई परिचालन गर्ने र उनीहरूले सडक छेउमा टाँसिएको फोहोर, धुलो बढार्ने र उठाउने कार्य सबै स्वयंसेवकहरू सँगसँगै गर्नेछन् । महानगर र सडक विभागसँग रहेका ब्रुमर गाडीहरूलाई पनि सहज हुने स्थानमा परिचालन गरिनेछ । नभत्किएका सडकमा एकपटक आधा घन्टा सफा गरेपछि अर्को साता धुलो बढार्ने वेलासम्म काम गर्ने र भत्काइराखिएका सडकलाई जिम्मेवार निकाय र पदाधिकारीलाई अनिवार्य निर्माण कार्य गर्दा धुलो आउन नदिने गरी छोप्न लगाउने कार्य गर्न प्रस्ताव गरिएको छ ।

यो प्रस्ताव मैले हेलो सरकारमा कार्य गर्दा धेरै महानुभावले दिएका सुझाबका आधारमा तयार गरेको हुँ । धेरैतिरबाट आएका गुनासो र सुझाबका आधारमा निकालिएको निष्कर्षलाई कार्यान्वयनमा लैजानुपर्ने देख्छु । यो अवधारणा मैले प्रधानमन्त्री कार्यालयका तत्कालीन सचिवज्यू, सहसचिवज्यू र हालका सचिवज्यूहरूलाई पनि देखाएको र सुनाएको छु । उहाँहरू सबै सकारात्मक हुनुहुन्छ । आशा छ, एकदिन यो कार्यान्वयन हुनेछ ।

(उपाध्याय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको हेलो सरकारका उपसचिव हुन्)

तपाईको प्रतिक्रिया