ठूलो प्रेरणाको स्रोत बन्यो रुसी यात्रा - Naya Patrika
eNaya Patrika
  • ePaper

ठूलो प्रेरणाको स्रोत बन्यो रुसी यात्रा

मैले १३ दिने रुसको यात्रा गरेँ । रुसजस्तो देश, जुन देशमा विश्व सर्वहारा वर्गका महान् नेता भ्लादिमिर इल्यिचको नेतृत्वमा रुसी कम्युनिस्ट पार्टी (बोल्सेविक) ले सशस्त्र जनविद्रोहद्वारा सत्ताकब्जा गरेर मानवजातिको इतिहासमा पहिलोपटक सर्वहारा वर्गको अधिनायकत्व स्थापना गरिएको देश हो । महान् अक्टुबर समाजवादी क्रान्तिको गौरवपूर्ण गाथाले भरिएको रुसमा पुग्ने र सबै विषयमा अध्ययन गर्ने र बुझ्ने चाहना त पहिलेदेखि नै थियो नै । तर, कहिले पुुगिन्छ भन्ने केही ठेगाना थिएन ।

हस्तबहादुर केसी

वर्तमान रुसमा क्रियाशील क्रान्तिकारी धारका कम्युनिस्ट पार्टी र समूहले महान् अक्टुबर क्रान्तिले सय वर्ष पूरा गरेको उपलक्ष्यमा रुसको ऐतिहासिक सहर लेनिन ग्रादमा ०१७ नोभेम्बर ७ मा महान् अक्टुबर क्रान्ति सतवार्षिकी दिवस धुमधामका साथ मनाउन विश्वभरका क्रान्तिकारी कम्युनिस्ट पार्टी, संघसंस्था, भाइचारा पार्टी र व्यक्तिहरूलाई समेत आमन्त्रण गर्ने निर्णय गरेका थिए । हामी मास्को केन्द्र भागमा रहेको ऐतिहासिक रेड स्क्वाएरमा पहिलोपटक पुग्यौँ । हामीले माक्र्सप्रति सलामी दिएर फोटो सेसन पनि चलायौँ । कतै लेनिनको प्रतिमा पनि छ कि भनेर यताउति हेरियो । कतै देख्न सकिएन ।

तर, पछि देखियो, प्रतिक्रान्तिकारी बोरिस यल्तसिनको सरकारले रेडस्क्वायरमा राखिएको लेनिनका प्रतिमा भत्काएर फालिसकेको रहेछ । त्यसपछि हामीलाई रेडस्वायरको पश्चिमपट्टि रहेको लेनिन मेमोरियल हलतिर जान अगाडि बढाइयो । ठूलो संख्यामा मानिस लाइनमा थिए । हामी क्रमशः अगाडि बढ्दै लेनिन मेमोरियल हलभित्र प्रवेश गर्‍यौँ । कडा चेकजाँचपछि हामीलाई महान् लेनिनको पार्थिव शरीर राखिएको हलमा पुग्न अनुमति दिइयो । गाइडहरूको सहयोगमा लेनिनको शव राखिएको हलमा पुग्यौँ । महान् लेनिनलाई भावपूर्ण लालसलाम गरेर हामी बाहिरियौँ । यो क्षण अत्यन्तै अविस्मरणीय बन्न पुग्यो । त्यसपछि मास्कोमै रहेको लेनिन संग्राहलयको समग्र अध्ययन, अवलोकन गरियो । मास्कोमा चिसो माइनस डिग्रीमा झरेको थियो । मेट्रो रेलको यात्राबाट वासस्थान पुगियो ।

मास्कोभन्दा केही टाढा घना जंगलको बीचमा लेनिन–गोर्की हिल्स भन्ने स्थानमा भव्य रूपमा लेनिन म्युजियम बनाएर सुरक्षित रूपमा राखिएको रहेछ, नोभेम्बर ४ मा यहीँबाट यात्रा सुरु गरियो । अत्यन्तै शान्त र सुन्दर स्थल, जहाँ अन्य मानव बस्ती छैन, त्यहाँ त्यस भव्य भवनको पहिलो तलाको बीच भागमा सेतो रंगको अत्यन्तै आकर्षक ठूलो कदको तर बसेकै पोजिसनमा महान् लेनिनको प्रतिमा राखिएको रहेछ । त्यसपछि त्यही तल र दोस्रो तलामा लेनिनसम्बन्धी सन् १९०५ को असफल रुसी क्रान्तिः महान् रुसी अक्टुबर समाजवादी क्रान्तिको तयारी गर्ने वेलाको र विजयपछिका घटनाक्रम, लेनिनले अध्ययन गर्ने स्थान र लेनिनद्वारा लेखिएका समग्र पुस्तक जो रुसी भाषामा प्रकाशित भएका रहेछन्, ती सबको विशाल पुस्तकालय आदिको अध्ययन अवलोकन गरियो ।

लेनिन–गोर्की हिल्समा नै लेनिनलाई सन् १९१८ मा गोली लागिसकेपछि मृत्युसमेत भएको घटनाक्रम एक ऐतिहासिक म्युजियम बनाएर सुरक्षित रूपमा राखिएको रहेछ । त्यहाँ लेनिन बिरामी अवस्थामा बसेको, भेटघाट गर्ने, अध्ययन गर्ने कक्षका साथै मृत्यु वरण गरेका पलङ, बाथरुम, बैठक हललगायत अन्य प्रेरणादायी संग्रहालय बनाइएको रहेछ ।

२०१७ नोभेम्बर ५ तारिखका दिन मुख्यतः महान् रुसी अक्टुबर समाजवादी क्रान्ति (बोल्सेबिक क्रान्ति पनि भनिन्छ) त्यसको पूर्वतयारीका वेला बोल्सेविकमाथि अस्थायी सरकारले भीषण दमनचक्र चलाइएको थियो । प्रेस स्वतन्त्रतामाथि पनि प्रतिबन्ध लगाइएको थियो ।

मास्कोमा भ्रमणसम्बन्धी अध्ययन अवलोकन र अन्य राजनीतिक, वैचारिक विषयको रुसी कमरेडसित विचार आदानप्रदान गरी ५ नोभेम्बरकै राति १० बजे रेल्वे लाइनको यात्राद्वारा कमरेड दिमित्रीको नेतृत्वमा हाम्रो टोली लेनिनग्रादका लागि प्रस्थान गर्‍यो र भोलिपल्ट बिहान ८ बजे लेनिनग्राद पुगियो र पार्टीले तय गरेको होटेलमा बस्ने काम भयो ।

महान् लेनिनले पहिलोपटक जनविद्रोहको उद्घोष गरेको स्थान लेनिनग्राद ६ नोभेम्बरमा पुगियो । त्यसै दिन बिहान कमरेड दिमित्रीको नेतृत्व र अगुवाइ तथा एन्ड्री तथा एलेक्सी जस्ता गाइडहरूको सहयोगमा मेट्रो रेल्वेको यात्राबाट लेनिनग्रादको मुख्य चोकबाट केही टाढा एउटा विशाल पार्कको बीचमा लेनिनको ठूलो कदको प्रतिमा भएको ठाउँमा पुगियो । त्यसपछि त्यही नजिकै रहेको विशाल भूमिमा रहेको चर्चको अवलोकन गर्र्ने काम पनि सम्पन्न गरियो ।

त्यसपछि स्टालिनको पालामा अर्थात् दोस्रो विश्वयुद्धको समयमा जर्मन हिटलरी नाजीवादलाई पराजित गर्न निर्माण गरिएका अत्याधुनिक हात गोला, बारुद, बम, मिसाइललगायत हतियार जर्मन सेनाबाट जफत गरिएका हतियारसमेतको लेनिनग्रादमा वार म्युजियम बनाइएको रहेछ । त्यसको अध्ययन, अवलोकन गर्ने काम भयो ।

लेनिनले विद्रोहको दिन ७ नोभेम्बरलाई नै रोज्नुभएको थियो । त्यतिवेला त्यो सहरलाई पेत्रोग्राद भनिन्थ्यो । रुसको राजधानी पनि त्यही रहेछ । त्यही समयमा राजधानी पेत्रोग्रादमा अखिल रुसी मजुदरको महाधिवेशन हुँदै थियो । त्यस महाधिवेशनको पूर्वसन्ध्यामा मजदुर त्यहाँ ठूलो संख्यामा जम्मा हुने भएकाले लेनिनले त्यही दिनलाई विद्रोहको दिन छान्नुभएको थियो । महाधिवेशनमा आएका मजदुरहरू नै अक्टुबर क्रान्तिका लागि बन्दुक बोकेर अस्थायी सरकारविरुद्ध सशस्त्र विद्रोहमा उत्रिए ।

ती मजदुरले नै १९१७ (नोभेम्बर ७) मा अन्तरिम सरकारका मन्त्रीहरू बसेको विन्टर प्यालेसलाई कब्जा गरी मन्त्रीहरूलाई गिरफ्तार गरेर क्रान्ति सफल गरेका थिए । राति २ बजे एकै समयमा यातायात, बिजुली र टेलिफोन सेवा बन्द गराएर लेनिनग्राद सहरभरि एकैसाथ गोलाबारुद, बमबन्दुक पड्काएर आक्रमण सुरु गरिएको थियो । त्यही वेला सरकारी सेना विद्रोहलाई साथ दिन आएका थिए । २०१७ नोभेम्बर ८ तारिखका दिन सोही ऐतिहासिक विन्टर प्यालेसको अवलोकन गरियो । त्यसै दरबारलाई अहिले एउटा विशाल म्युजिएम बनाएर राखिएको रहेछ । त्यहाँ जारशाही शासनकालमा जार शासकले रुसी जनतामाथि कति क्रूर शासन गर्थे र उनीहरू कति वैभवशाली र सुखसयलमा बाँचेका थिए भन्ने उदाहरणसहित भित्ताभित्तामा चित्र राखेर प्रस्ट पार्ने काम गरिएको रहेछ, त्यसको समग्र अध्ययन र अवलोकन गर्ने काम गरियो ।

त्यसै दिन साँझ डिनरको व्यवस्था गरिएको थियो । त्यहाँ चीन, कोरिया, जापान, भियतनाम, नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, बर्मा, इन्डोनेसिया, फिलिपिन्स, बेलायत, जर्मनी, बेल्जियम, नेदरल्यान्ड, स्विट्जरल्यान्ड, पोल्यान्ड, टर्की, पेरु, क्युबा, भेनेजुयला, ब्राजिल, नर्वे, स्विडेन, डेनमार्कलगायत देशबाट कम्युनिस्ट पार्टीका प्रतिनिधिका बीचमा विचार आदानप्रदान गर्ने कार्य भएको थियो ।

०१७ नोभेम्बर १० मा लेनिनका योगदानको चर्चा–परिचर्चा गर्नुका साथै पुस्तक विमोचन कार्यक्रम पनि भयो । नेपाली टोलीबाट छानिएका लेखक–पत्रकार र रुसी लेखक–पत्रकारलाई मिलाएर नेपाल–रुस लेखक–पत्रकार मञ्चको गठन गर्ने काम पनि भयो ।

भ्रमणका क्रममा वर्तमान रुसको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा शैक्षिक अवस्था, विज्ञान र प्रविधिका क्षेत्रमा रुसले गरेको विकास र भौतिक संरचनाको निर्माणबारे जानकारी लिने काम गरियो ।

रुसमा सोभियत मोडेलको समाजवादको पतनपश्चात सत्ताहीन हुन पुगेको बोरिस यल्तसिनको सरकारले लेनिनका देशभरका सबैजसो सालिक भत्काइसकेको पाइयो भने स्टालिनको त कुनै नामोनिसान नै नराखेर नष्ट पारेको पाइयो । अहिले रुसमा पुँजीवादी अवस्था छ । रुसमा अहिले पनि करीब १० वटा कम्युनिस्ट पार्टी रहेछन् ।

रुसीयात्राबाट के अनुभूति भयो भने हाम्रो जस्तो अर्धसामन्ती तथा नवऔपनिवेशिक मुलुक होस् वा पुँजीवादी तथा साम्राज्यवादी मुलुक, क्रान्तिका निम्ति लेनिनका विचार र योगदान प्रेरणाका स्रोत हुन् भन्ने कुरामा विश्वभरका क्रान्तिकारी कम्युनिस्ट प्रतिबद्ध भएर लाग्नुपर्छ भन्ने सन्देश महान् अक्टुबर क्रान्तिले दिएको छ । अक्टुबर क्रान्तिको सान्दर्भिकता आज पनि सकिएको छैन ।

तपाईको प्रतिक्रिया