पुस्तक लेख्दा मन्त्री हुँदाको शपथ बिर्सेको छैन - Naya Patrika
eNaya Patrika
  • ePaper

पुस्तक लेख्दा मन्त्री हुँदाको शपथ बिर्सेको छैन

सामान्य प्रशासनमन्त्री रहुन्जेल लालबाबु पण्डित मिडिया र सामाजिक सञ्जालमा छाइरहे । डिभी र पिआरधारी कर्मचारीविरुद्ध कानुन ल्याउन उनले गरेको संघर्ष चर्चाको विषय बन्यो । उनका प्रशासन सुधारका काम पनि उल्लेखनीय रहे । इमानदार नेताको छवि बनाएका पण्डितले आफ्ना राजनीतिक संघर्ष र मन्त्री हुँदा गरेका कामलाई समेटेर आत्मकथा लेखेका छन् । उनको ‘सिंहदरबार बदल्ने संघर्ष’ नामक पुस्तक नेपालयले बजारमा ल्याइसकेको छ । सो पुस्तकका सन्दर्भमा गज्जबका लागि प्रकाश गुरागाईंले गरेको कुराकानी :

सिंहदरबार बदल्ने संघर्ष किन लेख्नुभयो ?
पुस्तक लेख्ने कुरा मेरो दिमागमा थिएन । म मन्त्री भएर कामका लागि संघर्ष गरिरहेको थिएँ । त्यतिवेला केही पत्रकार साथीले पुस्तक लेख्न प्रेरित गर्नुभयो । तपाईंका संस्मरणले देशलाई फाइदा पुग्छ भनिसकेपछि म लेख्न तयार भएको हुँ ।
मन्त्री हुँदा कसरी समय निकालेर पुस्तक लेख्नुभयो ?
बिहानदेखि बेलुकासम्म व्यस्त हुन्थेँ । समय मिलाउन समस्या थियो । पत्रकार भाइले ‘अलिकति फुर्सद भएको वेला मलाई बोलाउनुस्, म सहयोग गर्छु’ भन्नुभयो । अनि मैले कार्यालय समय सकिएपछि साँझ करिब साढे ६ बाट एक डेढ घन्टाका लागि उहाँलाई बोलाउँथेँ । उहाँले मेरो भनाइ रेकर्ड गर्नुहुन्थ्यो । चिया खाँदै कुरा गर्दै जाँदा मेरो अनुमानमा ४७ घन्टाजतिको टेप तयार भयो । त्यसलाई उतारेर पान्डुलिपि बनाइयो ।
पुस्तकमा कहिलेदेखि कहिलेसम्मका संस्मरण छन् ?
यसमा केही बाल्यकालका सम्झना छन् । पञ्चायतकालको मेरो राजनीतिक संघर्ष पनि छ । मैले पहिलो संविधानसभामा खेलेको भूमिका पनि छ । यो एक किसिमको जीवनी नै हो । धेरैचाहिँ म मन्त्री हुँदा गरेका काम र भोगेका चुनौती छन् । मन्त्री हुँदा एकातिर म सुधारको काममा लागिरहेको थिएँ, अर्कोतिर मधेसमा आन्दोलन भइरहेको थियो । आन्दोलनबारे विभिन्न दृष्टिकोण आइरहेको थियो । त्यसलाई निकास दिन ठोस विचार दिनु थियो । मैले निकासका लागि आफ्नो दृष्टिकोण राखेँ । यी सबै कुरा पुस्तकमा उल्लेख गरेको छु । पुस्तक लेखन सुरु गरेको तीन वर्षमा प्रकाशन भएको छ ।
निर्वाचनको मुखमा नै प्रकाशित गर्नुभयो । मतदाता प्रभावित गर्न खोज्नुभएको हो ?
मैले यो पुस्तक ०७३ जेठ १४ गते प्रकाशन गर्ने इच्छा गरेको थिएँ । जेठ १४ गते कमरेड मदन भण्डारीको जन्मदिन पर्दोरहेछ । मैले पुस्तकको काम सकाएपछि नेपालयले प्रकाशनको जिम्मा लियो । उहाँहरूलाई पनि मैले ०७३ जेठ १४ मा नै निकाल्ने चाहना राखेँ । उहाँहरूले सम्पादन, प्रकाशन, बजार व्यवस्थापन सबैको जिम्मा लिनुभएको हुँदा समय तालिका पनि उहाँहरूले नै तय गर्नुभयो । प्रकाशकले यही मितिमा पुस्तक प्रकाशन गरेको हुनाले तपाईंको प्रश्नमा मलाई केही भन्नु छैन ।
पुस्तकको विमोचन किन गर्नुभएन ?
विमोचन अलि अगाडि नै गर्ने कुरा थियो । तर, धेरै ढिला भयो । अहिले म उम्मेदवार छु । निर्वाचनमा खटिएको छु । समय दिन सक्ने अवस्था भएन । प्रकाशक नेपालयसँगै सल्लाह भएर कुनै कार्यक्रम आयोजना नगरीकन प्रेस वक्तव्य निकाल्यौँ । वक्तव्यबाटै पुस्तक सार्वजनिक भएको जानकारी दिएका हौँ ।
पुस्तकको प्रमुख खण्ड तपाईंले पिआर र डिभीधारी कर्मचारीविरुद्ध ल्याउनुभएको कानुनका लागि गर्नुभएको संघर्ष हो । यो पुस्तक नै नलेख्नचाहिँ कसैले दबाब दिएन ?
मलाई कसैको दबाबको महसुस भएन । बरु धेरैले प्रेरणा दिनुभयो । पुस्तकका लागि टेप रेकर्ड गर्न थालेपछि केही साथीहरूले थाहा पाउनुभएको थियो । काम ढिला भइरहँदा उहाँहरूले छिटो गराउन भन्नुहुन्थ्यो । केही साथीले अरूलाई प्रकाशनको जिम्मा दिनभन्दा आफैँले गरेको भए काम छिटो हुन्थ्यो भन्नुभयो । यसरी हौसला पाएको थिएँ ।
युवा संघका महासचिवलगायत केही पार्टीभित्रैका मान्छेले डिभी, पिआरधारीविरुद्धको कानुन नल्याउन दबाब दिएको उल्लेख गर्नुभएको छ । पुस्तकमा नाम नै सार्वजनिक गरिदिएपछि त पार्टीभित्र विरोध भयो होला नि ?
म अहिले निर्वाचनमा छु । देश निर्वाचनमा होमिएको छ । हाम्रो पार्टी पनि निर्वाचनमा छ । अब यस्तो वेला विरोध गर्नु र विवाद निकाल्नुको अर्थ छैन । अर्को कुरा भर्खर पुस्तक बजारमा गएको छ । धेरैले पढ्न पाउनुभएको छैन । पढ्नलाई पनि समय लाग्छ । मलाई किनेँ भनेरचाहिँ फोन आएको छ, अरू प्रतिक्रिया पाएको छैन । मैले कति काम ठीक गरेँ, कति काम बेठीक गरेँ मलाई थाहा छैन । मेरा कुरा मैले लेखेको छु । अब त्यो जनताको कसीमा जाँचिन्छ । मैले जे देखेँ, भोगेँ, मेरा मनमा वेलावेला जस्तो तरंग उत्पन्न हुन्छ ती कुरा नै लेखेको छु । पुस्तक प्रकाशनमा प्रेरित गर्ने काम पत्रकार नारायण वाग्लेले पनि गर्नुभयो । उहाँ अहिले नेपालयमा हुनुहुन्छ । मेरा काम, संस्मरण र भावना ल्याउनुपर्छ भन्नुभयो । उहाँले नै पुस्तक सम्पादन गरिदिने र मेरा भावनालाई सिलसिलाबद्ध मिलाइदिने काम गर्नुभयो । तर, धेरैजसो कामचाहिँ म आफैँले गरेको हुँ ।


तपाईंलाई चाहिँ यो पुस्तकको सबैभन्दा महत्वपूर्ण भाग के हो भन्ने लाग्छ ?
दुईवटा कुरा महत्वपूर्ण छ भन्ने लाग्छ । पहिलो प्रशासनलाई परिवर्तन गर्ने कुरासँग जोडिएको छ । अर्कोचाहिँ वेलावेला आउने गलत दृष्टिकोणको परिणाम जनताले कसरी भोग्छन् भन्ने छ । भड्काउवादी विचार कसैले रोकेर त रोकिँदैन । तर, ती कुराको समाधान गर्नैपर्छ । यसमा ती कुरा कसरी समाधान गर्ने प्रयास गरियो भन्ने पनि उल्लेख छ । सबैभन्दा महŒवपूर्ण कुरा आफू इमानदार बन्नुप¥यो । मैले इमानदारपूर्वक काम गर्न खोजेँ । इमानदारपूर्वक नै पुस्तक लेखेको छु । अझ महŒवपूर्ण कुरा निजी स्वार्थ त्याग्न सक्नुपर्छ ।
नेपाली राजनीतिका सबैभन्दा खराब प्रवृत्ति के हुन् ?
आफूलाई केन्द्रबिन्दु बनाएर सबैथोक गर्ने नेपाली राजनीतिको खराब प्रवृत्ति हो । सबैथोकको अर्थ गर्न हुने काम पनि गर्ने, गर्न नहुने काम पनि गर्ने । यसैले हो अहिले देश यो अवस्थामा पुगेको ।
आफ्नो पार्टीका नेताले गर्न नहुने काम गरेकोबारे पनि पुस्तकमा उल्लेख छ ?
मैले मन्त्री र सांसद हुँदा शपथ खाएको छु । शपथ खाएर सार्वजनिक पदमा बसेपछि राज्यका कतिपय कुरा गोप्य राख्नुपर्छ । त्यो पनि इमानदारीमा पर्छ । तर, सकेसम्म जनताले बुझ्न सक्ने गरी, कतिपय घटना र प्रसंग पनि राखेर भन्न मिल्ने तहसम्म पुस्तकमा वर्णन गरेको छु । पुस्तक लेख्दा कसैसँग रिसराग र पूर्वाग्रह राखेको छैन । मेरो एउटा मात्र चाहना हो, सबै ठाउँमा परिवर्तन होस्, चाहे राजनीतिमा, वा प्रशासनमा वा समाजमा । मैले प्रशासनलाई हेर्दा त्यसलाई डोर्याउने राजनीतिले हो । राजनीतिभित्रका विसंगति र विकृतिको प्रभाव प्रशासनमा पुगेको छ । अनि फेरि त्यही कुरा प्रशासनबाट राजनीतिमा ‘रिफ्लेक्ट’ भएको छ । त्यसकारणले पहिला सङ्लो बनाउनुपर्ने राजनीति नै हो । तर, राजनीति सङ्लो नहुन्जेल प्रशासनलाई छाडिदिनुपर्छ भन्ने होइन । हामीले हाम्रो प्रयास जारी राख्नुपर्छ ।
सबै विकृतिको दोष राजनीति नै हो ।
मैले दोषचाहिँ राजनीतिलाई पहिला र प्रशासनलाई दोस्रो हो भनेर दिने गरेको छु । परिवर्तन आफूबाट हुनुपर्छ । अचेल मान्छेहरू बोक्छन् नि ‘स्मार्ट फोन’ । फोनचाहिँ ‘स्मार्ट’ बोक्ने, कामचाहिँ ‘स्मार्ट’ नगर्ने । आफ्नो जीवनलाई पनि स्मार्ट नबनाए त्यो फोनले पनि गिज्याउँछ । त्यसैले राजनीति गर्ने मान्छे पनि स्मार्ट हुनुपर्छ ।
कभरमा किन साइकल चढेको तस्बिर राख्नुभयो ?
म सधैँ साइकल चढ्ने मान्छे हुँ । म पटकपटकको निर्वाचन साइकल चढेर नै जित्दै आएको हुँ । मेरो प्यारो साधन नै साइकल हो । धेरै जनताको पहुँच पनि साइकलमा नै छ । तराईको आवश्यक साधन हो । अलि स्तर बढेपछि
मोटरसाइकल र त्यसपछि कार चढ्नेहरू पनि भए । तर, अहिले पनि साइकल नै सर्वसुलभ छ । त्यसैले मैले कुनै नक्कल गर्नुपर्ने छैन । स्वास्थ्यका लागि पनि साइकल चलाउनु फाइदाजनक छ । साइकललाई तेल लाग्दैन । विदेशबाट ल्याउनुपर्ने तेलका कारण धेरै समस्या छ । तेल खरिदमा हाम्रो धेरै पैसा विदेश गइरहेको छ । यस्ता मनग्य कारण छन् जसले हाम्रा लागि साइकल नै उपयुक्त साधन भएको पुष्टि गर्छ । त्यसकारण मैले सिंहदरबारअगाडि आफैँले साइकल चलाएर फोटो खिचाएँ ।
अन्त्यमा यो पुस्तकले सिंहदरबार बदल्न मद्दत पुग्ला ?
थोरै भए पनि त्यस्तो मद्दत पुग्छ भन्ने लाग्छ । कहाँ विसंगति र विकृति छ भन्ने यसले बुझाउँछ । एउटा उदाहरण दिउँ । कार्यालय सहयोगीले समयमा चिया ल्याएन भने धेरै हाकिमहरूले उसलाई दोषी देख्छन् । तर, योजना निर्माण गर्ने उच्च तहका कर्मचारी हाकिमले भने समयमा नै काम गर्दैनन् । काममा ध्यान नै दिँदैनन् । कतिपयले आफू अर्कै ग्रहबाट आएको जस्तो ठान्छन् । यो मानसिकता विकासको बाधक छ । यस्ता धेरै कुरा पुस्तकमा लेखेको छु । तर, मैले पुस्तकमा नकारात्मक तरिकाले लेखेको भने छैन । नकारात्मक कुरामा पनि सकारात्मक कुरा खोजीको प्रयास गरेको छु ।

तपाईको प्रतिक्रिया