यसरी भयो माथिल्लो तामाकोसीको सुरुङ 'ब्रेक थ्रु' - Naya Patrika
eNaya Patrika
  • ePaper

यसरी भयो माथिल्लो तामाकोसीको सुरुङ ‘ब्रेक थ्रु’

दोलखाको लामाबगरमा बन्दै गरेको राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलिवद्युत् आयोजनाको निर्माण करिब अन्तिम चरणमा पुगेको छ । यहीक्रममा गत आइतबार मुख्य सुरुङको ब्रेक थ्रु भएको छ । अर्को वर्षको मंसिर महिनाबाटै राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जडान गर्नेगरी आयोजनाले सुरुङ र पावरहाउसको कंक्रिटिङ, टर्बाइन जडान, सुरुङभित्र स्टिल लाइनिङ, पेनस्टक जडानलगायतका काम तीव्र रूपमा गरिरहेको छ । हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल र सिभिल निर्माणमा संलग्न ठेकेदारहरूले समयमै काम सम्पन्न गरे आयोजना तोकिएकै समयमा निर्माण सम्पन्न हुने भएको छ । आयोजनाको मुख्य सुरुङ कसरी ब्रेक थ्रु भयो र कामको प्रगति कहाँ पुग्यो भन्नेबारे आयोजनाका प्रवक्तासमेत रहेका वातावरविज्ञ गणेशप्रसाद न्यौपानेले यसरी बताए :

गणेशप्रसाद न्यौपाने
प्रवक्ता, माथिल्लो तामाकोसी जलविद्युत् आयोजना

यसरी भइरहेको छ काम
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम चारवटा लटमा भइरहेको छ । पहिलो लटमा सिभिल निर्माणको काम चिनियाँ कम्पनी सिनो हाइड्रोले गरिरहेको छ । यसले ड्याम बनाउने, बालुवा थिग्राउने, डिसेन्डिङ वे बनाउने, सुरुङ बनाउने तथा पावरहाउस बनाउने काम गरिरहेको छ । दोस्रोमा हाइड्रोमेकानिकल इक्विपमेन्ट जडानको काम भारतीय कम्पनी टेक्स म्याको रेल एन्ड इन्जिनियरिङ कम्पनीले गरिरहेको छ । यसले ड्यामहरूमा स्टकब्लेड गेट राख्ने, पेनस्टकमा स्टिल लाइनिङको काम गरिरहेको छ ।

त्यस्तै तेस्रोमा इलेक्ट्रोमेकानिकलसम्बन्धी सम्पूर्ण सामग्रीको आयात तथा जडानको काम अस्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोले गरिरहेको छ । यसले जेनेरेटर, ट्रान्सफर्मरलगायतका अन्य उपकरणको जडान गर्ने काम गरिरहेको छ । चौथोमा भने प्रसारण लाइन र सबस्टेसन निर्माणको काम भइरहेको छ । यसको काम भारतको केइसी इन्टरनेसनल कम्पनीले गरिरहेको छ ।

यसरी भयो सुरुङ ब्रेक थ्रु
माथिल्लो तामाकोसीको सुरुङको कुल लम्बाइ १८ किलोमिटर हो । जसमा मूल सुरुङ ८ दशमलव ४ किलोमिटरको हेडरेस सुरुङ छ । जुन ड्यामदेखि भैँसेसम्मको स्थान हो । यसको ब्रेक थ्रु २०७० सालमै भएको थियो । भैँसेदेखि गंगोरडाँडासम्मको बीचको ५ किलोमिटर सुरुङको बीचमा सहायक अडिट सुरुङ नभएका कारण यसलाई हामीले एकदमै क्रिटिकल सेक्सनमा राखेका थियौँ । यसको निर्माण कार्य पनि २०७२ सालमा सुरु भएर २०७४ मंसिर २ गते सम्पन्न भएको छ । जसमध्ये ३,१०८ मिटर एकातर्फबाट खनियो भने बाँकी १,८९२ मिटर अर्कोतर्फबाट खनिएको थियो । यो सुरुङको ब्रेक थ्रु ऊर्जासचिव अनुपकुमार उपाध्यायको आदेशअनुसार सिनो हाइड्रोका कर्मचारीले गरेका हुन् । उनीहरूले सुरुङमा बम पड्काएर ब्रेक थ्रु गरेका थिए । यसमा तत्काल लाइनिङको काम सुरु हुन्छ र करिब ९०० मिटर मुख्य सुरुङको लाइनिङ र कंक्रिटिङ सम्पन्न गर्न करिब १० महिना लाग्नेछ । सुरुङ निर्माण गर्दा हामीले विभिन्न तरिकाले अडिट टनेलहरूको निर्माण गरेका छौँ । जसले मुख्य सुरुङ खन्न सहज बनाइदिएको छ । काम छिटो सम्पन्न गर्न हामीले आवश्यकताअनुसार सुरुङहरूको विकास गरेका छौँ र सोहीअनुसार काम भइरहेको छ ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम चारवटा लटमा भइरहेको छ । दोस्रो लटमा काम गरिरहेको टेक्स म्याको रेल एन्ड इन्जिनियरिङबाहेक अरू सबैले अपेक्षाकृत रूपमै काम गरिरहेका छन् । गत आइतबार २ मंसिर २०७४ मा मुख्य सुरुङको ब्रेक थ्रु भएसँगै आयोजना तोकिएकै समयमा सम्पन्न भएर २०७५ को मंसिरबाट राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जडान हुनेमा लगभग ढुक्क भएका छौँ ।

पावरहाउस स्वचालित सञ्चालन
हामीले पावरहाउसको नियन्त्रण गर्नका लागि अटोमेटिक मेसिन र उपकरणको व्यवस्था गरेका छौँ । पावर हाउस सञ्चालन गर्न करिब १ किलोमिटर भित्र रहेको पावरहाउस पुग्नु पर्दैन । बाहिरैबाट भित्रका सम्पूर्ण गतिविधि नियन्त्रण गर्न सकिन्छ । ड्यामबाट पानीको मात्रा नियन्त्रण गर्ने, सुरुङभित्रको पानीको बहाब नियन्त्रण गर्ने, पावरहाउसभित्र हुने काम र अधिकतम क्षमतामा आवश्यकताअनुसार विद्युत् उत्पादन स्वचालित उपकरणहरूको प्रयोगबाट हुने प्रविधि जडान तथा व्यवस्था मिलाइएको छ ।

भूकम्पबाट धेरै पाठ सिकियो
अघिल्लो वर्षको विनाशकारी भूकम्पवाट हामीले धेरै कुराको ज्ञान पाएका छौँ । भूकम्पले सामान्यतया जमिनको सतहमा धेरै असर पार्ने रहेछ । जमिनभित्र भने सतहमा भन्दा धेरै कम असर पर्ने रहेछ । त्यही भएर हामीले आयोजनाको करिब ७० प्रतिशत काम जमिनभित्र गरेका छौँ । त्यसैले त्यत्रो ठूलो भूकम्पमा पनि हाम्रो भूमिगत पावरहाउस र सुरुङमा खासै क्षति भएन । जति क्षति भयो, हाम्रो आयोजनास्थलसम्मको प्रवेशमार्गमा भयो । प्रसारण लाइन र सडकमा धेरै क्षति भयो । हाम्रो कन्ट्रोल बिल्डिङ बाहिर थियो तर हामीले परिवर्तन गरेर सुरुङभित्र बनाउने निर्णय गरेर भूमिगत बनाएका हौँ । अब अघिल्लो वर्षको जत्रै भूकम्प आयो भने पनि आयोजनामा त्यति धेरै क्षति हुँदैन ।

वातावरणीय मुद्दाहरू टुंगो लागिसक्यो
हाल आयोजना निर्माणका लागि कुनै पनि त्यस्तै ठूलो वातावरणीय समस्या रहेको छैन । आयोजनाको वातावरणीय मूल्यांकनले निर्दिष्ट गरेअनुसार हामीले समाज र वातावरणका क्षेत्रमा काम गरिरहेका छौँ । आयोजना र प्रसारण लाइनको निर्माणअन्तर्गत वातावरणीय कामका लागि ४० करोड रुपैयाँ छुट्याइएको थियो र सो रकमको खर्च भइरहेको छ । जसअन्तर्गत सडकको विकास, ग्रामीण विद्युतीकरण, साक्षरता कार्यक्रमलगायतका कामहरू सञ्चालन भइरहेका छन् । हामीले सुरुमा ४० करोडमा विनियोजन गरेकोमा ५ करोड थप गरेर ४५ करोड रुपैयाँ सामाजिक उत्तरदायित्व बहनमा खर्च गर्ने भनेका छौँ । त्यसमा करिब १५ करोड जग्गा अधिग्रहणमा र अधिकांश रकम ग्रामीण विद्युतीकरणमा खर्च हुनेछ । आयोजनाले साविकका ७ वटा गाविसमा पूर्णरूपमा विद्युतीकरणको काम गर्नेछ । त्यसको अलावा शिक्षा, स्वास्थ्य, सञ्चार, खानेपानी, सडक, पर्यटक पदमार्गको क्षेत्रमा पनि खर्च भइरहेको छ । जनताको माग र चाहनाबमोजिम हामीले सम्बन्धित निकायहरूसँग समन्वय गरेर कुनै पनि कार्यक्रममा डुब्लिकेसन नहुने गरी अगाडि बढाएका छौँ ।

ठेकेदार कम्पनीलाई घचघच्याइरहेका छौँ
लट १ अन्तर्गत काम गरिरहेको चिनियाँ सिनो हाइड्रोले सन्तुष्ट तरिकाले काम गरिरहेको छ । लट २ अन्तर्गत रहेको भारतीय कम्पनीले तोकिएअनुसार काम गर्न सकिरहेको छैन । यो कम्पनीको व्यवस्थापनमा समस्या देखिएको छ । साइटमा बस्नेले कुनै पनि स–साना कुराको निर्णयसमेत गर्न सकिरहेको छैन । हरेक कामका लागि भारतमा रहेको मुख्य कार्यालयलाई सोध्नुपर्ने देखिएको छ । मुख्य कार्यालयले एउटा निर्णय गर्न १० दिनसम्म लगाउने गरेको पाइएको छ । अर्को उसले पर्याप्त जनशक्ति ल्याउन वा अफर गर्न पनि सकिरहेको छैन । लट ३ ले भने धेरै राम्रो काम गरिरहेको छ । उसले हामीले तोकेको समयसीमाभित्र काम सम्पन्न गर्ने योजनासहित नै काम गरिरहेको छ । त्यस्तै लट ४ को ठेकेदारले पनि प्रसारण लाइनको टावर निर्माणको काम अपेक्षाकृत रूपमै गरिरहेको छ भने सबस्टेसन निर्माणको कामचाहिँ सुरु गर्न सकिरहेको छैन । पहिले जग्गा प्राप्ति गर्न केही समस्या रहेको थियो, तर अहिले विद्युत् प्राधिकरणले त्यो मुद्दालाई किनारा लगाउँदै जग्गा प्राप्ति गरिदिएको छ ।

आयोजना समयमै सम्पन्न हुन्छ
अब सिभिलतर्फका ठेकेदारहरूले ९ सय मिटर लामो मुख्य सुरुङमा लाइनिङको कामतर्फ ध्यान दिनेछन् । यसका लागि १० महिना लाग्छ । त्यसपछि हाइड्रोमेकानिकल उपकरणको ठेक्का पाएको भारतीय कम्पनीले काम गर्छ । द्रुत नभए पनि स्टिल लाइनिङको काम सुरु भइसकेको छ । उसले कति स्पिडमा काम गर्न सक्छ, अब आयोजना त्यसैमा निर्भर छ । त्यो कम्पनीले लामोसाँघु–चरिकोट र चरिकोट–सिंगटी सडकखण्ड धेरै समयदेखि निर्माणाधीन रहेका कारण हाइड्रोमेकानिकल उपकरण ल्याउन नसकेको बताएको छ । आयोजनाका धेरै गर्हौं उपकरण नै हाइड्रो मेकानिकल सामान हो । उपकरण ढुवानीमा समस्या पर्‍यो भने आयोजना निर्माण सम्पन्न हुने मितिमा असर पर्छ । यसको अलावा अहिले निर्माणमा दक्ष कामदारको पनि केही कमी देखिएको छ । हामीले यो समस्या हटाउन निर्देशन दिइसकेका छौँ । अबको हाम्रो हिसाबमा २०७५ सालमा माथिल्लो तामाकोसीको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिन्छ । हाम्रो योजना पहिलो महिनामा एउटा युनिट सञ्चालनमा ल्याउने र बाँकी प्रत्येक महिनामा एक-एक वटा युनिट सञ्चालन गर्ने हो । सोही योजनाअनुसार काम भइरहेको छ । यदि त्यसो भएन भने पनि आगामी ड्राई सिजनमा हामी जसरी पनि तामाकोसीको विद्युत् ल्याएर प्रसारण लाइनमा जोड्ने नै छौँ ।

तपाईको प्रतिक्रिया