भूकम्पपछिको जोखिमयुक्त बस्ती सार्ने प्रक्रिया सुरु - Naya Patrika
eNaya Patrika
  • ePaper

भूकम्पपछिको जोखिमयुक्त बस्ती सार्ने प्रक्रिया सुरु

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको जोखिमयुक्त बस्ती सार्ने प्रक्रिया सुरु गरेको छ । प्राधिकरणले नुवाकोट उर्लेनीका २४ घरपरिवारको बस्ती स्थानान्तरण गर्ने प्रक्रिया सुरु गरेको हो । प्राधिकरणले प्रतिपरिवार दुई लाख रुपैयाँ अनुदान दिएको छ । सोही रकमबाट पीडितले सुरक्षित स्थानमा घडेरी खरिद गरेका छन् । भौगर्भिक अध्ययनअनुसार नुवाकोटको विकट उर्लेनीमा रहेका ७१ घरपरिवार जोखिमयुक्त बस्तीमा बस्दै आएका छन् ।

उनीहरूमध्ये २४ लाभग्राहीले नुवाकोटस्थित साबिकको खरानीटार गाविस (हाल ताँदी गाउँपालिका) मा घर निर्माणका लागि जग्गा छनोट गरेका थिए । जग्गाधनी र लाभग्राहीको मञ्जुरीमा सरकारको दुई लाख रुपैयाँ सहयोगमा ८ रोपनी जग्गा खरिद गरिएको प्राधिकरण कार्यकारी समितिका सदस्य धुव्रप्रसाद शर्माले जानकारी दिए ।

प्राधिकरणको स्वीकृतिमा जग्गा छनोट गरी सुरक्षित ठाउँका रूपमा रहेको उक्त जग्गा लाभग्राहीको नाममा दर्ता गरिएको छ । उक्त जग्गा खरिदका लागि प्राधिकरणले ४८ लाख रुपैयाँ निकासा गरेको थियो ।

भूगर्भविद्हरूले गरेको अध्ययनअनुसार उर्लेनी मानव बस्तीका लागि उपयुक्त नभएको पाइएपछि प्राधिकरणले उनीहरूलाई सुरक्षित स्थानमा सार्न पहल सुरु गरेको थियो । जोखिमयुक्त बस्तीबाट नयाँ स्थानमा सर्न घडेरी खरिद गरेका लाभग्राहीले सरकारी मापदण्ड पुर्‍याएर निजी आवास पुनर्निर्माणका लागि थप ३ लाख रुपैयाँसमेत अनुदान पाउनेछन् ।

एकीकृत बस्ती विकाससम्बन्धी कार्यविधिअनुसार भूकम्प प्रभावित जिल्लामा सरकारी प्रक्रिया र मापदण्डअनुसार कम्तीमा १० घरपरिवारले एकीकृत बस्ती निर्माण गर्न चाहे हिमाली जिल्लामा ५ लाख, पहाडी जिल्लामा ४ लाख र तराई वा सहरी क्षेत्रमा ३ लाख रुपैयाँसम्म प्रतिघरपरिवारका लागि सरकारले खर्च गर्ने व्यवस्था छ ।

२८ असार ०७४मा प्रधानमन्त्रीको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समितिको दशौँ बैठकले जोखिमयुक्त बस्तीका भूकम्प पीडितलाई सुरक्षित स्थानमा सर्न चाहे घडेरी खरिद गर्न दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु