वीरगन्ज भन्सारमा लक्ष्यभन्दा कम राजस्व संकलन - Naya Patrika
eNaya Patrika
  • ePaper

वीरगन्ज भन्सारमा लक्ष्यभन्दा कम राजस्व संकलन

वीरगन्ज भन्सार कार्यालयले कात्तिक महिनामा लक्ष्यभन्दा झन्डै ४ प्रतिशत कम राजस्व संकलन गरेको छ । कार्यालयले १० अर्ब ७५ करोड लक्ष्य पाएकोमा १० अर्ब ३९ करोड १४ लाख रुपैयाँ मात्रै राजस्व संकलन गरेको हो ।

कार्यालयले दिएको तथ्यांकअनुसार अन्तःशुल्कमा लक्ष्यभन्दा २८ प्रतिशत बढी राजस्व संकलन भए पनि अन्य कर लक्ष्यभन्दा १५ प्रतिशत कम संकलन भएको छ । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी एवं अधिकृत सन्तोष यादवले चाडबाडमा कार्यालय बन्द भएकाले लक्ष्य भेटाउन मुस्किल परेको बताए ।

‘विभागले यस वर्ष अघिल्लो आर्थिक वर्षको तुलनामा ३४ प्रतिशतभन्दा बढी राजस्व संकलनको लक्ष्य दिएको छ,’ उनले भने, ‘कात्तिकको सुरुमै ३–४ दिन तिहारका कारण कार्यालय बन्द भयो । त्यसैले लक्ष्यअनुसार राजस्व उठ्न सकेन ।’

गत आर्थिक वर्ष ०७३÷७४ को कात्तिकमा कार्यालयले लक्ष्यभन्दा ८ प्रतिशत बढी राजस्व संकलन गरेको थियो । गत वर्ष कार्यालयले ९ अर्ब ८० करोड २९ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।
चालू आथिक वर्षको ४ महिनामा कार्यालयले लक्ष्यभन्दा १.५८ प्रतिशत बढी राजस्व संकलन गरेको छ । चालू आवको पहिलो ४ महिनाका लागि ४० अर्ब ३१ करोड ७७ लाख २८ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा कार्यालयले ४० अर्ब ९५ करोड ४७ लाख ४८ हजार रुपैयाँ राजस्व उठाएको हो ।

अघिल्लो आर्थिक वर्ष ०७३÷७४ को कात्तिक मसान्तसम्म लक्ष्यभन्दा ७.७८ प्रतिशत बढी राजस्व संकलन गरेको थियो । कार्यालयले ३४ अर्ब ३७ करोड २२ लाख ३८ हजार राजस्व संकलन गर्ने लक्ष्य पाएकोमा ३६ अर्ब ९७ करोड ८५ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया