नदी र मान्छे - Naya Patrika
eNaya Patrika
  • ePaper

नदी र मान्छे

निरन्तर एउटा तरलतामा
बाँचेर जीवन एक अनन्तयात्रीको
खप्दै हन्डर हजारौँ
कहिले बनेर बागमती
कहिले बनेर कर्णाली
कहिले बनेर कोसी
चुम्दछ नदी गन्तव्य आफ्नो–
दूरको एक महासागर ।

……………………

अविराम यस यात्रामा
दिन्छ नदी परीक्षा
धैर्यको
लगनको
सहनको
अविरलताको
एक्लोपनाको
र सिद्ध गर्छ आफूलाई
एक सफल अनि शाश्वत धावक ।

……………………..

खोज्न बाटो नदीलाई
औँला समात्नुपर्दैन पिताको
झार्नुपर्दैन आँसु माताको
आरोह–अवरोहमा
भरपर्नु छैन कुनै लिस्नोको

………………..

बाटो छेक्ने
–मान्छे होस् या ढुंगो
–माटो होस् या मुढो
–पर्खाल होस् या पहाड
–चट्टान होस् या चन्द्रमा
वा किन नहोस् कुनै चक्रव्यूह खडा,
नदी बनेर एक अबध अभिमन्यू
भेद्छ असंख्य कौरव अड्चन
र निर्माण गर्छ आफ्नो सपाट मार्गचित्र ।

…………………….

मान्छेले जस्तो
–नराखेर लोभ
–नगरेर छल
–नदिएर धोखा
–नचिताएर पाप
दिन्छ नदी थोपा थोपा जल
सिँच्दछ नदी कणकण धरा
स्वयंले नखाएजस्तै फल
फल दिने वृक्षले,
जल्नुछैन प्रतिप्राप्तिको
स्वार्थाग्निमा
जल दिने नदीले ।

…………………….

फक्रे कैयौँ फूल सभ्यताका
नदीकिनारहरूमै–
कहिले बनेर सिन्धु
कहिले बनेर ह्वाङ्हो
कहिले बनेर युफ्रेटस ।
‘मान्छे’ बन्न नसकेको मान्छेकै लागि पनि
सधैँ बनेर आमा
सधैँ बनेर प्राण
सधैँ दिएर जीवन
कतै कलकलको कतै छङछङको
बोकेर दिव्य धून
गरेको छ नदीले अनुपम आत्मोत्सर्ग ।

………………………

मान्छे अर्को मान्छेसँग दुस्मनी गर्छ
र एक्लिँदै जान्छ
नदी अर्को नदीसँग भाइचारा गर्छ
र विशाल समुद्र बन्छ
मान्छे नाच्छ स्वार्थमा
नदी बाँच्छ परार्थमा ।

………………….

दुवैको टेक्ने धरातल एउटै पृथ्वी
तर, दुवै नितान्त पृथक
एउटा स्वयं बग्दै सिक्दै – निर्मल नदी
अर्को गल्ती गर्ने र पनि नसिक्ने – मलिन मान्छे
अर्थात् – नदी र मान्छे ।

तपाईको प्रतिक्रिया