बिपी राजमार्गका २५ स्थान जोखिमयुक्त - Naya Patrika
eNaya Patrika
  • ePaper

बिपी राजमार्गका २५ स्थान जोखिमयुक्त

सिन्धुलीमाडीदेखि खुर्कोटसम्मको ३७ किलोमिटर सडकखण्डमा मात्र १२ स्थानमा समस्या –

१ सय ६० किलोमिटर लामो बिपी राजमार्गमा सवारी चलाउन २५ स्थान जोखियुक्त देखिएका छन् । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग र सडक विभागले राजमार्गमा गरेको संयुक्त अध्ययनले दुई दर्जनभन्दा बढी स्थानमा सडक तत्काल निर्माण सुरु गर्नुपर्नेदेखि नियमित नियमन गर्नुपर्नेसम्मको अवस्था भेटेको हो । पछिल्लो ५ महिना (जेठ) देखि अध्ययन गरिरहेको सो टोलीले राजमार्गका विभिन्न खण्डमा सडकको सतह चर्केको, धस्सेको, ग्याबिन पर्खाल भत्किएको र चट्टान झरेकालगायत अवस्था फेला परेका बिपी राजमार्ग आयोजनाका निमित्त प्रमुख राकेश महर्जनले बताए । सडकका विभिन्न ठाउँ जोखियुक्त हुनुमा ०७२ वैशाख १२ र त्यसपछि निरन्तर गएका भूकम्पका कम्पनलाई कारक मानिएको छ ।

पाँच स्थान जापानले र अन्य नेपालले निर्माण गर्ने तयारी
अध्ययनलेदेखाएका अति जोखिमयुक्त ५ स्थानमा जापानले निर्माण गर्ने तयारी गरेको हो । नेपाल सरकारले जापानलाई नै निर्माण गर्न प्रस्ताव गरिसकेको र अहिले जापानी टोलीले ती स्थानको विस्तृत अध्ययन तथा नक्सांकन गर्ने काम गरिरहेको छ । सन् २०१८ को अप्रिलदेखि जापानी टोलीले निर्माणको काम अघि बढाउने सम्भावना रहेको आयोजना कार्यालयले जानकारी दिएको छ । भत्किएका वा भत्किने सम्भावना रहेका ठाउँमा नयाँ निर्माण गर्ने लागत विवरण अध्ययनपछि मात्र सार्वजनिक गर्न सकिनेछ । अहिलेसम्मको अध्ययनले १ अर्बभन्दा बढी लागत लाग्ने सम्भावना रहेको आयोजनाका निमित्त प्रमुख महर्जनले बताए । त्यस्तै, नेपाल सरकारले निर्माण गर्ने २० ठाउँमध्ये १ ठाउँको निर्माण गरिसकेको छ । बाँकी १९ मध्ये केहीको अध्ययन अघि बढाइएको छ । अत्यावश्यक मर्मत तथा पुनर्निर्माण गर्नुपर्ने ठाउँलाई उच्च प्राथमिकतामा राखेर विस्तृत अध्ययन तथा नक्सांकनको काम गरिरहेको सडक विभागले जानकरी दिएको छ । सडक विभागले ९ फागुनमा सिन्धुलीको खुर्काेट–खाल्टे बीचमा पर्ने डा“डामा करिब ३० मिटर सडक भासिएर पहिरो गएको सडक पुनर्निर्माण गरिसकेको छ ।

सिन्धुलीमाडी–खुर्कोट खण्डमा धेरै समस्या
बिपी राजमार्गलाई आयोजना कार्यालयले चार खण्डमा विभाजन गरेको छ । जसमा पहिलो खण्ड बर्दीबासदेखि सिन्धुलीमाडीसम्मको ३७ किलोमिटर सडक पर्छ । त्यस्तै, दोस्रो खण्डमा सिन्धुलीमाडीदेखि खुर्कोटसम्मको अर्को ३७ किलोमिटर सडक पर्छ । यस खण्डमा मात्र १२ स्थानमा समस्या देखिएको छ । त्यस्तै, तेस्रो खण्डअन्तर्गत खुर्कोटदेखि नेपालथोकसम्मको सडक पर्छ । यसको लम्बाइ ३६ किलोमिटर छ । यस खण्डमा ११ स्थानमा समस्या देखिएको छ । त्यस्तै, चौथो खण्डमा नेपालथोकदेखि धुलिखेलसम्मको ५० किलोमिटर सडक पर्छ । यस खण्डमा ३ स्थानमा समस्या देखिएको छ । पहिलो खण्डमा भने समस्या देखिएको छैन ।

दैनिक ९ हजार सवारी
बिपी राजमार्ग प्रयोग गर्ने सवारीको संख्या वृद्धि हुँदै गएको छ । मुग्लिङ नारायणघाट सडक अवरुद्ध भएपछि र उपत्यकाबाट पूर्व जाने उत्तम विकल्प बनेपछि बिपी राजमार्ग प्रयोग गर्नेहरू बढिरहेका छन् । अहिले दैनिक ९ हजार सवारीसाधनले उक्त राजमार्ग प्रयोग गरेर आवातजावत गरिरहेका छन् । त्यसमध्ये पनि दैनिक ९ सय वट ट्रिपरलगायत हेभी सवारीसाधन गुडिरहेका छन् ।

पाँच ठाउँ अति संवेदनशील
बिपी राजमार्गमा पत्ता लागेका जोखिमयुक्त २५ मध्ये ५ ठाउँ अति संवेदनशील अवस्थामा देखिएका छन् । तिनमा ढुंग्रेभञ्याङ, मूलकोट उकालो, खहरे र माथिल्लो बाराका दुई स्थान रहेका छन् । अध्ययन टोलीले यी ठाउँमा ट्राफिक (गुड्ने सवारीसाधन) को संख्यामा नियन्त्रण गर्नुपर्ने सुझाबसमेत दिएको छ । ‘अवस्था नाजुक भएकाले जबर्जस्ती गर्दा सडक भत्किने र दुर्घटना हुने सम्भावना रहेकाले उक्त सुझाब दिएको हो,’ आयोजना निमित्त प्रमुख महर्जनले भने । यी ठाउँको निर्माण गर्न धेरै लागत आवश्यक पर्ने प्रविधिको प्रयोग गर्नुपर्ने (उदाहरणका लागि जिओ ग्रिड) हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु